कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

विरोधको विरोध

विमल निभा

काठमाडौँ — राष्ट्रियस भामा नेकपा एमालेका बहुचर्चित उम्मेदवार कमरेड कोमल वलीको यस्तो कठोर विरोध किन भइरहेको होला? म चाहिँ यो अनावश्यक विरोधको विरोधमा साफसँग उभिएको छु। र मेरो यो व्यक्तिगत ‘प्रतिविरोध’ एकदमै अकारण होइन। यसको बीजकारण अहिलेको चलनचल्तीको माक्र्सवादी सौन्दर्यशास्त्रमा खोजे हुन्छ।

विरोधको विरोध

संसारभरिका माक्र्सवादीहरूका आफ्नै सौन्दर्यशास्त्र हुने गर्छ। सम्पूर्णत: माक्र्सवादी सौन्दर्यशास्त्र। र यस्तो सौन्दर्यशास्त्रका ज्ञाता हामीकहाँ पनि नभएको भन्ने होइन। यही सन्दर्भमा मलाई हठात् कमरेड चैतन्यको स्मरण भइरहेको छ। कमरेड चैतन्य याने कमरेड किरण। हो, मेरो स्पष्ट संकेत नेकपा माओवादी (क्रान्तिकारी) का अध्यक्ष कमरेड मोहन वैद्यतिर हो। उनी एक कहलिएका सौन्दर्यशास्त्री हुन्। अर्काे शब्दमा माक्र्सवादी सौन्दर्यशास्त्रका झर्राे पण्डित नै भन्नोस्। यस्तै नेपाली साहित्यका प्रगतिशील समालोचक कमरेड निनु चापागाईं पनि माक्र्सवादी सौन्दर्यशास्त्रमा समान रूपले दखल राख्ने गर्छन्।यसबारे उनका अति श्रमसाध्य रचनाहरू बराबर पत्रपत्रिकामा देख्न पाइन्छ। तर मैले यहाँ उल्लेख गर्न लागेको सौन्दर्यशास्त्रसँग दुवैका के र कस्तो सम्बन्ध हुन सक्छ हँ? यही ‘कन्फ्युजन’ माझ म माक्र्सवादी सौन्दर्यशास्त्रलाई विशुद्ध नेकपा एमालेको ‘एंगल’ बाट हेर्ने भरशक्य प्रयास गरिरहेको छु। र यो नै अहिलेको सर्वाधिक चालु माक्र्सवादी सौन्दर्यशास्त्र होइन र? हेर्नाेस्, नेकपा एमाले एक विशालकाय माक्र्सवादी पार्टी हो। एमाले अर्थात् एकीकृत माक्र्सवादी र लेनिनवादी। यसलाई अतिरिक्त ढंगले भन्ने हो भने जनताको बहुदलीय जनवाद भन्नुपर्ने हुन्छ। संक्षेपमा जबज। र नेकपा एमालेको बिल्कुलै मौलिक जबजवादी सौन्दर्यशास्त्रीय कोणबाट नियाल्ने हो भने के दृष्टिगोचर हुन्छ मित्रहरू? यसको जटिल उत्तर दिन चाहनेहरू सरासरी कमरेड विनोद चौधरी, कमरेड राज्यलक्ष्मी गोल्छा, कमरेड नवराज सिलवाल, कमरेड ल्ह्यारक्याल लामा, कमरेड दीपक मनाङे आदिको शुभनाम लिएर दंग पर्ने गर्छन्। तर यो त्यति यथार्थको नगिच चाहिं होइन। यिनीहरूमध्ये कतिपयले आफ्नो प्रिय पार्टी नेकपा एमालेको परित्याग गरिसकेका छन्। कोही नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेर खाँटी कांग्रेसी भइसकेका छन् भने कोही हल्लनटट्टु टाइपको स्वतन्त्र नै। अत: म बिल्कुलै सरल प्रकृतिको जवाफका पक्षमा दृढतापूर्वक खडा छु। र मेरो फ्याट्टै जवाफ हो– कमरेड कोमल वली। यति कोमलतम् उत्तर/प्रत्युत्तर सहज हुँदाहुँदै मैले अन्य जटिल नामहरूका पिछलग्गु किन हुने? हो, कमरेड कोमल वली नेकपा एमालेको पेटेन्ट सौन्दर्यशास्त्रमा एक सय एक प्रतिशत फिट एक अप्रतिम प्राप्ति भएकामा कुनै सन्देह छैन। तथापि केही नेकपा एमालेकै कमरेडहरू किन उनको राष्ट्रिय सभा उम्मेदवारीको धुवाँधार विरोध गरिरहेका छन्, यो बुझिनसक्नु छ !

‘तपाईंहरू कमरेड कोमल वलीको यसरी विरोधमा किन हुनुहुन्छ कमरेड?’ मैले एक परिचित एमाले कमरेडसँग सोधें।‘उनी बाहिरबाट आएकी हुन्।’ कमरेडले आक्रोशमा उत्तर दिए, ‘कमल थापाको राप्रपाबाट।’‘यसले के फरक पर्छ?’ मैले भनें, ‘तपाईंहरू राप्रपामा नजाने हो भने राप्रपाकाहरू यता आउने नै छन्।’

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आएकामा कमरेड कोमल वलीको विरोध हुनु न्यायसंगत होइन। यसै पनि नेकपा एमालेको फराकिलो प्रांगणमा अनेकन कोमल वलीहरू सशरीर मौजुद छन्। कमरेड गणेश रसिकहरू के हुन्? यी नव्य कमरेड केही समयअघि राप्रपाबाट यता आएर (अथवा धाएर) नेपाल नाट्यकला प्रतिष्ठानका उच्चपदमा प्रतिस्थापित भएका होइनन् र? यस्ता सर्वथा आयातीत रसिकहरू यहाँ कति छन् कति † तसर्थ भूतपूर्व कमल थापावादी राप्रपा भएकाले नितान्त वर्तमान एमाले कमरेड कोमल वलीको विरोध हुनुको कुनै तुक एवं ताल छैन।


अन्त्यमा

नेकपा एमालेमा कमरेड ओलीको विरोध भएकामा म तीनछक परेको थिएँ। तर केहीपछि यसमा अलिकति सुधार हुन गयो। अर्थात् अहिले आएर के थाहा भयो भने वस्तुत: नेकपा एमालेका शक्तिशाली अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओलीको नभएर कमरेड वलीको पो यसरी विरोध भइरहेको हो। र ओली र वलीमा स्पष्टत: अन्तर रहेको छ। कम्तीमा मेरा लागि यो खुसीको कुरा हो। मेरो भन्नु के हो भने कमरेड खड्गप्रसाद शर्मा ओली र कमरेड कोमल वलीमा केही त फरक रहेछ नि !

प्रकाशित : माघ १३, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?