१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दीर्घकालीन सुधारको खाँचो

काठमाडौँ — राजनीतिक संकटका बेला राज्यहरूले मानवअधिकारप्रति कडाइको नीति लिने गरेको पाइन्छ।

कतार भने त्यसको ठिक विपरीत उभिएको छ। गल्फ को–अपरेसन काउन्सिल (जीसीसी) का अधिकांश राष्ट्र सम्मिलित तथा साउदी अरेबियाको नेतृत्वमा भएको आथिर्क तथा राजनीतिक नाकाबन्दीपछि पनि गत अक्टोबरमा कतारले अन्तर्राष्ट्रिय श्रम सगठन (आईएलओ) र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयुसी) सँग आप्रवासी श्रमिकहरूको क्षेत्र सुधारको अभियानलाई गति प्रदान गर्ने सहमित गर्‍यो।

अन्य प्रतिबद्धताका अलावा कतारले जबर्जस्ती श्रम र मानव बेचबिखनको अन्त्य गर्ने, तलब सुरक्षा प्रणालीको सुधार र विस्तार गर्ने, श्रमिकहरू कुन देशका नागरिक हुन् भन्ने कुरासँग निरपेक्ष रहेर उनीहरूको न्यूनतम तलब दर लागू गर्ने र जुन देशबाट श्रमिकहरू आउँछन्, त्यही देशमा नै भिसा दिने व्यवस्था मिलाएर श्रमिक भर्नाका क्रममा प्रारम्भमै उनीहरूमाथि हुने ज्यादतीको सम्बोधन गर्ने जस्ता सुधार गर्ने घोषणा गर्‍यो।


त्यस्तै एउटा नयाँ कानुनले कतारका घरेलु श्रमिकहरू, खासगरी महिलाको केही आधारभूत श्रम अधिकारलाई मान्यता प्रदान गर्न खोजेको छ। अर्को सबैभन्दा महत्त्वपूर्ण विषयको रूपमा श्रमिकलाई रोजगारदाता परिवर्तन गर्ने र कतारबाट बाहिरिने कुरामा रहेको प्रतिबन्ध हटाएर त्यहाँ विद्यमान कफला प्रणालीमा सुधार गर्ने कतारको प्रतिबद्धतालाई लिन सकिन्छ। सामान्य चलनचल्तीको भाषामा भन्ने हो भने कतारले आईएलओसँग गरेको प्रतिबद्धताले समस्याको गाँठोमै प्रहार गरेको छ। त्यति हुँदाहुँदै पनि सुधार अभियानमा उल्लेख्य चुनौतीहरू भने रहेका छन्। कतारमा झन्डै २४ लाख विदेशी श्रमिक रहेका छन्। तीमध्ये अधिकांश न्यून तलबका काम गर्नेहरू छन्। नेपाली आप्रवासीहरू कुलमध्ये दोस्रो ठूलो सख्यामा रहेका छन्। जसको संख्या ४ लाखभन्दा बढी रहेको बताइन्छ। त्यत्रो संख्याका श्रमिकहरूलाई सम्मानजक र मर्यादित रूपमा काम गर्न पाउने अवस्था सुनिश्चित गर्न केही समय लाग्नेछ भने उल्लेख्य इच्छाशक्ति र स्रोतको पनि आवश्यकता पर्नेछ।


आईएलओसँग भएको सम्झौता अनुसार श्रमिकको सहभागिता बढाउने भनिएको छ। तर कतारले स्वतन्त्र ट्रेड युनियन माथिको प्रतिबन्ध हटाउन भने बाँकी नै छ। अहिलेसम्म पनि रोजगारदाताले उसका श्रमिकलाई ‘भागेको’ आरोपमा कानुनी कारबाही अगाडि बढाउन सक्छ। ‘भागेका’हरू विरुद्ध फौजदारी सजाय हुने प्रावधान छ। जसको चेपुवामा त्यस्ता धेरै आप्रवासी श्रमिकहरू पर्ने गरेका छन्, जोसँग आफूमाथि ज्यादती गर्ने रोजगारदाताबाट उम्कन भाग्नुको विकल्प हुँदैन। काम छाडेर जान खोज्नेलाई प्रहरीले अपराधी मानी पक्राउ गर्छ। पीडितको रूपमा स्वीकार गरी न्याय प्रदान गर्दैन भन्ने कुरा जानेर नै ज्यादतीमा संलग्न केही रोजगारदाताले श्रमिकहरूको भिसा रद्द गरिदिने गर्छन्।


विवाहेत्तर यौनसम्बन्ध राख्नु महिला र पुरुष दुवैका लागि गैरकानुनी मानिन्छ। यसले गर्दा यौन ज्यादतीमा परेका महिला श्रमिकहरूलाई सहयोग गरिनुको साटो उल्टै सजायको डर हुने गर्छ। श्रमिकहरूमाथि भएको व्यवहारको विरुद्ध उजुरी गरेकै कारणले पनि श्रमिकहरूले प्रतिशोधको सामना गर्नुपर्ने हुनसक्छ। स्वतन्त्र नागरिक समाजको भूमिका पनि अत्यन्तै सीमित पारिएको छ। नेपाल पत्रकार महासंघद्वारा हालसालै दोहामा सम्पन्न एक कार्यक्रमबाट नेपाली पत्रकारहरूलाई पक्राउ गरी ६ घन्टासम्म बयान लिएर

छाडिएको घटनाले स्वतन्त्र पर्यवेक्षक एवं श्रमिकहरूमा समेत कतारका श्रमिकहरूको जायज चासो र चिन्ताका विषय उठान गर्न डर पैदा गराएको छ।


जीसीसीका अन्य छिमेकी राष्ट्रहरूमा जस्तै गरेर कतारमा पनि माथि उल्लेख गरिएका जस्ता चुनौतीहरू विद्यमान रहेका छन्। अहिलेसम्म पनि अन्य राष्ट्रहरूले नागरिक स्वतन्त्रतामाथिको बन्देजलाई निरन्तरता दिइरहँदा र नगन्य मात्रामा श्रम क्षेत्रको सुधार गरिरहँदा कतारले भने साहस र सुधारको लागि प्रतिबद्धता देखाएको छ। उसले आफ्नो सुधार प्रयासहरूको थालनीका लागि स्वतन्त्र पर्यवेक्षकहरूलाई संलग्न गराउने इच्छाशक्ति पनि देखाएको छ। आटीयुसीसँगै विल्डर्स एन्ड वुडवर्कर्स इन्टरनेसनल (बीडब्लुआई) समेतका दुइटा प्रमुख अन्तर्राष्ट्रिय ट्रेड युनियन प्रतिनिधिमूलक निकायहरूलाई २०२२ को फिफा वल्र्डकप हुने साइटको संयुक्त निरीक्षणका लागि खुल्ला रूपमा आमन्त्रण गर्नु कतारको सच्चा प्रयासको द्योतक हो। यी प्रयासहरूलाई खाडी क्षेत्रमै भएका उल्लेख्य प्रयासका रूपमा लिन सकिन्छ। किनकि खाडीका सरकारहरू ट्रेड युनियनमाथि कठोर मानिन्छन्। सरकारी अधिकारीको प्रशासनिक सुधारका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कतारले अन्तर्राष्ट्रिय श्रम संगठनलाई कतारमै कार्यालय स्थापना गर्न खुला रूपमा

निमन्त्रणा गर्‍यो। अझ यतिसम्म कि आईएलओलाई श्रमिकहरूबाट सोझै उजुरीहरू ग्रहण गर्न अनुमतिसमेत दिएको छ। यस अघि त्यस्तो कहिल्यै भएको थिएन, जुन आफैँमा सकारात्मक कदम हो। कतारको सन्देश स्पष्ट रूपमा आएको छ कि ‘हामी इमानदारीपूवर्क सुधार गर्न चाहन्छौँ र यसका लागि हामीले सहकार्य गर्नुपर्छ।’


कतारको श्रम क्षेत्र सुधारको प्रारम्भिक प्रयासहरूको अध्ययनका लागि मैले यसै महिनाको प्रारम्भमा कतार भ्रमण गरेको थिएँ। सर्वसाधारण श्रमिकहरूका अलावा मैले त्यहाँका श्रममन्त्री डा. इसा साद ए अल नाइमी र अन्य सरकारी अधिकारीहरूसँग पनि भेट गरेको थिएँ। हाम्रो लामो छलफलमा डा. इसाको यस विषयमा रहेको विस्तृत जानकारी, श्रम क्षेत्रको सुधार गर्ने उत्कट इच्छाशक्ति र आगामी दिनमा आइपर्न सक्ने चुनौतीहरूप्रतिको इमानदार स्वीकारोक्तिबाट म अत्यन्तै प्रभावित भएको छु। मैले कुराकानी गरेका सबै श्रमिक र सरकारी बैठक बाहेकका मैले भेटेका अन्य व्यक्तिहरूले आफू रोजगारीको आसमा र आफ्ना परिवारजनको उज्ज्वल भविष्यको अभिलाषा बोकेर कतार आएको बताए। उनीहरूले सुधारको यो प्रयासलाई सकारात्मक र चासो दुवै हिसाबले हेरेको पाएँ। एउटा होटलको डेस्क सहायकको रूपमा कार्यरत एकजना नेपाली श्रमिकले मलाई भने, ‘म यो कामना गरिरहेको छु कि अहिले भइरहेको यो सुधारको प्रयासले यहाँको अवस्था राम्रो बनाओस्। मेरो चाहना त यतिमात्र हो कि सम्मानजनक र

सुरक्षित तवरले काम गर्न पाइयोस्। कतारमा यो काम गर्ने अवसर पाएकोमा म धन्यवाद पनि भन्न चाहन्छु, जसको कारणले गर्दा मैले मेरा बालबच्चाहरूलाई राम्रो स्कुलमा पढाउनसकेको छु।’


यथार्थमा अहिलेको चरण भनेको प्रारम्भिक हो र विश्वको ध्यानाकृष्ट भएको श्रम मापदण्डमा सुधार गर्न स्थायी प्रकृतिको दीर्घकालीन प्रयास आवश्यक पर्छ। ट्रेड युनियन अभियन्ता तथा नेपाल लगायतका सामुदायिक अभियन्ता सहितका श्रम अधिकार विज्ञहरू एवं नागरिक समाजको सहयोगबिना अहिले थालिएको सुधारका प्रयासहरूले सफलता पाउन सक्दैन। कतारले उसका मनमोहक टावर निर्माण गरिदिने, भौतिक सरचनाहरूका सेवा प्रदान गरिदिने र बालबच्चाको स्याहार–सुसार गरिदिने हजारौँ महिला तथा पुरुष श्रमिकहरूको आधारभूत अधिकारप्रति बृहत्तर सम्मानको मार्गचित्र तयार

गरेकोमा त्यसको जश उसलाई दिनैपर्छ।


-मुस्तफा कादरी

कादरी श्रमिकहरूको अधिकारबारे अनुसन्धान गर्ने बेलायतमा मुख्यालय रहेको संस्था ‘इक्विडेम रिसर्च

एन्ड कन्सल्टिङ’का कार्यकारी निर्देशक हुन्।

प्रकाशित : माघ २७, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?