२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अस्पतालका उपकरणमा कन्जुस्याइँ 

सम्पादकीय

काठमाडौँ — ठूला सरकारी अस्पतालका रोग पहिचान, उपचार र अन्य प्रयोगमा आउने उपकरण धेरै पुराना छन् । अधिकांश प्रयोग गर्ने म्याद गुज्रिसकेका छन् भने केही अत्यधिक उपयोगले थोत्रिएका छन् । प्राय: बिग्रिइरहन्छन् । गम्भीर प्रकृतिका र तत्काल सेवा दिनुपर्ने बिरामीले समेत उपकरणकै समस्याले महिनौं पालो कुर्नुपर्ने बाध्यता छ ।

अस्पतालका उपकरणमा कन्जुस्याइँ 

अति पुरानो भएकै कारण कतिपय उपकरणको परीक्षण नतिजा उल्टो आउने गर्छ । यी सबै मानव जीवनरक्षासँग सोझै जोडिने विषय हुन्, जसमा भइरहेको बेवास्ता अक्षम्य लापरबाही हो ।


त्रिवि शिक्षण अस्पतालका अधिकांश उपकरण ३५ वर्ष पुराना अर्थात् स्थापनाकालदेखिका छन् । उपकरणले काम नगरेर फोहोर जलाउने क्रममा कहिलेकाहीँ अस्पताल र वरिपरि प्रदूषित धूवैंधूवाँ हुन्छ । नेफ्रोलोजी (मृगौला उपचार) विभागमा डायलासिस मेसिन जम्मा ११ वटा छन् । आधाजसो प्राय: बिग्रिइरहन्छन् र डायलासिसमा पुग्ने सबै बिरामीले पालो पाउँदैनन् । अक्सिजन भण्डारण गर्ने उपकरण नहुँदा उडेर खेर गइरहेको छ । रेडियोलोजी विभागका मेसिन पनि पुराना छन् । अर्थोपेडिक विभागको मोडलरवटी उपकरण अति पुरानो भएकैले समयमा गुणस्तरीय उपचार सम्भव भइरहेको छैन । वीर अस्पतालमा २० वर्ष पुराना हेमोडायलासिस उपकरण छन् । ती पनि बिग्रिइरहने भएकाले समयमा डायलासिस हुन सक्दैन । रेडियोलोजीमा पुराना तथा एक–एकवटा मात्र उपकरण छन् ।


बिग्रिनेबित्तिकै सेवा नै अवरुद्ध हुन्छ । भक्तपुर क्यान्सर अस्पतालमा एक मात्र रेडियसन थेरापी मेसिन छ, जुन २२ वर्ष पुरानो हो, बिग्रइरहन्छ । गम्भीर प्रकृतिका बिरामी आए पनि दुई महिनाअघि पालो पाउँदैनन् । प्रसूतिगृहका अल्ट्रासाउन्ड र अन्य मेसिन १५ वर्ष पुराना छन् । बढीमा १० वर्ष आयु भएका मेसिन लामो समयसम्म चलाइरहनुपरेको छ । कृत्रिम गर्भाधारण गर्न प्रयोग हुने उपकरण बिग्रिएर थन्किएको छ । यसको सेवा नै रोकिएको छ ।


यी केही उदाहरण हुन्, जसले उपचार संस्थामा भइरहेको स्वास्थ्यमाथिको खेलबाडको पराकाष्ठालाई देखाउँछन् । मेसिन बिग्रइरहँदा वा अति पुराना हुँदा सेवा मात्र प्रभावित हुने होइन, परीक्षणसमेत गुणस्तरीय हुँदैन । वीर, त्रिवि शिक्षणजस्ता पुराना एवं भरपर्दा अस्पतालका प्रयोगशाला परीक्षणमा उल्टो नतिजा आएका घटना बाक्लै पाइन्छन् । यसको मूल कारण उपकरणकै गुणस्तरहीनता हो । नि:शुल्क भनिएका उपचारमा समेत उपकरणजन्य परीक्षण गर्दा सबैजसो बिरामीसँग पैसा असुलिन्छ । सरकारी अस्पतालको उपकरण–परीक्षण शुल्क पनि उस्तै महँगो छ । सर्वसाधारणसँग उठाइएको रकम त्यही मेसिनको स्याहार गर्न वा फेर्न प्रयोग गरिँदैन ।


बिग्रियो भन्ने बहानामा तिनै बिरामीको बेलामा परीक्षण/उपचार गरिँदैन । अर्कातिर सरकारले विपन्न वर्गलाई लक्ष्य गरेर नि:शुल्क स्वास्थ्यका परियोजनाहरू चलाएको छ । तर, त्यसको लाभ लक्षित वर्गसम्म पुगेको छैन । अस्पतालहरूको बढ्दो व्यवसायीकरण, व्यापारीकरण र अघोषित वर्ग–निर्धारीकरणका कारण सरकारी स्वास्थ्य संस्थाहरू गरिबका लागि मात्र सीमित हुँदै गएका छन् । अति महँगा निजी अस्पतालहरूको दबदबाको प्रभावस्वरूप सरकारको ध्यान सरकारी अस्पतालका सुधारमा केन्द्रित भएको पाइँदैन । कतिपयमा उपकरण दुरुस्त भएर पनि ‘बिग्रिएको’ भन्दै निजीतर्फ पठाउने ‘गिरोह’ परिचालित छन् । कतिपयमा चिकित्सक र उच्च पदस्थ कर्मचारी नै बिरामी फर्काउन उद्यत छन् । उपकरण पुरानो भएर बिग्रिएको भए नयाँ फेर्नुपर्छ, कर्मचारी ‘बिग्रिएको’ भए कडा कारबाही गर्नुपर्छ । तर, उपकरणकै

अभावमा सर्वसाधारणले सरकारी अस्पतालको सेवाबाट वञ्चित हुने अवस्था अन्त्य हुनैपर्छ ।


प्रविधि चाँडो–चाँडो अद्यावधिक भइरहने विषय हो । स्वास्थ्य उपकरणका प्रविधिमा पनि नवीनताहरू भित्रिइरहेका छन् । तिनमा सुविधा र सहजता बढ्ता हुन्छन् । त्यसका लागि पनि उपकरणहरूको निश्चित कालखण्डमा परिवर्तन आवश्यक पर्छ । ठूला अस्पतालका महँगा उपकरण एकैसाथ फेर्नु निकै खर्चिलो काम त हो, तर सर्वसाधारणको स्वास्थ्य रक्षासँग जोडिएको विषय भएकाले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । अस्पतालहरूसँग आफैं नयाँ मेसिन किन्न बजेट छैन ।


पार्टपुर्जा महँगा छन्, देशमा पाइँदैनन् । मर्मत गरिरहँदा सेवा प्रभावित मात्र हुँदैन, खर्च पनि नयाँ किन्नुभन्दा महँगो पर्न सक्छ । त्यसैले कुन–कुन अस्पतालका कुन–कुन उपकरण फेर्नु आवश्यक छ, विस्तृत अध्ययन गरेर आवश्यकता र प्राथमिकताका आधारमा बजेट दिन हिँचकिचाउनु हुँदैन । यसमा सरकारकै पहल आवश्यक छ ।

प्रकाशित : पुस २३, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?