पोखरामा शुद्ध पानीको पर्खाइ

भीम घिमिरे

काठमाडौँ — मुलुकभर जतासुकैका सहरी र ग्रामीण क्षेत्रमा खानेपानी पर्याप्त र सहज उपलब्ध छैन । भूमिगत स्रोतबाट पानी निकाल्न सम्भव क्षेत्रमा उति समस्या नहोला तर पहाडी भूगोलमा अवस्थित सहरका लागि सहज खानेपानी ठूलो लगानीका परियोजनाबाट मात्रै सम्भव छ ।

साबिकको लेखनाथ नगर क्षेत्रलाई छुट्याउने हो भने पोखराको खानेपानीको एक मात्र मूल स्रोत मर्दी खोला हो । ४ लाख १४ हजार १ सय ४१ जनसंख्या रहेको पर्यटकीय सहर पोखरामा उत्तिकै संख्या बाहिरबाट आएर बस्नेहरूको पनि छ । त्यसैले पानीको माग दिनदिनै बढेको छ । खानेपानी संस्थानका अनुसार महानगरलाई चौबिसै घण्टा पर्याप्त र सहज बनाउन दैनिक ६ करोड ५० लाख लिटर खानेपानी चाहिन्छ । अहिले वर्षायाममा दैनिक ४ करोड ५० लाख र अन्य मौसममा ४ करोड लिटर हाराहारी वितरण भइरहेको छ । होटल, रेस्टुराँ, कार्यालय र विभिन्न प्रतिष्ठानमा पानीको खपत सामान्य घरहरूका तुलनामा उच्च छ । धारामा आउने पानीले नपुगेर ट्यांकर र प्रशोधित पानी बिक्रीको व्यापार पनि उत्तिकै फस्टाएको छ ।

मुलुकको पर्यटकीय महानगरमा यतिबेला मुख्य तीन स्थानबाट खानेपानी आपूर्ति हुने गरेको छ– मर्दीखोला, बलधारा र भोटीखोला । पुराना पाइप र अव्यविस्थत वितरण प्रणालीका कारण यतिबेला वितरित खानेपानी शुद्ध त छैन नै, पाइपलाइनमा चुहावट पनि धेरै हुन्छ । हाल प्रशोधनका नाममा संस्थानले क्लोरिन हालेर पानी पाइपलाइनमा पठाउने गरेको छ । वर्षामा खोला नै धमिलो आउँदा भने लेदो नै उपभोक्ताका धाराहरूबाट खस्छ । महानगरका लागि खानेपानी प्रशोधन गरेर वितरण प्रणाली सुधारका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले करिब ४ अर्ब ५२ लाख रुपैयाँ लगानीको सुदृढीकरण परियोजना सुरु गर्न लागेको छ । मर्दी खोलाबाट ल्याइएको पानीलाई परियोजनाले प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट निर्माणसँगै वितरण प्रणालीमा सुधार गर्नेछ । जाइकाले सम्झौताअनुरूप काम सम्पन्न गर्न अझै करिब चार वर्ष लाग्छ । ट्रिटमेन्ट प्लान्ट बनाउन पुरुन्चौरमा १ सय ३९ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । परियोजनाअनुसारको वितरण प्रणाली सुधार भए पनि पोखराको ठूलो भूभागलाई पानी खुवाउने मर्दी खोलाले नै हो । मर्दी खोला सफा भए प्रशोधन त्यति खर्चिलो हँुदैन । तर, दिनदिनै बस्ती बढेकै छन् । डाँडापाखामा सडक विस्तार भएको छ, घर र रिसोर्ट थपिएका छन् ।

मर्दीखोला क्षेत्र माछापुच्छ्रे गाउँपालिकामा पर्छ । गत वर्ष पोखरा उद्योग वाणिज्य संघले खानेपानीको मूल शुद्धीकरणका लागि नौलो योजना अघि सारेको छ । योजना हो– मर्दीको पानी संकलन केन्द्रभन्दा माथिल्ला क्षेत्रका गाउँहरूका लागि व्यवस्थित शवदहन स्थल, धारा र सार्वजनिक शौचालय बनाइदिने । संघ अध्यक्ष विश्वशंकर पालिखेको भनाइमा तल्लो तटीय क्षेत्रले माथि सफा हुनुपर्छ भनेर नपुग्ने भएकाले माथिल्लो क्षेत्रका लागि अत्यावश्यक आवश्यतामा ध्यान दिइएको हो ।

आठ स्थान छनोट गरेर पोखरा महानगरपालिका र खानेपानी संस्थानमा संघले लगेको प्रस्तावमा दुवै निकाय राजी भएपछि योजना अघि बढेको छ । योजनाअन्तर्गत सिदिङ, सैंदीघट्ट र खोराको मुखमा निर्मित शवदहन गृह तीन साताअघि संघले समुदायलाई हस्तान्तरण गरिसकेको छ । अन्य स्थानमा निर्माणाधीन छन् । माथिल्लो क्षेत्रका बस्तीका लागि व्यवस्थित शवदहन, शौचालय, लुगा धुने ठाउँ बनाइदिए मर्दीमा फोहोर सोझै खस्दैन । योजनामा महानगरपालिकाले ५०, खानेपानी संस्थानले ४० र संघले १० प्रतिशतको लगानी साझेदारी गरेका छन् । प्रस्तावित आठ स्थानमै योजना सम्पन्न भएपछि बस्तीका बासिन्दाले शवदहन गरेर सोझै मर्दी खोलामा बिसर्जन गर्नेछैनन् । शवदहनस्थलको खरानी र पानी एउटा ट्यांकीमा जम्मा भएर शुद्धीकरण भएपछि मात्रै खोलामा मिसिनेछ ।

खानेपानी संस्थान पोखराका प्रमुख निरन महर्जनको भनाइमा हेर्दा–सुन्दा सामान्य लाग्ने भए पनि तल्लो तटको जिम्मेवारीका रूपमा अघि बढाइएको योजना खोलाको शुद्धीकरणका लागि दूरगामी महत्त्वको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष पालिखे भन्छन्, ‘यो योजना पोखराका लागि मात्र नभई माथिल्लो क्षेत्रबाट बगेर आउने पानी उपभोग गरिरहेका देशको कुनै पनि ठाउँका लागि उदाहरण हुन सक्छ ।’ तल्लो तटीय क्षेत्रले माथिल्लो क्षेत्रमा बस्नेलाई पानी र वातावरण बिगारेको आरोप लगाउनुभन्दा उनीहरूको दैनिकी सहज हुनेसँगै पानी सफा राख्न गर्न सकिने काममा हातेमालो जरुरी छ । माछापुच्छ्रे–९ का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीको भनाइमा माथिल्लो क्षेत्रमा सरसफाइ भए मात्रै तल्लो क्षेत्रले शुद्ध पाउँछन् भन्ने बुझेपछि सतर्कता र चेतनाका काममा हातेमालो जरुरी छ ।

प्रकाशित : माघ ११, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?