कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

यसरी पनि तुहिन्छ सपना परदेशमा

विनिता थापा

दैनिक १–२ घण्टा फोनमा कुरा गर्ने मान्छे मैले भिषा पाएपछि अचानक फोन नै नउठाउने, उठाए पनि म बिजी छु भन्न थालिन् । मैले मसंग किन कुरा नगरेको कुनै समस्या छ ? भनेर सोध्दा, अब हजुरसंग यतै आएपछि कुरा गरौंला भन्न थालिन्, मलाई पनि हो नि त जस्तो लाग्यो ।

यसरी पनि तुहिन्छ सपना परदेशमा

बिगत चौध बर्षदेखि अमेरिका बस्दै आएको मैले अनेकौ कथा-व्यथा वा सुखदुख भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई भेटेकी छु । प्राय सबैका साझा समस्या भनेको कुनै बिशेष सीप नहुनु, अंग्रेजी भाषामा राम्रो दखल नहुनु, वास्तबिकता भन्दा निकै फरक सपना देखेर यहाँ आउनु हुन् । तर करिब दुई महिनाअघि मैले भेटेको र नेपालमै परिचय भएको एक नेपाली व्यक्तिको कथा अरुको भन्दा बिल्कुलै फरक र कुनै चलचित्रको जस्तो लाग्ने थियो ।

यदी उहाँले सबैकुरा सत्य बोलेको हो भने (मलाई भने उहाँले सत्य बोलेकोमा शतप्रतिसत विश्वास छ) यस्तो अचम्म लाग्दो र छक्क परिने घटना न त मैले पहिले सुनेको/देखेको थिएँ नत पछि नै देख्न/सुन्न परोस् । म आशा गर्दछु यस्तो दुर्घटना कसैको जीवनमा पनि नहोस् । व्यक्तिगत गोप्यताको लागि नामहरु गोप्य राखिए पनि स्थान र घटना वास्तबिक हुन् । उहाँले भोगेको शुरुदेखि अन्तसम्मको भोगाइ उहाँकै शब्दमा यहाँ प्रस्तुत गरेको छु ।

सामान्यता नेपाली चलन अनुसार बिबाह गर्ने उमेर नाघिसकेको अबस्थामा एउटा मित्रबाट आएको प्रस्तावलाई सहर्ष स्वीकार गरेर उनीसंग बिबाह गर्न उनकै सहयोगमा के वान भिसा लिएर म अमेरिका आएको हुँ । काठमाडौँको एउटा प्लस टु कलेजमा अध्यापन गरेर मध्यमवर्गीय जिन्दगी बिताइरहेको मैले उनीसंग बिबाह गर्न सहमत हुनुमा अमेरिका बसे पनि सम्पूर्ण परिवारसंगै बस्ने र पूर्ण अनुसाशित र नेपाली शैली कै जीवनस्तर भएकोले हो, अर्कोतर्फ सजिलै अमेरिका आएर बसोबास गर्न पाइने आशा पनि भएको कुरालाई पनि नकार्न सकिंदैन । उनको माता पिता काठमाडौँमा श्रीमद्भागबत् सप्ताह लगाउन आएको समयमा दुवै परिवारको सहमतिमा म अमेरिका आउने र यतै आएर बिबाह गर्ने सल्लाह भयो ।

मैले उनको भाईबाट फोन नम्बर लिएर के तिमी तिम्रो अभिभावकको कुरासंग सहमत छ्यौ भनेर सोध्दा उनले म आफ्नो बाबुआमाले भनेको कुरालाई नाईं भन्दिन र उहाँहरु खुशी हुने भएकोले म हजुर संग बिबाह गर्न तयार छु भनेर हाँसीहाँसी भनिन् । त्यसको केही दिन पछि म अमेरिका आउने प्रक्रिया शुरु भयो, उक्त प्रक्रियामा प्रमाण स्वरूप मेरो र उनको संगै बसेको फोटो चाहिने भएकोले उनी मलाई भेट्न र त्यो फोटो खिच्न मात्र १५ दिनको लागि एक्लै काठमाडौँ आइन् । उनको इच्छा बमोजिम मैले गोरखा मनकामनादेखि दक्षिणकाली र काभ्रेपलान्चोक भगवतीसम्मका मन्दिरहरुमा जाने ब्यबस्था मिलाइदिएँ, अर्थात ति सबै मन्दिरहरुमा हामी संगसंगै गएका थियौं । १५ दिन पछि खुशी साथ उनी अमेरिका फर्किन र प्रक्रिया शुरु गरिन् । उक्त सबै प्रक्रिया पुरा गर्न करिव पाँचदेखि सात हजार अमेरिकी डलर खर्च भयो । त्यो सबै उनले नै तिरेकी हुन् । प्रक्रिया शुरु गरेको करिव तीन महिना पछि भिसा लिने समय आयो, उनी अमेरिकी नागरिक, आम्दानी र कर तिरेको पनि सन्तोषजनक भएकोले मैले सजिलै भिसा पाएँ ।

यो कुरालाई मैले सामान्य रुपमा लिएँ । त्यही बीचमा पनि उनको बुबासंग मेरो नियमित टेलिफोन सम्पर्क भइरहेको थियो । भिषा पाएको करिब चार महिना पछि उनीसंग बिबाह गरेर बाँकी जीवन यतै बिताउने कल्पना गर्दै खुशी–खुशी अमेरिका आएँ ।

त्यसपछि सुरु भयो अचम्म लाग्दो र सपनामा पनि नसोचेको घटना, म पुगेकोमा सम्पूर्ण परिवार खुशी छन् तर उनलाई भने कुनै मतलब छैन, नत उनी मसंग कुरा गर्छिन् नत मेरो कुनै वास्ता नै गर्छिन् । उनको यस्तो ब्यवहार देख्दा मलाई आश्चर्य मिश्रित् दुख लाग्यो । यसपछि मैले उनको मातापितासंग यस्तो के भएको भनेर प्रश्न गर्दा कसैले मेरो काठमाडौँमा घर जग्गा केही नभएको सुकुम्बासी मान्छे हो भनेर सुनाइदिएकोले अलिकति रिसाएकी छिन् हामी सम्झाउँछौं तपाईं चिन्ता नलिनुस भन्नुभयो ।

मैले पनि भइगयो भनेर अझै केही दिन यस्तै बेइज्जतपूर्ण रुपले उनकै घरमा बसें । परिवारका सबै सदस्यले अति राम्रो ब्यवहार गरे पनि जोसंग बिबाह गरेर नाता गाँस्न आएको थिएँ, उसले शत्रु जस्तो ब्यबहार गर्दा मेरो मनस्थिति कस्तो भन्यो होला त्यो अनुभव मैले मात्र गर्वान सक्छु । यदि अस्तित्वमा छन् भने भगवानले गर्न सक्लान् । करिब ३५ दिन उनको घरमा असजिलो अबस्थामा बसेपछि मलाई अब मेरो र उनको बिबाह कुनै हालतमा पनि हुन् सक्दैन भन्ने निर्णय गरेर सबैसंग बिदा हुँदै अर्कै राज्यमा बसोबास गरिरहेको साथीको घरतर्फ हिडें ।

त्यसपछि उनको र उनको परिवारको कुनै गतिबिधिको बारेमा मलाई जानकारी छैन र अब जानकारी हुनुपर्ने कुनै मतलब पनि भएन । धनाढ्य नभए पनि काठमाडौँमा घर जग्गा नभएको सुकुम्बासी भने म होइन । करिब दुई वर्षसम्म बिबाह गर्ने सोच बनाएको र आफुलाई मातापिताको आज्ञाकारी भएको दावी गर्ने मान्छेले एउटा अपुष्ट कुराको विश्वास गरेर पिता र लगभग मृत्यु शैयामा रहेकी बिरामी आमालाईसमेत दुखी बनाउँदै मसंग बिबाह नगर्नुको कारण के होला त्यो भने बुझ्न नसकेकोमा मलाई जिन्दगी भरि खसखस लागि रहनेछ ।

मलाई लाग्छ उनी आफैसँग कुनै समस्या भएको र त्यो समस्या अरुले थाहा पाए बेइज्जत हुने डरले यो बिबाह अस्वीकार गरेको हुनुपर्छ, तर यो मेरो अनुमान मात्र हो । उसकी बहिनीले पनि बिबाह गरेपछि उसको श्रीमान्सँग असमझदारी भएर लगभग बिबाह टुट्ने अबस्थामा पुगेको र पछि सम्झौता भएको कुरालाई हेर्दा बिना काम निहुँ खोजेर मेरो जीवनलाई "डिस्टर्ब" गर्न खोजेको हो जस्तो लाग्छ । यदी आफुले सर्वगुण सम्पन्न मान्छे खोज्ने हो भने आफु पनि सर्वगुण सम्पन्न हुनुपर्यो, मलाई त उ म भन्दा कुनै बिशेष गुण भएको जस्तो लाग्दैन । म फर्किने समयमा उनको बुबाले मसंग सम्पर्क राखि रहनुहोला भनेका थिए । तर, त्यस्तो औचित्यहीन सम्पर्कलाई निरन्तरता दिनु बेकार हो जस्तो लागेर मैले पुरानो फोन नम्बर परिबर्तन् गरिदिएँ र हाल मेरो उहाँसंग पनि कुनै सम्पर्क छैन ।

उनले मलाई म हजुरसंग बिबाह गर्दिन भन्दा त्यो समयमा त म स्तब्ध र दुखी भएको थिएँ । तर, अहिले भने भगवानले मलाई त्यो भन्दा राम्रो हुनको लागि त्यस किसिमको धक्का दिएका होलान भनेर चित बुझाएको छु । हाल म सामान्य अबस्थामा निकै खुशीका साथ अमेरिका मै बसेर आफ्नो दिनचर्या गरिरहेको छु ।

सुन्दा अचम्म र छिटै विश्वास नलाग्ने यो घटनालाई केही मित्रहरुसंग बुझ्दा सबैले सहमति जनाएकोले यो आलेख लेखेकी हुँ । चलचित्र निर्माण गर्दा पनि निकै सनसनीपूर्ण र रोचक हुने यो घटना म सुन्नेलाई त यति अचम्म लाग्छ भने भोग्ने व्यक्तिलाई के भयो होला भनेर अनुमान मात्रै लगाउन सकिन्छ । यसरी कसैको भावनामा कसैले पनि चोट पुर्‍यान हुदैन जस्तो लाग्छ ।

प्रकाशित : फाल्गुन ४, २०७४ ०६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?