कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जुत्ता गायब

सिउँडी
हाम्रा पवित्र मन्दिरहरूमा बराबर जुत्ता र चप्पल चोरिने भइरहन्छ ।  अब यो राजनीतिक कार्यक्रममा पनि हुन थाल्यो । यसको अर्थ के हो भने हाम्रो राजनीति पनि पवित्र भयो ।
विमल निभा

काठमाडौँ — विशेष राजनीतिक छलफल सक्याएर प्रज्ञा भवनबाट बाहिरिए कमरेड । र ढोकानेर ठिंग उभिएर यताउता हेर्न थाले । वास्तवमा उनको जुत्ता गायब थियो । एक महिनाअघि नै किनेको नयाँ जुत्ता । कुनै विदेशी कम्पनीको दामी जुत्ता थियो । उनी आफ्नो जुत्ताको यादमा त्यसै उदास मुद्रामा उभिइरहे ।

जुत्ता गायब

‘के भयो कमरेड ?’ उनलाई खडा देखेर एक कार्यकर्ता खुरुरु दगुरेर आइपुग्यो ।

यसको जवाफमा कमरेडले अगाडि देखाए । जुत्ताको चाङतिर । तर कार्यकर्ताले कुरो बुझ्न सकेन । त्यसैले त्यतातिर हेरेर भन्यो, ‘आफ्नो जुत्ता चिन्न सक्नुभएन कमरेड ?’

‘होइन, मेरो जुत्ता त्यहाँ छैन ।’ कमरेडले स्पष्टसँग भने ।

‘होइन होला कमरेड ।’ कार्यकर्ताले आँखा घुमाएर भन्यो, ‘यतै कतै हुनुपर्छ जुत्ता ।’

‘मैले राम्ररी हेरिसकेंँ, कतै छैन ।’

‘होइन होला कमरेड ।’ उसले दोहोर्‍याएर भन्यो ।

‘त्यसो भए, तपाई नै हेर्नाेस् ।’ कमरेडले चिढिएर भने ।

‘कहाँ जान्छ जुत्ता ?’

‘म के जानुँ ?’ कमरेडको स्वरमा थोरै क्रोध थियो ।

यस पटक कार्यकर्ताले कुनै जवाफ दिने प्रयास गरेन । एकदमै अप्ठ्यारो खालको अनुहार बनाएर चुप लाग्यो । यसै बखत यस समसामयिक राजनीति सम्बन्धी छलफलको प्रमुख अतिथि हलबाहिर निस्कियो । भूतपूर्व वामपन्थी नेता । अहिले फेरि वाम राजनीतिमा सक्रियताका साथ अभिरुचि राख्न लागेको । यही सिलसिलामा यो ‘वाम गठबन्धनको कार्यदिशा’ कार्यक्रमको प्रमुख अतिथि । (उनकै एक आईएनजीओ मार्फत भएको) ।

‘यहा किन उभिइरहनुभएको तपाईहरू ?’ प्रमुख अतिथिले कमरेडतिर हेरेर सोध्यो ।

‘एउटा समस्या आइपरेको छ, सर ।’ यसको उत्तर कार्यकर्ताले दिन खोज्यो ।

‘किन, के समस्या पर्‍यो ?’

‘कमरेडको जुत्ता गायब छ ।’

‘जुत्ता गायब छ ।’ प्रमुख अतिथिले विस्तारै दोहोर्‍यायो ।’

‘हो सर, जुत्ता गायब छ ।’

‘हो र कमरेड ?’ प्रमुख अतिथिले यसको पुष्टिका लागि कमरेडतिर हेर्‍यो ।

कमरेडले केही भनेनन् । र यसको मौन स्वीकृतिमा हलुकासँग टाउको हल्लाए । यो देखेर प्रमुख अतिथि पनि मौन भयो । र चुपचाप चिन्तन–मनन गर्न थाल्यो । केही बेरपछि भन्यो, ‘यो त राम्रो भएन कमरेड ।’

‘के राम्रो भएन ?’ बुद्धिजीवी परिषदको बुद्धिजीवीले आएर एक्कासी सोध्यो ।

‘कमरेडको जुत्ता हरायो ।’ प्रमुख अतिथिले बुद्धिजीवीलाई बतायो ।

‘हँ, कमरेडको जुत्ता हरायो ?’

‘हो, कमरेडको जुत्ता हरायो ।’ कार्यकर्ताले जोड दिएर भन्यो ।

‘यो त नराम्रो नै भयो ।’ बुद्धिजीवी परिषदको बुद्धिजीवीले भन्यो, ‘कसरी जुत्ता हरायो कमरेड ?’

‘यो म कसरी भन्न सक्छु ?’ कमरेडको मुड ठिक भइसकेको थिएन ।

‘यस्तो त यहाँ कहिले भएको थिएन ।’ कार्यकर्ताले चिन्तित आवाजमा भन्यो ।

‘तपाईहरू कस्तो–कस्तोलाई यस्तो विशेष गोष्ठीमा बोलाउनु हुन्छ ?’ प्रमुख अतिथिले टाउको घुमाएर कार्यकर्तालाई हप्कायो ।

‘हामीले त मुख्य–मुख्य राजनीतिज्ञ, व्यापारी र बुद्धिजीवीहरूलाई बोलाएका हौं, सर ।’

‘अनि जुत्ता कसरी हरायो त ?’

‘यसरी जुत्ता नहराउनुपर्ने ।’ कार्यकर्ताले मानौं आफैंसँग भन्यो ।

‘तपाईले यस्तो भनेर के हुन्छ ?’ प्रमुख अतिथिको क्रोध सकिएको थिएन, ‘कमरेडको जुत्ता त ठाउँमा छैन नि !’

‘पहिले यस्तो भएको थिएन, सर ।’

‘एक प्रकारले यो राम्रै भयो ।’ एकाएक बुद्धिजीवीले आफ्नो मौनता तोड्यो ।

‘के राम्रो भयो ?’ प्रमुख अतिथिले झस्किएर भन्यो ।

यस विशेष छलफलमा विशेष पेपर प्रस्तुत गर्ने बुद्धिजीवी परिषदका वरिष्ठ बुद्धिजीवी हलुका ढंगले मुस्कुरायो । र तुरुन्तै गम्भीर पनि बन्यो । अनि कमरेडतिर हेरेर भन्यो, ‘हेर्नाेस्, यस्तो घटना खास गरेर मन्दिरहरूमा हुने गर्छ । हाम्रा पवित्र मन्दिरहरूमा बराबर जुत्ता र चप्पल चोरिने भइरहन्छ । अब यो राजनीतिक कार्यक्रममा पनि हुन थाल्यो । यसको अर्थ के हो भने हाम्रो राजनीति पनि पवित्र भयो ।’

‘यो के भनिरहनुभएको छ, तपाई ?’ प्रमुख अतिथिले आश्चर्य मानेर भन्यो ।

‘हो, के नचाहिँंदो कुरो गरिरहनुभएको छ, तपाई ?’ कमरेडले पनि बुद्धिजीवीको भनाइमा आफ्नो असहमति जनाए ।

‘म सही कुरो गरिरहेको छु, कमरेड ।’ बुद्धिजीवीको गम्भीरता चालु थियो, ‘म त्यसै भनिरहेको छैन ।’

‘यस्तो पवित्रता र अपवित्रताको कुरो मसँग नगर्नाेस् ।’ कमरेड पनि गम्भीर भए, ‘यो तपाईजस्तो बुद्धिजीवीलाई सुहाउँदैन ।’

‘यस्तो जुत्ता चोरीको घटना पशुपतिनाथ, गुह्येश्वरी, स्वयम्भू आदि ठाउँमा हुने गथ्र्याे, अब यहाँ पनि भयो ।’ बुद्धिजीवी एक्कासी मुस्कुरायो, ‘पोहोर मेरै मनकामना मन्दिरमा छालाको बुट चोरी भएको थियो, कमरेड ।’

‘यसले के राम्रो हुन्छ ?’ कमरेडले मुख बिगारेर भने ।

‘यही जुत्ता हो, कमरेड ?’ कार्यकर्ता एउटा जुत्ता बोकेर आइपुगेको थियो । (एकछिन अघि

कतै गएको) ।

‘कहाँ पाउनुभयो, तपाईले ?’ कमरेडले आफ्नो जुत्तालाई चिनेर भने ।

‘उता झ्याङमा थियो ।’ कार्यकर्ताले उत्साहमा भन्यो, ‘त्यहीं अल्झिएको थियो ।’

‘एउटा जुत्ता पाएर के हुन्छ ?’ प्रमुख अतिथिले भन्यो, ‘अर्काे पनि त पाउनुपर्‍यो ।’

‘कुन खुट्टाको जुत्ता हो ?’ बुद्धिजीवीले पनि चाख मानेर सोध्यो ।

‘देब्रे खुट्टाको हो ।’

‘अब दाहिने खुट्टाको जुत्ता नपाएसम्म यसको के काम ?’ बुद्धिजीवीले नाक खुम्च्यायो, ‘एउटा जुत्ता लगाउन मिल्दैन त !’

‘अर्काे खुट्टाको जुत्ता पनि खोज्नुपर्‍यो ।’ प्रमुख अतिथिले भन्यो, ‘त्यहीं झ्याङमा हुनुपर्छ ।’

‘पुरै खोजिसकेंँ सर ।’ कार्यकर्ताले ओठ बंग्याएर भन्यो, ‘पाउँदै–पाइएन ।’

‘एउटा जुत्ता चोर्ने कस्तो चोर होला †’ बुद्धिजीवीले कमरेडतिर हेरेर भन्यो, ‘एउटा कुरा भनँु कमरेड ?’

‘भन्नोस्, के भन्नुहुन्छ ?’

‘कुनै अर्काे जुत्ता रोजेर लगाउनोस् कमरेड ।’ बुद्धिजीवीले गम्भीर भएर भन्यो, ‘यहाँ यत्तिका जुत्ताहरू छँदैछन् ।’

‘हो, नांगो खुट्टामा कसरी जाने कमरेड ?’ प्रमुख अतिथिले पनि समर्थन गर्‍यो, ‘यसै पनि जुत्ता हराउनु राम्रो मानिँदैन ।’

‘यसले अपसगुन हुन्छ, कमरेड ।’ बुद्धिजीवीले जोड दिएर भन्यो ।

यो सुनेर कमरेड चुप लागे । कुनै प्रतिक्रिया जनाउने कोसिस गरेनन् । केही सोचिरहेका थिए सायद । (उनको निधार खुम्चियो) । त्यसपछि फटाफट अघि बढेर एकजोर चम्किलो जुत्ता (नयाँ जुत्ता नै) मा आफ्नो दुवै खुट्टा घुसारे । अनि कसैलाई केही नभनेर प्रज्ञा भवनको कम्पाउन्डमा रहेको आफ्नो कारतर्फ लम्किए । आज पार्टी अफिसमा पनि एक ‘वाम एकता’ सम्बन्धी महत्त्वपूर्ण बैठक बस्ने भएको थियो ।

प्रकाशित : माघ ६, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?