कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

लाहुरमा हराएको पहिचान

देवराज गुरुङ

काठमाडौँ — करिव दुई सय बर्षअघि देखि लाहुर जान थालेका नेपाली जनजाति युवाहरु अझै पनि छाति नाप्न लालयित छन् । मुलुकले संघीयता र समावेशी संरचना अंगालिसकेको बेलामा पनि जनजाति युवाहरु लाहुरमै आफ्नो पहिचान खोजिरहेका छन् ।

लाहुरमा हराएको पहिचान

“लाहुरे” नेपाली समाजमा प्रचलित शव्द हो । लाहुरे शब्द नेपाली समाज भित्र पनि विशेष गरेर जनजाति समुदायमा लोकप्रिय छ । लाहुरे शव्दको उत्पति कुनै समय पाकिस्तानको “लाहोर” भन्ने शहरमा काम गर्न जाने नेपालीहरुलाई लाहुरे भन्ने प्रचलनबाट सुरु भएको मानिन्छ । नेपालीहरुको विगत दुई सय वर्षदेखिको लाहुर जाने परम्परा अहिले पनि कायमै छ । मात्र यसको स्वरुपमा परिवर्तन आएको छ ।


नेपाल–अंग्रेज युद्ध विसं (१८७१–७२) पछि सो युद्ध लडेका कतिपय नेपाली सेना पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ना हुन लाहोर पुगे । त्यस पछि मात्र नेपाली समाजमा लाहुरे शव्दले व्यापकता पाएको थियो । हाल पाकिस्तानमा पर्ने लाहोरतिर नभई ब्रिटिस गोर्खा र भारतीय गोर्खा सेनामा भर्ना हुन जानुलाई अहिले पनि लहुर जानु नै भनिन्छ । खास सेनामा जागिर खाने मानिसहरुलाई लाहुरे भन्ने प्रचलन रहेको छ ।

देशमा एक पछि अर्को गर्दै परिवर्तनका लहरहरु चले, तर लाहुरे समुदायमा आजसम्म पनि परिर्वतनको लहरले कति पनि छोएन । लाहुरे यतिबेला पुर्खेयौली पेशा र वंशानुगत गुण जस्तै बनिसकेको छ । जनजाति समुदायका मानिसहरु लाहुरे पेशा सहजै परिवर्तन र छाड्ने मनाशयमा पनि छैनन् । कस्तो विडम्बना देशमा गणतन्त्रको स्थापना पश्चात समावेशी, समानुपातिक र पहिचानको कुरा निकै सुनिए तर मुलधारमा राज्यले जसलाई ल्याउन चाहेको हो तीनै मानिसहरु लाहुरे बन्ने नाममा मुलधारमा आउन चाहेनन् ।


यति बेला उनीहरुको पहिचान लाहुरमा एउटा खुकुरी र बन्दुकमा हराइरहेका छन् । लाहुरको खुकुरी र बन्दुकमा पहिचान खोज्नेहरुले राज्य सञ्चालनका अंगहरुमा पहिचान खोज्ने समय आएन र ? विश्वमा खुकुरी चलाएर आफ्नो पहिचान बनाउनेहरुले आफ्नै देशमा पहिचान खोज्न अझै कति समय लाग्ला ? पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धमा खुकुरीमार्फत विश्वमा आफ्नो पहिचान बनाएका लाहुरेहरुले आफ्नै देश र माटोमा पहिचान खोज्न ढिला भएन र ? पुर्खाहरुको समयमा देशमा रोजगारी र अवसरहरु कमै थिए । मानिसहरु उतिबेलाको समयमा चाहेर पनि लेख पढ गर्न पाउदैन थे । त्यतिबेलाका पुस्ताहरुलाई लाहुर जान बाध्यता र अवसर दुबै थियो । तर आजसम्म पनि तिनै पेशालाई निरन्तरता दिनु पर्ने कुनै खास कारण छ र ? यसले एउटा जब्बर प्रश्न खडा गरेको छ लाहुरे पेशाले हामीलाई छाड्न सकेन कि हामीले लाहुरे पेशा?


विश्वमा बहादुर जातिहरु शासक हुन्छन्, जुन प्रकृतिको नियम हो । तर हाम्रो बहादुरीता कौडिको भाउमा बिक्री भइरहेको छ । जनजाति समुदाय भित्र विशेष गरेर (गुरुङ, मगर, राई र लिम्बू) समुदायहरुमा अझैसम्म पनि लाहुरे संस्कृतिले बेस्सरी घर गरेको छ । ति समुदायका कतिपय मानिसहरु आजसम्म पनि आफ्नो सन्ततिहरुले बहादुरिता बेचेको हेर्न चाहन्छन् । यदी कथम् कथाचित आफ्नो सन्ततिहरुले बहादुरिता निर्यात गर्न सकेन भने दु:ख मन गर्न र जीवनदेखि नै हरेस खाने प्रचलन रहेको छ । २१ औं शताव्दीमा पनि एउटै पेशामा रहिरनु पर्ने बाध्यता सिर्जन गर्न कारक तत्वहरुको उपचार खोज्ने समय आएको छ । यतिबेला लाहुरे बने मात्रै जीवन सफल भइन्छ भन्ने सोच र विचारलाई फाल्ने सहि समय आएको छ । किनभने देशमा गणतन्त्र र सङ्घीयताको स्थापनाका साथै कार्यन्वयन भइसकेको छ ।

यति बेला राज्यले हरेक जात–जातिलाई चौतर्फी विरोधको बाबजुत पनि मूलधारमा समेट्ने प्रयास गरिरहेको छ । समावेशी या आरक्षण प्रणालीमार्फत राज्यले हरेक समुदायका मानिसहरुलाई राज्यको हरेक अंगहरुमा पहिचानसहितको उपस्थितिको चाहना गरेको छ । तर जनजाति युवाहरु भने ति चिजहरुलाई लत्याउदै आफ्नो कलिलो उमेर छाति र तिघ्र नाप्ने स्थानमा आफ्नो पहिचान खोजिरहेको छ । युवा पुस्ताहरुले पनि पुर्खाहरुकै पाराले लाहुर भित्रको खुकुरी र बन्दुकमा पहिचान चाहिरहेका छन् । उनीहरुको विद्यालय तहको शिक्षा पार गरेपछिको पहिलो रोजाई नै भर्ति केन्द्र बन्छन् । कस्तो बिडम्बना जति युवाहरु छाति र तिघ्रा नाप्न भर्ति केन्द्रहरुमा लाइन लाग्छन् त्यतिको मात्रामा लोक सेवा जस्तो देशको गरिमा बोकेको निष्पक्ष संस्थाको परीक्षाको फर्म भर्नलाई समेत लाइन बसेको देखिंदैन । यसले एउटा प्रश्न उत्पन्न गरेको छ पहिचान र अधिकार जनजातिहरुलाई चाहिएको हो कि राज्यलाई ? त्यस्तै लाहुरे समुदायका महिलाहरु भित्र पनि त्यस्तै सोच र भावनाको विकाश भएको पाइन्छ । जीवनमा केहि बन्न नसकेपनि लाहुरेनी बन्ने सोच राखेको हुन्छन् । त्यसको अर्थ हो लाहुरेसंगको जीवन सहज हुन्छन् भन्ने परजीवि र अल्छि मानसिकता । आधा संसार ओग्ट्ने लाहुरेनीहरुले पनि यस विषयमा सोच्ने समय आएको छ । अनी बाहिर बसेर भन्ने गर्छन् यो देशमा हाम्रो कुनै पहिचान र अस्तित्व नै छैन । यस विषयमा पहिचानको राजनीति गर्नेहरुले पनि सोच्ने बेला आएको छ । पहिचान लोक सेवाको लाइनमा खोज्न लगाउने कि छाति र तिघ्रा नाप्ने स्थानमा ?


जबसम्म हामी जनजातिहरुमा बन्दुक र खुकुरी भन्दा कलमको पहिचान बलियो हुन्छ भन्ने भावनाको विकास हुँदैन तवसम्म राज्यले प्रदान गरेको आरक्षण र समावेशी कोटाको कुनै अस्तित्व हुँदैन । अर्कोतर्फ लाहुरे पेशा अरवको महलहरुमा चौकिदार बस्नु भन्दा अलि स्तरीय र भरपर्दो पेशा भने पक्कै हो । तर दिर्घकालिन भने अवश्य हैन । पछिल्लो समय ब्रिटिस सरकारले नेपाली गोर्खाहरुलाई त्यहाँका सेना सरह सुविधाहरु उपलव्ध नगराउनु यसको ज्वलन्त उदाहरण हो । आखिर विकशित मुलुकहरु नै हुन् नियम, कानुन परिवर्तन हुन कत्ति पनि समय लाग्दैन । छिन भरमै जादु झै गरेर परिवर्तन भयो भने के गर्ने ? त्यति बेला विदेशमा बसेर गाँसको लागि लड्ने कि देशमा फर्केर पहिचानको लागि? अनि त्यति बेला विदेशको गाँस त गुम्ने छ भने स्वदेशको पहिचान समेत गुमाइसकेको हुने छ । त्यसैले छाति र तिघ्र नाप्न हिड्ने युवाहरुले यस बारे ठण्डा दिमाग्ले सोच्ने समय आएको छ । त्यस्तै यसबारेमा त्यो भन्दा बढी पहिचानको राजनीति गर्न पल्केका पहिचानवादी नेताहरुले साच्नु पर्ने बेला आएको छ ।

अर्कोतर्फ बेलायतले लाहुरेलाई धन दिएन तलब दियो । धन दिएको भए खोईत यो देशमा कति जना लाहुरेहरु उद्योगपति बने ? बेलायतले लाहुरेहरुको दिमाग बनाइ दिएन मसल बनाइदिए । लाहुरेहरुलाई पहिचान दिएन तेस्रो दर्जाको अस्थाई परिचय पत्र दिए । त्यसैले अब लाहुरेहरुले वास्तविक पहिचान आफ्नै देशमा खोज्ने समय आएको छ । लाहुरको बन्दुक र खुकुरीमा पहिचान पुर्खाहरुले बनाइसकेका छन् । त्यसैले आफ्नो राज्यको अङ्गहरु भित्र पहिचान खोज्ने उपयुक्त समय आएको छ । यो उपयुक्त समयको सदुपयोग गर्नु बाहेक अन्य विकल्पहरु हामीसँग छैन । त्यसैले अब लाहुरको तेस्रो दर्जाको नागरिक बन्नुभन्दा स्वदेशको पहिलो दर्जाको नागरिक बन्नुमा गर्व गर्ने कि ?


प्रकाशित : माघ १०, २०७४ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?