१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चोरिएका हुन्, चोरिएका होइनन्

देश–विदेश
हाम्रो सम्पदाको अधिकारमाथि प्रमाण जुटाउन पुरातत्त्व विभाग, परराष्ट्र मन्त्रालय र डेनमार्कस्थित नेपाली दूतावासले किन ढिलाइ गर्ने ?

काठमाडौँ — अन्वेषक लैनसिंह बाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिको नामकामले नेपालको कला–सम्पदालाई फेरि पुनर्जीवन दिएको इतिहास त्यति पुरानो भइसकेको छैन । लैनसिंहकै छोरी कला अन्वेषक डा.डिना बाङ्देल पनि देश–देशावरमा नेपाली कला, संस्कृति र सभ्यताको व्याख्याता बनी हिंडेकी थिइन् ।

चोरिएका हुन्, चोरिएका होइनन्

समयको अन्तरमा डा.डिनालाई ‘सुपरभाइजर’ राखेर पीएचडी अध्यनरत एक जना डेनिस विद्यार्थी उल्रिक जोहेसनले नेपाली कला–सम्पदाको विगत–आगतमा तरंग ल्याउने काम गरेका छन् । आफ्नो शोधको सिरानीमा ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिलाई राखेर र डा.डिना (स्वर्गीय) को मार्गनिर्देशनलाई समातेर उल्रिक अहिले नेपाल आएका छन्, साथमा सन् ५० को दशकमा नेपालबाट युरोप लगिएका ८८ थान मूर्ति, चित्रसहितको ‘रिप्लिका’ (तस्बिर) लिएर उनी नेपाल आएका छन् ।


डेनमार्कको आर्हसस्थित मोज्गार्ड म्युजियमका क्युरेटर उलेरिकले आफ्नो शोध र पेसाको सुविधामा नेपाल विषयक शोध–सामग्री भेटेका थिए । कोपनहेगनको नेसनल र आर्हसको मोज्गार्ड म्युजियममा संकलित यी सामग्रीको थप इतिहास र महत्त्व पहिल्याउन उल्रिक यतिखेर काठमाडौं उपत्यकाका विभिन्न मुकाममा प्रदर्शनी गर्दै हिँडिरहेका छन् । अन्वेषक लैनसिंहले भनेजस्तो ‘स्टोलन’ भनेर दाबी–किटान नगरेरै भए पनि यी सामग्रीको पृष्ठभूमि पहिल्याउन लागिपरेका उल्रिक नेपाली सम्पदाप्रेमी र कलाविद्का लागि रुचिकर नाम बनेका छन् । ‘भारतको बाटो हुँदै नेपाल आएका डेनिस आर्ट–क्युरेटर वेरर्नर ज्याकोब्सेन सन् १९५७ देखि २ वर्षका लागि काठमाडौंको कालिमाटीमा डेरा लिएर बसेको इतिहास छ,’ पाटनको ज्यापु समाजमा अर्को प्रदर्शनी तयारीमा जुटेका उल्रिक सुनाउँछन्, ‘त्यही बेला यी दुर्लभ सामग्री नेपालबाट डेनमार्क लगिएको बुझिन्छ ।’ तर, उनका भनाइमा कला–सम्पदाका अरू व्याख्याताले भनेजस्तै ‘चोरिएर’ यी सामग्री लगिएको होइन, बरु उपत्यका आसपासका बासिन्दाले आफैं यी सामग्री ल्याएर निश्चित शुल्कमा बुझाउने गरेको इतिहास उनले शोधका क्रममा पाएका छन् । क्युरेटर वेरर्नर ज्याकोब्सेनसँगै सन् १९५७ मा काठमाडौं आएका एक अमेरिकी अन्वेषकले अहिले डेनमार्कका म्युजियममा संग्रहित नेपाली सम्पदा खरिद गरेर लगिएको बयान दिएका रहेछन् । क्युरेटर ज्याकोब्सेन (सन् १९१४–१९७९) आफैं डेनिस कल्चरल इन्स्टिच्युटसँग सम्बद्ध थिए । ज्याकोब्सेन स्वतन्त्र आर्ट–क्युरेटर थिए जसले डेनमार्कको नेसनल र मोज्गार्ड म्युजियममा कला–सम्पदा संकलन गरिदिने जिम्मा पाएका थिए ।


शोधकर्ता उल्रिक १६ वर्षअघि पहिलो पटक नेपाल आएका थिए । त्यसपछि भिन्न योजनामा जोडिएर ५ पटक नेपाल आइसकेका छन् । पछिल्ला वर्षमा डेनमार्कको आर्हस युनिभर्सिटीको मानवशास्त्र संकायमा नेपालको पारम्परिक कला–सम्पदामा पीएचडी गरिरहेका उल्रिकले नसोचेको र अध्ययनका हिसाबमा पनि अद्भुत स्रोत–सामग्री फेला पारेका छन् । ‘अद्भुत’ यस अर्थमा कि बितेका ६० वर्षयता डेनमार्कको म्युजियममा थन्किएका सम्पदा सामग्रीबारे न पुरातत्त्व विभाग जानकार छ, न विषयविद्हरूले यसमा सरोकार राख्न सकेका छन् । आर्ट–क्युरेटर तथा कला अन्वेषक डा.डिनाले २ वर्षअघि डेनमार्कको नेसनल म्युजियममा गरेको भ्रमण क्रम र आफ्ना पीएचडी शोधार्थी विद्यार्थी उल्रिकसँगको सल्लाहमा यी पुरातात्त्विक सामग्रीको ‘रिप्लिका’ तस्बिर पहिलो पटक नेपालीले देख्न पाएका हुन् । ‘यी ऐतिहासिक सम्पदा घर (नेपाल) फर्काउने पक्षमा ‘लबिइङ’ गर्नेभन्दा पनि यी सामग्रीको ऐतिहासिक पक्ष, महत्त्व र स्थानविशेष पहिल्याउन म आएको हुँ,’ उल्रिक उत्साहित थिएm ‘प्रदर्शनीमा राखिएकामध्ये भैरवमूर्तिलाई एक स्थानीय बयोवृद्ध बासिन्दाले पाटनको इटुम्बहाल टोलमा धेरै अघि आफूले देखेको जनाएका छन्, यो सोधीखोजीको गम्भीर विषय हो ।’


आज भइरहेकै सम्पदा जोगाउने र सम्मान गर्ने कुरामा हाम्रा पुरातत्त्व विभाग, अभिलेखालय, संग्रहालय, संस्कृति मन्त्रालय आदि चुकिरहेका बेला शोधकर्ता उल्रिकले घर–आँगनमै आएर नेपाली सम्पदाको एउटा इतिहासलाई उधिनेर देखाएका छन् । अन्वेषक लैनसिंहले ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा औंल्याएका आधारमा पाटन संग्रहालयबाट हराएको उमामहेश्वरको मूर्ति १८ वर्षपछि पनि घर फिर्ता आएको थियो । लैनसिंहले पुस्तकमा उल्लेख गरेकामध्ये दर्जनौं कला–सम्पदा घर फिर्ता भइसकेका छन्, तर यसमा सरोकार राख्ने निकाय–व्यक्तिको ‘तदारुकता’ जहिल्यै पनि अपेक्षित छ । यहाँ सम्पदा र इतिहासका नाममा चाहिनेभन्दा नचाहिने ‘इगो’ को लडाइँ चलिरहेको छ, यो बेला रानीपोखरी वा काष्ठमण्डपको फाइदाकारी योजनामै धेरैजसो सरोकारसम्बद्ध अधिकारी झुत्ती खेलिरहेका भेटिन्छन् । अब कसले डेनर्माकका म्युजियममा फेला परेका नेपाली सम्पदाको इतिहास र ऐतिहासिकता खोजिदिने हो ?


‘एन्थ्रोपोलोजीको सिद्धान्त र कार्यरूपमा विश्वास गर्ने विद्यार्थीका रूपमा मैले जे देखेको छु, त्यही राखिदिएको मात्रै हुँ,’ शोधकर्ता उल्रिक भन्छन्, ‘यी सामग्रीमा साँच्चै नेपाली कला–संस्कृति र धार्मिक विश्वासको आधारशिला छ भने यसबारे नेपालीबाटै थप खोजबिन हुनुपर्छ । विषयका विज्ञहरू अथवा पुरातत्त्व विभाग र सम्बद्ध निकायले आफ्ना सामग्रीको प्रामाणिकता दाबी गर्न सक्नुपर्छ । यसरी आधारहरू क्रमश: बन्दै गयो भने यी सम्पदाहरू घर फिर्न पनि सक्छन्, होइन भने म मेरो पीएचडी–थेसिस पूरा गर्नेछु, अनि चुपै लागेर बस्नेछु ।’


नभन्दै यसरी हराएका सम्पदाको विषय र सोधखोजको सन्दर्भ निकै अघि बढिसकेका बेला हाम्रो सम्पदाको अधिकारमाथि प्रमाण जुटाउन पुरातत्त्वले किन ढिलाइ गर्ने ? परराष्ट्र मन्त्रालय र डेनमार्कस्थित नेपाली दूतावासले यी दुर्लभ मानिएका ऐतिहासिक सम्पदाबारे थप अध्ययन गर्न किन नसकिरहेका हुन् ? यतिखेर एउटा लैनसिंह बाङ्देल (नेपाली अन्वेषक) ले होइन, कुनै विदेशी शोधार्थीले उसका देशमा थन्किएर बसेका नेपाली (हाम्रा) सामग्रीबारे सचित्र सूचना दिंदै हिँडिरहेको अवस्था छ । अब यी सामग्रीको अवस्थिति र ऐतिहासिकता खोज्ने काम हाम्रो पुरातत्त्व विभागको हो जोसँग यस्तो सोधखोज र अन्वेषणमा आवश्यक स्रोतसामग्री र पहुँचसमेत छ । कतिसम्म भने यिनै डेनिस शोधार्थी उल्रिकले पुरातत्त्व विभागमा गएर डेनमार्कको म्युजियममा भेटिएका ऐतिहासिक सम्पदाबारे धेरैअघि जानकारी दिइसकेका रहेछन् तर हाम्रो पुरातत्त्व भने तैं चुप मै चुपको अवस्थामा छ ।

प्रकाशित : माघ १०, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?