२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कांग्रेस नवनिर्माण आवश्यक

८/१० वर्षदेखि पार्टी नेतृत्व नीति बिनाको, रणनीति बिनाको र पार्टी संगठन बिनाको जस्तो देखिन्छ ।
देवराज चालिसे

काठमाडौँ — नेपाली कांग्रेसका लागि अहिलेको अवस्था चुनौतीपूर्ण छ । सही दिशाबोध भएमा वा आफूलाई सुधार गरेमा भविष्यको सुखद यात्राका लागि प्रस्थानविन्दु हुनसक्छ । ७ दशक कांग्रेसले देशलाई नेतृत्व दियो । राष्ट्रले राजनीतिक विचारधाराको रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेको छ ।

कांग्रेस नवनिर्माण आवश्यक

यस बीचमा माओवादीले हिंसाभन्दा शान्तिको महत्त्व बुझ्न थालेको छ । एमालेले लोकतन्त्र बिनाको साम्यवाद लेख्न छाडेको छ । सैद्धान्तिक रूपमा कम्युनिष्टहरू रक्षात्मक छन् । मधेस आन्दोलन प्रतिनिधिमूलक आन्दोलनमा रूपान्तरित भएको छ । पहिचानवादी आन्दोलनले पार्टीभित्रै पहिचान र प्रतिनिधित्व खोज्दै मूलधारमा आएको छ । यी सबै उपलब्धिबीच यसको नेतृत्व लिने पार्टी नेपाली कांग्रेसले भने आफ्नो सिद्धान्तको सफलता जनमतमा अनुवाद गर्न सकेन । यस बीचमा कांग्रेसले कम्युनिष्टतर्फ आकर्षित मत आफ्नो पक्षमा ल्याउन असफलमात्र होइन, कम्युनिष्ट विरोधी मतसमेत आफ्नो मतमा बदल्न सकेन । कांग्रेसको नेतृत्वमा नयाँ मतदातालाई आफ्ना एजेन्डामा आकर्षित गर्ने प्रश्नमात्र होइन, नयाँ पुस्तामा बढ्दै गएको चरम राजनीतिक निराशालाई सम्बोधन गर्ने कुनै महत्त्वाकांक्षी कार्यक्रम देखिएन । कांग्रेसको संगठन र भ्रातृ संगठनहरूको अस्तब्यस्त अर्काको उपलब्धि हुनपुग्यो ।

संगठन सञ्चालनमा त्रुटि के रह्यो ? यो बेला नेता तथा कार्यकर्ताहरू सकारात्मक बहसमा उत्रनुपर्ने ठाउँमा आफ्ना असहमति र विरोधका स्वर छताछुल्ल पार्दै आत्मनिन्दामा प्रवेश गरिरहेका छौं । नेतृत्व पंक्ति भविष्यको एजेन्डामा होइन, गुटको प्रतिरक्षा गर्दै आफ्नो राजनीतिक सुरक्षा खोजिरहनुभएको छ । ८/१० वर्षदेखि पार्टी नेतृत्व नीति विनाको, रणनीति विनाको र पार्टी संगठन विनाको जस्तो देखिन्छ । विपक्षीको ताली र प्रशंसाको खोजी गर्ने संस्कृति पार्टीभित्र रोलमोडलको रूपमा स्थापित हुने परम्पराले विस्तारै कांग्रेसभित्र विचार र एजेन्डा स्खलित हुँदै गएको छ । कांग्रेस भएर हेर्ने, कांग्रेस भएरै मर्ने उच्चकोटीको पार्टी समर्पण भावलाई विस्तारै व्यक्तिका झोले कार्यकर्तामा परिणत गर्ने अभ्यास भएको छ । सुधारका नाममा गरिएका यस्ता कृत्य नत आफू बदलिने हो न पार्टीलाई नै बदल्ने हो । नेतृत्वमा स्थापित हुने पद्धतिलाई नकारात्मक धारबाट प्रशिक्षित नगर्नुपर्ने हो । हामीले अझै पनि समस्या उमेरमा देखेका छौं, कार्यक्रममा होइन । समस्या खडा गर्छाैं, समाधान खोज्दैनौं । आफूलाई हेर्दैनौंै, अरू सुध्रिएको हेर्न चाहन्छौं, दोष आफूमा पनि भएको अनुभव गर्दैनौं, सबै अरूमा देख्छौं । यसरी पार्टीको नवनिर्माण हुन सक्दैन । कार्यकर्ता, शुभेच्छुक र आम मतदाताको मनोबल उठाउन सकिँदैन । त्यसैले हामी प्रत्येकले आआफ्नो ठाउँबाट आफ्ना कमजोरीमा आत्मालोचना गरी सुधारको प्रयास गर्न जरुरी छ ।

इतिहास हेर्दा कांग्रेस २००७ सालको क्रान्तिको नेता, ०१५ सालको संसदीय निर्वाचनको दुई तिहाइ बहुमत प्राप्त दल, ०१७ सालको शाही ‘कू’पछिको प्रतिरोध आन्दोलनको एक्लो शक्ति, जनमत संग्रहमा बहुदलले प्राप्त गरेको २० लाख मतको हकदार तर २०४६/४७ पछि पार्टी कसरी खस्किन थाल्यो ? यद्यपि ०४६ सालको जनआन्दोलनको नेता पार्टी कांग्रेस नै थियो । २०४८ सालमा कम्युनिष्ट कसरी शक्तिको रूपमा उदायो ? त्यसपछि लगातार सत्ता र शक्तिमा कम्युनिष्ट जनमतले साझेदारी बढाउँदै लगेको छ । २०६२/६३ को आन्दोलनपश्चात राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा कम्युनिष्ट पार्टी कांग्रेसको हाराहारीमा आयो । यो शक्तिले २०७४ को चुनावमा ४८.५८ प्रतिशत मत प्राप्त गर्‍यो भने कांग्रेसले ३२.७८ प्रतिशत मतमा चित्त बुझाउनुपर्‍यो । एमाले तथा माओवादी केन्द्रले प्राप्त गरेको कुल मतले प्रत्यक्षतर्फका उम्मेदवारलाई पराजित गर्न निश्चय नै बलियो आधार दिएको हो । तर समानुपातिकतर्फ प्राप्त गरेको मतमा सन्तोष गर्ने ठाउँ छैन, विपक्षी पार्टीको गठबन्धन मात्रै हाम्रो पराजयको कारण होइन ।

बीपीले हमेशा लोकतान्त्रिक आन्दोलनमा कम्युनिष्टलाई ठाउँ दिनुभएन । राष्ट्र र राष्ट्रियताको प्रश्नमा बीपीलाई कम्युनिष्टको विश्वास थिएन र विश्वासमा लिनुभएन । प्रजातन्त्रवादी र राष्ट्रवादी जनमत सधंै कांग्रेससँग रहेको त्यो गौरवपूर्ण इतिहासलाई हामीले रक्षा गर्न सकेनौं । नेपाल गरिब छ, यसमा साम्यवादले आफ्नो प्रभाव बढाउन सक्छ । साम्यवाद निस्तेज पार्ने दार्शनिक र व्यावहारिक प्रयोग समाजवाद हुनसक्छ । यो बीपीको बुझाइ हो । त्यसैले यो पार्टी प्रारम्भदेखि नै प्रजातान्त्रिक समाजवादी पार्टी बनेको हो । तर हामी समाजवादको सन्दर्भमा भुत्ते देखियौं ।

कतिपय कालखण्डमा हामी नीतिगत तहमै चुक्यौं । जस्तै– २०४६ सालको वाममोर्चाको गठन र लोकतान्त्रिक आन्दोलनमा पाएको प्रवेशले ०४८ सालको चुनावमा एमालेले सम्मानजनक मत पायो । यो चुनावबाट (कथित जबजको माध्यमबाट) कम्युनिष्ट पार्टीले लोकतन्त्रवादी मतमाथि आफ्नो प्रभाव विस्तार गर्ने मौका पायो । २०५१ पछि कम्युनिष्टहरूले जातीय लगायतका पहिचानवादी मुद्दामा आफ्नो दार्शनिक मान्यता विपरीत प्रभाव विस्तार गर्दै लगे, हामी रक्षात्मक बन्दै गयौं । गरिब, सुकुम्बासी, निमुखा वर्गको प्रतिनिधि पार्टी कम्युनिष्ट हो भन्ने भ्रमलाई उनीहरूले बढाउँदै गए । हामीले आक्रामक रूपमा ती क्षेत्रमा आफूलाई पुर्‍याउन सकेनौं । राष्ट्रियताको मुद्दामा नेपालमा रहेको भारत विरोधी जनमतलाई नै राष्ट्रवाद भन्न थालियो र यो क्रमश: साम्यवाद परस्त बनाउँदै लगियो । हालैका वर्षहरूमा नेपालको राजनीतिमा देखिएको चिनियाँ उपस्थिति र आर्थिक कूटनीतिको माध्यमबाट विस्तार गरिएको राजनीतिक प्रभावलाई राष्ट्रवादको नाममा थालिएको कुप्रचारलाई हामीले बुझाउन सकेनौं । आर्थिक, सामाजिक, सांस्कृतिक कारणबाट मूलधारमा आउन नसकेको जनताको मनोविज्ञानलाई हामीले आफ्नो बनाउन सकेनौं । लोकतान्त्रिक प्रणालीको वर्तमानमा जे छ, त्यसको भरपूर उपयोग गर्ने तर स्वामित्व नलिने जस्तो प्रतिबद्धताविहीन रणनीतिक प्रयोग गर्ने कम्युनिष्टको अभ्यासलाई हामीले जवाफ दिन सकेनौं । हत्या, हिंसा, आतंकबाट माओवादीको आक्रमण र वैधानिक संरचना भित्रबाट एमालेले गरेको कांग्रेस विरोधी प्रहारले जनतामा उत्पन्न भएको निराशा अन्तत: कम्युनिष्टले नै प्रयोग गर्न सफल रहे र अहिले पनि चलिरहेकै छ । एनजीओ र आईएनजीओ, कर्मचारीतन्त्र, शिक्षक, उपभोक्ता समितिदेखि स्कुल व्यवस्थापन समितिसम्म कब्जा गरी पार्टी हितका लागि प्रयोग गर्ने कम्युनिष्ट नीतिलाई हामीले रोक्न सकेनौं । लोकतन्त्रका महत्त्वपूर्ण सिद्धान्त संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र लोकतान्त्रिक पद्धतिका मुद्दामा साम्यवादीहरूको जबर्जस्त उपस्थिति भयो र हामीले रक्षात्मक बहसमात्रै गर्नुपर्‍यो ।

एमाले, माओवादी, मधेस केन्द्रित दल, राजा वा राप्रपासँग भएका सम्झौता र संघर्ष बिना तयारीका थिए । राजपा, फोरम, नयाँशक्ति, राप्रपासँगको गठबन्धन एकपक्षीय देखियो ।

शक्ति जनमत हो, सत्ता माध्यम हो । यो समाज बदल्ने वा सिद्धान्त प्राप्तिको उपकरण हो । सिद्धान्त नै लक्ष्य हो भन्ने मान्यता विपरीत हामीले सत्तालाई लक्ष्य बनाउनु व्यावहारिक राजनीतिको नाममा भएको गलत अभ्यास थियो । सरकार सञ्चालनलाई निजी बनायौं । प्रभाव क्षेत्रलाई संकुचन गर्‍यौं, प्रभावकारिता हेरेनौं, क्षमता र दक्षता अस्वीकृत गर्‍यौं, इमानदारीको उपहास गर्‍यौं । राष्ट्रलाई आफ्नो बनाएनौं, निर्वाचन क्षेत्र हेर्‍यौं । हाम्रा राम्रा होइन, आफ्नो र मेरो खोज्यौं । सरकारी योजना र कार्यक्रम दीर्घकालका लागि होइन, तत्कालका लागि हेर्‍यौं । जनता र कार्यकर्ता सोध्ने गर्थे, खोइ समाजवाद ? ५ वर्षपछि हाम्रो अर्थतन्त्र कस्तो हुने हो ? मेरो आर्थिक हैसियतमा के परिवर्तन हुन्छ ? तर हामीले आश्वस्त पार्न सकेनौं वा लामो यात्रामा धैर्य गर्ने आधार पस्कन सकेनौं । जनताको श्रम र समयलाई पुँजीमा अनुवाद गर्न सकेनौं । राष्ट्रिय उत्पादन वृद्धिको महाअभियान सञ्चालन गर्न सकेनौं । पैसाले होइन, कार्यक्रमले, सरकारको मात्रै होइन, हाम्रो योगदानले पनि समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने आदर्शलाई सरकार र पार्टीको माध्यमबाट मुखरित गर्न सकेनौं । सरकार सञ्चालन र निरन्तरतामा देखिएको भ्रष्टीकरणलाई रोक्न सकेनौं ।

ख्याति प्राप्त अन्तर्राष्ट्रिय स्तरका विश्वसनीय नेताको पार्टी नेपाली कांग्रेस अहिले विश्वासयोग्य वैदेशिक सम्बन्ध कायम गर्न र आफ्नो तथा राष्ट्रिय हितमा त्यो सम्बन्धलाई प्रयोग गर्न अनकनाएको देखियो । भारत र चीनजस्ता मित्रराष्ट्रहरूको सम्बन्धलाई अनावश्यक रूपमा घरेलु राजनीतिमा प्रवेश गराउने नेपालका कम्युनिष्ट र क्षेत्रीयतावादी दलहरूलाई चिनाउन सकेनौं वा मित्रराष्ट्रहरूलाई बुझाउन सकेनौं । रणनीतिक महत्त्वका ठूला योजनामा छिमेकी राष्ट्रहरूको ऋण, प्रभाव र नियन्त्रणको कूटनीति, विस्तारित रणनीतिक हस्तक्षेप, ती सहयोगबाट जनमतमा पार्ने प्रभाव र घरेलु राजनीतिको ध्रुवीकरणमा हामी अनभिज्ञ भयौं वा पत्तो पाएनौं । मधेस केन्द्रित दलको गठबन्धन आफू राजनीतिमा स्थापित हुने उद्देश्यमात्रै थियो कि कांग्रेसलाई कमजोर पार्ने कसैको रणनीति थियो ? तराई जस्तो हाम्रो जनमतको आधार क्षेत्रमा एकाएक नयाँ राजनीतिक शक्ति कसरी उदायो र हाम्रो शक्तिलाई खण्डीकरण गर्ने औजार बन्न पुग्यो ? के तराईको राजनीतिलाई कांग्रेसबाट अलग गर्ने कम्युनिष्ट राजनीतिले काम गरेन त्यहाँ ? वा तराईलाई आधार बनाएर काठमाडौं नियन्त्रण गरी क्षेत्रीय राजनीतिमा चिनियाँ प्रभाव रोक्ने छिमेकीको असफल कूटनीतिलाई हामीले समयमा बुझ्न सकेनौं ? रूपमा भारत विरोधी देखिने तर सारमा भारतीय हितको पक्षपोषण गर्ने कम्युनिष्ट सरकार नेपालमा स्थापित गर्न चाहने भारतीय लगानीकर्ताहरूको प्रयासप्रति हामी बेखबर रहेका छौं । कम्युनिष्ट गठबन्धन आन्तरिक राजनीतिको उपज हो या वैदेशिक चलखेलको उपक्रम हो ? चीन ‘सी’ विचारधाराको निर्यातको चरणमा आएको तथ्य बुझ्न जरुरी थियो । चुनावकै मुखमा चिनियाँ रेलको सर्भे हुनु, सिगात्सेमा नेपाल जाने रेलको प्रदर्शन हुनु, तातोपानी नाका बन्द हुनु, निजगढ–काठमाडौं दु्रतमार्गमाथिको दक्षिणको चासो, हुलाकी राजमार्गको अस्तब्यस्तता, पञ्चेश्वर, पश्चिम सेती जलपरियोजनाको अनिश्चितता, बुढीगण्डकी दिने कार्य आर्थिकमात्रै थिएनन्, त्यसको दूरगामी राजनीतिक प्रभाव भएको कुरा नजरअन्दाज गर्नु हुँदैनथ्यो । नाकाबन्दीका सम्बन्धमा हाम्रो धारणा के थियो ? प्रदेश विभाजनमा हाम्रो अडानले राष्ट्रिय हितको पक्षपोषण गर्‍यो वा गरेन ? जनता जान्न चाहन्थे । तराईको समस्यालाई आफ्नो समस्या ठानी हेपिएको, चेपिएको, निसासिएको तराईका जनताका मनलाई आफूसँग जोडी न्याय र पहिचानमा अग्रसरता लिई अपनत्वबोध गराउने कार्य अझै मुखरित गर्दै तराईलाई मधेस केन्द्रित दल र भारतीय स्वार्थबाट अलग राख्नुपथ्र्यो । भारत र चीनको हित तथा सुरक्षा चासोको व्यावहारिक सम्बोधन गरी मित्रवत अवस्थामा ल्याउन जरुरी थियो । यसमा हाम्रो कूटनीतिक असफलता रहेकै हो ।

अन्तरपार्टी संघर्ष तीव्र, अशोभनीय, व्यक्तिगत र सिद्धान्तविहीन हुनपुग्यो । २०५१ सालको मध्यावधिको कारण र सिर्जित अवस्था दुवै ठिक थिएन । नेता कृष्णप्रसाद भट्टराईको पराजय र सत्ता बहिर्गमन अस्वाभाविक बन्यो । गणेशमान सिंहको चित्त दुखाइले पार्टी पंक्तिलाई मर्माहत बनायो । पार्टी विभाजनको कारणमा व्यक्तिगत अहंकारले स्थान पायो । संविधान जारी गर्ने ऐतिहासिक अवसर पाउनुभएका नेता सुशील कोइरालालाई हार्ने चुनावमा उठाउनु उपयुक्त थिएन । प्रचण्ड सरकारलाई हटाएर पछिल्लोपटक प्राप्त भएको सरकारी नेतृत्वबाट हामीलाई कुनै लाभ भएन, उल्टै गठबन्धनलाई टेवा पुग्यो । आज पनि पार्टीमा स्थापित हुने परम्परा, चाकडी, चुक्ली र चाप्लुसी हुनु, नेतृत्व आत्मकेन्द्रित हुनु, प्रशंसामा रमाउने, कुरा नसुन्ने, सुनाउन मात्रै अग्रसर रहने नीतिले डेरा जमाएको छ । सैद्धान्तिक पक्षलाई धारिलो, स्पातिलो बनाउने पार्टी स्कुल विभाग छैन । पार्टी संगठन अधुरो–अपूर्ण जस्तो, कर्मकाण्डीय सञ्चालन विधि, उत्तरदायित्वको अभाव, अनुशासनलाई स्वतन्त्रता विरोधी ठान्ने संस्कार रह्यो । प्रचार–प्रसारमा सांगठनिक प्रभाव र आक्रामकता देखिएन । यस विरुद्ध कम्युनिष्ट पार्टीले भीषण प्रोपोगान्डा चलायो ।

स्थायी सरकार, आर्थिक समृद्धि विपक्षीको नारा बन्यो । हाम्रो मूल नारा अधिनायकवादको प्रारम्भ भन्यौं । यो कतिले बुझे र कतिलाई प्रभाव पर्‍यो ? हामीले उठाउन सकेनौं, विगतका सरकार तिनै थिए, जो आज गठबन्धनमा छन् ।

सही ठाउँमा सही उम्मेदवार छनोटको अभाव, अवसरको न्यायोचित वितरण नहुनु, आफूले नपाउँदा निस्क्रिय रहने आचरण पार्टी पराजयको अर्को कारण हो । वैदेशिक रोजगारीमा गएका जनशक्ति, युवा बेरोजगार, विद्यार्थी, कृषिमा आश्रित जनता, विपन्न र पिछडिएको क्षेत्रलाई उत्साहित गर्ने कार्यक्रम दिन सकिएन । त्यसैले सबै कांग्रेसजन हेक्का राखौं, यो बीपीले निर्माण गरेको पार्टी हो । विचारले आधुनिक छ, सुखी नेपाली र समृद्ध नेपाल बनाउन सक्षम छ । कतिपय मामिलामा हामी चुकेका छौं, बेलामौकामा अल्मलिएका पनि थियौं । तर, यो बेला सम्हालिने हो । आत्तिने होइन, संयम र धैर्य गर्दै नयाँ जीवन दिने हो । यस पटकको सानो भूकम्पले हामीलाई हल्लायो, अब यस्तो पार्टी बनाआंै, १५ रेक्टरको भुइँचालो आए पनि हाम्रो विश्वासलाई हल्लाउन नसकोस् । वर्तमान नजान्नेले भविष्य बनाउँछु भन्नु मुर्खता हो । सबै मिलेर बहस गरौं ।

प्रकाशित : माघ ३, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?