१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेलमिलाप, केसी र प्रजातन्त्र

समय रेखा
मिडिया, साहित्यकार र स्वतन्त्र चिन्तक अनि सरल सत्याग्रहीलाई राज्यको सुरक्षा खतराका रूपमा लिन बन्द गर्ने राजनीति गरियोस् ।
अभि सुवेदी

काठमाडौँ — विश्वेश्वरप्रसाद कोइराला उर्फ बीपी, मेलमिलापको सन्देश लिएर नेपाल फर्केको दिनको छलफलमा भाग लिन मलाई निमन्त्रणा थियो । काठमाडांै बाहिर भएकाले जान सकिन । तर यस विषयमा केही लेख्नुपर्‍यो भनेर लागेकै बेला डा. गोविन्द केसीलाई २४ पुसको सांँझ टिचिङ अस्पतालको परिसरमा अनशन बसेको अवस्थाबाट प्रहरीले उनको मागबाट अदालतको मानहानि भएको ठहर गरी पक्रिएर लगेको खबर व्याप्त भयो ।

मेलमिलाप, केसी र प्रजातन्त्र

यो विषयमा समाचारमा प्रयोग भएको भाष्यले म झस्किएंँ । समाचार छ, ‘केसीलाई पक्राउ गर्ने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । उनलाई राखिएको सिंहदरबार वृत्तमा पनि सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ’ (कान्तिपुर, २५ पुस २०७४) । सरकार यो परिवर्तनको संघारमा र दलहरूका छलफलले तीव्र रूप लिएको बेला एउटा महात्मा गान्धीजस्तो सबैले मानेको र सबैको कल्याण होस् भनेर जीवन अर्पित गरेर लागेको कुनै स्वार्थ नभएको डाक्टरमाथि सरकारले कू गर्नलागेको मानिसलाई जस्तो किन ठूलो संख्यामा प्रहरी परिचालन गरेर यत्रो बबन्डर गर्नलागेको हो, किञ्चित अनिष्ट हुनलागेको हो कि भन्ने कुराको आभास भयो, मलाई । अर्को अखबारमा आंँखा पुगे । त्यसमा समाचारको शीर्षक थियो, ‘प्रहरीले पक्राउ गर्‍यो, प्रधानमन्त्रीको आपत्ति’ । अनि समाचार थियो, आफूलाई जानकारी नदिई पक्राउ गरेको विषयमा प्रधानमन्त्रीले आफ्नो असहमति रहेको बताए । उनले भने, ‘मैले केसी पक्राउ परेको समाचार हेरेर थाहा पाएँ ।’ प्रधानमन्त्री अनभिज्ञ, यो शक्तिको ‘ग्याप’ । यस्तैबाट जन्मिने हो, डिक्टेटरसिप । देश र विदेशमा यसको विरोध भयो । एकाध बाहेक नेपाली राजनीतिक नेताहरूले विरोध गरे । उल्टो, बुद्धले भनेजस्तै, उताको गाली उतै दिएर केसी छुटे । न्यायाधीशको राजीनामा र अरू माग लिएर टिचिङमै भोक हडताललाई निरन्तरता दिएका उनीसँग सरकारले पाँचबुँदे सहमति पनि गरिसकेको छ । पढ्यौं, गान्धीलाई कुनै पनि भोक हडतालमा अंग्रेजले यसरी रातारात समातेर लगेका थिएनन् । यी योगी सदृश मानिसको यो टिचिङ अस्पताल यस्तो आश्रम हो, जहाँ उनले असंख्य बिमारीको उपचार गरेका छन् र यहाँ अनेक दिन र रात भौकै तपस्या गरेका छन् । मेडिकल सेवा, उनको जीवन र जगत हेर्ने दर्शन भएको छ ।

बीपीले ‘आत्मवृत्तान्त’मा लेखेको एउटा कुराको सम्झना हुन्छ । सत्र साल पुस १ गते राजाले कू गरेपछि उनलाई पक्रेर सिंहदरबारको सायद कुनै पाहुना आउँंदा मानिस राख्ने खण्डमा लगियो । बीपीलाई त्यहांँ पर्खाएर किञ्चित् आत्तिएका मानिसले बेडिङहरू ल्याउन थाले । कुन कोठामा के गर्नेसम्म पनि उनीहरूलाई थाहा थिएन । बस्ने, सुत्ने आदि कुनै कुराको व्यवस्था थिएन । त्यसबाट साहित्यकार बीपीले अत्यन्त महत्त्वपूर्ण कुरा देखे । उनी लेख्छन्, ‘महेन्द्रले त्यो कूको कुनै दीर्घयोजना गरेका थिएनन् । त्यो उनले हतार, हतास र प्रयोगको रूपमा गरेको कू थियो ।’ अहिले सबै अनुत्तरित प्रश्नहरू मात्र उठ्छन् । एउटा देशको सम्माननीय सर्वोच्च अदालत र एउटा सबैको कल्याणको निम्ति भोक हडतालमा बस्ने सरल डाक्टर बीचको घटना महेन्द्र राजाले बीपीलाई पक्रिएको अवस्थामा जस्तै न्यारेटिभमा बल्झिनुले विदीर्ण अर्थ बुझाउंँछ । यी उध्दृत विपरीत समाचारको भाष्यले आपैंm बोल्छन् । संजोग हो, यो लेख्दा भारतको सर्वोच्च अदालतका ४ जना वरिष्ठ न्यायाधीशले प्रधानन्यायाधीश दीपक मिश्रको कार्यशैली विरुद्ध, भ्रष्टाचारको छानबिन पनि हुनुपर्ने र प्रजातन्त्र खतरामा पर्दै गएको भन्दै दिएको प्रेस सम्मेलन हेर्दैछु । यस्तो पहिलोपटक भएको हो । सार के हो भने अहिले यो सन्दर्भले उठाएका कुराहरूलाई सकारात्मक रूपमा हेर्ने र न्यायलाई मर्यादित र स्वच्छ बनाउने काम गर्नु सबैको दायित्व हो । मिडिया, साहित्यकार र स्वतन्त्र चिन्तक

अनि सरल सत्याग्रहीलाई राज्यको सुरक्षा खतराका रूपमा लिन बन्द गर्ने राजनीति गरियोस् ।

मेलमिलापको नीतिमाथि यो वर्षको छलफलमा नेपाली कांग्रेसले साधारण रूपमा बीपीलाई सम्झिने ‘रिचुअल’ मात्र नगरेर अहिलेको परिस्थितिमा उनको लोकतान्त्रिक सिद्धान्त, समाजवादी दर्शन अनि उनको धेरै छलफलमा नआएको सिर्जनात्मक अराजकतावादको समेत छलफल हुनेगरी दल र स्वतन्त्र चिन्तक, एकेडेमिक, नेपाली कांग्रेसभित्रका अध्ययनशील, ‘थियोराइज’ गर्नसक्ने व्यक्ति र साहित्यकारलाई पनि समावेश गरेर कार्यक्रम गर्नुपर्ने हो । त्यति पनि गर्न नसकिए पुरुषोत्तम बस्नेतले लेखेको ‘नेपाली कांग्रेसको इतिहास’ भाग २ माथि भनिए जस्ता मानिस समावेश गरेर छलफल गर्दा पनि नयांँ मेलमिलापको बीपी सिद्धान्तबारे महत्त्वपूर्ण कुरा निस्कने थिए । सबैको निम्ति मेलमिलाप बहस फराकिलो पार्ने कसरत गर्नुपर्ने देखिन्छ । कांग्रेसले फ्रेडरिक जेमिसनले भनेभैंm इतिहासको स्मृतिपटलबाट कुरा पढेर सिक्नु मेलमिलाप बुझ्नेतिरको पहिलो दायित्व हो ।

लोकतान्त्रिक विश्वास सोसलिस्ट इन्टरनेसनल जस्ता कुराको यथार्थ थियो, हिजो । भारतको शासक दल इन्दिरा गान्धीको कांग्रेस अनि राजा वीरेन्द्र नेतृत्वको पञ्चायत बीपीको मलेमिलाप न्यारेटिभसँंग जोडिन्छन् । उनको दलमा त्यो न्यारेटिभ अनेक विचार र नेताहरूभित्र घुमिरह्यो । पञ्चायतले उनको प्रस्ताव वा धारणाको गाम्भीर्य नमानेपछि मेलमिलापको डिस्कोर्स एउटा स्वतन्त्र पाठ भयो । कांग्रेसले त्यसलाई केही अर्थ निकाल्न सकिने इतिहासको घटनाको रूपमा लियो । सायद यति धेरै परिवर्तनपछि पनि त्यो रिचुअल सकिएको छैन । किसुनजीले कांग्रेस छाडे । गणेशमान सिंहले आफ्नै साथीहरूका क्रियाकलापबाट चित्त दुखाएर पार्टी छाडे । तर कांग्रेसले यो न्यारेटिभलाई नैरन्तर्य दियो । माओवादी जनयुद्ध, ज्ञानेन्द्रको सत्ता, गिरिजाबाबुको व्यक्तित्व, प्रचण्डको उदय अनि जनआन्दोलन, गणतन्त्र घोषणा मूल ऐतिहासिक घटना थिए । अहिलेको समयको चित्र हेरेर मेलमिलापलाई ‘थियोराइज’ गर्नुपर्छ । छिमेकी देशमा सी चिनफिङ र नरेन्द्र मोदीको उदय अनि नेपालको पहिलो गणतान्त्रिक संविधान र भर्खरै सम्पन्न आमचुनाव तथा वाम गठबन्धनको बहुमतजस्ता घटनाले बनेको नेपाली इतिहासको कलेवर हो, अहिलेको । यही कलेवरभित्र बीपीको मेलमिलाप नीतिलाई हेर्दा यो बहसको अर्थ खुल्छ । साहित्य र नाट्य सिद्धान्तका युवा एकेडेमिक डा. शिव रिजाल बीपीको मेलमिलाप दर्शनलाई तेस्रो पाठ वा ‘थर्ड टेक्स्ट’बाट हेर्नुपर्छ भन्छन् ।

अहिलेको दृश्यपटलमा अर्थशास्त्री अच्युत वाग्ले भन्छन्, ‘नेपालको सम्पूर्ण अर्थतन्त्रको ६० देखि ७० प्रतिशत वा दुई तिहाइ अवैध वा छाया अर्थतन्त्र भइसकेको छ’ (कान्तिपुर, २५ पुस २०७४) । चुनाव धनले चल्न थालेको छ । राजनीतिक फ्रन्टमा कृष्णज्वाला देवकोटा अर्थ वा यही छाया धनले चुनाव खाइसकेको देखाउँंछन् । समाजका सबै तहका युवा, आमा समूह, दलका नेताहरू समेतले पैसा नदिई भोट लिन नसक्ने अवस्था भएको देखाउँंदै उनले निष्कर्ष निकालेका छन्, ‘पार्टी त छन्, तर चुनावमा अब पार्टीले पनि फ्रिमा केही गर्दैनन् । ...टिकट लिएर निर्वाचन आयोग छिरेकै बेलादेखि उम्मेदवार नितान्त एक्लो हुन्छ । (नयांँ पत्रिका, १९ पुस) । यो बेला मेलमिलाप भनेको सैद्धान्तिक रूपमा हेर्ने कुरा हो । बीपीको मेलमिलाप शक्तिमा रहेको राजतन्त्रसँंग मिलेर भविष्य रचना गर्नेभन्दा पनि उनले बुझेको नेपाल राज्यको अस्मितासंँग सम्बन्धित थियो । अहिले जितेका र हारेकाहरूले प्रकट गरे पनि नगरे पनि तिनै अस्पृश्य र अदृश्य मूल्यको कुराबाट तिनीहरूले चलाइरहेको राजनीति हो । वाम घटकबाट सबभन्दा नजिकै बीपीको सिद्धान्तलाई हेर्नेहरूको नाम लिँंदा बीपीको नामै नलिनु भन्ने मैले पाएको चेतावनी त्यही अनौठो मनोग्रन्थि हो । कवि व्यङ्ग्यकार विमल निभा त्यसलाई कांग्रेसभित्र देखिन लागेको बोन्साई मनोग्रन्थि भन्छन् (कान्तिपुर, २२ पुस २०७४) । प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘चुनावपछिको कांग्रेसमा अपिल नै देखिन्न, इमेज नै खस्केको छ र सक्रिय सदस्यतामा मठाधीशहरूको नियन्त्रण छ (कान्तिपुर, असार २३) । कांग्रेसका वरिष्ठ नेताले गान्धीवादी सत्याग्रही केसीमाथि गरेका प्रहारले खनालका उक्तिको अर्थ झन् बुझेको हुंँ ।

हिजो राजाका पालाको मेलमिलाप आफूखुसी व्याख्या गरेको सहज पाठ थियो भने अहिले त्यो बढी जटिल र अर्थपूर्ण भएको छ । नेपालका अलग कम्युनिष्ट दलहरू, कांग्रेसभित्रका उपगुटहरू, भूराजनीतिमा चीन र भारतको प्रभाव क्षेत्रका शक्ति र व्याख्याहरू हेर्दा अहिलेको राजनीति मेलमिलापको अस्तित्ववादी दर्शनझैं भयो । बीपीले डिक्टेटर व्यवस्था आउने कुरा पहिले नै देखेका थिए । तर केही गर्न पाएनन् । अहिलेका राजनीतिक दल र तिनका नेताले यो कुरा बुझुन् । एकातिर राजाका वरिपरि बस्ने जडसूत्रवादी पञ्चसँंगको व्यवहारसँग सम्वाद गर्न निकालेको उपायका रूपमा मात्र बीपीको विचार सधैं जोडेर हेर्नेहरू छन् भने अर्कोतिर बीपीलाई नै गुरु मान्ने केही वाम नेता र स्वतन्त्र चिन्तकसंँग तर्सिनेहरू पनि छन् । वाल्टर बेन्जामिनको ‘इल्युमिनेसन’ (१९६८ : ११) किताबको भूमिकामा हन्ना आरेन खोल्छिन्, इतिहास र भाष्यकारहरूले विपरीत कुरालाई एउटै समयका साझा चेतनाको रूपमा देखाउंँछन् । त्यस्तै बीपीको मेलमिलापको दर्शन बुझ्न उनको साहित्य र राजनीतिले जोडेको चेतनालाई बुझ्नुपर्छ । स्वतन्त्र र स्वच्छ न्यायिक संस्था अर्को आधार हो । कांग्रेसजनहरू मात्र होइन, केपी ओली र प्रचण्ड पनि मेलमिलापकै नीतिमाथि बहस गर्न बाल्कोटमा चिया खान्छन्, आजकाल । यसरी राजनीति र साहित्यको भाष्य बुझौं ।

प्रकाशित : माघ १, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?