१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

नलेखी नभएकाले मात्र 

टुपी नेपाल र भारतका ब्राह्मणहरूको मात्रै ठान्नु र बुझ्नु अज्ञानताको पराकाष्ठा हो ।
सौरभ

काठमाडौँ — अज्ञानताको औषधि हुँदोरहेनछ । १७ पुसको एक दैनिकमा एक लेखका पंक्तिहरु यस्ता थिए– टुपी छोप्न लगाउने गरिएको टोपी प्रिय हुने नै भयो बाहुनका लागि/टुपी छोप्न बाल्यकालदेखि अनिवार्य लगाएको बाहुनलाई जति यो टोपी आफ्नो लाग्छ आदि–आदि ।

नलेखी नभएकाले मात्र 

र, अन्त्यमा पंक्तिकारको नामै तोकेर कोरिएको छ– उसले पनि टोपीलाई नेपाली लेखेको छैन । पंक्तिहरु गीतकार राजेन्द्र थापाका हुन् । अन्तिम वाक्यको यथार्थ के हो भने पंक्तिकारले–नेपाली नै हो टोपी लेखेको छ ।


तर यो लेख टोपीसँग सम्बन्धित छैन । र, यति ठूलो अखबारमा उल्टै टुपीमाथि केन्द्रित गर्दा पाठकहरुलाई के काम नपाएर यस्तो विषय समातेको ? भन्ने अवश्य लाग्नेछ । हाँसो उठ्ने छ तर समाजशास्त्रले त्यसो भन्दो रहेनछ । अज्ञानतामा उभिएको यथार्थ धेरै दिन टिक्दैन, टिक्नु हुँदैन । यसैले नलेखुँ लाग्दालाग्दै पनि यस्तो विषयलाई उठाउने धृष्टता गर्नु परेकोमा पाठकहरुसँग पङ्तिकार क्षमाप्रार्थी छ ।


भूगोल र काल

चूपन्र्या दक्षिणी रसियाई र उक्रेनियन कसाकहरूले राख्ने टुपी हो । चूव अर्थात सिउर भनेर मानिए पनि यो चूडा अर्थात टुपीकै अप्रभंश हो । अद्यापि तिनीहरूले चूपन्र्या राख्छन् ।

मञ्चुहरूले सन् १६४४ मा हान वंशलाई समाप्त पारेर आफ्नो क्विङ राजसत्ता स्थापना गरेपछि पुरै चीनमा क्यू अर्थात टुपी राख्न बाध्य पारे । यो नेटले नै भन्ने कुरा हो । तर सन् ११२६ मै अर्थात बाह्रौं शताब्दीमै आफ्नो इलाकाका हानहरूलाई टुपी राख्न बाध्य पारिसकिएको कुरा पनि नेटले नै भन्ने कुरा हो । हेरे हुन्छ । जापानमै पनि जुन ढाँचाको टुपी राखिन्थ्यो, त्यसलाई चोन्मागे भन्छन् । यो चूडाकै रूपान्तरण हो । अहिले पनि कुनै न कुनै रूपमा सुमो पहलमानहरूले राख्छन् ।

यहुदी बालकहरूको १३ वर्षको उमेरमा वर मिज्बाह र बालिकाको १२ वर्षमा वत मिज्बाह हुन्छ । इस्वीको दोस्रो शताब्दीको तालमुडबाट उल्लेखित हुँदै आएको कुरा हो । त्यसपछि केश खौरन पाइन्न र कञ्चट तल केशको दुइटा लुर्कन (पोयो) छाड्नुपर्छ । वर र वत मिलायो भने संस्कृतको व्रतबन्ध हुनपुग्छ नै, तालमुडकै पुरानो नाम सीसा संस्कृतको ६ अंक बोधक षष्टबाट बनेको हो । थाइल्यान्डमा यही पर्व कोन्चुक हो ।

इजिप्टको हेराकनपलिसमा ५१ सय वर्षअघि पाइएको शवमै टुपी छ । इसापूर्व २९७० वर्ष अघिका शासक फराहो डेनकै चुल्ठो पाइएको छ । इसापूर्व ३० मा फराहो शासकहरूको अन्त्य भयो, तर जति पनि बालक र किशोर फराहो बने, तिनका कपाल पूर्ण मुण्डन गरेर दुईतिर केशको जुन लुर्कन झारिन्थ्यो, त्यसलाई अंग्रेजीमा हर्नस लक भन्छन् ।

टर्कीको एनातोलियास्थित नाभाली कोरीमा ठ्याक्कै १० हजार वर्ष अघिको मुण्डन गरिएको प्रस्तर मानव शिर पाइएको छ, जसमा ठ्याम्मै टुपी नै कुंँदिएको छ । यो तस्विर नेटमै हेरे हुन्छ । ग्रीसमा दुइटा यस्ता शिर पाइएका छन् । मुसलमानहरूको फेजक्यापको बीचबाट तल झर्ने कालो धागोका लुर्कन नै टुपीको वर्तमान अवशेष हो ।

र अमेरिकी रेड इन्डियनका वंशजहरू अहिले पनि टाउकोको पछाडिपट्टि केशको लुर्कनलाई रंगीचंगी प्लाष्टिक/धागोले बांँधेर हिँड्छन् । यही काठमाडौंमा पर्यटक भएर आएको पनि देखिन्छ । रेड इन्डियनहरूलाई १२ हजार वर्षअघि हिउँदमा बेरिङ जलडमरु जमेका बेला पार भइगएका तिब्बती मानिन्छ । खासगरी यो मोहवाक रेड इन्डियनहरूमा बहुप्रचलित छ ।

यी केही दृष्टान्त मात्र हुन् । टुपी नेपाल र भारतका ब्राह्मणहरूको मात्रै ठान्नु र बुझ्नु अज्ञानताको पराकाष्ठा हो ।


प्रवर्तक र अनुयायी

बुद्धले चुल्ठो राखेका छन् । चुल्ठो राखेपछि छुट्टै टुपी राख्ने कुरा भएन र राख्नुपर्ने आवश्यकता पनि परेन । त्यसपछि ब्राह्मणवाद विरोधका नाममा भन्तेहरूले टुपी राखेनन् । बौद्ध दर्शनका विज्ञहरू भन्छन्, त्यसपछि चार आर्य सत्य र अष्टाङ्गिक मार्ग बाहेक अरू उल्लेखनीय ज्ञान पनि यस दर्शनमा थपिन सकेन । रहस्य उनीहरू नै जान्लान् । त्यसो हो भने यो पनि सत्य हो, संन्यासमन्त्र लिनेहरूले टुपी काटेर ‘एन्लाइटेन्मेन्ट’को ‘सुपर हाइवे’लाई गुमाएछन् ।

क्राइस्टले पनि पुरै कपाल पालेका छन् । उनका पछिल्ला अनुयायीहरूले काट्ने प्रथा चलाए पनि । ज्ञात नै छ, क्राइस्ट यहुदी परम्पराका हुन् । सम्भवत: पादरीहरूले पनि कपाल काट्ने थिएनन्, अलेक्जेन्डरले सैनिक पुरुषको कपाल र दारी काट्नैपर्ने नियम नचलाएका भए । जुन विश्वमै पुरुषका निम्ति एक संस्कृित बन्यो ।

कन्फुसियसकै कपाल पनि चुल्ठो पारेकै देखिन्छ । ताओहरूले त टुपी राख्छ नै । थप लेखिरहनै परेन ।

र सबै इस्लामले पैगम्बरको अनुशरण गर्दै पुरै शिर खौरिएर केही कपाल टाउकोमा राख्ने गर्थे । इरानमा यो चलन थियो भन्ने पनि नेटले नै जनाएको हो । मोरक्को र गुआमका बासिन्दामा पनि यो चलन थियो ।


मूल र केन्द्र

टुपीको अर्थ टोपी हो, खाम मगरमा । थ्याकदोक (टुपी) हो, तर थ्याकतक (टोपी) हो लेप्चामा, अर्थात टुपी र टोपी ब्राह्मणको निम्तिमात्रै समानान्तर हो भन्नु मुर्खता हो ।

तँ– को अर्थ टुपी हो, चाम्लिङ राई भाषामा, जुन महाप्राण व्यञ्जन ट– को अल्पप्राण व्यञ्जन रूप हो । क– को अर्थ हो, कपाल गुरुङ भाषामा, क्र– को अर्थ टाउको । तर क्रा कपाल हो, तामाङ भाषामा, क्राफुई वा टाफुईचाहिंँ टुपी ।

क्रा तिब्वतीमा पनि टाउको हो । टुपी बोधक मञ्चुरियन ‘क्यु’को जग यहीं छ भन्ने बुझ्नुपर्छ । चिनियाँमा यो टोङ्जी हो ।

यही टा तब्बितीमा रौं वा कपालबोधक हो । मुसलमान टोपीबोधक तकिया यही टा– को अल्पप्राण व्यञ्जन भएको जसरी स्पष्ट छ, त्यही तकियाको छोटकरी रूप यहुदी टोपी किपाह हो ।

अर्थात टाउको, टुपी, जटा सबैको मूल टिबेटो बर्मन भाषा हो । भन्नाले कैलाश बोन, थिङ्री, शैवसनातन सबै मतको केन्द्र स्थान हो । जसरी मध्यपश्चिम अब्राहमिक मत परिवारको ।

यसै भएर नेपालभरका यावत बोन झाँक्रीहरूले टुपी राख्छन्, हेरे हुन्छ र खोजे हुन्छ ।

मिसोक्पा भन्छन्, ६ थरी लिम्बुहरू टुपीलाई अर्थात् त्यो समाजमा टुपीको अस्तित्व कुनै बेला रहेको पुष्टि हुन्छ । र मुन्दुसाप शेर्पालाई भन्छन्, कुलुङ राईहरूले । अर्थ हो, टुपी नपाल्ने भोटे वा शेर्पा जाति, भन्नाले बौद्धमार्गी । यसले त्यस मत बाहेककाले पाल्थे भन्ने परोक्ष रूपमा बुझाएको छ ।

कपालको भुत्लाबोधक प्रोटोजम्र्यानिक टोफाज संस्कृतको टुपीबाट बनेको हो, नकि फ्रेन्च शब्द टुपीबाट नेटले भनेजस्तो । संस्कृतले पचाएका शब्दहरूलाई घरी लेटिन मूलको र घरी फ्रेन्च मूलको भनेर लुकाउने प्रवृत्ति पश्चिमा संस्कृति नै भएको छ ।

टुपीलाई पिगटेल्स पनि भन्छन् ती । पिग भनेको सुँगुर हो, जसको पुच्छर सानो लगभग एक बित्ताको हुन्छ । टुपीको लम्बाइको पूर्वीय मान्यता के हो भने त्यो गाईको खुर बराबर लम्बाइको हुनुपर्छ, जुन सुँगुरको पुच्छर बराबरको लम्बाइ नै हुन्छ । यसर्थ युरोपियन पिगटेल खासमा गोपुच्छको छायानुवाद हो भन्ने स्पष्ट छ ।


विज्ञान र आयुर्विज्ञान

शिरको निश्चित स्थानमा अरा (तेज) हुन्छ, त्यसलाई संरक्षण गर्न पालिएको हो भनेर भारतीयहरू तर्क गरिरहन्छन् । तर विशुद्ध विज्ञानले अराको अस्तित्वलाई मान्दैन ।

शिरको मध्यभागमा सुसुम्ना नाडीको अन्त्य हुन्छ, त्यहाँ हजारपत्रे कमल हुन्छ । त्यसैको प्रतीक हो, यो भनेर तन्त्रले भन्छ । त्यसलाई पनि विशुद्ध विज्ञानले मान्दैन । अरू अनेक तर्कको अर्थ छैन ।

ब्रह्मरन्ध्र अर्थात शरीरको दसौँ प्वाल तालुमा हुन्छ, जसबाट अन्तिम समयमा सात्विक मानिसको प्राण जान्छ भनेर परम्परागत आयुर्विज्ञानले भन्छ । यो ब्रह्मरन्ध्र भनेको शिशु जन्मेको डेढदेखि दुई वर्षमा भरिन जाने तालुको प्वाल वा खाल्टो (एन्टेरियर फन्टनेला) अवश्य हो, एलोप्याथिक एनाटमीमा ।


जटा र झाँक्रो

हाम्रो बुझ्ने शैली नै गलत छ । मानिसकालाई गोडा भनिन्छ, गोलीगाँठा भएकाले । पशुकालाई खुट्टा भनिन्छ, खुर भएकाले । तर मेरो खुट्टा भनिदिन्छौं । आफूलाई पशुमै दर्ता गरिदिन्छौं । गाईको भकारो र भैंसीको गोबर भन्नु हाम्रालागि सामान्य कुरा हुन् । निधारमा सेतो कहिलेकाहीं भैँसीको पनि हुन्छ । तर तारे वा तिल्के त्यस्तो रङ भएको गाईगोरुका निम्तिमात्र हो । ठौला भैँसीका निम्तिमात्र हो, थुक घोडाका निम्तिमात्र हो । हाम्रा निम्ति भने सबै तारे हुन् । स्पेसिफिक हुनसकेन भने ज्ञान सर्जरी हैन, बुचरीमा परिणत हुन्छ ।

यो भूमिका ज र झ माथिको अन्योल सुल्झाउनलाई बँाँध्न परेको हो । हाम्रो परम्परामा शिवको जटा खुस्किन्छ, पार्वतीले झाँक्रो फिंँजाइन् हुनपुग्छ । किनभने हेर्दै र सोच्दै गए हुन्छ, पुरुष सम्बन्धित रौँहरू जबाट र महिला सम्बन्धित रौँहरू झबाट सुरु हुन्छन् ।

(गायत्रीमन्त्र लेखिएको समयमा यो झ थिएन । यो पौराणिक कालका सम्प्रदायहरूले जन्म

दिएका हुन् । चण्डीभन्दा अगाडिको ग्रन्थमा यो थिएन– पेज र सालरहित, गायत्री मन्त्रको

अर्थ, शिवशास्त्री । तर अशास्त्रीय आध्यात्मिक अनुष्ठान अर्थात झाँक्रीवाद प्राचीनतम हो र

झ– को अस्तित्व थिएन भन्ने ठहर नितान्त अवैज्ञानिक हो ।)

जटाबारे माथि नै लेखियो । झाँक्रो शब्द झाङबाट आएको, फिंँजिएको, नबाँधिएको हो भन्ने बोधक हो भन्ने मानिए पनि अहिले हेर्दा तिब्बती टाउकोबोधक क्रो हो भन्ने बुझिन्छ । यद्यपि चोला, मानव चोलाका सारबोधका रूपमा चुल्ठो भनिएको हो भन्ने मत धेरै हदसम्म सही लाग्छ । टुपीलाई खाम मगरले भन्ने चिमे पनि यही चुल्ठोबाट आएको हुनुपर्छ ।

पेनेबा भन्छन्, लिम्बुहरू ब्राह्मण–क्षत्रीलाई । यो तिब्बती ब वारि आइपुगेर प बन्न पुग्दा भएको हो । अर्थ हो, बोन मतावलम्बी । यसर्थ ब्राह्मण–क्षत्रीले पालेको टुपी दक्षिणको भारतबाट आएको वा वैष्णव मतबाट आएकै बुझिन्न । तिनले कैलाशबाट रूसदेखि मञ्चुरिया, मध्य एसियादेखि इजिप्ट, ग्रीसदेखि अमेरिकासम्म हजारौं वर्षअघि विस्तारित बोन संस्कृतिलाई निरन्तरता दिएको देखिन्छ बरु । प्हमए गुरुङले ब्राह्मण–क्षत्रीलाई गर्ने सम्बोधन हो । त्यसबाटै यो यथार्थ अझै स्पष्टिन्छ । बोन मतावलम्बीहरू यतिबेला बोन सम्वत् १८ हजार ३५ चलिरहेको भन्छन् भने टुपी/जटाको परम्परा कति पुरानो होला, सोचेर सम्भव नै भएन ।


केराटिन र सिङ्गमर्मर

ग्रीक शब्द केरबाट केराटिन बन्न गएको मानिन्छ । केराटिन प्रोटिन हो । जसबाट रौं, नङ, सिङ, खाग बन्न गएको छ । तर केर प्रोटो इन्डो युरोपियन शब्द सापटी लिएको हो ग्रीकले, अर्थ हो– सिङ । अझ सिङको त्यो बाहिरी खोल जसले भित्री हाड छोपेको हुन्छ । यसलाई मर्मर भन्छन् । यही मर्म बनेको हो, सिङ्गमर्मर (पुरानो ऐतिहासिक दस्तावेजहरूको शब्द सिंगेसम) भएको हो ।

तर यसले टुपी, जटा ब्रह्मरन्ध्रामाथिको तान्त्रिक खोल हो भन्ने पनि बुझाइदिएको छ । जो अहिले केश चक्र (होर्ल/स्वीर्ल) मा स्थानान्तरण भएको मात्र हो । यो कुरालाई चूपन्र्या, चोन्मागे र हर्नस लकले पनि पुष्टि गर्छन् अर्थात तिब्बती बोनमा सम्भवत: कुनै बेला क्रो सिङको बोधक हुनुपर्छ, जो आज पुरै टाउकोबोधक हुनगयो । १८ हजार वर्ष अघिको एउटा अर्थ ४ हजार वर्ष अघिको प्रोटो इन्डो युरोपियनमा स्थानान्तरित हुनपुग्नु अनौठो नै रहेन ।


पुच्छारमा

बोनमा टुपी, चुल्ठो र शैवमतमा जटाको जुन भारी महत्त्व छ, त्यसले यसको उद्गम कैलाश र त्यस वरिपरिका भूभाग भएको जनाउँछ । जुन संस्कृति २ हजार वर्ष अघिसम्म विश्व विस्तारित थियो, धेरथोर रूपान्तरण भए पनि अहिले । चाणक्यले टुपी फुकाएर नन्द वंशलाई समाप्त पारे र मौर्य साम्राज्य खडा गरे, द्रौपदीले झाँक्रो फुकाएर कुरु वंशलाई खाडलमा हालिन् ।

टुपी भोजन र सहबासका बेला फुकाउनुपर्छ भनिन्छ नै, त्यो बेला आक्रामक हुनुपर्छ भन्ने मान्यताले । यसरी आक्रोश एक किसिमको सञ्चित ऊर्जा हो भन्ने वर्तमान वामपन्थी निक्र्योल उहिल्यै उपयोग भइसकेको कुरा हो । त्यसलाई ब्राह्मणहरूले निरन्तरता दिएका मात्र हुन् । यसैले टुपी ब्राह्मण पर्यायवाची होइन । विश्वले नै आफ्नो विगत बिर्सन चाहन्छ भने यो त्यसैको दोष हो ।

प्रकाशित : माघ २०, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?