कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सीटीईभीटीमा पारिवारिक जालो

सम्पादकीय

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत कर्मचारीहरूको पारिवारिक जालो पहुँचवाला पदाधिकारी एवं कर्मचारीबाट गरिएको क्षेत्राधिकार र राज्यकोष दुरुपयोगको नमुना हो ।

सीटीईभीटीमा कार्यरत ९ सय ३२ कर्मचारीमध्ये ३१ जोडी (पति–पत्नी) छन् भने १ सय ३० जनाभन्दा बढी कर्मचारी पदाधिकारी र उपल्लो तहका कर्मचारीका नातेदार छन् । संस्थामा राजनीतिक दल/संगठनको पहुँच र प्रभावका भरमा बिनाप्रतिस्पर्धा जागिरमा छिर्ने कर्मचारी पनि थुप्रै छन् । वर्षौंदेखि पहुँचवाला सीमित व्यक्ति/समूहको भर्ती केन्द्र बनिरहँदा सम्बन्धित कोही व्यक्ति वा निकायबाट सच्याउन पहल नहुनु, बरु उल्टै त्यसलाई प्रश्रय दिनु उदेकलाग्दो छ ।

२०४५ सालमा स्थापित सीटीईभीटी मध्यमस्तरको दक्ष जनशक्ति उत्पादन गर्नका लागि नागरिकको करबाट सञ्चालित संस्था हो । यस्तो संस्थामा अधिकतम जनशक्ति प्राविधिक क्षेत्रका हुनुपर्ने हो । तर नियुक्ति प्रक्रियामा नातागोता/दलीय निकटता हेरिएकै कारण सीटीईभीटीमा साधारण शिक्षा लिएका कर्मचारीको बाहुल्य छ । त्यसको असर सिंगो सीटीईभीटीकै कार्यसम्पादनमा परिरहेको छ । सीटीईभीटी बोर्डको अध्यक्ष शिक्षामन्त्री हुन्छन् । शिक्षामन्त्रीले नै अनधिकृत नियुक्तिलाई प्रश्रय दिएको विभिन्न दृष्टान्त छन् । कांग्रेस नेता गोविन्दराज जोशीले शिक्षामन्त्री भएका बेला (०४८–०५१) सीटीईभीटीलाई पार्टी कार्यकर्ता र आफन्त भर्ती गर्ने गलत थिति बसाएका थिए । तत्कालीन शिक्षामन्त्री जोशीका पालामा एकैचोटि पाँच सयलाई जागिर खुवाइएको थियो र तिनीहरूमध्ये अधिकांश साधारण शैक्षिक पृष्ठभूमिका थिए । कर्मचारी नियुक्तिको गलत थितिलाई त्यसपछिका शिक्षामन्त्रीले सच्याउनुको साटो अनुसरण गर्दै आए । जसका कारण अहिले सीटीईभीटीको जागिरेमा पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन्तको संख्या ठूलो बनेको छ ।

विभिन्न राजनीतिक दलनिकट कर्मचारी एवं विद्यार्थी संगठनहरूले समेत सीटीईभीटीलाई आफन्तलाई जागिर खुवाउने माध्यम बनाएका छन् । कतिपयले आन्दोलनको बहाना बनाएर आफ्नालाई जागिर मिलाइदिएका छन् । सीटीईभीटीको कमर्चारी नियुक्तिको ‘मनपरी’ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले समेत लाभ उठाएको पाइएको छ । अख्तियारले २०६७ सालमा अनियमितता छानबिन अघि बढाए पनि निष्कर्षमा पुर्‍याइएन र मुद्दा चलाउने प्रक्रिया पनि अघि बढाइएन । उल्टै फाइल तामेलीमा राखियो र केही समयभित्रै एक अनुसन्धान अधिकृतकी श्रीमती सीटीईभीटीको जागिरे भइन् । यसले कर्मचारी नियुक्तिलाई सीटीईभीटीले अनियमितता ढाकछोपका लागि सौदाबाजीका रूपमा प्रयोग गरेको देखाउँछ ।

नातागोता र दबाबका भरमा नियुक्ति पाएका अधिकांश कर्मचारी काम गरेर भन्दा पनि चाकरीकै भरमा सेवासुविधा वृद्धि, सरुवा–बढुवा मिलाउन खोज्ने स्वभावका हुन्छन् । उनीहरूको व्यवस्थापन सधैं असहज हुन्छ । यस्तो प्रवृत्ति सीटीईभीटीका कर्मचारीहरूमा पनि देखिन्छ । अप्राविधिक र सुविधाभोगी प्रवृत्तिका कर्मचारी बाहुल्य भएकाले सीटीईभीटीले आफ्नो विशेषज्ञ क्षमता देखाउन सकेको छैन । यो संस्था निजी क्षेत्रलाई सम्बन्धन दिने र परीक्षा लिने संस्थाका रूपमा सीमित हुँदै गएको छ । यसले दिने सम्बन्धन पनि प्राय: विवादित बन्ने गरेको छ ।

सीटीईभीटीमा उपल्लो तहका पदाधिकारी र कर्मचारीका आफन्त तथा कुनै दलनिकट व्यक्तिले बिनाप्रतिस्पर्धा करारमा नियुक्ति पाएका हुन् । केही वर्ष करारमा काम गरेपछि उनीहरू आन्तरिकबाट स्थायी बने । अब भने संवैधानिक प्रावधानअनुसार लोकसेवा आयोगको संलग्नताबिना सरकारी कर्मचारीको छनोट हुन सक्दैन । लोकसेवा आयोगको निष्पक्षता र विश्वसनीयतामा शंका गर्ने ठाउँ नभएकाले सीटीईभीटीमा स्थायी कर्मचारी नियुक्तिको बेथिति रोकिने सम्भावना छ । तर करारमा कर्मचारी राख्ने बेला त्यही गलत थितिको पुनरावृत्ति हुन सक्छ । त्यसैले करारमा कर्मचारी लिँदा होस् वा सरुवा–बढुवा गर्दा देखिएका गलत थितिलाई सीटीईभीटीले अविलम्ब सच्याउनुपर्छ । मुख्य रूपमा सीटीईभीटीको नेतृत्व गर्ने शिक्षामन्त्री जिम्मेवार बन्नुपर्छ । नागरिकको करबाट सञ्चालित यो संस्थालाई सीमित दल र व्यक्ति वा समूहको लाभमा केन्द्रित गरिनु हुन्न । विगतका नियुक्ति प्रक्रियामा भएको मनपरीलाई सम्बन्धित निकायले अविलम्ब छानबिन गर्न अत्यावश्यक छ । दोषी देखिए कारबाही पनि गर्नुपर्छ ।

प्रकाशित : माघ ३, २०७४ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?