लाहुरमा हराएको पहिचान

देवराज गुरुङ

काठमाडौँ — करिव दुई सय बर्षअघि देखि लाहुर जान थालेका नेपाली जनजाति युवाहरु अझै पनि छाति नाप्न लालयित छन् । मुलुकले संघीयता र समावेशी संरचना अंगालिसकेको बेलामा पनि जनजाति युवाहरु लाहुरमै आफ्नो पहिचान खोजिरहेका छन् ।

“लाहुरे” नेपाली समाजमा प्रचलित शव्द हो। लाहुरे शब्द नेपाली समाज भित्र पनि विशेष गरेर जनजाति समुदायमा लोकप्रिय छ। लाहुरे शव्दको उत्पति कुनै समय पाकिस्तानको “लाहोर” भन्ने शहरमा काम गर्न जाने नेपालीहरुलाई लाहुरे भन्ने प्रचलनबाट सुरु भएको मानिन्छ। नेपालीहरुको विगत दुई सय वर्षदेखिको लाहुर जाने परम्परा अहिले पनि कायमै छ। मात्र यसको स्वरुपमा परिवर्तन आएको छ।

Yamaha

नेपाल–अंग्रेज युद्ध विसं (१८७१–७२) पछि सो युद्ध लडेका कतिपय नेपाली सेना पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ना हुन लाहोर पुगे। त्यस पछि मात्र नेपाली समाजमा लाहुरे शव्दले व्यापकता पाएको थियो। हाल पाकिस्तानमा पर्ने लाहोरतिर नभई ब्रिटिस गोर्खा र भारतीय गोर्खा सेनामा भर्ना हुन जानुलाई अहिले पनि लहुर जानु नै भनिन्छ। खास सेनामा जागिर खाने मानिसहरुलाई लाहुरे भन्ने प्रचलन रहेको छ।
देशमा एक पछि अर्को गर्दै परिवर्तनका लहरहरु चले, तर लाहुरे समुदायमा आजसम्म पनि परिर्वतनको लहरले कति पनि छोएन। लाहुरे यतिबेला पुर्खेयौली पेशा र वंशानुगत गुण जस्तै बनिसकेको छ। जनजाति समुदायका मानिसहरु लाहुरे पेशा सहजै परिवर्तन र छाड्ने मनाशयमा पनि छैनन्। कस्तो विडम्बना देशमा गणतन्त्रको स्थापना पश्चात समावेशी, समानुपातिक र पहिचानको कुरा निकै सुनिए तर मुलधारमा राज्यले जसलाई ल्याउन चाहेको हो तीनै मानिसहरु लाहुरे बन्ने नाममा मुलधारमा आउन चाहेनन्।

यति बेला उनीहरुको पहिचान लाहुरमा एउटा खुकुरी र बन्दुकमा हराइरहेका छन्। लाहुरको खुकुरी र बन्दुकमा पहिचान खोज्नेहरुले राज्य सञ्चालनका अंगहरुमा पहिचान खोज्ने समय आएन र? विश्वमा खुकुरी चलाएर आफ्नो पहिचान बनाउनेहरुले आफ्नै देशमा पहिचान खोज्न अझै कति समय लाग्ला? पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धमा खुकुरीमार्फत विश्वमा आफ्नो पहिचान बनाएका लाहुरेहरुले आफ्नै देश र माटोमा पहिचान खोज्न ढिला भएन र? पुर्खाहरुको समयमा देशमा रोजगारी र अवसरहरु कमै थिए। मानिसहरु उतिबेलाको समयमा चाहेर पनि लेख पढ गर्न पाउदैन थे। त्यतिबेलाका पुस्ताहरुलाई लाहुर जान बाध्यता र अवसर दुबै थियो। तर आजसम्म पनि तिनै पेशालाई निरन्तरता दिनु पर्ने कुनै खास कारण छ र? यसले एउटा जब्बर प्रश्न खडा गरेको छ लाहुरे पेशाले हामीलाई छाड्न सकेन कि हामीले लाहुरे पेशा?

विश्वमा बहादुर जातिहरु शासक हुन्छन्, जुन प्रकृतिको नियम हो। तर हाम्रो बहादुरीता कौडिको भाउमा बिक्री भइरहेको छ। जनजाति समुदाय भित्र विशेष गरेर (गुरुङ, मगर, राई र लिम्बू) समुदायहरुमा अझैसम्म पनि लाहुरे संस्कृतिले बेस्सरी घर गरेको छ। ति समुदायका कतिपय मानिसहरु आजसम्म पनि आफ्नो सन्ततिहरुले बहादुरिता बेचेको हेर्न चाहन्छन्। यदी कथम् कथाचित आफ्नो सन्ततिहरुले बहादुरिता निर्यात गर्न सकेन भने दु:ख मन गर्न र जीवनदेखि नै हरेस खाने प्रचलन रहेको छ। २१ औं शताव्दीमा पनि एउटै पेशामा रहिरनु पर्ने बाध्यता सिर्जन गर्न कारक तत्वहरुको उपचार खोज्ने समय आएको छ। यतिबेला लाहुरे बने मात्रै जीवन सफल भइन्छ भन्ने सोच र विचारलाई फाल्ने सहि समय आएको छ। किनभने देशमा गणतन्त्र र सङ्घीयताको स्थापनाका साथै कार्यन्वयन भइसकेको छ।
यति बेला राज्यले हरेक जात–जातिलाई चौतर्फी विरोधको बाबजुत पनि मूलधारमा समेट्ने प्रयास गरिरहेको छ। समावेशी या आरक्षण प्रणालीमार्फत राज्यले हरेक समुदायका मानिसहरुलाई राज्यको हरेक अंगहरुमा पहिचानसहितको उपस्थितिको चाहना गरेको छ। तर जनजाति युवाहरु भने ति चिजहरुलाई लत्याउदै आफ्नो कलिलो उमेर छाति र तिघ्र नाप्ने स्थानमा आफ्नो पहिचान खोजिरहेको छ। युवा पुस्ताहरुले पनि पुर्खाहरुकै पाराले लाहुर भित्रको खुकुरी र बन्दुकमा पहिचान चाहिरहेका छन्। उनीहरुको विद्यालय तहको शिक्षा पार गरेपछिको पहिलो रोजाई नै भर्ति केन्द्र बन्छन्। कस्तो बिडम्बना जति युवाहरु छाति र तिघ्रा नाप्न भर्ति केन्द्रहरुमा लाइन लाग्छन् त्यतिको मात्रामा लोक सेवा जस्तो देशको गरिमा बोकेको निष्पक्ष संस्थाको परीक्षाको फर्म भर्नलाई समेत लाइन बसेको देखिंदैन। यसले एउटा प्रश्न उत्पन्न गरेको छ पहिचान र अधिकार जनजातिहरुलाई चाहिएको हो कि राज्यलाई? त्यस्तै लाहुरे समुदायका महिलाहरु भित्र पनि त्यस्तै सोच र भावनाको विकाश भएको पाइन्छ। जीवनमा केहि बन्न नसकेपनि लाहुरेनी बन्ने सोच राखेको हुन्छन्। त्यसको अर्थ हो लाहुरेसंगको जीवन सहज हुन्छन् भन्ने परजीवि र अल्छि मानसिकता। आधा संसार ओग्ट्ने लाहुरेनीहरुले पनि यस विषयमा सोच्ने समय आएको छ। अनी बाहिर बसेर भन्ने गर्छन् यो देशमा हाम्रो कुनै पहिचान र अस्तित्व नै छैन। यस विषयमा पहिचानको राजनीति गर्नेहरुले पनि सोच्ने बेला आएको छ। पहिचान लोक सेवाको लाइनमा खोज्न लगाउने कि छाति र तिघ्रा नाप्ने स्थानमा?

जबसम्म हामी जनजातिहरुमा बन्दुक र खुकुरी भन्दा कलमको पहिचान बलियो हुन्छ भन्ने भावनाको विकास हुँदैन तवसम्म राज्यले प्रदान गरेको आरक्षण र समावेशी कोटाको कुनै अस्तित्व हुँदैन। अर्कोतर्फ लाहुरे पेशा अरवको महलहरुमा चौकिदार बस्नु भन्दा अलि स्तरीय र भरपर्दो पेशा भने पक्कै हो। तर दिर्घकालिन भने अवश्य हैन। पछिल्लो समय ब्रिटिस सरकारले नेपाली गोर्खाहरुलाई त्यहाँका सेना सरह सुविधाहरु उपलव्ध नगराउनु यसको ज्वलन्त उदाहरण हो। आखिर विकशित मुलुकहरु नै हुन् नियम, कानुन परिवर्तन हुन कत्ति पनि समय लाग्दैन। छिन भरमै जादु झै गरेर परिवर्तन भयो भने के गर्ने? त्यति बेला विदेशमा बसेर गाँसको लागि लड्ने कि देशमा फर्केर पहिचानको लागि? अनि त्यति बेला विदेशको गाँस त गुम्ने छ भने स्वदेशको पहिचान समेत गुमाइसकेको हुने छ। त्यसैले छाति र तिघ्र नाप्न हिड्ने युवाहरुले यस बारे ठण्डा दिमाग्ले सोच्ने समय आएको छ। त्यस्तै यसबारेमा त्यो भन्दा बढी पहिचानको राजनीति गर्न पल्केका पहिचानवादी नेताहरुले साच्नु पर्ने बेला आएको छ।
अर्कोतर्फ बेलायतले लाहुरेलाई धन दिएन तलब दियो। धन दिएको भए खोईत यो देशमा कति जना लाहुरेहरु उद्योगपति बने? बेलायतले लाहुरेहरुको दिमाग बनाइ दिएन मसल बनाइदिए। लाहुरेहरुलाई पहिचान दिएन तेस्रो दर्जाको अस्थाई परिचय पत्र दिए। त्यसैले अब लाहुरेहरुले वास्तविक पहिचान आफ्नै देशमा खोज्ने समय आएको छ। लाहुरको बन्दुक र खुकुरीमा पहिचान पुर्खाहरुले बनाइसकेका छन्। त्यसैले आफ्नो राज्यको अङ्गहरु भित्र पहिचान खोज्ने उपयुक्त समय आएको छ। यो उपयुक्त समयको सदुपयोग गर्नु बाहेक अन्य विकल्पहरु हामीसँग छैन। त्यसैले अब लाहुरको तेस्रो दर्जाको नागरिक बन्नुभन्दा स्वदेशको पहिलो दर्जाको नागरिक बन्नुमा गर्व गर्ने कि?

प्रकाशित : माघ १०, २०७४ १३:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धमाधम बन्दै छ ब्रोडगेज रेलमार्ग

वीरेन्द्र कर्ण

वीरगञ्ज — छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम द्रुतगतिमा भइरहेको छ । 

जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो।

सम्झौताअनुरुप भारत सरकारले सन् २०१५ सम्ममा जयनगरदेखि जनकपुर–बर्दिवाससम्म रेलमार्ग विस्तार गर्ने योजना बनाए पनि त्यसको काम भने सन् २०११ को माघ महिनादेखि मात्र सुरु भएको हो।

सो ब्रोडगेज रेल मार्गको लिक निर्माण कार्यअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म रेल सञ्चालनका लागि स्लिपर, ब्लाष्ट र लिक ओछ्याउने कामले तीव्र गति लिएको छ।

पूर्वी धनुषाको बैदेहीदेखि खजुरीसम्मको रेलमार्गमा हाल ब्लाष्ट राखेर स्लिपर र लिक राख्ने काम भइरहेको नेपाल रेल्बे जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले बताए। हालसम्म विभिन्न ठाउँ गरी दुई किलोमिटर जतिमा रेल्बे लिक राख्ने काम पूरा भइसकेको छ भने खजुरी स्टेशनमा यात्रु शाखा स्टेशन र कर्मचारी भवनलगायतका निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ।

पूर्वी धनुषाको इर्नवादेखि खजुरीमा रेल्बे लिक राख्ने उपकरण तथा सामान भण्डारण गरिएको छ भने आउँदो एक महिनाभित्र लिक राख्ने सम्पूर्ण काम सम्पन्न हुने गरी काम थालिएको बताइएको छ। पहिलो चरणअन्तर्गत जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म ३२ किलोमिटर, दोस्रो चरणमा सन् २०१९ मार्चसम्म कुर्थादेखि भंगहासम्म तथा तेस्रो चरणमा महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणको काम सम्पन्न हुने लक्ष्य रहेको प्राविधिकको भनाइ छ।

भारत सरकारको सात अर्ब २० करोड रुपैयाँको आर्थिक सहयोगमा सुरु भएको ब्रोडगेज रेल परियोजनाअन्तर्गत भारतको जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म सिभिल कन्ट्रक्सनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यअनुरुप द्रुत गतिमा काम थालिएको इरकन इन्टरनेशनल प्रालिका सहायक प्रोजक्ट म्यानेजर अजित तिवारीले रासससँग बताए।

पहिलो चरणमा भारत सरकारले रेलमार्ग निर्माणका लागि रु पाँच अर्ब २९ करोड आर्थिक सहयोग गरेको थियो। पछि त्यसलाई बढाएर सात अर्ब २० करोड रुपैयाँ पुर्‍याएको हो। निर्माण कार्यअन्तर्गत ठेकेदार कम्पनी इरकन इन्टरनेशनलले भारतीय क्षेत्र जयनगरमा प्लेटफर्म निर्माणदेखि कर्मचारीको कार्यालय आवासगृहलगायतका भौतिक संरचनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ।

ठेकेदार कम्पनीले सन् २०१७ को जुनसम्ममा जयनगर जनकपुर रेल सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि नेपाली पक्षको उदासिनताका कारण सन् २०१८ मार्चसम्मका लागि म्याद थपिएको भारतीय ठेकेदार कम्पनी इरकनका इञ्जिनियर मोलुरामले बताए।

ब्रोडगेज रेलमार्ग निर्माणको ठेक्का पाएको भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेशनल लिमिटेडको निगरानीमा धनुषा र महोत्तरी जिल्लामा नायक इन्फ्रास्ट्रक्चर प्रालि असन गुहाटीलाई पूर्वी धनुषाको इनर्वादेखि महुवा कपिलेश्वरसम्म २४ किलोमिटरको लागि रु ६५ करोड र धनुषाको कालिका रमन जेभी कम्पनीलाई कपिलेश्वरदेखि महोत्तरीको भंगहासम्म २४ किलोमिटरमा माटो स्लिपर ग्राभेललगायतको कामका लागि ७० करोड रुपैयाँमा ठेक्का दिएको छ।

ब्रोडगेज रेलमार्ग निर्माण भएपछि रेल सेवा सञ्चालनमा आउँदा नेपाल भारतबीच रहेको व्यापारी तथा आर्थिक सम्बन्ध सुदृढिकरण भई दुवै देशको जनताको आर्थिक विकासमा थप योगदान पुग्न सक्ने विश्वास लिएको छ। भारतको जयनगरदेखि बर्दिवाससम्म ब्रोडगेज रेलमार्ग निर्माण भई रेल सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका २४ गाउँ विकास समिति र जनकपुर उपहानगरपालिकाको आर्थिक विकासमा थपटेवा पुग्ने विश्वास लिएको छ। यसबाट यस क्षेत्रका १० लाख जनताले प्रत्यक्ष लाभ लिन सक्ने जनाएको छ।

विसं १९९४ (सन् १९३७०) मा सुरु भएको जनकपुर–जयनगर–बिजुलपुरा ५१ किमी रेलमार्ग विसं २०५८ को बाढीले बिगीपुल बगाएपछि जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो। यो रेलमार्ग पनि स्तरोन्नति गर्न भनी विभागले विसं २०७० मा बन्द गरेको हो।

भारतको जयनगरदेखि जनकपुरसम्मको व्यापारको प्रमुख आधार रेलमार्ग भए पनि ब्रोडगेज निर्माणका कारण लामो समयसम्म रेलमार्ग बन्द हुँदा नेपाल भारतको व्यापार जयनगर–उमगाउँ–जटही नाकाबाट हुँदै आएको छ। रासस

प्रकाशित : माघ १०, २०७४ १३:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT