प्रेम दिवसको विरोध किन ?

नवीन रायमाझी

अमेरिका — भ्यालेन्टाइन डे भन्ने शब्द सबैभन्दा पहिले सन् १९९४ मा भारतको गोवामा देखेको/सुनेको हो । आजकै दिन मान्छेहरु रातो गुलाफको फुल हातमा लिएर यताउति गरिरहेका थिए र पसलहरुमा ठुला ठुला अक्षरमा "ह्याप्पी भ्यालेन्टाइन डे" भनेर लेखेको तुल झुण्ड्याइएको थियो ।

प्रेम दिवसको विरोध किन ?

आज अंग्रेजी महिनाको फेब्रुवरी १४ तारिख अर्थात् भ्यालेन्टाइन डे । यो दिबस ईसाई र ईसाई-प्रभावित संस्कृति भएपनि आजकाल बहुराष्ट्रीय पर्व हुँदैछ । नेपालमा पनि यो दिनलाई जानेर वा अरुको अगाडि आफुलाई आधुनिक देखाउन मनाउने वा पाखण्ड गर्ने जमात बाक्लै देखिन्छ, धन्न यो दिनमा सरकारी बिदा चाहियो भन्ने माग अहिलेसम्म आएको छैन । अमेरिकास्थित ग्रिटिङ कार्ड एसोसिएशनको अनुसार क्रिसमस पछि ग्रिटिङ कार्ड यसै दिनमा सबैभन्दा बढी बिक्री हुन्छ । करिब पाँच करोड कार्ड बिक्री हुने यो दिनलाई प्रेम दिबस भन्ने पनि गरिन्छ ।


पंक्तिकारले म जस्तो निम्न मध्यम बर्गीय परिवारमा जन्मे हुर्केको व्यक्तिलाई प्रेम भन्ने शब्द मुखबाट निकाल्न पनि अपराध जस्तै हुन्थ्यो । ट्रकको पछाडी लेखिएको "प्रेम गर तर धोका नदेउ" भन्ने बाक्य भन्दा स्कुलको प्रधान अध्यापक स्व. दमन प्रसाद आचार्यले पोलिथिन पाइपको टुक्राले खुट्टामा हानेको अहिलेसम्म बिर्सिन सकेको छैन ।


फर्कौं गोवा तिरै, भ्यालेन्टाइन डेको बारेमा पहिलो पटक सुनेको भए पनि यो पर्वमा आफु निकै अभ्यस्त भएको देखाउन ४५ रुपियाँमा एउटा कार्ड त किनियो तर त्यो कार्ड दिने कसलाई? कार्ड लिने मान्छे कोहि नभए पनि कार्ड पसले मसँग निकै प्रभावित भएको थियो किनकि त्यो समयमा प्राय अरु मान्छेहरु त्यस्तै १५-२० रुपियाँ पर्ने कार्ड खरिद गरिरहेका थिए । कार्ड साहुजीको दृष्टिमा जति भब्य मान्छे प्रमाणित हुन सफल भए पनि त्यो ४५ रुपियाँ व्यार्थमा गएकोमा मलाई कति दुख लागेको थियो त्यसको अनुभव अरु कसैले गर्न सक्दैन, तर मेरो त्यो औचित्यहीन नाटक सफल भयो ।


जानकारहरुका अनुसार यो दिनमा प्रेमी–प्रेमिका मात्र होइन जसले आफुलाई स्नेह राख्छ त्यो मान्छेलाई उपहार दिएर वा उसँग केहि समय बिताएर मनाउने प्रचलन छ । यद्यपी प्रेम गर्न किन एक दिन मात्र तोक्नु पर्यो? यो त बर्षै दिन र चौबिसै घण्टा गर्दा पनि हुन्छ भनेर कुतर्क गर्ने जमात पनि छ, त्यस्ता ब्यक्तिहरुलाई मेरो जवाफ निधारमा टिका लगाउन किन बिजयादशमी वा दशैं नै कुर्नु पर्यो भन्ने छ । सबै दिन वा पर्वको कुनै न कुनै महिमा हुन्छ । यदि त्यो समाजमा नभएको र त्यो संस्कारको बारेमा जानकारी नभएको ब्यक्तिलाइ त्यस्तो दिनको बारेमा कुनै मतलब नहुन सक्छ तर यो बिल्कुलै गलत हो भनेर भन्न सकिन्न ।


यो कुरा सुनेर धेरैले बिरोध गर्लान् तर सत्य के हो भने यो दिनलाई हामी सिधै यौनसँग जोडेर हेर्छौ, त्यो नितान्त गलत र जानकारीको अभाव हो वा घटिया मानसिकता । अर्को धर्म वा समाजको पर्वको बारेमा यो त बिल्कुलै गलत हो भनेर कुनै पनि सभ्य व्यक्तिले भन्न मिल्ने कुरा होइन । यसको साथै मलाई यो पर्वको बारेमा कुनै जानकारी छैन र मलाई कुनै इच्छा लाग्दैन भनेर कसैले भन्छ भने त्यो उसको स्वतन्त्रताको कुरा हो ।


प्रस्तुत आलेखमा मैले भ्यालेन्टाइन डेको बारेमा कुनै वकालत गर्न खोजेको होइन र म आफैलाई पनि यो दिन कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेको जस्तो छ । जसलाई यो दिवसको दिन खुशी हुन्छ वा उमंग हुन्छ उसले मज्जाले मनाउनु होला र जसलाई कुनै मतलब लाग्दैन उसले नमनाउनु होला, तर पाखुरा सुर्केर यसको बिरोध गर्नुको कुनै तुक छैन । यसको साथै यो पनि सत्य हो कि प्रेम जस्तो बिस्तृत र ब्यापक बिषयलाई जसले जोसँग पनि गर्न सक्छ, तर कसलाई प्रेम गरिन्छ । उसको मर्यादा मा रहनु पर्छ । प्रेम दिवस मनाउने विचार गर्नु भएका सबैलाई मेरो तर्फ बाट "ह्याप्पी भ्यालेन्टाइन डे ।"

प्रकाशित : फाल्गुन २, २०७४ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?