कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संगै समातिएका महिला वेश्या, पुरुष मर्द !

होटलहरुमा रंगेहात जोडीहरु समातिन्छन्, युवतीको बदनाम हुन्छ तर ति युवतीसँगै रहेका पुरुषको चर्चा हुँदैन, उसको बदनामी हुँदैन, समाजले उसैलाई मर्दको पगरी गुथाउँछ । एउटै कर्ममा एकै ठाउँमा भेटिएका दुई पात्र जोसुकै भएपनि सजायँको उत्तिकै भागिदार बन्नु पर्ने होइन र?

संगै समातिएका महिला वेश्या, पुरुष मर्द !

महिला भएको कारणबाट महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुर्व्यवहारलाई महिला हिंसा भनिन्छ । घरेलु हिंसा भोगिरहेका महिलाहरुले शारीरिक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू समेत सहनुपर्ने बाध्यता छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसालाई सामाजिक व्यवस्था र संरचनाको उपजको रूपमा लिइन्छ ।

बेइजिङ घोषणापत्र तथा कार्यनीति १९९५ को पारित प्रस्तावमा महिलाविरूद्धको हिंसा भन्नाले ‘निजी वा सार्वजनिक जीवनमा मानसिक वा शारीरिक रूपमा खतरा पुर्याइने खालका लिङ्गमा आधारित गतिविधिहरूलाई बुझ्नु पर्दछ’। घरेलु हिंसा आफ्नो परिवारका कुनै सदस्यबाट अर्को कुनै सदस्यमाथि गरिने अमानवीय हिंसा पनि हो ।

हरेक दिनजसो घटिरहने महिला हिंसाका घटनाहरुको प्रमुख कारक मादक पदार्थ र लागू पदार्थको सेवन, चरम दाइजो प्रथा, शैक्षिक चेतनाको कमी, महिलाहरुमा जागरणको कमीलगायत छन् ।

बढ्दै गएको घरेलु हिंसाका कारण एकातिर महिलामाथि हिंसाको शृखला बढ्दै गएको छ भने अर्कोतिर बालअधिकारको समेत हनन् भइरहेको छ । महिलामाथि हुने हिंसामा सम्बन्ध विच्छेद, बहुविवाह, बालविवाह, दाइजो प्रथा, कुटपीट, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जवर्जस्ती करणी, वैवाहिक बलात्कार, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी र देउकी प्रथा आदि रहेका छन । यस्ता घटनाहरुले महिलामाथि हिंसाका शृखला बढिरहेका छन् ।

अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) का अनुसार लैगिंक हिंसाविरुद्ध चलाइएको सोह्र दिने अभियानका क्रममा २७१ भन्दा बढी महिला विभिन्न किसिमका हिंसाको सिकार बने । उक्त अवधिमा सबैभन्दा बढी २४२ जना महिला घरेलु हिंसाका कारण प्रताडित हुन पुगे भने पाँचजना महिलाको परिवारकै आफन्तजनको मिलोमतोबाट हत्या भएको छ । बहुविवाहका कारण चारजना, बालविवाहका कारण दुईजना, बेचबिखनको प्रयासका कारण तीन जना महिला प्रत्यक्ष पीडित हुन पुगे उक्त दुई हप्ताको अवधिमा ।

त्यस्तै कुप्रथाको रुपमा बर्षौदेखि जरा गाडेको बोक्सीको आरोपमा तीनजना, यौन दुर्व्यवहारमा दुई जना, नौजना महिलामाथि बलात्कार तथा तीनजना महिलामाथि बलात्कारको प्रयास भएका घटनाहरु सार्वजनिक हुनुले अभियानको मर्म नै धुमिलिन पुगेको छ । यही शृखलालाई नियाल्ने हो भने एक वर्षका बाँकी पचास हप्ताको हालत के होला ? यि घटनाहरु त सञ्चार माध्यममा आएकाले चर्चा भयो, थाहा भयो तर यस्ता दर्जनौ घटना र घटनाका पीडित पात्रहरु गुपचुपमै पिडा गुम्साएर बस्न विवश छन् । विभिन्न धाक धम्कीको डरमा यातना सहने पात्रहरु धेरै छन्, बलात्कार जस्तो जघन्य अपराधमा पैसामा मिलोमतो गरी विवाद सल्टाउने गरिन्छ । आखिर यो कहालीलाग्दो दुरावस्था कहिलेसम्म भोगिरहने?

सामान्य मानवीय संवेदनाको समेत हेक्का राखिंदैन, पीडाको आर्तनाद त भोग्नेहरुलाई मात्र थाहा हुन्छ, सतहमा देखिएर वकालत गर्नेहरुलाई त्यसको वास्तविक मर्म थाहा हुँदैन । परिवारमा छोरीहरु असुरक्षित छन्, बाहिरी मान्छेका कारण होइन, आफ्नै परिवारका पुरुष आफन्तका कारण । दाईभाईले दिदीबहिनी नभन्ने, बाबु, काकाहरुले छोरी भतिजी नभन्ने, मामाले भान्जी नभन्ने अनि अन्य आफन्तले छोरीचेली नभन्ने, स्कुलमा शिक्षकले विद्यार्थीको जस्तो व्यवहार नगर्ने, बाटोमा भेटिएका पुरुषले महिला यात्रुको जस्तो व्यवहार नगर्ने, जहाँ जसरी हुन्छ दुर्व्यवहार गर्ने क्रम बढिरहनुले भोलिका छोरीको भविष्य कतिसम्म असुरक्षित होला भन्ने कुराको अनुमान लगाउन कठिन पर्दैन ।

तिनै युवतीसँग मस्त पुरुष मर्द हुने तिनै पुरुषलाई सन्तुष्ट बनाउने महिला बेश्या, नालायक, समाजको कलंक आदि नामले चिनिनु पर्ने? दुनियाँ केटासँग मस्त रमाउने केटीलाई भोलि कस्ले बिहे गर्ला भन्ने चिन्ता सबैलाई हुन्छ तर दुनियाँ केटी चहार्ने कथित मर्द पुरुषलाई भोली कस्ले छोरी देला भन्ने चिन्ता कसैलाइ हुँदैन । चिन्ता बराबर हुनु पर्दैन?

वैदेशिक रोजगारमा गएका श्रीमान्का श्रीमतीहरु झनै पीडामा देखिन्छन्, घरमा लोग्नेमान्छे नभएको मौका छोपेर आफ्नै आफन्तले यौन दुर्व्यहार गर्न खोज्छन्, अश्लिल शब्दहरु बोल्छन्, धम्काउँछन्, अन्त्यमा बेइज्जत महिलाकै हुन्छ । ‘राती त्यही महिला सबैलाई चाहिन्छ दिउसो उनीहरु नै महिलाको चरित्रसँग जोडेर नानाभाँती कुरा काट्छन्’ एकजना पीडित महिलाले केही समयअघि यस्तै गुनासो पोखेकी थिइन । ‘आफ्नै ससुरा, जेठाजुले बुहारी भनेनन्, नानाभाँती डरत्रास र धम्की दिएर जर्वजस्ती सम्बन्ध राख्न दवाव दिए, उनीहरुको सामु मेरो केही लागेन, बुढा विदेश थिए, प्राण बचाउनको लागि उनीहरुलाई ज्यान सुम्पिएँ । भोलिपल्ट विदेशमा रहेका श्रीमान्लाई फोन गरेर तेरी श्रीमती दुनियाँ केटासँग लागेकी छ, हाम्रो नाकै काटिदिइ, जे गर्ने गर भन्दै सुनाएछन् ।

उताबाट बुढाले फोन गरेर तँ आजदेखी मलाइ चाँहिदैन, आफ्नो बाटो गर्नु भने, यता जेठाजु र ससुराले ज्यान मार्ने धम्की दिंदै रातीराती ढोका हान्न आउने, कतितिरबाट महिला बाच्नुपर्ने? मर्न भनेर विष पनि खाएँ, काल नआएसम्म प्राण जाँदो रहेनछ, विष खाँदा पनि बाँचे ।'

उनले आफ्नो गुनासोको पोयो फुकाउँदै गइन्, 'माइतीमा सुनाउँ मैलाई नराम्रो भन्छन्, आफ्नो भनेका लोग्ने त्यसै टाढा भए आफन्तका कुरा सुनेर, जेठाजु र ससुरा मैलाइ धम्काउँदै हिंसा गर्छन्, उनीहरु नै चोखो चोर हुन खोज्छन्, समाजले सधैभरी महिलालाई दोषी देख्छ तर पुरुषलाई चोख्याइरहन्छ ।'

अति नै भएपछि गाउँमा मुख देखाउने बाटोसमेत नभएपछि घर, माइत सबै छोडेर सडकमा आइन् उनी । कुनै संस्थाको सहयोगमा दुई चार महिना बसिन्, त्यसपछि आफ्नो सुरमा चल्न थालिन् । कहिले बाटोमा मकै पोलेको देखिने, कहिले साग बेच्दै गरेको, फलफुल बेच्दै गरेको अवस्थामा भेटिने महिलासँग निरन्तर ग्राहक बनेपछिको कुराकानीमा उनले यि कुरा खोलेकी थिइन् ।

अहिले उनी एकल छिन, आफ्नो पाखुरामा बाँचेकी छन्, ‘कोही निहुँ खोज्न आए आगोको अगुल्टोले झोँसो जस्तै रिस उठ्छ, ससुरा र जेठाजुजस्ता दुष्मन पुरुष आजसम्म देखेकी छैन, जे भोगें भोगें अहिले आनन्दको जिन्दगी जिएकी छु, कसैको हिंसा सहनु परेको छैन, कसैलाई शरीर सुम्पिन परेको छैन, पाखुरीको बलमा दुई छाक खाएकी छु ।' उनले छाती फुलाउँदै भनेको कुराले धेरै कुरा सोच्न बाध्य बनायो ।

यस्ता पीडा भोग्ने महिलाहरु धेरै छन्, उनीहरु बेलैमा प्रहरीसम्म जान सक्दैनन्, प्रहरीको सम्पर्कमा गएपनि पीडकलाई समयमै कारवाही हुँदैन, कारवाहीको नाममा मिलापत्र गराइन्छ अनि पीडक झनै साहसी कहलिन्छन् र थप हिंसा गर्न प्रेरित हुन्छ । विभिन्न अभियानहरु चल्छन् तर घरमै छोरीहरु आफ्नै बाबुबाट बलात्कृत हुन्छन्, घटना सार्वजनिक गरे ज्यानै लिने धम्कीमा दिइन्छ । आखिर यो अवस्था कहिलेसम्म भोगिरहने? पहिले घरलाई हिंसारहित बनाउनुपर्यो, घरपछि समाज, टोल, स्कुल, क्याम्पस, अन्य संघसस्था, कार्यालय, सार्वजनिक यातायात, सडक सबैतिर महिला हिंसाका शृखलामा कमी ल्याउने हो भने मात्रै महिला हिंसा पुर्ण रुपमा न्यून हुन सक्छ अन्यथा अभियान एकातिर हिंसा अर्कातिर भइरहन्छ ।

[email protected]

प्रकाशित : माघ ११, २०७४ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?