१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

येले संवत्को प्रामाणिकता

किरात समुदायको सामूहिक अस्तित्वको खोजीका क्रममा किरात येले संवत् प्रवद्र्धन भएको हो ।
गणेश राई

काठमाडौँ — किरात समुदायमा माघको पहिलो दिन नयाँ वर्षका रूपमा मनाउने चलन छ । काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गरेको मानिन्छ ।

येले संवत्को प्रामाणिकता

यस दिन घर–घरमा वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी (सखरकन्द), पिँडालु, बदाम, इस्कुसको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमूल उसिनेर खाने चलन छ । पछिल्लो कालमा नयाँ वर्षलाई सांस्कृतिक र राजनीतिक अधिकारका रूपमा अघि बढाउने क्रम चलेको छ । जसले गर्दा नयाँपन थपिएको छ ।

इतिहासको दसी

नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलत: किरात कालमा सुभारम्भ भएको तथ्य उल्लेख छ । किरात शासनकाल सात सय वर्ष रहेको उल्लेख छ । किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि) ले किरातकालीन सभ्यताका विभिन्न आयामहरूमध्ये किरात येले संवत् पनि एक हो भनेर विश्वास गर्छन् । किरात येले संवत् पहिचानको कडीका रूपमा लिएका छन् । यी जाति र तिनका सामाजिक संस्थामार्फत किरात येले संवत्लाई व्यापक प्रचलनमा ल्याएको पाइन्छ ।

किरात समुदायको सामूहिक अस्तित्वको खोजीका क्रममा यो संवत् प्रबद्र्धन भएको हो । यो संवत्लाई साझा रूपमा ‘किरात येले संवत्’ उल्लेख गर्ने गरिएको छ । लिम्बु समाजमा येले तङ्बे, बान्तवा भाषामा ‘येले दोङ’, सुनुवार भाषामा ‘येले थोचे’ भन्ने गरिन्छ । प्रदेश नं. १ म किरात येले संवत् प्रचलन व्यापक छ । पहिचानका रूपमा किराती राई, लिम्बु, याक्खा, सुनुवार र अन्य समुदायले यसलाई उल्लेख गर्ने गरिएको पाइन्छ । विभिन्न प्रकाशन, शिलालेख, चिहान चौतारीमा यो संवत् किरात लिपि (सिरिजंगा लिपि) मा लिपिबद्ध गर्ने गरिएको छ । यो किरात यलम्बर संवत्लाई प्रदेशको छुट्टै संवत्का रूपमा प्रयोग गर्न सकिने वैरागी काइँला (तिलविक्रम नेम्बाङ) लगायत विद्वानहरूको मत छ ।

संवत्का प्रवद्र्धक

लिम्बु भाषामा साल/संवत्लाई ‘तङ्बे’ भनिन्छ । सर्वप्रथम ‘किरात येले तङ्बे’को प्रचलन २०२९ सालमा भएको हो । पुष्प थाम्सुहाङ ‘असित’को सम्पादन तथा प्रकाशनमा विसं २०२९ (सन् १९७२) काप्मेप्पा (जेठ) महिनामा लिथो गरेर हस्तलिखित ‘सिरिजंगा’ मासिक प्रकाशनमा आएको थियो । त्यस पत्रिकाको वर्ष १, अंक ७, विसं २०३० थेसेक्रो (कात्तिक) मा पहिलोचोटी ‘किराती तङ्बे (संवत्) ५०७३’ उल्लेख थियो । त्यो नै किरात संवत्को सुरुआती कदम थियो ।

कलिगत ४० वर्ष बित्दा किरात राजा यलम्बरले काठमाडौँ उपत्यकामा शासन गर्न सुरु गरे भन्ने सुब्बा प्रेमबहादुर माबोहाङ र भूपेन्द्रनाथ शर्मा ढुंगेलको दाबीका आधारमा सिक्किमका जसहाङ मादेनले चासो राखे । उनै जसहाङ मादेनको पहलमा अखिल सिक्किम किरात लिम्बु चुम्लुङले ‘याक्थुङ येले तङ्बे’ ५०४९ (सन् १९८९–९०/विसं २०४५–४६) मा याक्थुङ पञ्चांग प्रकाश गर्‍यो । पुष्प थाम्सुहाङले प्रयोग गरेको आधार विक्रमजित हसरतको ‘नेपालको इतिहास’ अनुसार कलि संवत् हो भने जसहाङ मादेनले प्रयोग गरेको संवत् प्रेमबहादुर माबुहाङ र भूपेन्द्रनाथ ढुंगेलको ‘संक्षिप्त नेपालको इतिहास’मा उल्लेखित कलिगत संवत् हो । किरात संवत्को प्रबद्र्धन गर्ने व्यक्ति पुष्प थाम्सुहाङ थिए ।

संवत्बारे अन्तर्राष्ट्रिय गोष्ठी

किरात येले संवत् अध्ययन समन्वय समितिले सन् २००९ नोभेम्बर १४ र १५ तारिखमा ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठी’ सम्पन्न गर्‍यो । यस काममा प्राचीन नेपालको इतिहासका ज्ञाता प्रा.डा. जगदीशचन्द्र रेग्मी, किरात इतिहासकार दुर्गाहाङ याक्खा राई र किरात इतिहासकार तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बा लगायतको विशेष सहभागिता थियो । गोष्ठीमा इतिहासविद्हरूले पहिलो किरात हाङ यलम्बरको स्मृतिमा ‘स्मारक संवत्’का रूपमा चलाउन उपयुक्त हुने प्रामाणिक तर्क प्रस्तुत गरेका थिए । त्यसो हुँदा (सन् २०१० मा) किरात येले संवत् ३७८९ वर्ष ८ महिना हुनआउने निष्कर्ष दिए । साविक प्रचलनमा रहेको किरात संवत् १२८१ वर्षले घट्न गयो । इतिहासमा उल्लेख पहिलो किरात हाङ यलम्बरको काललाई स्तम्भ (कोशेढुंगा) मानेर यताको काल गणना गर्दा साविक प्रचलनमा रहेको संवत् घटेको हो । यद्यपि इतिहास विज्ञान पनि भएकाले अध्ययन तथा अनुसन्धान जारी छ । त्यस अन्तर्राष्ट्रिय सम्मेलनपछि समाजमा संवत् प्रयोगमा दुविधा उत्पन्न भएको पाइन्छ । तर विज्ञहरूको मतसहितको नयाँ तथ्यलाई आधार बनाउनु उचित हुने मतचाहिंँ बढी बलियो देखिन्छ ।

किरात येले संवत् अध्ययन समन्वय समिति र किरात सवन्वय समिति (किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा) को पहलमा अन्तर्राष्ट्रिय गोष्ठी भएको थियो । ती संस्थाले पहिलो संविधानसभाले संविधान निर्माण गर्दैगर्दा ‘संविधानको अनुसूचीमा किरात येले संवत् उल्लेख हुनुपर्छ’ भन्ने माग राखे । राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, संस्कृतिमन्त्री, प्रमुख राजनीतिक दलका अध्यक्षहरू, संविधानसभा अवधारणापत्र तथा प्रारम्भिक मस्यौदा अध्ययन समितिका अध्यक्ष लगायतलाई ज्ञापनपत्र बुझाए । त्यो कामको अगुवाइ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले गरेका थिए ।

निचोड

इतिहासको अध्ययन, अनुसन्धान, उत्खनन कार्य आफैंमा जटिल कार्य हो । किरात येले संवत् अध्ययन र प्रामाणिक विषयमाथि संवत् घट्नु सोझो हिसाबले दु:खद हो । तर विना प्रमाण एकजना व्यक्तिले चलनमा ल्याएका संवत्लाई सरकारी दस्तावेजमा संलग्न गराउँदा अस्वीकार्य हुने प्रबल सम्भावना रहन्छ नै । र यो राजनीतिक मुद्दाको विषय पनि हो । समाजलाई साक्षी राखेर बृहत बहस, अध्ययन, अनुसन्धान गरेर निष्कर्षमा पुग्न जरुरी छ । त्यही कार्यको सुरुवात भएको हो ।

संवत् घटाइयो भनेर असन्तुष्टि पोख्ने र जडवादी भएर अध्ययन, अनुसन्धान कार्यलाई ठप्प पार्न खोज्नु मुर्खता ठहरिन्छ । अर्कोतर्फ अध्ययन, अनुसन्धान कार्यमा चासो राख्नेहरूमाथि अनेक लाञ्छना लगाउनु जायज होइन । अध्ययनलाई खुला राखेर किराती जातिले साझा एकता जनाउन किरात येले संवत् चलाउन जरुरी छ ।

किरात येले संवत् नै भनेर स्मारक संवत् चलाउँदा प्रामाणिक हुनसक्छ । तर ‘किरात संवत्’मात्रै भनिरहँदा प्रामाणिक संवत् बन्न नसक्ने इतिहासविद्हरूको मत छ । यसतर्फ देश–विदेशमा रहेका किरातजन्य संस्था, व्यक्ति–व्यक्तित्वहरूले यसतर्फ सोच्न जरुरी देखिन्छ । चलनचल्तीमा आएको यो संवत् कुनै व्यक्ति विशेषको मात्र लाभ–हानिको विषय होइन । सिंगो किरात जातिको अस्तित्वको सवाल हो भन्नेचाहिँं प्रमुख विषय हो । यो संवत् र किरात जातिको पहिचानका समग्र पक्षको अध्ययन, अनुसन्धानका निम्ति स्थापित यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) संस्थाले प्रदेश नम्बर १ मा किरात येले संवत्को सघन प्रयोग हुने सम्भावनालाई मध्यनजर गर्दै यस संवत्लाई मान्यता दिलाउने कामको पहलकदमी हुनुपर्ने माग दोहोर्‍याएको छ । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था कार्यान्वयन हुने क्रममा तीन तहको निर्वाचन सम्पन्न भइसकेको हुँदा सरकारले नेपालमा चलेका संवत्हरूलाई प्रचलनमा ल्याउने कार्य निष्कर्षमा पुर्‍याउन जरुरी छ,

जसरी विक्रम संवत्, नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा लागू गरिएको छ ।

[email protected]

प्रकाशित : माघ १, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?