हाइटेक एकताज्यू

सिउँडी
हाल दुई कम्युनिस्ट पार्टी– नेकपा एमाले तथा नेकपा माओवादी (केन्द्र)– बीचको एकता व्यापक चर्चामा रहेको छ । यो सामान्य प्रकारको ‘एकता’ होइन । यद्यपि यो ‘एकता’ भइसकेको छैन, तर जब हुनेछ, ‘हाइटेक’ हुनेछ ।
विमल निभा

काठमाडौँ — नेपालका कम्युनिस्ट पार्टीमा एकता बढी घटित भएको छ या फुट, यो एकदमसँग फ्याट्टै भन्न सकिँंदैन । वस्तुत: यो एक गम्भीर प्रश्न हो । अत: यसको साविक बमोजिमको गम्भीरतालाई यथावत राखेर एउटा समसामयिक बहसको प्रारम्भ किन नगर्ने ? यसै पनि कम्युनिस्ट टाइप व्यक्तिहरू बहस, छलफल, विचार–विमर्श, तर्कवितर्क, कुराकानी, सवाल–जवाफ, वातचित जस्ता वाक्प्रतियोगिताका विछट्टै सौखिन हुन्छन् नै ।

Yamaha

यस सम्बन्धमा एक कट्टर कम्युनिस्ट समर्थक भएको नाताले म पनि केही भन्न उत्साहित भएको छु । मेरो पनि एकाध निजी राय नभएको होइन । र यो (वा त्यो) के हो भने फुटको तुलनामा अपेक्षाकृत एकताले नै बाजी मारेको छ । अन्यथा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी र लेनिनवादी), नेपाल–कम्युनिस्ट पार्टी, माओवादी (केन्द्र) आदिको धारावाहिक जन्म किन हुन्थ्यो ? यी सबैले नेपालका कम्युनिस्ट पार्टीहरूका विशुद्ध ‘एकताधर्मिता’लाई आरामले ‘मेन्टेन’ गरेको छ भन्नेमा म छु । यसमा कसैको पनि कुनै किसिमको विमति रहेको छ भने कृपया मलाई यो बताओस्, के कुनै नेपाल कम्युनिस्ट पार्टी (टुटफुटवादी) को गठन भएको छ ? अहँ, यस्तो भएको किमार्थ देखिएको छैन । अझ म मेरो कुराको थप पुष्टि गर्न सक्छु । यसका लागि मैले नेपालका कम्युनिस्ट पार्टीहरूका भ्रातृ संगठनहरूका विनम्र सहयोग लिनु पर्नेछ । उदाहरणका निम्ति अनेरास्ववियु । र विस्तारमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन । मेरो भन्नुको तात्पर्य के हो भने अनेरास्ववियु, एकताको पाँचौं भनेको चाहिंँ के हो नि † मैले स्वयं पनि लगभग यस्तै प्रकृतिको भ्रातृ संगठनमा आफ्नो ऐतिहासिक सहभागिता जनाएको छु । अर्काे शब्दमा म यो ‘एकता’को सदेह साक्षी हुँ । नेपालका सबैजसो कम्युनिस्ट पार्टी निकट प्रगतिवादी साहित्यकारहरूका एकमात्र एकतावादी साहित्यिक संगठन प्रगतिशील लेखक–कलाकार संघ, तयारी समितिमा म वर्षाैंसम्म संलग्न रहेको थिएँ । त्यसमा हामी सम्भवत: कुनै साहित्य सम्बन्धी एकताका निम्ति विलकुलै जिम्मेवारीपूर्वक ‘मारामार’ गर्ने गथ्र्याैं । (क्षमा गर्नाेस्, यो ‘मारामार’ शब्द लेख्न म विवश छु । त्यस बखतका तमाम क्रियाकलापलाई अन्य कुनै नाम दिएर म भारमुक्त हुन सक्दिन) । एकातिर सुप्रसिद्ध साहित्यकार पारिजात दिदी र खगेन्द्र संग्रौला दाइ (हरू) आफ्नो सम्पूर्ण नखदन्तसहित हाजिर हुन्थे भने अर्काेतिर यस्तै खाले धारिलो हतियार बोकेर यो विमल निभा र साहित्यकार नारायण ढकाल (हरू) यसमा तत्कालीन भूमिगत कम्युनिस्ट पार्टी नेकपा (माले) द्वारा नियुक्त हाम्रो साहित्यिक नेता थिए– कलिलो ओँठमाथि साहित्यिक जुँगारेखी समेत नभएको अति उत्साही कमरेड रघु (जी) पन्त । र पारिजात दिदीतर्फका बहुतै गुप्ती खालका नेतृत्वकारी मनुवा को थिए, यो मेरालागि आजपर्यन्त पनि पुरै अज्ञात नै छ । अँ, त्यस बेलाको एकजोडी राजनीतिक चरित्रको शब्द मेरो स्मरणबाट गएको छैन । हामी ‘जनतान्त्रिक’ र ‘जनवादी’को भयंकर द्वन्द्वमा थियौं । म ‘जनवादी’मा जुकाझैं टाँसिएको थिएँ । (होइन त नारायणजी ?) र पारिजात दिदीहरू ‘जनतान्त्रिक’लाई केही गरी पनि नछाड्ने उत्पत्ति मुडमा रहेका थिए । यद्यपि दुवै ‘वेद शब्द’को आधारभूत अर्थमा कुनै भिन्नता थिएन । र कदाचित कुनै अन्तर थियो भने त्यो थियो– नेकपा (माले) तथा नेकपा (मसाल) । अथवा नेकपा (मशाल) नै थियो कि ? वास्तवमा ममा मोटो र पातलो खालको मशाल/मसालको विभेदकारी ज्ञानको पूर्णत: अभाव रहेको छ । त्यसकारण किटानका साथ केही पनि भन्न म असमर्थ छु । म के भनुँ ? जे होस्, अहिले प्रगतिशील लेखक–कलाकार संघ, तयारी समिति अस्तित्ववान रहेको छैन । हाम्रो तयारी अपूर्ण रहन गएको हो र ? अब यसको एक हिस्सा ‘कलाकार’को कटौती भएर प्रगतिशील लेखक संघ भएकोछ । संक्षेपमा प्रलेस । (पहिलेप्रलेक थियो) ।
अलिकति विषयान्तर भएकोले म पुन: मूल कुरामा आउँछु । असलमा कुरो के हो भने हाल दुई कम्युनिस्ट पार्टी– नेकपा एमाले तथा नेकपा माओवादी (केन्द्र)– बीचको एकता व्यापक चर्चामा रहेको छ । यसको छोटो ‘ट्रेलर’ यस पटकको चुनाव अगावै ‘वाम गठबन्धन’को रूपमा देखापरेको थियो । र यो जुन किसिमको परम छापामार शैलीमा प्रकट भएको थियो, त्यसलाई फगत ‘एकता’ भन्नु यथेष्ट हुने छैन कि ? जहाँसम्म मेरो विचार छ, यो सामान्य प्रकारको ‘एकता’ होइन । यद्यपि यो ‘एकता’ भइसकेको छैन, तर जब हुनेछ, ‘हाइटेक’ हुनेछ जस्तो छ । अर्थात् हाइटेक एकता । यसका जबर्जस्त ‘आर्किटेक्ट’को भूमिकामा रहेका छन्– नेकपा एमालेका शक्तिशाली अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओली तथा नेकपा माओवादी (केन्द्र) का सदावहार अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ । यिनीहरू मध्ये एक कमरेड ओली स्वास्थ्योपचारको सिलसिलामा थाइल्यान्डको राजधानी बैंककमा रहेकाले ‘एकता’मा अन्तरनिहित ‘हाइटेकपन’मा केही व्यवधान देखापरेको छ । हो, यहाँ एक्लाएक्लै कमरेड प्रचण्डले कसरी एकता गर्ने ? अब नेकपा एमालेका ‘छोटे ओली’हरू कमरेड विष्णु पौडेल र कमरेड प्रदीप ज्ञवालीहरूसँग ‘हाइटेक एकता’ गरेर भएन त ?
अन्त्यमा,
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी र लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) बीच कुनै सामान्य एकता नभएर हाइटेक एकता हुने भएको छ । त्यसउसले यसलाई म ‘एकताज्यू’ नै भन्छु । र यो हाइटेक ‘एकताज्यू’ सुसम्पन्न भइसकेपछि विचार, सिद्धान्त, नीति आदिको पनि क्रमश: फस्र्याेट हुँदै जानेछ । के हतारछ, कमरेडहरू ?

Esewa Pasal

प्रकाशित : पुस २९, २०७४ ०७:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

याकोनबाट मनग्ये आम्दानी

डा. टीपी बराकोटी

काठमाडौँ — जाँगरिला युवा कृषकका लागि नेपालमा थोरै लगानीमा धेरै आम्दानी दिने बालीहरू छन् । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन । मनपरेको बाली छनोट गरी ज्ञान, सीप र प्रविधि उपयोग गरे राम्रो आम्दानी लिन सकिन्छ ।

उत्पादन, प्रशोधन र बजारीकरणमा भने ध्यान दिनुपर्छ । सुरुमा केही कठिन लागे पनि निरन्तर लागिपरे कृषि व्यवसायले फाइदा दिन्छ । त्यसलाई सफल पार्न कृषि विज्ञ, व्यावसायिक किसान र व्यापारीको पनि अनुभव र सल्लाह लिनुपर्छ । के गर्ने, कहाँ गर्ने, कसरी गर्ने भनी मन डुलिरहेको छ भने विदेशमा सफल भई नेपाल भित्रिएको औद्योगिक बाली याकोनको खेती उपयुक्त छ । यसले परिवारको आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याउन सक्छ ।
याकोन दक्षिण अमेरिकाबाट फैलिएको बहुवर्षीय वनस्पति हो । बोट १–२ मिटर अग्लो र ठाडो हुन्छ, पातहरू ठूला र लाम्चा हुन्छन् । फूल सूर्यमुखीको जस्तै हुन्छ । जरा वरिपरि सखरकन्द जस्तै लाम्चा गाना लाग्छन्, जुन रसिलो र गुलियो हुन्छ । अलिअलि स्याउको जस्तो बास्ना आउँछ । त्यसैले यसलाई भुइँ स्याउ पनि भनिन्छ । कन्द (ट्युबर) सुन्तले, गुलावी, वैजनी रङको हुन्छ । सखरकन्द जस्तै देखिने र कार्बोहाइड्ेरट भएकाले यसलाई सखरकन्दे स्याउ पनि भन्न सकिन्छ । कन्दलाई सलाद, जुस, तरकारी, औषधी आदि प्रयोजनमा ल्याइएको छ । पातलाई चियाको सट्टा प्रयोग गरिन्छ । धेरै देशले यसलाई औद्योगिक बालीका रूपमा अपनाइरहेका छन् ।
नेपालमा याकोन भित्रिएको तीन दशक भए पनि धेरैलाई यो नौलै छ । एक जापानीले सन् १९८० तिर पहिलोपटक पोखरामा ल्याएका थिए । तर बोक्रा ताछेर खान नजान्नाले एक दशकसम्म खाद्य प्रयोजनमा आउन सकेन । काभ्रेका सुदर्शन कार्कीले त्यहाँबाट ल्याएर खेती गरेको र बिक्री तथा प्रचारका लागि बजार, कृषि मेला लाने गरेको बताए । उनीबाट बिउ लिएर दर्जनौं व्यवसायीले मध्यमाञ्चल र पश्चिमाञ्चलका पहाडी जिल्लामा खेती सुरु गरेका छन् । याकोन समशितोष्ण हावापानीमा हुने बाली हो । तापक्रम १५–३० डिग्री सेल्सियस र आर्द्रता ६०–७० प्रतिशत उपयुक्त हुन्छ । १,००० देखि २,५०० मिटरसम्मको क्षेत्रमा खेती गर्न सकिन्छ । पानी जम्ने र सुख्खा जमिन ठिक हुँदैन । धेरै प्रकारको माटोमा हुन्छ, तर बलौटे दोमट र खुकुलो माटो उपयुक्त हुन्छ । प्राङ्गारिक पदार्थ पर्याप्त भएको माटोमा फस्टाउँछ । नेपालको धेरै क्षेत्रको हावापानी र माटो याकोन खेतीको लागि उपयुक्त छ ।
बिउको स्रोत याकोन कृषक र व्यवसायी हुन्, जसलाई जिल्ला कृषि विकास कार्यालयले खोजिदिन सक्छ । एउटा गानो बिउलाई २० देखि ४० रुपैयाँ पर्छ । बोटको वृद्धिसंँगै उत्पादन पनि धेरै दिनसक्ने बाली भएकोले पूर्ण क्षमताको उत्पादन लिन माटोमा खाद्य तत्त्वहरू त्यही अनुसार उपलब्ध हुनुपर्छ । याकोन लगाउने जग्गा राम्रोसंँग जोतखन गरी आलु लगाउनका लागिजस्तै तयार पार्नुपर्छ । त्यसमा २–२ फिटको फरकमा ड्याङ बनाई १ फिट गहिरो र १ फिट चौडा खोपिल्टा खनी १ देखि २ केजी गाई–भैंसीको मल हालेर माटोसंँग मिलाउनुपर्छ । प्रत्येक खोपिल्टोमा राम्रो स्वस्थ एउटा गानो रोपी फेदमा माटोले थिच्नुपर्छ । त्यसपछि माटो भिज्नेगरी पानी हालिदिनुपर्छ । यो चैत–बैसाखमा रोपिन्छ ।
रोप्ने बेला एकचोटी सिंचाइ गर्नुपर्छ । त्यसपछि सुख्खापन हेरी सिंचाइ दिनुपर्छ । वर्षामा पानी निकासको व्यवस्था गर्नुपर्छ । रोपेको ४–५ सातापछि बिरुवा ३०–३५ सेमि हुन्छ । त्यसपछि आधा केजी पाकेको कम्पोस्ट मल फेदमा हाली माटोले पुरेर अलिकति अग्लो पारिदिनुपर्छ । दोस्रो गोडाइ फूल फुल्नुभन्दा पहिले वर्षायाममा झार धेरै आएको बेला गर्नुपर्छ । रोपेको ६–७ महिनापछि याकोन खन्न सकिन्छ । पुरानो हँुदै जाँदा केही चाउरी परे पनि गुलियोपना बढ्दै जान्छ । खन्ने क्रममा पहिले बोट काटेर हटाउनुपर्छ । बोटको वरिपरि र तलतिर गानो भेट्नेगरी खनिसकेपछि सिंगो बोट निकाली बेर्ना बन्ने तरुल राइजोमहरू नबिग्रनेगरी विस्तारै छुट्याउनुपर्छ । फललाई चोटपटक नलाग्नेगरी डोको वा क्रेटमा हाल्नुपर्छ ।
याकोन एउटा बोटमा २–३ केजी फल्छ । आलुलाई जत्तिकै मिहेनत गर्दा ४–५ गुणा बढी फल्छ । प्रतिकेजी २ सय रुपैयाँ हाराहारीमा बिक्री भएको पाइन्छ । खनेपछि ७–८ महिनासम्म भण्डार गरेर राख्न सकिन्छ । यसमा मधुमेहका रोगीलाई फाइदा हुने औषधीय गुण हुन्छ । याकोनको कन्द सलाद, जुस, तरकारीमा प्रयोग गरिन्छ । कन्दमा पानीको मात्रा ९० प्रतिशत र प्रोटिनको मात्रा पनि धेरै हुन्छ । यसलाई बोक्रा ताछेर सजिलै खान सकिन्छ । जुस, केक, फ्रुट सलाद बनाएर बिक्री गरिन्छ । नेपालमा सिरप, वाइन, जाम बनाएर पनि बेच्ने गरिएको छ । उत्पादन प्रशोधन बढाएर उद्योगका रूपमा विकास गर्न सकिन्छ ।

प्रकाशित : पुस २९, २०७४ ०७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT