कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कोरियाली प्रायद्वीपमा चाँदीको घेरा

बेइजिङ डायरी
कोरियाली प्रायद्वीपको शान्ति प्रक्रिया चिनियाँ कूटनीतिकै मियोमा घुमेको छ ।
चेतनाथ आचार्य

काठमाडौँ — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकालाई ध्वस्त बनाउने परमाणु बमको स्विच आफ्नो टेबुलमा भएको बताएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उस्तै चेतावनी उत्तर कोरियालाई दिए । वास्तविक विवाद भने उत्तर कोरिया र अमेरिकाबीच होइन । उत्तर कोरियाको सीमा अमेरिकासँग जोडिँदैन र त्यस्तो महत्त्वपूर्ण व्यापार पनि छैन ।

कोरियाली प्रायद्वीपमा सन् १९५० देखि १९५३ सम्म भीषण युद्ध भएको थियो । त्यस युद्धमा एकापट्टि चीन र रुसलगायत साम्यवादी मुलुक थिए भने अर्कातिर अमेरिकाको नेतृत्वमा पश्चिमा पुँजीवादी मुलुक । युद्धपछि कोरिया विभाजित भयो । साम्यवादी मुलुक चीन र रुसले पक्ष लिएको भूभाग उत्तर कोरिया भयो भने अमेरिकाले पक्ष लिएको भूभाग दक्षिण कोरिया । यो ऐतिहासिक पृष्ठभूमिसँगै अहिले जारी द्वन्द्वलाई पनि सिंहावलोकन गर्न आवश्यक छ । तसर्थ विवाद उत्तर कोरिया र दक्षिण कोरिया अथवा उत्तर कोरिया र अमेरिकाबीचको नभएर चीन र अमेरिकाबीचको हो भन्ने तथ्यलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

उत्तर कोरियाले परमाणु बम बनाउन थालेपछि अमेरिकाले उत्तर कोरियामाथि निरन्तर आर्थिक नाकाबन्दी लगाउन थाल्यो । त्यसलाई सहयोग पुग्ने गरी संयुक्त राष्ट्रसंघले पनि सन् २००६ देखि उत्तर कोरियाविरुद्ध विभिन्न निर्णय गर्न थाल्यो । तर उत्तर कोरियालाई खासै फरक परेन । किनभने उत्तर कोरियाको उत्तरी सीमाको अधिकांश भाग चीनसँग जोडिन्छ र थोरै भाग रुससँग जोडिन्छ । यही कारण अमेरिकाले कोरियाप्रायद्वीपलाई मोहोरा बनाएर चीनमाथि इबी साध्ने प्रयत्न गरिरहेको छ ।

पछिल्लो समय दक्षिण कोरियामा अमेरिकाले स्थापना गरेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ‘थाड’ ले पनि चीन र अमेरिकाबीचको सम्बन्धमा पनि दरार पैदा गरेको छ । चीनले थाडलाई तुरुन्तै हटाउन अमेरिका र दक्षिण कोरियामाथि बारम्बार ताकेता गर्दै आएको छ । चिनियाँ परराष्ट्र मन्त्रालयले थाड अघोषित रूपमा चीनविरुद्ध स्थापना गरिएको भन्दै त्यसलाई हटाउने कुरामा कुनै सम्झौता गर्न नसक्ने बताउँदै आएको छ । अमेरिकाले भने चीनमाथि उत्तर कोरियालाई विभिन्न ढंगबाट आर्थिक सहयोग गरेको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाले सम्पूर्ण आयात निर्यात चीनमा निर्भर भएकाले पनि अमेरिकाले उक्त आरोप लगाउने ठाउँ पाएको हो ।

तीब्र रूपमा बढिरहेको कोरियाली प्रायद्वीपको विवादमा चाँदीको घेरा भने देखिन थालेको छ । आगामी फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियाको पोङच्याङमा हिउँदे ओलम्पिक खेलकुद आयोजना हुँदै छ । यो ओलम्पिकमा उत्तर कोरियाले पनि भाग लिने बताएको छ । र, पहिलो चरणको उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । दक्षिण कोरिया र उत्तर कोरियाबीच जनवरी ९ तारिख बेलुकी पान्मुनजोनमा उच्चस्तरीय वार्ता सम्पन्न भयो । वार्तामा उत्तर कोरियाले पोङच्याङ हिउँदे ओलम्पिकका लागि प्रतिनिधि मण्डल पठाउने र दुई कोरियाबीच सैनिकलगायत अन्य क्षेत्रमा पनि वार्ता गर्ने विषयमा सहमति भयो । दुवै पक्षले विभिन्न क्षेत्रको भेटवार्ता गर्दै वार्ता र परामर्शमार्फत समस्या समाधान गर्ने कुरामा पनि जोड दिए ।

वर्षौंदेखि कडा दुस्मनीमा रहेका दुई कोरियाबीचको वार्तालाई अन्तर्राष्ट्रिय समाजले स्वागत गर्दै कोरियाली प्रायद्वीपको तनाव शिथिल हुने र सम्भावित युद्ध टर्ने कुरामा आशा व्यक्त गर्‍यो । दक्षिण कोरियाका एकीकरण मन्त्री चो म्योङ ग्योनले पत्रकार सम्मेलनमा दुई पक्षबीच सदिच्छापूर्ण र मैत्रीपूर्ण वातावरणमा वार्ता भएको बताए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वक्तव्य सार्वनिक गर्दै उक्त बैठकबाट प्राप्त सकारात्मक प्रगतिको स्वागत गरे । उत्तर कोरिया र दक्षिण कोरियाबीचको यस्तो सम्पर्कले गलत बुझाइबाट हुने जोखिमलाई शान्त पार्दै तनावपूर्ण क्षेत्रीय परिस्थिति शिथिल पार्न महत्त्वपूर्ण भावार्थ सिर्जना हुने महासचिव एन्टोनियोले व्यक्त गरेका छन् । त्यसैगरी अमेरिकी राज्यपरिषद्का प्रवक्ता हेथर न्युअर्टले पनि वक्तव्य सार्वजनिक गर्दै दुई कोरियाबीचको उच्चस्तरीय बैठकले प्योङच्याङ हिउँदे ओलम्पिकको सुरक्षा प्रत्याभूति गर्नुका साथै त्यस वार्तालाई अमेरिकाले पनि स्वागत गरेको उल्लेख गरे ।

चीनका राष्ट्रपति सी चिन फिङले यही जनवरी ११ मा दक्षिण कोरियाका राष्ट्रपति मुन जायइनसँग टेलिफोन वार्ता गरे । केही दिनअघि मात्र दक्षिण कोरियाका राष्ट्रपति मुनले चीन भ्रमण गरेका थिए । चीन मात्र त्यस्तो मुलुक हो, जसको दुवै कोरियासँग सुमधुर सम्बन्ध छ । त्यसकारण कोरिया प्रायद्वीपको समस्यामा चीनको मध्यस्तता अपरिहार्य छ । कोरियाका राष्ट्रपति मुनले निर्वाचनताका दक्षिण कोरियाबाट थाड हटाउनुपर्ने मुद्दा उठाएका थिए । यही जनवरी १६ मा चिनियाँ राष्ट्रपति सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भयो । वार्तामा सीले कोरियाली प्रायद्वीप समस्याको उचित समाधानतर्फ अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायसँगै सहयोग गर्न चीन इच्छुक रहेको बताएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीप समस्यामा चीनको महत्त्वपूर्ण भूमिकालाई अमेरिकाले महत्त्व दिएको भनेका छन् । उनले अमेरिकाले चीनसँग निरन्तर सम्पर्क तथा समन्वय गर्ने पनि बताएको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उत्तर कोरियाका विषयमा चीनको कडा आलोचना गर्दै आएका ट्रम्पले नरम भएर कोरियाली प्रायद्वीपमा चीनको भूमिकाको महत्त्व दर्साउनुको मुख्य कारण अन्तर्राष्ट्रिय परिस्थितिमा अमेरिकाको शक्ति कमजोर हुनु हो । कोरिया प्रायद्वीपको स्थिरता र शान्तिपूर्ण वातावरणका लागि चीनले अमेरिकासामु बारम्बार राख्दै आएको थाड प्रणाली हटाउने कुरा यतिखेर अमेरिकालाई निल्नु न ओकल्नु बनेको छ । थाडकै विरोध गरेर दक्षिण कोरियामा किम राष्ट्रपतिमा निर्वाचित भएका छन् । अहिले पनि दक्षिण कोरियामा ठूलो समुदाय थाडविरुद्ध छ ।

अमेरिकालाई झड्का दिएको अर्को विषय रुसको भूमिका पनि हो । यही जनवरी १५ मा रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले कोरियाली प्रायद्वीपलगायत विविध महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मामिलामा रुसले चीनसँग घनिष्ठ सहयोग कायम राख्दै सहकार्य गर्ने बताएका थिए । त्यसपछि चीनले लिएको अडानले अन्तर्राष्ट्रिय समुदायमा समर्थन बढाउँदै गएपछि र अमेरिकाको आलोचना बढ्न थालेपछि अमेरिकालाई कूटनीतिक समस्या उत्पन्न भएको छ । क्षेत्रीय शान्ति र स्थिरतासँगै द्वन्द्वग्रस्त क्षेत्रमा हतियार र सैनिक परिचालन गरेर होइन, राजनीतिक वार्ताबाट समाधान खोज्नुपर्ने चीनको अडान रहँदै आएको छ । तसर्थ अहिलेको कोरियाली प्रायद्वीपको शान्ति प्रक्रिया पनि चिनियाँ कूटनीतिकै मियोमा घुमेको देखिन्छ ।

[email protected]

प्रकाशित : माघ ११, २०७४ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?