कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमेरिका बस्ने 'माक्क फुँई'हरुको आत्मरति 

नवीन रायमाझी

काठमाडौँ — अमेरिकामा अनेकौं किसिमका संघ संगठनहरु खोल्ने र त्यसको पधाधिकारी हुँ भनेर आफै खुशी हुने चलन बढ्दो छ । तर यसबाट बास्तबमा के कस्तो फाइदा हुन्छ पंक्तिकारले बुझ्न सकेको छैन । यो तिनै पदाधिकारीहरुको आत्मरति मात्र हो । 

अमेरिका बस्ने 'माक्क फुँई'हरुको आत्मरति 

नेवारी भाषामा एउटा उखान छ, "माक्क फुँई" अर्थात् बाँदरको फुर्ति । काम न बेकाम यताबाट उता र उताबाट यता उफ्रिरहने र अरुको बिगार मात्र गर्ने, तर हुरी, बतास र पानी आउँदा ओत लाग्ने छानासम्म नभएको, जबकी हरेक प्राणीको एउटा बस्ने ठाउँ हुन्छ ।


त्यो कमिला होस् वा हात्ती । ठुला ठुला फुर्ति लगाउने तर उपलब्धी सुन्य भयो भने त्यस्तो अबस्थालाई 'माक्क फुँई' भनिन्छ । देश बाहिर र अमेरिकामा खुलेका विभिन्न नामका संघ संगठनहरु यस्तै 'माक्क फुँई' को उदहारण हुन्, जसमा कुरा त ठुलो ठुलो हुन्छ तर उपलब्धी केहि छैन र भएपनि अर्थहीन उपलब्धी मात्र छ । कुनै कुनै संघ संगठनहरुको अवस्था त यतिसम्म गए गुज्रेको छ कि कार्यसमिति मै बस्ने मान्छेसम्म नपुग्ने सदस्यहरु छन् । अब आफै बिचार गरौँ कि यस्ता संघ संगठनहरु हुनु र नहुनुको के मतलब रहन्छ ? पंक्तिकारको न्यून सामाजिक आर्थिक अवस्थाको कारणले यस्ता संघ संगठनहरु सदस्य बन्ने हैसियत नभएर हुनुपर्छ कसैले पनि सदस्य बन्न अनुरोध गरेको छैन र मेरो अल्पबुद्धिले यस्ता संघ संगठनहरु हुनु र नहुनुको औचित्य देखेको पनि छैन । यहाँ यस्तै केहि संघ संगठनहरुको उपलब्धी के हो भनेर प्रश्न सोध्ने प्रयास गरिएको छ ।


सबैभन्दा "ग्ल्यामर्स" संघ संगठनहरुमा पर्छ गैर आबासीय नेपाली संगठन अर्थात् एनआरएनए । भारतीयहरुको एनआरआइको देखासिखी हो वा मिल्न गएको हो यो संगठनको सदस्य हुनेहरु आफुलाई बिशेष प्राणी जस्तो सम्झिन्छन् र आफु अमेरिकामा बसेर बिश्वलाई नै गुण लगाएको ठान्छन् । भलै यता आउँदा र आएपछि कतिसम्म बैध/अबैध तिकडम गरेको किन नहोस् । केहि अपबादलाई छोडेर अधिकांस एनआरएनहरु आफ्नो गुजारा चलाउने बाहेक अर्बौको लगानी नेपाल भित्रयाउन सक्ने हैसियतमा छैनन्, जसको छ त्यसले पनि दस पटक सोच्न पर्ने अवस्था भएको देशमा खर्बौको लगानी आउँछ भन्ने एपिसोड नै बेकार हो ।


त्यसपछि आउँछ राजनीतिक बाद र सिद्दान्तमा आधारित संघ संगठनहरु, जसमध्ये नेपाली कांग्रेस पक्षधर जन सम्पर्क समिति र एमाले पक्षधर प्रबासी मन्च । देसमा बसुन्जेल चोर र डाँका भनेर गाली गरेका कथित नेताहरु यता आउँदा माला र खादाले स्वागत गरेर उनीहरुसँग फोटो खिच्ने र त्यो फोटो सामाजिक संजालमा अपलोड गरेर आत्मगौरव मान्ने बाहेक यि संघ संगठनहरुको अर्को कुनै काम छैन । कसै कसैले सोझा साझा र दुख पाएका नेपालीहरुलाई सहयोग गरेका पनि छन् र कसैले त्यस्ता नेपालीहरुलाई ठगेका पनि छन् । यहाँ बस्ने नेपालीहरुको प्रमुख समस्या भनेको बैधानिकता को हो, अब यो समस्या समाधान गर्ने हैसियत यस्ता कुनै संघ संगठनहरुका पधाधिकारीहरुको छैन, र हुने कुरा पनि भएन । तर गफ लडाउन पायो भने आकाश पाताल जोर्नु यिनीहरुको बिशेषता हो । नेपालमा गएको महाभुकम्पबाट पीडितहरुलाई सहयोग गर्न भनेर उठाएको चन्दाको पैसा घोटाला गरेको आरोप लागेको जन सम्पर्क समितिका पधाधिकारीहरुले आजसम्म म दोषी होइन भन्न नसक्नुले यस्ता संघ संगठनहरुमा लाग्नुको फाइदा के रहेछ त्यो प्रष्ट हुन्छ ।


अर्को उदेकलाग्दो कुरा के हो भने कम्युनिष्टको "क" पनि सुन्न नचाहने अमेरिकामा आफुलाई म कम्युनिस्ट हूँ भन्नु नै आत्मद्रोह हो, किनकि अमेरिकाको भिषा लिने बेलामा भर्ने फाराम मै म कुनै कम्युनिस्ट संघ संगठनहरुको सदस्य छैन र त्यस्ता संघ संगठनहरुलाई आजसम्म कुनै चन्दा दिएको छैन भने ठाउँमा चिनो लगाएर आएको हुन्छ ।


अर्को प्रमुख संघ संगठनहरुमा आउँछ क्षेत्रीय संघ संगठनहरु, फलानो राज्यको ढिस्कानो जिल्ला संघ भन्ने यस्ता संघ संगठनहरुको फाइदा भनेको बिदामा पिकनिक जाने र अरुको कुरा काट्ने बाहेक केहि छैन । एक त नेपालीहरुको संख्या नै कम हुन्छ त्यसमा पनि अमुक जिल्लाको मान्छे कति हुने? बरु सबै नेपालीहरुको एउटा संघ निर्माण गर्यो भने परदेशमा यसो आफ्नो भाषा बोल्न पाइन्छ भन्ने हो, पंक्तिकारलाई व्यक्तिगत रुपमा यस्तोमा रुचि त छैन तर इच्छा भएकाहरुलाई सजिलो हुन्छ । एउटै ठाउँमा लामो समयसम्म मिलजुल गरेर बस्न नसक्ने र जे जस्तो कुरालाई पनि राजनीतिक रङ्ग दिनमा अगाडी रहेका हामीहरुको यस्तो संघ संगठनहरु जुट्नु भन्दा पहिले नै फुट्ने खतरा हुन्छ ।


त्यस्तै अर्को आउँछ जातीय संघ संगठनहरु, एउटै जात भित्र त अनेकौ मान्यता भएका हामी नेपालीहरुले जातको आधारमा कुनै भेदभाव गर्नु गैरकानुनी भएको देशमा आएर फलानो जात र ढिस्कानो जातको संघ स्थापना गर्नु नै हास्यास्पद छ । एउटा निश्चित जात भित्र नै अनेकौं तह र तप्का भएका हामी नेपालीहरुले जातीय संघ संगठनहरु किन खोल्ने हो र त्यसको के फाइदा हो त्यो बुझ्न सकिएको छैन ।


यि माथि उल्लेखित भन्दापनि अरु अनेकौं संघ संगठनहरु छन् तर ति संघ संगठनहरुको कुनै खास चहलपहल नभएर यहाँ उल्लेख नगरिएको हो । यस्ता संघ संगठनहरु खोलेर म अध्यक्ष र तँ उपाध्यक्ष भन्नु बाहेक पंक्तिकारले अर्को कुनै फाइदा देखेको छैन, सायद त्यो बौद्धिक हैसियत नभएर पनि होला । मेरो बिचारमा अमेरिकामा यदि संघ संगठनहरु खोल्ने नै हो भने ट्याक्सी ड्राइभर, पेट्रोल पम्पमा तेल हाल्ने, बच्चाको रेखदेख गर्नेहरुको पेशागत संघ संगठनहरु खोल्दा राम्रो हुन्छ । यसबाट अरु कुनै उपलब्धिमुलक कुरा नभए पनि आफ्नो काममा पर्ने समस्याहरुको हल गर्ने उपाय निस्किन सक्छ । मैले देखेकोमा यस्ता संघ संगठनहरु भनेर दौडिनेहरु प्राय: 'आफै त महादेव उत्तानो टांग कसलाई दिने बर' भनेको जस्तो कुनै खास आर्थिक सामाजिक हैसियत नभएकाहरु छन्, जसको आर्थिक सामाजिक हैसियत उच्च छ उनीहरुलाई यस्ता बेकामको कुरामा लाग्ने न त इच्छा छ न त समय नै छ ।


यो आलेखले निकै मान्छे आक्रोशित हुनेछन् र अनेकौं आलोचना खप्न पर्नेमा म मानसिक रुपमा तयार छु । तर मुटु माथि हात राखेर सत्य बोल्ने हो भने यि माथि उल्लेखित कुरामा कसैको बिमति हुँदैन । अब सत्य कुरा पचाउन नसकने तर झुटो सपना देखेर खुशी हुने हरुलाई राम राम भन्नु बाहेक काँध थाप्न सकिंदैन । सबैको कल्याण होस् ।


@twitter#naviinr


प्रकाशित : पुस ३०, २०७४ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?