मागेर होइन, कमाएर बचत

महिला बचतकर्तालाई आफैं कमाएर बचत गर्ने बानी बसालौं भन्ने सकारात्मक सन्देश दिने विज्ञापन सामग्री सञ्चार माध्यमहरूले बनाउन जरुरी छ ।
मधु राई

काठमाडौँ — ‘अलिकति पैसा देऊ न, म पनि बचत गर्छु ।’ यो कान्तिपुर एफएमबाट प्रसारित हुने विज्ञापन हो । यसमा श्रीमतीले श्रीमानसँग बचत गर्न पैसा माग्छिन् र श्रीमानले पनि खुसी हुँदै दिन्छन् । सञ्चार माध्यमबाट प्रसारित हुने यस्ता विज्ञापनमा जस्तै वास्तविक जीवनमा सधैं मागेर बचत गर्ने श्रीमतीका श्रीमानहरू त्यति खुसी नहुन पनि सक्छन् ।

यसरी महिलाले श्रीमानसँग मागेर भए पनि बचत गर्नुपर्छ है भन्ने सन्देश रेडियो, टेलिभिजनबाट प्रवाह भइरहँदा त्यसै पनि अधिकांश गृहिणी महिला श्रीमानले दिएको घर खर्चबाट बचत गरिरहेका हुन्छन् । उनीहरूलाई आफूले कमाएर हैन, मागेरै भए पनि बचत गर्नुपर्ने रहेछ भनेर प्रोत्साहित गरिरहेको देखिन्छ ।

यस्तै अर्को एक विज्ञापनमा आफूले नकमाए पनि पेवा र विदेशबाट भाइले पठाइदिने गरेको पैसा बैंकमा जम्मा गर्दा आफ्नो रकम सुरक्षितमात्र हैन, ब्याजसँगै साह्रोगाह्रो पर्दा ऋणसमेत पाइन्छ भनी श्रीमानले श्रीमतीलाई सल्लाह दिन्छन् । यसरी उक्त विज्ञापनमा श्रीमानले श्रीमतीलाई आफ्नो पेवा लगायतको पैसा बैंकमा राख्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने विज्ञापनले अन्य गृहिणी महिलालाई पनि आफूले नकमाए पनि पेवापातको पैसा बैंकमा राख्न प्रोत्साहित गर्छ ।

त्यसो त गाउँघरमा अझै पनि गृहिणीहरूले पशुपालन, कृषि वा अन्य उद्यम व्यवसायबाट प्राप्त पेवा पैसा बचत गर्ने गरे पनि सहर–बजारमा अधिकांश गृहिणी श्रीमानले दिएको घर खर्चबाटै बचत गरेको देखिन्छ । फेरि वित्तीय संस्थाहरू चाहे सहकारी होस् या बैंक, श्रीमानले दिने गरेको घर खर्चबाट बचत गर्दै आएका आफ्ना महिला बचतकर्ताहरूलाई आयमूलक सीप सिकाउन नसक्दा पनि गृहिणीहरूमा आर्थिक परनिर्भरता बढ्दै गएको देखिन्छ । त्यसमाथि सञ्चार माध्यमहरूबाट प्रसारित हुने विज्ञापनले आफैले कमाएर बचत गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नुको साटो मागेर भए पनि बचत गर्नुपर्छ भन्ने नकारात्मक सन्देश प्रवाह गरिरहेकाले पनि आर्थिक परनिर्भरता बढ्दै गएको देखिन्छ । यस्ता विज्ञापनले सधैं श्रीमानसँग मागेर बचत गर्दै आएका महिलालाई थप माग्न प्रेरित गरिरहेको देखिन्छ ।

पछिल्लो समय सहर–बजारमा बैंकसँगै टोलैपिच्छे सहकारी संस्थाहरू खुलेका छन् । त्यस्ता सहकारी संस्थाहरूमा महिलाको उल्लेख्य सहभागिता रहँदै आए पनि त्यस्ता सहकारीमा आफै उद्यम व्यवसाय गरेर बचत गर्ने महिलाहरू नगन्य छन् । कतिपय यस्ता सहकारीहरू महिलाले मात्रै सञ्चालन गर्दै आएका छन् । यसरी हिजो श्रीमानले दिएको घर खर्चबाट बचत गर्दै आएका गृहिणीहरू आज सहकारी संस्था स्थापना गरी वित्तीय व्यवस्थापनको सीप सिक्दै अरू महिलाका लागि प्रेरकसमेत बन्दैछन् । तथापि सहर केन्द्रित अधिकांश यस्ता सहकारी संस्थामा आबद्ध थोरै महिलाले वित्तीय व्यवस्थापन सम्बन्धी सीप सिक्दै आए पनि यस्ता संस्थाले आफ्ना महिला बचतकर्ताहरूलाई आफूले उद्यम व्यवसाय गरेर बचत गर्नुपर्छ भनी आर्थिक परनिर्भरता घटाउन आयमूलक तालिम सञ्चालन गरेको देखिँंदैन ।

त्यस्तै बहुसंख्यक गृहिणी पनि आफूले कमाएर बचत गर्ने कुरा सोच्नसम्म सक्दैनन् । किनभने हुनेखाने घरका कतिपय महिला ‘आ, श्रीमानले कमाएर दिएकै छन्, किन पो कमाउनुपर्‍यो र ?’ भन्ने सोच राख्छन् । हुन पनि हो, यस्ता गृहिणीका कतिपय श्रीमान पनि ‘मैले कमाएर दिएकै छु, किन कमाउनुपर्‍यो ?’ भन्ने गर्छन् । वास्तवमा यस्ता श्रीमानहरूलाई पनि आफ्ना श्रीमतीहरू घरबाहिर निस्केको त्यति मन पर्दैन । आफ्ना श्रीमानले घरबाहिर निस्केको मन नपराएपछि महिलाहरूमा आार्थिक परनिर्भरता बढ्दै गएको देखिन्छ ।

यसरी एकातिर श्रीमानले घरबाहिर निस्केको मन नपराउने अर्काेतिर महिलाहरू स्वयं पनि आर्थिक उपार्जन गर्ने कार्यमा संलग्न हुन नचाहँदा कतिपय संघ/संस्थाले दिने गरेको आयमूलक तालिम त्यति फलदायी हुनसकेको छैन । त्यसो त पछिल्लो समय कतिपय तालिम प्राप्त नगन्य महिलाले यस्ता वित्तीय संस्थाबाट ऋण लिएर उद्यम व्यवसायसमेत थालेका छन् । तथापि त्यस्ता उद्यमी महिलाहरू समग्र गृहिणीहरूका लागि प्रेरक व्यक्ति भने बन्नसकेका छैनन् ।

यस्तै पछिल्लो समय वैदेशिक रोजगारीले पनि गृहिणीहरूमा नकारात्मक प्रभाव पारेको छ । घर बसी–बसी घरखर्च लगायत आफूनो यावत आवश्यकता पूरा हुने भएपछि गृहिणीहरूमा परनिर्भरता बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगारीबाट श्रीेमानहरूले पठाएको रकम गृहिणीहरूले घरखर्च लगायत अनुत्पादक कार्यमा खर्च गर्ने हुँदा यसले महिलामा आर्थिक परनिर्भरता बढाएको छ । महिलाहरूमा बढ्दै गएको आर्थिक परनिर्भरताले एकातिर पुरुषहरूको जिम्मेवारी बढाएको छ भने अर्कोतिर श्रीमानहरूलाई अतिरिक्त कमाइ गरेर भए पनि घरपरिवार पाल्नुपर्ने बाध्यता छ ।

महिलाहरूको आर्थिक परनिर्भरता र वैदेशिक रोजगारीबाट प्राप्त ठूलो रकम अनुत्पादक कार्यमा खर्च गर्ने प्रवृत्तिले नेपालको समग्र विकासमा नकारात्मक असर परेको अध्ययन, अनुसन्धानले देखाएको छ । हुन पनि हो, आर्थिक उपार्जनको कार्यमा महिलाहरूको संलग्नता न्यून हुनु वा नहुनु भनेको समग्र परिवार त्यसपछि समाज र देशको अर्थतन्त्र र विकासमा नकारात्मक असर पर्नु हो ।

विकसित मुलुकको कुरा गर्ने हो भने त्यहाँ आर्थिक उपार्जनको कार्यमा महिलाहरूको समान सहभागिता रहँदै आएको छ । स्वीडेन र फिनल्यान्डमा ८०–८५ प्रतिशत महिलाको सहभागिता हरेक क्षेत्रमा रहँदै आएकोले त्यहाँको अर्थतन्त्र बलियो पार्न महिलाहरूको महत्त्वपूर्ण भूमिका रहने गरेको अध्ययन, अनुसन्धानले देखाएको छ । आर्थिक उपार्जन कार्यमा महिलाहरूको समान सहभागिता हुँदा देशको अर्थतन्त्र बलियो हुन्छ भन्ने उदाहरण पेस गरेका छन्, स्वीडेन र फिनल्यान्डले ।

हामीकहाँ यस्तो अभ्यासको सुरुवात हुन अझै केही दशक कुर्नैपर्छ । तथापि यहाँ पनि श्रीमान–श्रीमती दुवै आर्थिक उपार्जन कार्यमा संलग्न हुनेहरूले आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिलाएका छन् भने भविष्य सुखमय बनाउन अझै संघर्षरत छन् । विडम्बना भन्नुपर्छ, यस्ता घरपरिवार बहुसंख्यकका लागि अनुकरणीय र आदर्श घरपरिवार बन्न भने सकेका छैनन् । गृहिणीहरूलाई आर्थिक उपार्जन कार्यमा संलग्न गराउन सर्वप्रथम घरपरिवारमा श्रीमानले पनि सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । गृहिणीहरूमा पनि श्रीमानले १ हजार रुपैयाँ कमाउँदा मैले पनि सय रुपैयाँ कमाएर सहयोग गर्नुपर्छ भन्ने भावना जाग्न जरुरी छ ।

बैंक लगायत सहकारी संस्थाहरूले पनि आफ्ना महिला बचतकर्ताहरूलाई आयमूलक तालिम दिएर उद्यम व्यवसाय गर्न सुलभ ब्याजदरमा ऋण दिई प्रोत्साहित गर्नुपर्छ । सञ्चार माध्यमहरूले पनि वित्तीय संस्थाहरूको विज्ञापन प्रचार–प्रसार गर्दा महिलाको विषयमा संवेदनशील हुन जरुरी छ । वित्तीय संस्थाहरूले दिने गरेको प्रचार सामग्री जस्ताको त्यस्तै प्रचार–प्रसार गर्नुभन्दा महिला बचतकर्तालाई आफै कमाएर बचत गर्ने बानी बसालौं भन्ने सकारात्मक सन्देश दिने विज्ञापन सामग्री सञ्चार माध्यमहरूले बनाउन जरुरी छ ।

प्रकाशित : माघ २२, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?