जाजरकोटमा विशेष सतर्कताको खाँचो

सम्पादकीय

काठमाडौँ — जाजरकोट जिल्लामा सामान्य रोग फैलिएर प्रकोपको रूप लिने र मानवीय क्षति हुने स्थिति पटक–पटक पुनरावृत्ति हुँदै आएको छ । आठ वर्षअघि झाडापखाला र हैजाको महामारीका कारण करिब साढे तीन सयको ज्यान गएको जाजरकोटमा दुई वर्षअघिको मौसमी रुघाखोकीको प्रकोप फैलँदा २७ जनाको मृत्यु भयो ।

यसपालि पुस पहिलो सातादेखि फैलिएको भाइरल ज्वरोका कारण १३ जनाको मृत्यु भइसकेको छ र करिब दुई हजार बिरामी छन् । सामान्य स्वास्थ्य समस्याले प्रकोपको रूप लिएर मानवीय क्षति हुनुमा स्थानीय बासिन्दाको सरसफाइ कमी र रोगप्रति लापरबाहीजस्ता कारक देखिए पनि यसमा चेतना जगाउने तथा औषधोपचार सर्वसुलभ बनाउने कार्यका लागि राज्यका सम्बन्धित निकायहरू बढी दोषी छन् । जाजरकोटमै प्रकोप पुनरावृत्ति भइरहनुले सरकार त्यहाँको समस्याको दीर्घकालीन समाधान खोज्न गम्भीर छैन भन्ने पनि देखाउँछ ।
यसपटक जाजरकोट, जुनीचाँदेका १, २, ३ र ११ वडामा भाइरल ज्वरोको प्रकोप फैलिएको हो, जुन अझै नियन्त्रण भइसकेको छैन । त्यस क्षेत्रका घर–घरमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको तथा जिउ दुख्ने, पखाला लाग्नेजस्ता समस्याका बिरामी छन् । विगतका वर्षझैं यसपालि पनि प्रकोप नियन्त्रणका लागि राज्यका तर्फबाट बेलैमा पहल हुन सकेन । प्रभावित क्षेत्रमा दुई सातापछि मात्र स्वास्थ्यकर्मी पुगे । नियन्त्रणमा जति ढिलाइ भयो, परिस्थिति उति जटिल बन्छ भन्ने विगतका प्रकोपबाटै सम्बन्धित निकायले पाठ सिक्नुपर्ने हो । २०६६ सालको प्रकोप पूर्ण नियन्त्रण हुन झन्डै छ महिना लागेको थियो भने दुई वर्षअघिको प्रकोप दुई महिनासम्म फैलिएको थियो । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी पर्याप्त औषधिसहित जुट्न सकेको भए सामान्य स्वास्थ्य समस्या प्रकोपमा रूपान्तरण भएर मानवीय क्षति हुने थिएन ।
जाजरकोटका दुर्गम बस्तीमा चेतनाको कमी, स्वच्छ पानी तथा पौष्टिक खानेकुराको अभाव र सरसफाइमा हेलचेक्रयाइँजस्ता समस्या छन् । सामान्य स्वास्थ्य समस्या हुँदासम्म बेवास्ता गर्ने, धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्ति पनि छ । स्वास्थ्य संस्थाहरू सबैको पहुँचमा छैनन्, भए पनि कतै स्वास्थ्यकर्मी नहुने त कतै औषधि नपाइने समस्या छन् । विशेषज्ञ चिकित्सकको अभाव छ । बिरामी हतपत स्वास्थ्य संस्था नपुग्ने र पुगिहाले पनि उचित औषधोपचार बेलैमा नमिल्ने हुनाले प्रकोप फैलिने एवं मानवीय क्षति हुने गरेको छ । यस्तै, समस्या रहेका अन्य जिल्लामा पनि बेला–बेला प्रकोप फैलिएर मानवीय क्षति हुने गरेको छ । बाजुराको जगन्नाथ गाउँपालिकामै रुघाज्वरोका कारण दुई सातायता पाँच जनाको मृत्यु भइसकेको छ । जिल्ला र केन्द्रले पनि प्रकोपकै रूप लिइसकेपछि वा व्यक्तिको ज्यान नै गइसकेपछि मात्र गम्भीर ढंगले लिँदै जनशक्ति र औषधि परिचालन गर्ने प्रवृत्ति छ, त्यसलाई सुधार्न जरुरी छ ।
प्रकोप फैलिएको जाजरकोटको जुनीचाँदेमा ढिलै भए पनि विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीले उपचार सुरु गरेका छन् । उनीहरूको उपचार सेवाले यसपालिको भाइरल ज्वरो त नियन्त्रणमा आउला तर फेरि यस्तै प्रकोप कुनै दिन नदेखिएला भन्न सकिने स्थिति छैन । त्यसैले जाजरकोटमा स्वास्थ्यसम्बन्धी प्रकोपको पुनरावृत्ति हुन नदिन सम्बन्धित निकायले विशेष सतर्कता अपनाउन अत्यावश्यक छ । सरसफाइमा ध्यान दिन र बिरामी हुनासाथ स्वास्थ्य संस्थामा जान प्रेरित गर्ने खालका जनचेतनामूलक कार्यक्रम चाहिन सक्छ । सरकारले पनि अत्यावश्यक ठाउँमा स्वास्थ्य संस्था स्थापना र विशेषज्ञसहित पर्याप्त जनशक्ति परिचालन गर्दै उपचार सेवा सर्वसुलभ बनाउन सक्नुपर्छ । आधारभूत स्वास्थ्य सेवा नि:शुल्क र समान पहुँच पाउने प्रत्येक नागरिकको संविधानप्रदत्त मौलिक हक पनि हो । अहिले स्थानीय सरकार अर्थात् स्थानीय तहलाई नै स्वास्थ्य संस्था सञ्चालन, औषधि तथा स्वास्थ्य उपकरण व्यवस्थापनको अधिकार हुनाले सामान्य स्वास्थ्य समस्यालाई जटिल बन्न नदिन जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ ।

प्रकाशित : पुस ३०, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्

आर्मी फाइनलमा

खप्तड गोल्डकप फुटबल
विनोद पाण्डे, डीआर पन्त

काठमाडौँ — त्रिभुवन आर्मी क्लब शनिबार मनाङमाथि ३–१ को जित निकाल्दै मोफसलको सर्वाधिक पुरस्कार राशि रहेको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनल पुगेको छ । डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलबाटै बाहिरिएको हो ।

आर्मीका भरत खवास (२१) को गोल बचाउने असफल प्रयासमा मनाङका गोलरक्षक दिनेश थापामगर ।


यस सिजनमा वीरगन्जको विशाल मेमोरियल तथा झापामा सताक्षी गोल्डकप र काँकडभिटा गोल्ड कप जितिसकेको आर्मीले सोमबार हुने फाइनलमा एपीएफ क्लब र आयोजकको सुदूरपश्चिम ११ बीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आइतबार हुनेछ ।
यसअघि क्वाटरफाइनलमा रुस्लान थ्री स्टार क्लबलाई २–१ ले हराएको आर्मीले निरन्तर खेल्नुपरेको मनाङलाई पन्छाउन पनि केही मेहनत गर्नुपरेको थियो । मनाङले २४ घण्टाअगाडि मात्र रूपन्देही ११ लाई ४–० ले पराजित गरेको थियो ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङले २४ घण्टा नबित्दै अर्को खेल खेल्नुपरेकाले स्वाभाविक खेल्न नसकेको जनाए । ‘यति लामो यात्रा गरेर यहाँ खेल्न आएका हौं, तर आयोजकले खेलतालिका मिलाउन सकेन,’ उनले भने, ‘लगातार दुई दिन खेल्न गाह्रो हुन्छ । त्यसमाथि आर्मीजस्तो फिजिकल्ली र स्पिड टिमसँग खेल्नुपरेको छ । हाम्रा खेलाडीमा लगातार दुई दिन खेल्ने शक्ति खासै मैले देखेको छैन ।’
आयोजक सुदूरपश्चिमले पुस २१ मा च्यासल युवा क्लबसँग खेलेको थियो । टोलीले त्यसपछि आइतबार एकैपल्ट सेमिफाइनल खेल्न लागेको हो । आर्मीका प्रशिक्षक नवीन न्यौपाने पनि यसमा सहमत थिए । ‘मनाङ अघिल्लो दिनमात्र खेलेकाले हामीलाई त्यसको फाइदा थियो । त्यही भएर हामीले उनीहरूलाई दबाब दिएर खेल्ने रणनीति बनाएका थियौं,’ मनाङका पूर्व खेलाडी न्यौपानेले भने, ‘एक गोलले पछाडि पर्दा निश्चय पनि केही दबाब भयो । तर, हामी तुरुन्तै खेलमा फर्कन सक्यौं । बराबरीमा आएपछि हामीलाई खेल्न सजिलो भयो ।’
धनगढी रंगशालामा मनाङले नवौं मिनेटमा हेमन गुरुङको गोलमा अग्रता लियो । विमल रानाको क्रसमा हेमनले गरेको प्रहार डिफ्लेक्ट हुँदै गोल भयो । यसअघि तेस्रो मिनेटमा कप्तान अनिल गुरुङले फ्री हेड तथा सुवास गुरुङले सातौं मिनेटमा खुला अवसर सदुपयोग गर्न नसक्दा मनाङ चुक्चुकाइसकेको थियो । आर्मीले २३ औं मिनेटमै खेल बराबरीमा ल्यायो । कर्नरमा आएको बल हुलमुलबीच कप्तान भरत खवासले गोल गरी आर्मीलाई बराबरीमा ल्याए । यसको आठ मिनेटअघि नै भरतले मनाङका गोलरक्षक दिनेश थापामगरलाई बिट गरे पनि गोल गर्न सकेका थिएनन् । जबकि त्यो समयमा अर्का स्ट्राइकर नवयुग श्रेष्ठ गोल गर्नलाई सजिलो स्थानमा थिए ।
मनाङका रक्षक कमल श्रेष्ठ अघिल्लो खेलमा घाइते भएकाले रक्षापंक्तिमा टोली दबिएर खेल्नुपरेको थियो । कमलको स्थानमा मनाङले मिडफिल्डर भिक्टोरलाई रक्षापंक्तिमा खेलायो । यसको फाइदा उठाउँदै मध्यान्तरको ठीकअघि दिनेश हेन्जनको क्रसमा म्यान अफ द म्याच नवयुगले आर्मीलाई अग्रता दिलाए ।
मध्यान्तरपछि मनाङ आक्रामक खेल्न खोजे पनि आर्मीले रक्षात्मक हिसाबमा खेलेको थियो । मनाङका विशाल राईले दोस्रो हाफमा एउटा अवसर गुमाउन पुगे । काउन्टर अटयाकमा बेला बेलामा आर्मीले विपक्षी पोस्टमा आक्रामण गरेको थियो । ८८ औं मिनेटमा भरतले आफ्नो मध्यभागबाट काउन्टरमा अगाडि बढाएको बलमा नवयुगको प्रहार मनाङका गोलरक्षक दिनेशले फर्काए पनि रिबाउन्डमा सन्तोष तामाङले गोल गरी आर्मीको विजय निश्चित गरे ।
प्रतियोगिता विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद जित्नेछ । घरेलु नकआउट प्रतियोगितामा मोफसलमा दिन लागिएको यो सर्वाधिक धनराशि हो । उपविजेताको भागमा ५ लाख ५५हजार पर्नेछ ।

दीपक सम्मानित
दक्षिण एसियाली खेलकुदमा नेपालबाट सर्वाधिक ४ स्वर्ण पदक जितेका दीपक विष्ट शनिबार गृहनगरमा सम्मानित भए । उनलाई नेपाल आइस दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको आयोजकका अध्यक्ष सुरेश हमाल र अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य गणेश चन्दले ताम्रपत्रसहित सम्मान गरे । उनलाई ८ केजीको फुलको माला लगाइदिइएको थियो । दीपकले गृहनगरको सम्मानले आफ्ना लागि छुट्टै अर्थ राख्ने गरेको बताए । तेक्वान्दो खेलाडी विष्टले सन् १९९९ देखि २०१० सम्म गरी दक्षिण एसियाली खेलकुदमा लगातार ४ स्वर्ण जितेका थिए । ओलम्पियन उनले २००२ र २००६ को एसियाली खेलकुदमा कांस्य पनि जितेका थिए ।

प्रकाशित : पुस ३०, २०७४ ०६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्