कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुद्धि कज्याउने राजनीतिक मन्त्र

सत्ता–प्रतिष्ठान र परम्परागत बुद्धिजीवीहरूबीच पद, पैसा, प्रतिष्ठासँग बुद्धि, ज्ञान, चातुर्यको लेनदेन हुनु कुनै अनौठो होइन । 

काठमाडौँ — ‘अल्लि धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुँदोरहेछ । बाबुरामजीलाई देख्नुभयो नि, कहाँ पुग्नुभयो बढी पढेर, बढी जान्ने भएर ।’ यस्तो दिव्य वाणी सुनेर माओवादी केन्द्रका नेताहरू गलल्ल हाँस्दै थिए, जनसांस्कृतिक महासंघका संस्कृतिकर्मीहरू खुसीले ताली पिट्दै थिए । मच्ची–मच्ची दिव्य वाणीको वर्षा गर्दै थिए, ‘महान र गौरवशाली पार्टी’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । 

प्रचण्डभन्दा तीन हात उफ्रेर नेपाल कम्युनिस्ट पार्टी, एकीकृत मार्क्सवादी–लेनिनवादीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सोधेका थिए, ‘गौतम बुद्धले कति क्लास पढेका थिए ?’ नक्कली ठहरिएको ग्रिनफोर्ड युनिभर्सिटीबाट मानार्थ विद्यावारिधिको उपाधि पाएका ओलीले ‘बुद्ध साक्षरसम्म पनि थिएनन्’ भन्दै थप प्रश्न सोधेका थिए, ‘केपी ओलीहरूले क्रान्तिमा होमिनुको साटो डिग्री लिन्छु भनेर बसेको भए देश कहाँ हुन्थ्यो ?’


धेरै पढेका विद्वानको दिमाग खराब हुने र कम पढेर पनि बुद्धजस्तै विद्वान हुन सकिने महान वाणी दिने मनुवाहरू हुन्, देशकै दुई भूपू प्रधानमन्त्री र ठूलठूला कम्युनिस्ट पार्टीका मुख्य हस्ती । बुद्धि, ज्ञान र पढाइ विरोधी वाणीमा मज्जासँग हाँस्दै समर्थन जनाउनेहरू हुन्, तिनै बडेबडे अगुवाहरूकै पार्टीका नेता, संस्कृतिकर्मी र बुद्धिजीवीहरू । उनीहरूले आँखा चिम्लेर जनाएको ‘सहमतिका आधारमा ती पार्टीभित्र मात्रै होइन, बाहिर पनि गहन र बृहत अध्ययनको समाप्तिसँगै चिन्तन र आलोचनात्मक विमर्श विरोधी वातावरण निर्माण हुँदै गयो भने अब अनौठो हुने छैन । सामन्तवादी समाजमा हुर्केका कवि लेखनाथ पौड्यालले त्यत्तिकै लेखेका होइनन्, ‘बडाले जे गर्‍यो काम, हुन्छ सर्वसम्मत, छैन शंकरको नंगा मगन्ते भेष निन्दित ।’

यस्तै सांस्कृतिक भावबाट दीक्षित पछुवा कार्यकर्ताको आचरणले देखाएको छ, बुद्धसमेत निरक्षर थिए भने बाबुरामले जस्तो धेरै पढेर किन आफ्नो सद्धे दिमाग बेकारमा खराब गर्ने ?


बुद्धि र ज्ञानमाथि नियन्त्रण

एमाले र माओवादीबीच पार्टी एकीकरण गर्ने एकलौटी निर्णयको विपक्षमा उभिएका आहुति लगायतका भूपू माओवादी नेतालाई खुइल्याउन प्रचण्डले माओको ‘एनान भाषण’ शैलीमा धेरै पढ्ने संस्कृतिको विरोधमा भाषण दिएका हुन् । साहित्यकार–संस्कृतिकर्मी र बुद्धिजीवीहरूलाई गरिएको सम्बोधनमा पार्टी एकीकरण र पुँजीवादी सत्ता राजनीतिबारे उठेका सन्देह, प्रश्न र आलोचनात्मक विचारलाई दबाउन बाबुराम भट्टराई वा आहुतिहरूलाई प्रतीकात्मक रूपमा तारो हानिएको मात्रै हो । ‘आफूसँग सहमत नभएकालाई साम्राज्यवादको दलाल’को संज्ञा दिइएको भाषणमा पठित र अध्येताहरूको मात्रै खोइरो खनिएको थिएन । बरु पठन र अध्ययन संस्कृति विरोधी विचारको प्रवाहसँगै सन्देह, प्रश्न र आलोचनात्मक विचारको निषेध गर्न खोजिएको छ । भिन्न विचार राखेकै कारण मान्छे नै दबाउने र अनेक भौतिक–अभौतिक कारबाही गर्ने कुसंस्कृतिबीच हुर्केकाहरूका लागि सन्देह, प्रश्न र आलोचनात्मक विचार दबाइनु पक्कै पनि छक्क पार्ने प्रकरण नहुन सक्छ । तर अनौठो कुरा के हो भने पठन र अध्ययन संस्कृति भएको मानिने वामपन्थी वैचारिक स्कुलमा पनि बृहत खालको पढाइ र सिकाइप्रति, बुद्धि र ज्ञानप्रति, बौद्धिक–वैचारिक कर्मप्रति समेत विरोध–भाव बलियो रहेको तथ्य देखिएको छ ।


कम्युनिष्ट पार्टीका नेताहरूले बुद्धिजीवीहरूलाई गैरसर्वहारा वा पेट्टी बुर्जुआ ठान्दै दोस्रो दर्जाका क्रान्तिकारीको रूपमा व्यवहार गर्छन्, जबकि उनीहरू आफै पनि समान वर्गका हुन्छन् र पढाइमा पनि खासै फरक हुँदैन । पार्टीभित्र पनि आफूलाई शासक र अरूलाई शासितका रूपमा बुझ्ने चलन छ । नेता–कार्यकर्ताबाट आलोचनात्मक मत नआओस् भनेरै अनेक खालका नियन्त्रणकारी कामकारबाही गरिन्छ र अनेक सैद्धान्तिक जामा पहिर्‍याएर द्वन्द्वात्मक सम्बन्धलाई निषेध गरिन्छ । यसको अर्थ हो : आफूले फेर्न लागेको पुरानो समाज र त्यहाँभित्र कायम रहेको असमान र अमानवीय शक्ति–सम्बन्धलाई पार्टीभित्र पनि दुरुस्तै राख्न खोज्नु । यस्ता नीति, नियम र नियतबाट न समाज र त्यसको शक्ति–सम्बन्ध बदलिन्छ, नत पार्टी र नेता–कार्यकर्ता नै फेरिन्छन् ।


सत्ता र बुद्धिको लेनादेना

प्रत्यक्ष वा परोक्ष रूपमा कम्युनिस्ट पार्टीका नीति, नियम र नियतसमेत पुरानै उत्पादन र शक्ति–सम्बन्ध कायम राख्ने तथा बुद्धि र ज्ञानसँगै बुद्धिजीवी वा अरूलाई कुनै न कुनै रूपमा नियन्त्रण र उपयोग गर्ने नै हुने हो भने कम्युनिस्ट पार्टीको औचित्य समाप्त हुन्छ । नेपालमा कम्युनिस्ट पार्टीको साइनबोर्ड झुन्ड्याएर बसेका पार्टी र तिनका नेताहरू सत्ता–शक्तिको अभ्यासमा आकण्ठ डुबेका छन्, जसले आफूलाई समाज परिवर्तन गर्ने क्रान्तिकारी ठान्ने गर्छन् । र अभ्यासकै हिसाबले प्रचण्ड वा ओली, देउवा वा सिंह, सबै एक–एक सत्ता–शक्ति केन्द्र हुन्, चाहे पार्टीभित्र हुन् या पार्टीभन्दा बाहिर । ती सत्ता–शक्ति केन्द्रका लागि बुद्धिजीवी, तिनीहरूको संगठन र ज्ञान उत्पादन पनि ‘उपयोग’ गरिने वस्तुमात्रै हुन् । र आलोचनात्मक ज्ञान उत्पादन नगर्ने बुद्धिजीवीहरूका लागि पनि आफ्नो बुद्धि, आफ्नो ज्ञान, आफ्नो सक्रियता र चातुर्य भनेको सत्ता–शक्तिबाट पाइने पद, पैसा, प्रतिष्ठासँग लेनादेना गरिने वस्तुमात्रै हुन् ।


अर्गानिक बौद्धिकको निर्माण

निश्चित रूपमा राज्यको संविधान निर्माणदेखि ज्ञान उत्पादनमा संलग्न बुद्धिजीवीहरूसँग सत्ता–शक्ति केन्द्रको सम्बन्ध सपाटमात्रै छैन, द्वन्द्वात्मक पनि छ । स्थापित प्रभुत्वशाली धर्म, शास्त्र, राज्य र तिनको ज्ञानविरुद्ध गौतम बुद्ध र ज्ञान दिलदासदेखि योगमाया न्यौपाने र पारिजातहरूले विद्रोह गर्दै सन्देह, प्रश्न, आलोचनात्मक विवेकको झण्डा फहराएको इतिहास पनि छ । तर पनि सत्ता–प्रतिष्ठानहरू कति बलिया छन् भने अधिकांश विद्रोहलाई १९९७ सालमा जस्तै निलेको, तिनका मुद्दाको अपहरण गरेको र बुद्धिजीवीहरूलाई पद, पैसा, प्रतिष्ठाका लागि ‘बौद्धिक’हरूलाई भुलाएको तितो वर्तमान हामीसँग छ । राज्य र पार्टीजस्ता सत्ता–संरचना विरुद्ध सन्देह, प्रश्न र आलोचनाको बौद्धिक अस्त्र प्रयोग गर्नेहरूलाई फाँडिएको अवस्थामा वैकल्पिक जनमुखी चिन्तन र कर्म कठिन हुनु अस्वाभाविक होइन ।


चिन्तक अन्तोनियो ग्राम्सीले भनेझैँ वैकल्पिक जनमुखी चिन्तन र कर्मका लागि परम्परागत बुद्धिजीवीभन्दा अर्गानिक बौद्धिकको निर्माण जरुरी हुने रहेछ । समाजबाट कटेका परम्परागत बुद्धिजीवीहरूको निर्माण नै राज्य र पार्टीजस्ता सत्ता–प्रतिष्ठानका लागि उपयोगका लागि हुने हो । अत: सत्ता–प्रतिष्ठान र परम्परागत बुद्धिजीवीहरूबीच पद, पैसा, प्रतिष्ठासँग बुद्धि, ज्ञान, चातुर्यको लेनदेन हुनु कुनै अनौठो होइन ।


कम्युनिस्ट पार्टीहरू पनि केवल यथास्थितिवादी वा सुधारवादी सत्ता–प्रतिष्ठानमा सीमित हुने र उत्पीडित जनताका मुद्दाबाट मुक्त हुने अवस्थामा अर्गानिक बौद्धिकको निर्माण तथा वैकल्पिक जनमुखी चिन्तन र कर्म अति आवश्यक हुन्छ । उत्पीडित वर्ग, वर्ण/जात, जाति, समुदाय, लिंग र क्षेत्रका अर्गानिक बौद्धिकको निर्माण तथा ती सबै अर्गानिक बौद्धिकले एकले अर्काे पहिचानका मुद्दामा सम्यक चिन्तन र कर्म गर्नुभन्दा उन्नत विकल्प देखिएको छैन । एक हातले माक्र्सवादको जप गर्दै, अर्काे हातले गाई–भैंसी पूजा गर्दै समाजवादमा छलाङ मार्ने पार्टीका सत्ताधीशहरूले बौद्धिक अध्ययन, चिन्तन र आचरणको बत्ती निभाउने प्रयास जारी राख्ने नै छन् । तर जो–जोसँग सन्देह, प्रश्न र आलोचनात्मक विवेक बाँकी छ, उनीहरूका लागि बुद्धले भनेझैँ आफ्नो दीयो आफै बन्ने (अप्पो दीप भव) भन्दा सचेत र सम्यक मानवीय कर्म के होला र ?

ट्विटर : @rmaharjan72

प्रकाशित : माघ १६, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?