२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सुपर बोन्साई

सिउँडी
हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा एउटा सुपर बोन्साई हुनुहुन्छ । सुपर बोन्साई भएकाले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्रीको कुर्सीबाट अलग पार्न असाध्यै गाह्रो भइरहेको छ । 
विमल निभा

काठमाडौँ — जय गणेशाय नम: ।
हामीलाई नेपाली साहित्य पढाउने गुरुले केही ठूला मानिसका नाम टिपाउनुभएको थियो– जनक, सीता, अरनिको, अंशुवर्मा, भृकुटी, गंगालाल श्रेष्ठ, तेन्जिङ शेर्पा, भानुभक्त आचार्य, मोतीराम भट्ट, गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधान, पारिजात, पासाङ ल्हामु शेर्पा ।

सुपर बोन्साई

यिनीहरूमध्ये कुनै एकलाई मन पराएर निबन्ध लेख्नुपर्नेछ । यो वार्षिक परीक्षामा पास हुनका लागि निकै इम्पोर्टेन्ट छ तर मलाई यी कुनै नाम पनि त्यति मन परेन । किनभने मेरो मनपर्ने नाम अर्कै छ– हाम्रो प्रधानमन्त्री शेरबहादुर देउवा । अहिले उहाँ जतिको इम्पोर्टेन्ट अरू कोही छैन ।


नेपाली पढाउने पण्डित सोमनाथ शास्त्री सरले क्लासमा बराबर सम्झाउनुहुन्थ्यो– ‘निबन्ध साहित्यिक पाराले लेख्नुपर्छ । यसमा कुनै राम्रो उपमा दिएर लेखे झन् राम्रो हुन्छ बाबुहरू †’ सर, उपमा भनेको के हो ?– हाम्रो फस्टब्वाइ दामोदरले सोधेको थियो । र उहाँले यसको जवाफमा भन्नुभएको थियो– कुनै विशेष कुरासँग दाँजेर लेख्नु नै उपमा हो । जस्तो भगवान् गौतम बुद्ध । अथवा महाकवि लक्ष्मीप्रसाद देवकोटा । यहीबमोजिम आज म हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाका विषयमा एउटा उपमा राखेर निबन्ध लेख्दै छु– बोन्साई प्रधानमन्त्री देउवा ।


मसँग यो सोधिएला– प्रधानमन्त्री शेरबहादुर देउवा त बुझिएकै हो, तर बोन्साई भनेको के हो ? एक पटक हाम्रा विज्ञान सर चित्ररत्न तुलाधरले क्लासमा पढाउनुभएको थियो– बोन्साई एकखाले जापानी तरिका हो । यसमा ठूला–ठूला रुखलाई सानो पार्ने गरिन्छ । यस्तो पुड्को रुखलाई कुनै गमलामा पनि राख्न सकिन्छ । अनि बैठककोठामा सजाएर राखे पनि हुन्छ । खुबै राम्रो देखिन्छ । यो सुनेर मेरो मनमा झट्ट आयो– यसमा त ‘विज्ञानको चमत्कार’ भन्ने निबन्ध पनि लेख्न सकिन्छ । यो पनि उत्तिकै इम्पोर्टेन्ट छ । तर आज प्रश्नपत्रमा छ– कुनै एक मनपर्ने व्यक्तिबारे निबन्ध लेख । त्यसैले म मलाई मनपर्ने प्रधानमन्त्री शेरबहादुर देउवामाथि निबन्ध लेखिरहेको छु । हाम्रो साहित्यका गुरुले सिकाएजस्तै साहित्यिक उपमा दिएर– बोन्साई प्रधानमन्त्री देउवा । र पुगनपुग ६ फुटे अग्लो हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोन्साई भन्नु एउटा चमत्कार नै त हो ।


हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा पटके प्रधानमन्त्री भएकाले पटक–पटक प्रधानमन्त्री भइसक्नुभएको छ । र एक–दुई पटक फेरि पनि प्रधानमन्त्री बन्नुहुनेछ भनी उहाँको ज्योतिषीको जोखनाले बताएको छ । यस्तो राजनीतिक उचाइको मानिसलाई कसरी बोन्साई बनाउने ? यो हुनै सक्दैन । तर यसका लागि हामीले कुनै झन्झट गरिरहनुपर्दैन । किनभने उहाँ आफैं बोन्साई बन्नतिर जोडतोडले लाग्नुभएको छ । यहाँ एउटा कुरा भने भन्नैपर्छ, हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा बोन्साई भए पनि कुनै चानेचुने बोन्साई चाहिँ भन्न मिल्दैन । बोन्साईहरू थरीथरीका हुन्छन् । र उहाँ राजनीतिक बोन्साईको कोटीमा पर्नुहुन्छ ।


हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा एकैपटक बोन्साई नभएर बिस्तारै–बिस्तारै बोन्साई हुनुभएको हो । सबभन्दा पहिले उहाँले आफ्नो पार्टी नेपाली कांग्रेस पार्टीलाई बोन्साई बनाउनुभयो । यसमा त्यतिसाह्रो मिहिनेत गर्नुपरेन । किनभने नेपाली कांग्रेस पार्टीको चुनाव चिह्न रुख हो । र खासमा रुखलाई नै बोन्साई बनाउने चलन छ । यसरी आफ्नो पार्टीलाई बोन्साई बनाइसकेपछि उहाँ पनि अटोमेटिक ढंगले बोन्साई हुनुभयो । बोन्साई प्रधानमन्त्री शेरबहादुर देउवा । र हालसम्म पनि उहाँको बोन्साई हुने काम रोकिएको छैन । यो कसरी भने उहाँले यसपटकको चुनावमा नराम्ररी हारेर पनि प्रधानमन्त्रीको कुर्सी छाड्नुभएको छैन । बरु त्यसमा चपक्क टाँसिएर बसिरहनुभएको छ । यसले उहाँलाई एउटा बोन्साई मात्र नभएर सुपर बोन्साई नै बनाएको छ । असलमा हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा एउटा सुपर बोन्साई हुनुहुन्छ ।


सुपर बोन्साई भएकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीबाट अलग पार्न असाध्यै गाह्रो भइरहेको छ । तर एउटा बोन्साईलाई हटाउन के गाह्रो हुन्छ ? कुनै गमलामा सरक्क सारे त भइहाल्यो नि † तर यसपालि झन्डै दुई तिहाइका हिसाबले चुनाव जितेका वाम गठबन्धनका मानिसहरू मूर्ख हुन् । यिनीहरूलाई बोन्साईबारे कुनै ज्ञान छैन । यसका लागि खुरुक्क ‘बृहत् सामान्य ज्ञान’ पढे त भइहाल्यो । हाम्रो असिस्टेन्ट हेडमास्टरसाबले लेख्नुभएको हो । यसको नयाँ एडिसन निस्किसकेको छ । सबै पुस्तक पसलहरूमा पाइन्छ । मूल्य २५० रुपैयाँ ।


हाम्रो बैठक कोठामा बुबाले एउटा विदेशबाट लिएर आउनुभएको बोन्साई थपक्क सजाएर राखिएको छ । अति नै चिटिक्क परेको पुड्को बोन्साई । पीपल रुखको बोन्साई । त्यसलाई देखेर म दंग पर्छु । र मलाई घरिघरि हाम्रा बोन्साई प्रधानमन्त्री शेरबहादुर देउवाको सम्झना हुन्छ । (यसपछिको उत्तरपुस्तिका सद्दे छैन । च्यातिएको अवस्थामा छ । र यसमा कुनै वार्षिक परीक्षा पास गर्न चाहने विद्यार्थीले निबन्ध लेख्ने कोसिस गरेको छ । मैले एक जिरामरिच पसलेकहाँबाट यो उत्तरपुस्तिका पाएको हुँ । र यो अधुरो निबन्धको छेउमा सफा अक्षरले लेखिएको छ– सरस्वतीमाताकी जय !)

प्रकाशित : पुस २२, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?