२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खाँचो अर्गानिक अभियानको

मधु राई

काठमाडौँ — विराटनगर–६ दूधफारम निवासी ३५ वर्षीया मेनुका दाहाल हरेक शनिबार अर्गानिक तरकारी किन्न उद्योग संगठन धाउने गर्छिन् । मेनुका दाहालजस्तै उद्योग संगठन मोरङ अन्तर्गत महिला समितिकी सल्लाहकार प्रतिभा रिजाल ओली पनि उक्त तरकारी बजारबाट तरकारी किन्ने गर्छिन् ।

महिला समितिकै सक्रियतामा गत वैशाखदेखि विराटनगरबासीलाई अर्गानिक तरकारी उपलब्ध गराउन उद्योग संगठन मोरङले आफ्नो कार्यालय परिसरमा हरेक शनिबार बिहान ७ देखि १० बजेसम्म साप्ताहिक तरकारी बजार लगाउँदै आएको छ । यस्तै गत वर्षदेखि अर्गानिक तरकारी उत्पादन गर्दै आएका माधव तिवारी साप्ताहिक बजारमा मात्रै हैन, आफ्नो दिव्यरत्न होटलमा समेत आफूले उत्पादन गरेको तरकारी खपत हुने गरेको बताउँछन् । अर्गानिक तरकारीसँगै अर्गानिक धान र दलहन खेतीसमेत सुरु गरेका तिवारीले दादरबेरिया गाउँपालिकामा अर्गानिक अभियान सञ्चालन गर्न कृषकहरूलाई बेलाबेला तरकारीको बिउबिजन र बिरुवासमेत सित्तैमा बाँड्ने गरेका छन् ।

यसरी निजी स्तरमा अर्गानिक तरकारी उत्पादन र बिक्री–वितरण गर्दै आएका तिवारीजस्ता कृषकहरू साप्ताहिक तरकारी बजार विस्तार गर्न महानगरपालिका लगायत उद्योग संगठन मोरङ र जिल्ला कृषि विकास कार्यालयले समेत अर्गानिक अभियान सञ्चालन गर्नुपर्ने बताउँछन् । त्यसो त उद्योग संगठन मोरङले सुरु गरेको अर्गानिक बजारलाई दैनिक रूपमा सञ्चालन गर्न विराटनगर महानगरपालिकाले यस वर्ष १० लाख रकम विनियोजन गरेको छ । यस अनुसार अहिले सञ्चालित साप्ताहिक अर्गानिक तरकारी बजारलाई विस्तार गर्न महानगरपालिकाले आफ्नो भवन पछाडि १० कोठे पसल निर्माण गरिदिने उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए । हुन त गत वर्षदेखि मात्रै विराटनगर लगायत आसपासका गाउँपालिकाका औंलामा गन्न सकिने कृषकहरूले अर्गानिक तरकारी उत्पादन र बिक्री–वितरण गर्नथाले पनि धरान–४ बसन्तटारका कृषक कृष्ण राईले ‘सोताङ अर्गानिक एग्रिकल्चर सेन्टर’ स्थापना गरेर २५ वर्षदेखि अर्गानिक तरकारी उत्पादन र बिक्री–वितरण गर्दै आएका छन् । उनी लगायत धरानका केही अर्गानिक तरकारी उत्पादकहरूले पुस २२ गतेदेखि अर्गानिक तरकारीको प्रचार–प्रसार र बिक्री–वितरण गर्न साप्ताहिक तरकारी बजार सञ्चालन गरेका छन् ।

विडम्बना, पुस १७ देखि २३ गतेसम्म मोरङ लगायत देशका कतिपय जिल्लामा ‘घातक विषादी मुक्त संसार, स्वस्थ जीवन र पर्यावरणको आधार’ भन्ने नारासहित साताव्यापी कार्यक्रम मनाएको समाचार जनसमक्ष आए पनि बहुसंख्यक कृषक र उपभोक्ताका लागि यस्ता कार्यक्रम ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ हुने गरेको छ । सम्बन्धित निकायहरूको कृषि र कृषिकर्म गर्नेहरूप्रतिको सौतेनी व्यवहारकै कारण अर्गानिक तरकारीको बजार विस्तार र प्रचार–प्रसार हुनसकेको छैन ।

यस्तै विराटनगर महानगरपालिकाका वडा र छिमेकी नगरपालिकामा लाग्ने गरेको साप्ताहिक हाट–बजारमा तरकारी बिक्रेताले बेच्ने गरेको तरकारीमा कृषकले के कति मात्रामा विषादी प्रयोग गर्छन् भन्नेबारे सम्बन्धित निकायहरू मौन देखिन्छन् । यसरी सम्बन्धित निकायहरूको मौनताले एकातिर विषादी प्रयोगकर्ताहरूको मनोबल बढ्दैछ भने अर्कातिर उपभोक्ताहरूको स्वस्थ खान पाउने मौलिक अधिकार हनन भइरहेको छ ।

उपभोक्तालाई सचेत गराउन सम्बन्धित निकायले वर्षमा एकपटक साताव्यापी कार्यक्रममात्र हैन, नियमित रूपमा तरकारीको शुद्धता जाँच्न सरकारी संयन्त्र विकास गर्न जरुरी छ । यसरी नियमित रूपमा तरकारीको शुद्धता जाँच्ने हो भने एकातिर उपभोक्ता सचेत हुँदै जान्छन् भने अर्कातिर विषादी प्रयोगकर्ताहरू निरुत्साहित हुँदै जान्छन् । उपभोक्ताहरू सचेत हुँदै जानु भनेको अर्गानिक तरकारीको बजार विस्तार हुनु हो । अर्गानिक तरकारीको बजार विस्तार गर्न सम्बन्धित निकायले स्थानीय तह र निजी स्तरमा कृषिकर्म गरिरहेकाहरूसँग मिलेर अर्गानिक अभियान सञ्चालन गर्न जरुरी छ । अनिमात्र उपभोक्ताहरूको स्वस्थ रहने अधिकार सुरक्षित हुन्छ र पर्यावरणको दिगो आधार तयार हुन्छ ।

प्रकाशित : माघ २, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?