१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सन्दीपले देखाएको सम्भावना

सम्पादकीय

काठमाडौँ — स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनुबन्धित गर्नु नेपाली क्रिकेटका लागि सुखद घटना हो । कान्छो संस्करणको ‘ट्वान्टी–ट्वान्टी’ प्रतियोगिता आईपीएल विश्व क्रिकेटकै आकर्षणका रूपमा रहेको छ र यसमा आबद्ध हुने पहिलो नेपाली खेलाडी सन्दीप भएका छन् ।

सन्दीप दिल्ली डेयरडेभिल्समा आबद्ध भएसँगै सम्भावनाको एउटा इँटा त थपियो नै, अब यसलाई प्रेरक मान्दै नेपाली क्रिकेट जगत्मा त्यो सफलतालाई कसरी प्रतिबिम्बित गर्ने भन्ने प्रश्न पनि सामुन्नेमा आएको छ । सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै अरू खेलाडीका निम्ति पनि अवसरका ढोका खोल्दै नेपाली क्रिकेटको स्तरवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ ।


सन्दीप आईपीएलमा भाउ लाग्ने एसोसिएट सदस्यका एक्लो खेलाडी हुन् । दिल्लीमा आठ विदेशीसहित २५ खेलाडी छन् । उनले अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, दक्षिण अफ्रिकी कागिसो रबाडा, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, भारतका गौतम गाम्भीर, अमित मिश्रा, मोहम्मद सामी, इंग्ल्यान्डका जेसन रोयलगायत स्टारहरूसँगै अभ्यास गर्नेछन्, खेल्नेछन् पनि । चर्चित खेलाडीहरूको घुइँचो रहेको टिममा ११ जनाभित्र रहेर आईपीएल खेल्न पाउनु पनि महत्त्वपूर्ण अनुभव हुनेछ ।


चितवन क्रिकेट एकेडेमीबाट आएका सन्दीप तीन वर्षभित्रै नेपालका स्टार खेलाडी भएका हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको सफलतासँगै प्रतिभावान् खेलाडीहरू आइरहेका छन् र यसमा उनी प्रतिनिधि पात्र हुन् । दिल्लीले भारु २० लाख भाउ लगाएका लेग ब्रेक गुगली बलर सन्दीपले ७ मेदेखि हुने आईपीएलमा

राम्रो प्रदर्शन गर्नसके त्यसले अरू नेपाली खेलाडीका लागि पनि यस्ता ठूला प्रतियोगितामा अवसर सिर्जना गर्न सक्छ । त्यसैले १७ वर्षीय सन्दीपको आईपीएल यात्रा आफ्नो करिअरका लागि मात्र होइन, नेपाली क्रिकेटकै निम्ति पनि कोसेढुंगा साबित हुन सक्छ ।


क्रिकेटमा प्रतिभावान् खेलाडीका निम्ति पैसाको कुनै कमी छैन । भारतका आठ सहरका आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने आईपीएल झन्डै दुई महिना चल्छ । यस्तै खालका प्रतियोगिता अस्ट्रेलियाको बिग बास, पाकिस्तान सुपरलिग (पीएसएल), बंगलादेश प्रिमियर लिग (बीपीएल), क्यारेवियन प्रिमियर लिग पनि हुन्छन् । इंग्ल्यान्डमा पनि यस्तै ट्वान्टी–ट्वान्टी प्रतियोगिता सुरु हुँदै छ । त्यसैले अब्बल खेलाडीका निम्ति यस्ता प्रतियोगिताले खेल्ने अवसरसँगै आकर्षक कमाइ गर्ने मौका पनि दिनेछ । आईपीएलमा जम्नसके सन्दीपले यस्ता अवसर नियमित पाउन सक्छन् । सन्दीप पछिल्ला पीएसएल र बीपीएलको ‘ड्राफ्ट’ मा थिए, तर उनलाई कुनै पनि टिमले भाउ लगाएका थिएनन् । त्यसका निम्ति उनले आईपीएल अक्सन नै कुर्नुपर्‍यो । अक्सनअघि ट्रायलका रूपमा नेटमा अभ्यास गर्न उनी दिल्ली पुगेका थिए । सन्दीपसहितको नेपाली टिम विश्व क्रिकेट लिग डिभिजन २ मा खेल्ने तयारीमा अहिले दुबई पुगेको छ । नामिबियामा हुने डिभिजन २ मा शीर्ष दुईमा रहनसके नेपाल विश्वकप २०१९ को छनोटमा पुग्नेछ । यो वान डे विश्वकपको छनोटको यात्रा तय गर्दै त्यसमा राम्रो नतिजा हात पार्नसके नेपाली क्रिकेटले मुहार फेर्न सक्छ ।


नेपाली क्रिकेटको व्यवस्थापकीय पक्ष भने दयनीय नै छ । अन्तरिक खिचातानी चर्किएपछि नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निलम्बन गरेको २१ महिना भइसक्यो । आईसीसीले प्रतियोगिता खेल्न दिए पनि नेपाललाई उपलब्ध गराउँदै आएको विकास र चालु बजेट रोकेको छ । बेङ्लोरमा आईपीएल अक्सन चलिरहँदा राजधानीमा आईसीसीका प्रतिनिधि र उसले बनाइदिएको सल्लाहकार समूहबीच बैठक भइरहेको थियो । तर बैठकले क्यानको समस्या समाधानका लागि ठोस निर्णय लिन सकेन । निलम्बन जारी रहे नेपालमाथि प्रतिबन्ध पनि लाग्न सक्छ । सन्दीपमाथि दिल्लीको भाउ लागेसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्रीदेखि ठूला नेताहरूको बधाईको ओइरो नै लागेको थियो । तर, कुनै पनि सरकारले क्रिकेटको समस्या समाधान गर्न दरिलो कदम चालेका छैनन् । सरकार आफैं लागिपर्ने हो भने नेपाली क्रिकेटको समस्या तुरुन्तै हल हुन सक्छ । संघको समस्या समाधान नगरेसम्म क्रिकेटको तीव्र विकास सम्भव छैन । त्यसैले स्वार्थ त्यागेपछि मात्र सन्दीपसँगै नेपाली क्रिकेटले पनि छलाङ मार्न सक्छ ।

प्रकाशित : माघ १६, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?