बुहारी ल्याएपछि छोराले किन बाआमालाई सहँदैनन् ?

यमुना अर्याल (काफ्ले)

काठमाडौँ — एउटी महिलाको साथ पाउँदैमा जन्मदाता बाबाआमाको सबै गुण चटक्कै बिर्सने कस्तो चलन ? बुहारीको रुपमा भित्रेकी महिलाले किन यो कुरा बुझ्दैनन् ? जब आफुले आफ्नो श्रीमानका बाबाआमा आफुलाई घाँडो भएर पाल्न सक्दिन, साथमा राख्न नसकेर जानाजान आश्रममा पठाउँछिन् ।

नेपालको पछिल्लो जनगणना (२०६८) अनुसार कुल जनसंख्याको करिव ९ प्रतिशत अर्थात २५ लाखभन्दा बढी संख्यामा ज्येष्ठ नागरिकहरु छन्। नेपालीको औसत आयु बढेसँगै ज्येष्ठ नागरिकको सख्यामा पनि बृद्धी भएको छ। पछिल्ला जनगणनाको आंकडाले यसलाई थप पुष्टि गर्दछ। नेपालको अन्तरिम संविधान २०६३ ले बृद्धबृद्धालाई संरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने मार्ग प्रशस्त गरेको र हालको नयाँ संविधान २०७२ को धारा ४१ मा लिखित रुपमै “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ'' भन्ने वाक्यांश उल्लेख गर्नुले ज्येष्ठ नागरिकको सम्मानमा राज्य नै लागिपरेको अनूभुति गर्न सकिन्छ। यति मात्रै होइन, जीवित देवताको रुपमा कहलिएका ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन जेष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालिन अवधारणासहितको ज्येष्ठ नागरिक कार्ययोजना (२०६२) कार्यान्वयनमा आइसकेको अवस्था छ।

Yamaha

केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको स्थापना गरी देशका प्रत्येक जिल्लामा ज्येष्ठ नागरिक कल्याण समिति समेत गठन भइसकेको छ। मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९४८ ले हरेक व्यक्तिको भेदभावरहित ढङ्गले मर्यादित आफ्नो जीवन बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ। मानवअधिकारभित्र ज्येष्ठ नागरिकको अधिकार समाहित हुन्छ कि हुँदैन यो सवाल महत्वपूर्ण मानिन्छ। ज्येष्ठ नागरिक उमेरले गाला चाउरिएका, रोगले थलिएका, लौरीको सहारामा भित्रबाहिर गर्ने केवल बुढाबुढी मात्रै होइनन् उनीहरु हरेक परिवारका जीउँदा देवता समेत हुन्, उनीहरुबाट नयाँ पुस्ताले धेरै ज्ञान आर्जन गर्न सक्छ, नयाँ पुस्ताको लागि बृहत ज्ञानकोष नै हुन् ज्येष्ठ नागरिक, राष्ट्रको लागि ज्ञान प्रदायक संग्रालय हुन्।

‘आफुसँग धन सम्पति छ भने चाहेको हरेकचिज किन्न सकिएला तर जन्मदिने बुवाआमा कहिल्यै पनि किन्न सकिंदैन’ यो सास्वत सत्य हो। त्यसैले त भनिन्छ मातापिता र सन्तान बिचको रगतको साइनोको मापन कुनैपनि साइनोसँग हुन सक्दैन। आमाको दुख, पिडा र बुवाको संघर्षले सन्तानलाई संसार देखाउने चेष्टा राख्दछ। हरेक आमाबुवाको सन्तानप्रतिको एकैखाले चाहना हुन्छ, आफ्नो सन्तान असल बनोस्, योग्य बनोस्, भोलि आफु बुढेसकालमा हुँदा रखवारी गर्न सकोस्, सन्तानको काखमा बसेरै सन्तानको प्रगति हेर्दै आनन्दले परलोकको यात्रा तय गर्न सकियोस् आदि आदि...। तर विडम्बना एकाद बुवाआमा बाहेक धेरैको यो सपना अधुरै रहन्छ। जुन सोच राखेर सन्तानको खुशीमा बाबुआमा मरिमेटछन् तिनै सन्तानबाट अपमानित, तिरस्कृत र बुढेसकालमा सहाराविहिन भएर कष्टकर जिन्दगी विताउनु पर्छ, बाबाआमाको लागि यो भन्दा पीडादायी क्षण अरु के होला?

छोराछोरीको बढ्दो विदेशमोहका कारणपनि बाबाआमा थप पीडामा रुमलिन पुगेका छन्। विदेशमा पुगेका छोराछोरीहरु बाबाआमालाई आश्रममा राखेर आफुहरु व्यस्त रहन्छन्। यो कस्तो संस्कार हो? बिदेश जानुपर्ने उनीहरुको बाध्यता होला तर जन्मदिने बाबाआमालाई आश्रममा पुर्‍याएर कुन उदेश्य प्राप्तिको लागि सन्तानले यो सबकर्म गरिरहेका छन्? नैतिक शिक्षाको अभावका कारण पुँजीवादी सोचले रगतको नातालाई विस्तारै मरुभुमिमा परिणत गर्दैछ। अझ यसपछिको पुस्ता कस्तो होला? त्यसको प्रतिविम्ब अहिले नै झलझली देखिइरहेको छ। सन्तान र बाबाआमावीचको दुरी विस्तारै लम्बिंदैछ, क्षणिक स्वार्थका लागि बाबाआमको साइनो चटक्कै बिर्सन पछि पर्दैन अहिलेको पुस्ता।

व्यवहारमा हेरौँ न, दशभाई छोरा जन्मिए पनि बाबाआमाले आफ्नो हातका औँला सम्झेर बराबरी मायाँ गर्छन्, कुनै कुरामा विभेद गर्दैनन्। तिनै छोराहरु हुर्किएर आफु खुसी गर्छन्, छोरी बिहे गरेर अर्काको घर गइहाल्छन्, बुढा बाबाआमा कस्ले पाल्ने हानाथाप हुन्छ। कुनै दाजुभाइले मुख फोरेर भन्न सक्दैनन् बाबाआमा हामी पाल्छौ, दुखी हुन दिंदैनौ, बुढेसकालको टेको बनेर सेवा गर्छौ भनेर। बाबाआमा पाल्नेले जीउनी अर्थात् बाबाआमाको भागको अंश खाने लोभमा बाध्यताले पाल्ने गर्छन्। आफुले हाड्छाला घोटेर हुर्काएका सन्तानले बाबाआमालाई घाँडो बनाएको देख्दा आमाबाबुको हृदय कति फाट्दो हो? उनीहरुको आत्मले कति धिक्कार्दो हो? अचम्मको कुरा कुनैपनि छोराले बिहे अगाडी बाबाआमालाई टाढा देख्दैन, उसले आफ्नो घर भइकन बृद्धाआश्रममा बाबाआमा पुर्‍याउँदैन तर जव श्रीमतीको साथ पाउँछ उसमा यत्रो आत्मबल कसरी आउँछ?

एउटी महिलाको साथ पाउँदैमा जन्मदाता बाबाआमाको सबै गुण चटक्कै बिर्सने कस्तो चलन? बुहारीको रुपमा भित्रेकी महिलाले किन यो कुरा बुझ्दैनन्? जब आफुले आफ्नो श्रीमानका बाबाआमा आफुलाई घाँडो भएर पाल्न सक्दिन, साथमा राख्न नसकेर जानाजान आश्रममा पठाउँछिन्। यदि उनका भाउजु बुहारीको कुरा सुनेर दाइभाइले उनका बाबाआमालाई त्यस्तै व्यवहार गरेभने त्यो पाच्य होला कि नहोला? श्रीमान/श्रीमती भनेका एक रथमा दुई पाग्रा हुन् न कि श्रीमान्लाई अनेक तरहका कुरा बुनेर सासु ससुरालाई बृद्धा आश्रममा धकेल्ने मानवता विरोधी?

गत महिनामात्रै तीनवटा बृद्धा आश्रममा भ्रमण गर्दा बुझेँ एकाद बाहेक अधिकाँश बुबाआमा कोही आफन्त नभएर आश्रममा आएका रहेनछन्। आफ्नो घरको ठेगाना सबैले बताउँथे, उमेर सबैले भन्थे, आश्रममा आएको कति वर्ष भयो? नबिराइकन भन्थे तर जव घरका आफन्तको बारेमा पंक्तिकार प्रश्न गर्थेँ तव उनीहरुको वाक्य रोकिन्थ्यो, अनुहार पढ्न सकिन्थ्यो आँखा रसाएका हुन्थे, मलिन अनुहारमा जवाफ दिन्थे, के भन्नु नानी? तिनीहरुका पनि सन्तान छन् भोलि यस्तै नगराउन, राम्रो व्यवहार गरुन्, भोलि उनीहरुका छोराले पनि बुहारी ल्याउँछन्, बुहारीका कुरा सुनेर यस्तै आश्रममा हाम्रा छोराबुहारी आउनु नपरोस्, डाँडा माथिको घाम भइसक्यौँ आज हो कि भोली? घर छ, छोरा बुहारी छन्, वरपरका छिमेकी छन्, आनन्दले नातिनातिनी खेलाएर घरमा बस्ने, पुजापाठ गर्ने, मन्दिर घुम्ने बेलामा आश्रममा काल पर्खनु परेको छ, काल नआउन्जेल बाच्नैपर्ने भाग्यको खेला...... धाराप्रवाह आँशु सहित बगेका यि पीडाले धेरै कुरा झल्काउँथ्यो।

कोहीकोही बाआमा आफ्ना कोही आफन्त नभएपछि छिमकेीले आश्रममा ल्याएको बताउँथे। तर, धेरैजना बाआमाका छोराले बुहारीको कुरा सुनेर आश्रममा ल्याएका रहेछन्। ति छोराहरुलाई मेरो प्रश्न छ, ९ महिनासम्म गर्भमा राखेर कष्ट सहेर जन्माउने आमा, आफ्नो दश धारा दुध खुवाएर हुर्काउने आमा, आफ्ना खुट्टा फुटेर चर्रर्र रगत आउँदापनि छोराछोरीलाई जुता चप्पलको जोहो गर्ने बुवा, आफु भोकै बसेर छोराछोरीको लागि चारो जुटाउने आमा, एकदिन बच्चा विरामी हुँदा सात दिनसम्म ननिदाउने आमा, छोराछोरीको उपचारको लागि अर्काको काममा काँधको छाला खुइलाउने बुवाको संघर्षलाई लात मारेर तिनै बाआमाले हुर्काएर, स्याहार गरेर लाठे बनाएर, तिनै बाआमाले श्रीमती खोज्न सक्ने बनाएर बिहे गरेको छोराले श्रीमती पाएपछि उसैका कुरा सुनेर बाआमालाई आश्रममा मिल्काएर कुन आत्माले न्यानोमा बसेर तातो खानेकुरा खान सक्दो हो?

पुष, माघको चिसोमा असी, नब्बे वर्ष पुगेका बुढाबुढी हजुर बाआमाहरु लौरीको सहारामा भित्र बाहिर गरेको देखिन्थ्यो। खुट्टामा बाक्लो मोजा थिएन, अंगमा बाक्लो लुगा थिएन एकजना ८३ वर्षको बुवाले भने ‘आफुले जन्माएका सन्तानले त मिल्काए अरुका छोराछोरीले धन्न आजसम्म पालेका छन् के भन्नु र खोइ’? ‘राम्रोसित सास गइदिए हुन्थ्यो, अहिले यस्तो हुन्छ भन्ने जानेको भए सन्तान नपाइकन बसिन्थ्यो, उ बेलामा छोरो पाउँदा के के न होला भन्ने ठानियो कम्तिमा एउटी छोरी भइदिएको भए कठै मेरो बा त भन्थी होला, छोराको मन बुहारी पाएपछि रुखो हुँदो रहेछ।'

‘पहिलेपहिले काखमा खेलाएको छोरो खोक्दा रातभरी बाआमा निदाउन सक्दैनथे, मरिहाल्छ कि भन्ने पीरले भातै नखाइ बसियो तर अहिले बुढा बाआमा रोगले थल्लिएर एकैछिन खोक्दाखेरी छोरा बुहारीको निद्रा बिथोलिन्छ, कुमालेको चक्र हो समय बुढ्यौली सबैलाई आउँछ चोला फेर्ने सबैले हो चित्त बुझाउँदै बस्नुपर्छ’, बत्ति कात्दै गरेकी एक आमाले पोखेको यो पीडा मिश्रित भावले तरगिंत बनायो।

बाआमाको सम्पति चिराचिरा पारेर अंश लगाउँछन छोराहरुले तर तिनै छोराको कमाइको बारेमा सोध्ने अधिकारसमेत बाआमालाई हुँदैन। सन्तानको कमाइको १० प्रतिशत बाआमालाई दिनुपर्ने नियम बनाइएको छ, कागजी रुपमा व्यवहारमा कहिलेदेखि लागु हुन्छ पत्तो छैन। अबको पुस्ता बाआमा पाल्नुको साटो पैसा दिएर अधिकारबाट उम्किने प्रवृति नबढ्ला भन्न सकिंदैन। सन्तान र अभिभावकवीचको सम्बन्धलाई पैसाले होइन आत्माले कसिलो बनाउनुपर्छ। कुनै जागिर नगर्नेहरुले बाआमालाई १० प्रतिशत रकम कसरी दिन्छन्? पैसाको माया क्षणिक हुन्छ, भावनाको माया दीर्घकालिन हुन्छ। रगतको नाता पैसामा बिक्ने खालको बन्नुहुँदैन। एकजना छिमेकी बुवाको पोहोरसाल निधन भयो, काजक्रियाको लागि विदेशबाट छोरा आए तर भाडामा मान्छे खोजेर १३ दिनसम्म क्रिया बसाले छोराले केही गरेनन्। हुन त जिउँदो हुँदा वास्ता नगर्नेले मरेपछि कोकोहोलो मच्चाउनु बेकार हो तैपनि आफु हुँदाहुँदै अर्को मान्छेलाई क्रिया बसाउनु कस्तो संस्कार होला? यस्तो छोरो हुनुभन्दा त नभएकै बेस छिमेकीले कुरा काटे तर केही प्रभाव देखिएन।

हाम्रो समाजमा बाआमा पाल्ने दायित्व छोराको काँधमा छ, अब यस्तो हुनुहँदैन। छोरा र छोरी बराबर हुन्, बुआमा छोरीले पनि पाल्न पाउनुपर्छ। छोरीले जसरी आफ्ना बाआमालाई सम्मान गर्छिन् सासु ससुराको हकमा पनि त्यही व्यवहार हुनुपर्दछ। कसैकी बुहारी हुन पुगेकी नारी पनि छोरी हुन्, उनले आफ्ना बाआमालाई गर्ने व्यवहार सासुससुराको हकमा गर्न सकिन् भने कुनैपनि छोराले आफ्ना बाआमालाई आश्रममा पुराउँदैनन्। जहिलेपनि बुआमापछिको साइनो श्रीमतीको हुन्छ। अघिल्लो साता प्रकाशित भएको समाचार अनुसार धनुषाको जनकनन्दनी गाउँपालिकाको असी वर्षका बुवालाई आफ्ना छोराहरुले सम्पती आफ्नो नाममा बनाई घरबारविहीन बनाए। छोराहरुले पुस्तेनी घडेरी र जग्गा आफ्नो नाममा गराएर घरबाट निकालेपछि असी वर्षीय बृद्ध बुवा न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय धनुषामा छोराविरुद्ध निवेदन दर्ता गराउन पुगे। यो उमेरमा एउटा बाबुमाथि छोराले गरेको यो भन्दा ठुलो अत्याचार, ठुलो अपराध अरु के होला? यस्ता घट्नाहरु हरेक दिनजसो देशका हरेक ठाउँमा घटिरहेका हुन्छन्। आखिर किन यति अमानवीय, किन असहिष्णु भइरहेको छ अहिलेको पुस्ता? अहिलेको पुस्तालाई लाग्दो हो हामी बोट नभइकिन त्यसै फल लागेका हौँ भनेर तर आफुले सन्तान जन्माएपछि थाहा हुन्छ बाआमा बन्दाको सास्ती र कष्ट।

घरपरिवारमा राम्रो व्यवहार, मिठो बोली व्यवहार पाएको भए बुढाबुढी बाआमा चिसो सडकमा बसेर पक्कै आन्दोलन गर्दैन्थे। राजधानीको मिन भवनमा लामो समयसम्म ज्येष्ठ नागरिकले आफ्ना हक अधिकारको लागि आन्दोलन गरे, आन्दोलनकै दौरानमा कतिपय बृद्धबृद्धाको सडककै चिसोले निधन भयो। ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा ४ मा ‘ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नुपर्ने कर्तव्य भएको परिवारको सदस्य, नातेदार वा हकवालाले निजलाई आफुसँगै राखी पालनपोषण तथा हेरचाह नगरेमा वा गर्ने व्यवस्था नगरेमा त्यस्तो ज्येष्ठ नागरिकले पालनपोषण तथा हेरचाहका लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वडा अध्यक्षसमक्ष उजुरी दिन सक्नेसम्मको व्यवस्था छ।' बाआमा आफ्नै सन्तानको विरुद्धमा उजुरी गर्न जाँदैनन् बरु आफै कष्टपुर्ण जिन्दगी बिताउन चाहन्छन्, यदाकदा उजुरी गरेपनि उनीहरुले न्याय पाउँदैनन्। राज्यले बृद्धभत्ता बढाएर ज्येष्ठ नागरिक पालिरहने कि सन्तानलाइ संस्कारको बारेमा सुसुचित गराउने? छोरी ज्वाइँलाई छोराबुहारीलाई भएपछि बाआमा चाहीं राज्यको बृद्धभत्ताको आशमा बाच्नुपर्ने?

प्रकाशित : माघ २४, २०७४ १४:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश ४ मा राष्ट्रियसभाको लागि भएको मतदान सकियो

भीम घिमिरे

पोखरा — प्रदेश ४ को राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । मतदान गरेर सबै मतदाता हिँडे पनि सम्पन्नको घोषणा पूर्वनिर्धारित भनिएको समय ३ बजेमत्रै गरिने भएको छ । 

क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख गंगालाल सुवेदीका अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख १७० जना सबैले मतदान गरे भने प्रदेशसभा सदस्यमध्ये पक्राउ परिने डरले लुकेका मनाङका दीपक मनाङ्गे भनिने राजीव गुरुङबाहेक ५९ जना सबैले मतदान गरेका छन्।

प्रदेश ४ बाट ८ सीट मध्ये अपांगताको कोटामा कांग्रेसका प्रकाश पन्थ निर्विरोध भएपछि ७ सीटका लागि मतदान भएको हो। राष्ट्रियसभाका लागि एमालेबाट गणेश तिमिल्सिना, दीपा गुरुङ, शान्ति अधिकारी, माओवादीबाट दीनानाथ शर्मा, खुमबहादुर बिक, कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, विन्दा राना, जीतबहादुर नेपाली र राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र मीना पुन उम्मेदवार छन्।

मतगणना साँझ ५ बजेदेखि थालिने मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताएका छन्।

प्रकाशित : माघ २४, २०७४ १३:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT