वैदेशिक रोजगारमा जीवन सुरक्षा

सम्पादकीय

काठमाडौँ — रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका नेपालीमध्ये हजार हाराहारीले बर्सेनि ज्यान गुमाउने गरे पनि मृत्युदर नियन्त्रणका लागि नेपाल सरकार र रोजगारदाता मुलुक एवम् कम्पनीबाट ठोस पहल हुन सकेको छैन ।

दुई–चार पैसा कमाएर ऋण तिर्ने तथा परिवारको गुजारा सहज ढंगले चलाउने सपना बोकेर बाध्यतावश वैदेशिक रोजगारीमा गएका नेपालीको जीवन सुरक्षामा सम्बन्धित निकायको पर्याप्त ध्यान नपुग्नु उदेकलाग्दो छ । मानिसको मृत्यु अवश्यम्भावी हो तर वैदेशिक रोजगारीमा गएका नेपाली युवाको मृत्यु जे जसरी भइरहेको छ, त्यसलाई प्रभावकारी अभिमुखीकरण, स्वास्थ्य परीक्षणमा पहुँच स्थापित र रोजगार व्यवस्थित गरेर न्यूनीकरण गर्ने ठाउँ छ । मुलुकको अर्थतन्त्रलाई नै थेग्ने गरी रेमिटयान्स पठाउने नेपाली युवाको असामयिक मृत्यु एक होस् वा अनेक, राज्यले गम्भीर रूपमा लिनुपर्छ ।


स्वदेशमा भरपर्दो रोजगारीको अवसर नपाएर/नदेखेर नेपाली युवा दैनिक १५ सय हाराहारी संख्यामा खाडी मुलुक र मलेसिया गइरहेका छन् । प्राय: सामान्य कामका लागि उता पुगेका नेपालीमध्ये दैनिक औसत तीन जनाको मृत्यु भइरहेको तथ्यांकले देखाउँछ । नेपालीको प्रमुख श्रम गन्तव्य मुलुकस्थित नेपाली दूतावासका अनुसार सन् २०१७ मा मात्र ९ सय ५७ नेपालीको मृत्यु भएको छ । तीमध्ये ३२ जना महिला छन् । उनीहरूको हृदयाघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले मृत्यु भएको हो । सबभन्दा बढी मलेसियामा ३ सय ५४ जनाको मृत्यु भएको छ । मलेसिया प्राय: सधैं धेरै नेपाली कामदारको मृत्यु हुने मुलुकमा पर्छ । नेपालीको अधिक मृत्यु भएको मुलुकमा साउदी अरब (२८३), कतार (१६९) छन् । हृदयाघात र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण २ सय ७६ जनाको वर्ष दिनमा मृत्यु भएको छ । यस्तै, सडक दुर्घटनामा परेर १ सय ७१ नेपालीले ज्यान गुमाएका छन् । १ सय ६२ जनाले भने आत्महत्या गरेका छन् । बर्सेनि यही हाराहारीमा नेपालीले विदेशी भूमिमा ज्यान गुमाइरहँदा पनि यसको कारण केलाउन र नियन्त्रण गर्न सम्बन्धित निकायले गम्भीर चासो नदिनु विडम्बनापूर्ण छ ।


वैदेशिक रोजगारका लागि हिँडेका युवाको उड्नुअघि नेपालमा र पुगेपछि गन्तव्य मुलुकमा अनिवार्य स्वास्थ्य परीक्षण गरिन्छ तर त्यस्तो परीक्षण सीमित दायरामा हुन्छ र भरपर्दाे पनि हुँदैन । जसरी पनि विदेश जाने ध्याउन्नमा रहेका युवाले स्वास्थ्य परीक्षणलाई गम्भीरताका साथ लिने गरेको पनि पाइँदैन । उता पुगेपछि पनि सचेतना तथा चिकित्सकसँगको सहज पहुँच अभावले नियमित स्वास्थ्य परीक्षण गराएका हुँदैनन् । खानपान, गर्मी र चिसोमा समेत बेपरवाह हुँदा नेपाली युवा सुतेकै कोठामा मृत अवस्थामा भेटिने गरेका छन् । यस्तै, ट्राफिक नियमबारे जानकार नभएकाले नेपाली युवा सडक दुर्घटनामा पर्ने गरेका छन् । सम्झौताअनुसार काम र सेवासुविधा नपाउने, समयमा तलब नपाउनेजस्ता समस्या झेल्न नसकेर कतिपयले आत्महत्या गरेका हुन सक्छन् । उनीहरू स्वदेश नछाड्दै म्यानपावर कम्पनी र तिनका एजेन्टहरूबाट ठगिइसकेका हुन्छन् ।


रोजगारका लागि विदेशमा पुगेका नेपालीको मृत्युका कारणलाई विश्लेषण गरेर न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्छ । विदेश उड्नुअघि नै गन्तव्य मुलुकको नियम–कानुन, हावापानी, कामको प्रकृतिबारे अभिमुखीकरण गराउँदै स्वास्थ्यप्रति सचेत रहन प्रेरित गरे मृत्युदर घट्न सक्छ । रोजगारदाता मुलुकले नेपालमै अभिमुखीकरण गर्ने प्रबन्ध मिलाउनुपर्छ । कामदारको नियमित स्वास्थ्य परीक्षणका लागि कम्पनीमा चिकित्सकको व्यवस्था अनिवार्य मिलाउन गन्तव्य मुलुकलाई नेपाल सरकारले घच्घच्याउन जरुरी छ । सम्झौताअनुसारका काम र तलब नदिलाएर तथा बीचमै कामबाट निकालिदिएर हुने ठगी नियन्त्रण गर्न सके मात्रै पनि धेरै नेपाली कामदारले मानसिक तनावको उल्झनबाट मुक्ति पाउन सक्छन् । राम्रो त नेपालमै पर्याप्त रोजगार सिर्जना गरेर, विभिन्न पेसा–व्यवसायमा लाग्न प्रेरित गरेर तथा सबै खाले कामको सम्मान गर्ने संस्कृति बसालेर युवालाई नै विदेश जानबाट रोक्न सक्नु हो । तर अहिले त्यो परिस्थिति नभएकाले वैदेशिक रोजगार क्षेत्रलाई नै व्यवस्थित, मर्यादित र सुरक्षित बनाउनुपर्ने अवस्था छ । विदेशमा पुग्ने नेपालीहरू पैसासँगै स्वस्थ शरीर लिएर फर्किने अवस्था तयार गर्न नेपाल सरकारले नीतिगत सुधार, सम्झौता र तिनको कार्यान्वयनमा अग्रसरता लिनुपर्छ, सँगै नेपालीको गन्तव्य मुलुक र कम्पनीलाई इमानदार कार्यान्वयनका लागि घच्घच्याइरहनुपर्छ ।

प्रकाशित : माघ १०, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?