१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बौद्धिकता पुलिंगीको पेवा हो ?

सुन्दरताका अनेक उपमा भिराएर शृङ्गारकै दुनियाँमा मात्र अल्झाउने र अघि बढ्न नदिने एउटा प्रपञ्च हो यो ।
अजवी पौड्याल

काठमाडौँ — एउटा बौद्धिक कार्यक्रमको प्रसंगबाट कुरा सुरु गरौं । कार्यक्रम थियो– अक्टोबर क्रान्ति दिवस । बौद्धिकहरूको जमघट भएको कार्यक्रममा महिलाको उपस्थिति उसै न्यून थियो । ड्यासमा त झन् कम ।

कम्युनिष्टहरूकै कार्यक्रममा महिला किन कम त भन्ने प्रश्न उठ्यो । एक पुरुष मित्रले कटाक्ष गर्दै जवाफ दिए– ‘महिलालाई लिपिस्टिक–पाउडर लगाउँदैमा फुर्सद छैन, बौद्धिक काममा आउने हैनन् ।’ यो जवाफमा निहित व्यंग्य निकै डरलाग्दो थियो ।

महिला धेरै संख्यामा विज्ञ वा बौद्धिकको भूमिकामा नहुन सक्छन् । तर के त्यसो भएको लिपिस्टिक–पाउडर लगाउँदैमा फुर्सद नभएर हो ? व्यापक संरचनात्मक विभेदमा शदियौंदेखि परेका महिलाबारे त्यति हल्का टिप्पणी गर्न मिल्छ ? अझ महत्त्वपूर्ण कुरा त के भने ती पुरुष मित्रको दिमागमा महिला भन्ने बित्तिकै लिपिस्टिक–पाउडरको याद किन आयो ? उनले भनेझैं महिलाहरू विज्ञ वा बौद्धिक हुन लिपिस्टिक र पाउडरले त पक्कै रोकेको छैन । यहाँ प्रश्न उठ्छ– महिलाहरू बौद्धिक नभएकै हुन् या हुन नदिइएको हो ? महिलाले भोग्नु, बाँच्नुपरेको संसारबारे केही यथार्थ खोतल्नैपर्ने भयो ।

महिलामा बौद्धिकताभन्दा पनि उसको शरीरमा सुन्दरता खोज्ने चलन धेरै पुरानो हो । स्वर्गका अप्सरादेखि परीकथाका परीसम्म जताततै सुन्दरताको खास मानक राखेर महिलालाई हेर्ने परम्परा छ । महिलालाई भोग्या वस्तुको रूपमा लिइँदै आएको छ । आम पुरुषवादी चिन्तन परम्परालाई अघि बढाउँदै पुँजीवादले महिलाको थप वस्तुकरण गरेको छ । यो यथार्थलाई बिर्सेर महिलाबारे टिप्पणी गर्न मिल्छ कि मिल्दैन ?

आधा शताब्दी अघिसम्म महिलालाई भोट दिने अधिकार पनि थिएन । महिलाले सामाजिक भूमिका निर्वाह गर्न सक्छन् भन्ने विश्वास नै गरिन्नथ्यो । महिलामा भोट हाल्ने चेतना छ भनेर मानिँदैनथ्यो । हुन त अहिले पनि श्रीमानले जहाँ भन्यो, त्यहीं पार्टीको मान्छेलाई भोट हाल्न धेरै महिला बाध्य छन् । समाजका कुनै पनि बौद्धिक कार्यक्रमबाट महिलालाई सकभर बाहिर नै राख्न खोजिन्छ । महिलाका आवाजलाई ‘पोथी बासेको’ भन्दै समाजमा महिलाको चेतनशील भूमिकालाई अस्वीकार गरियो ।

केही समय अघिसम्म बहुविवाहलाई कानुनी मान्यता थियो । कानुनले नै महिलाको निर्णय गर्ने क्षमतालाई कुण्ठित गरेको थियो । सामाजिक रूपमा बहुविवाह अहिले पनि स्वीकृत छ । समाजमा एकभन्दा बढी श्रीमती राख्ने पुरुष प्रशस्तै भेटिन्छन् । महिलाको चेतनालाई परम्परादेखि नै बेवास्ता गरिएको यथार्थ हो । यसको निरन्तरताको रूपमा अहिले पनि महिलालाई स्थान दिन कन्जुस्याइँ गरिन्छ । समाजमा सबै क्षेत्रमा पुरुषले आफ्नो बर्चस्व कायम गरेको छ । त्यसो भएपछि बौद्धिक क्षेत्रमा पनि उसको हैकम कायम हुनु स्वाभाविक भयो । यसरी बौद्धिकतालाई नै पुलिंगीजस्तो बनाइएको छ । जब बौद्धिकताकै लिंग बनाइयो, त्यसबाट स्त्रीलिंग स्वत: बाहिर पर्ने नै भयो । महिलालाई बौद्धिक काममा न विश्वास गरियो, न भूमिका दिइयो, नत त्यस्तो कुनै अवसर नै । इतिहास लेख्नेहरूले अनेक वीरहरूको गाथा त लेखे, तर योगमायाको बौद्धिक योगदानलाई त चिनेनन् । भानुभक्तको वधुशिक्षाको प्रशंसा गर्नेले योगमायालाई कवि नै मान्दैनन् । वधुशिक्षालाई मानव जीवनको अमृतवाणी सम्झने पुरुषवादी समाजले पुरुषको लागि वरशिक्षाको माग कहिल्यै गरेन । यसरी महिलालाई संस्कारी हुनुपर्ने दबाबमा राखेर पुरुषको रजगज कायम गरियो ।

ब्रह्मा, विष्णु र महेश्वरको कपोलकल्पित कथामा मुख्य पात्र सदैव पुरुष नै लेखिए । महिलाको भूमिका पुरुषलाई नाचेर लठ्ठ पार्ने, ऋषिको ध्यान भङ्ग पार्ने सुन्दरी अप्सराको रूपमा सिर्जना गरियो । पुरुषलाई नै बलवान, विद्वान र शुरवीर पात्रको रूपमा जताततै चर्चा/परिचर्चा गरियो । महाभारतमा महिला पात्र द्रौपदीलाई जुवामा दाउ राख्ने वस्तुका रूपमा चित्रण गरियो । यस्ता कथा र मिथक सुनेर हुर्केको हाम्रो मस्तिष्कले कसरी पचाउन सक्छ, महिलाको बौद्घिक व्यक्तित्व ? जब धर्म, कर्म, संस्कार, संस्कृति र सिकाइमै फरक व्यवहार र विभेद गरिन्छ, अनि कसरी सरोबर हुन सक्छन्, महिला–पुरुषको संख्यात्मक उपस्थिति ? एकातिर जन्मदै विभेदको टीका लगाएर आउँछन् महिला, अर्कोतर्फ भएका केही सक्षम र सबल महिलालाई पनि ठाउँ दिन नचाहने पुरुष परम्परा पुरानै हो । भर्खरै सकिएको चुनावमा महिला उम्मेदवारको संख्यालाई पनि हेरे यथार्थ उजागर भइहाल्छ ।

कार्यालय जाने बेला टाइको गाँठोसमेत बनाउन श्रीमतीकै भर पर्नेहरू धेरै छन् । नुहाएर अन्डरवेयर धारामै फाल्ने विद्वानको पनि कमी छैन । जीवनभर आफ्नो मोजा र रुमालसमेत नधुने पुरुष पात्रको बिगबिगी छ । बौद्घिक पुरुष निर्माण गर्न महिलाको लाखौं घन्टा समय चोरिएको छ । परिवारभित्रै विभेद र हैकम कायम गर्ने पुरुषका लागि लिपिस्टिक–पाउडर लगाउने चलन नै चलेको भए पनि उसलाई महिलाले नै सजाइदिनुपथ्र्यो भन्न कठिन छैन ।

अवसर दिने बेलामा सधैं पछाडि पार्ने, छोरीको भन्दा छोराको तराजुमा तौल बढी राख्ने, छोरीको व्यक्तित्व विकासका लागि लगानी गर्न खुट्टा कमाउने र विभेदपूर्ण संस्कार सिकाउने अनि मूल्याङ्कन गर्ने बेला लिपिस्टिक–पाउडर लगाएर पछि परेका हुन् भन्न मिल्छ ?

पुराना सांस्कृतिक मान्यताले अझै समाजमा बलियो डेरा जमाएको छँदैछ । घरमा गरिने ससाना गल्तीमा छोरीलाई आफ्नो कमजोर हैसियत सम्झाउने गरिन्छ । छोरीले कपाल काट्न हुन्न, सार्वजनिक ठाउँमा बोल्न हुन्न, अरूका अगाडि शिर निहुराएर हिँड्नुपर्छ, महिनावारी भएका बेला दाजुभाइलाई छुन हुन्न, लोग्ने मान्छेलाई हेर्न हुन्न जस्ता अनेकांै भेदभावपूर्ण चलन भोग्दै, सुन्दै र सिक्दै आएका हुन्छन्, छोरीहरू । अझ छाउपडी प्रथाले निम्त्याउने कहालिलाग्दो पीडाको त कुरै नगरौँ । घर र घर बाहिरका लोग्नेमान्छेदेखि देवीदेउतासम्मको डर छोरीका दिमागमा हालिन्छन् । कति मिनेट सिकाइन्छ, छोरीलाई समानताका कुरा ? अनि विभेदका पर्खालहरू नतोडिकनै अचानक पुरुषसरह कसरी उपस्थित हुन सक्छन्, महिला ?

अक्सर परिवारमा पाइने व्यावहारिक ज्ञान र शिक्षामा समेत बौद्धिकताको लिंग छुट्याइएको हुन्छ । मेरी आमाले भात पकाउनुहुन्छ, लुगा धुनुहुन्छ, तर बाबाले अफिसमा काम गर्नुहुन्छ, पैसा कमाउनुहुन्छ भन्ने सारका कविता पाठ्य–पुस्तकमा पढेर हुर्कन्छौं, हामी । आमा भनेको घरको काममात्र गर्ने र बुबा घरपरिवार पाल्ने ठूलो व्यक्ति हो भन्ने भ्रमको खेती सानैदेखि गराइन्छ, हाम्रो बाल मस्तिष्कमा ।

आजको पुँजीवादी समाज व्यवस्थाले महिलालाई बिक्री हुने मालको रूपमा चित्रण गर्दै आएको छ । महिलालाई नङ्ग्याएर, शारीरिक आवरणको मात्र प्रशंसा गरिदिएर उनीहरूलाई सुन्दरताको जालमा अल्झाइरहने चलन हुर्किरहेकै छ ।

चर्चित पत्रपत्रिका, मिडिया कभर तथा व्यापारिक सामानको विज्ञापनको लागिसमेत महिलाको तथाकथित सुन्दरतालाई प्रयोग गर्ने गरिन्छ । यो सुन्दरता कसको आँखाबाट हेरिएको छ ? कसको प्रयोजनका लागि प्रयोग गरिएको छ त ? अझ सौन्दर्य प्रसाधनका साधन उत्पादन गर्ने कम्पनीहरूले त आफ्नो गुणस्तरमा भन्दा पनि महिलालाई विज्ञापनमा प्रयोग गर्न बढ्दा ध्यान दिन्छन् । महिलालाई पैसामा किनिएको सामानको रूपमा प्रयोग गरिने चलन पुरानै हो । यस्तै सुन्दरता बेच्न र किन्नका लागि वर्तमान विश्वले अर्बौं रुपैयाँ

खर्चेर अनेकौं सुन्दरी प्रतियोगितासमेत गर्ने गर्छ र तथाकथित सुन्दरी छनोट गर्छ । यस्ता गतिविधि विस्तार भइरहेका छन् ।

एकथरी महिलालाई लाग्छ, शृङ्गारका सामग्रीले महिलाको सुन्दरतामा निखार ल्याउँछ । तर यो एउटा गतिलो भ्रम हो । यसको पनि आफ्नै राजनीति छ । महिलाको व्यक्तित्व नै शृङ्गारमा मात्र सीमित गर्न खोज्ने यो एउटा गजबको राजनीति हो । सुन्दरताका अनेक उपमा भिराएर शृङ्गारकै दुनियाँमा मात्र अल्झाउने र अघि बढ्न नदिने एउटा प्रपञ्च हो यो । जब शृङ्गारका प्रसाधनमा नै महिलाहरू अल्झिन्छन्, बौद्धिक सत्ता आफ्नो हातमा लिन पुरुषलाई सजिलो हुने नै भयो । फलस्वरुप पुरुष हरेक क्षेत्रमा माथि परिरहे । शताब्दियौं देखिको शृङ्गारको राजनीतिले डामेका महिलालाई शृङ्गारकै उपमा जोडेर होच्याउनु आफैमा पुरुषवादी तर्क होइन र ?

[email protected]

प्रकाशित : माघ ३, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?