२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

किन पुग्छन् बिना काम नेपाली नेता अष्ट्रेलिया?

नारायण खड्का

अष्ट्रेलिया — नेपालका मन्त्री तथा नेताहरुबाट हुने अधिकांश भ्रमणहरु कुटनीतिक र द्विपक्षीय नहुने भएकाले यहाँको दुतावासले कि त उनीहरुको भ्रमणको बारेमा जानकारी नै नपाउने कि अन्तिम समयमा मात्र पाउने गरिएको छ । जसका कारण नेपालको प्रतिनिधित्व हुनेगरी उनीहरुलाई समकक्षी मिटिङ र छलफलमा सहभागी गराउन नसकिने गरिएको दुतावासका अधिकारीहरुको भनाई रहेको छ ।

किन पुग्छन् बिना काम नेपाली नेता अष्ट्रेलिया?

करिब ९ महिनाअघि तत्कालिन उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले यहाँको प्राविधिक शिक्षाका बारेमा अध्ययन गर्न भन्दै जम्बो टोली लिएर अष्ट्रेलियाका बिभिन्न शहरहरुको भ्रमण गरे । आफ्नो कार्यकाल टुङ्गिन लागेको थाहा हुँदाहुँदै करिब एक साताअघि दुई राज्यमन्त्रीले एक साता लामो अष्ट्रेलियाको अध्ययन भ्रमण सकाएर भर्खरै फर्किए । अर्का एक मन्त्रीले आफ्नो मन्त्रीपद खुस्किएपछि अन्तिम समयमा आएर आफ्नो भ्रमण रद्द गरे ।


पछिल्लो समयमा आधा दर्जन भन्दाबढी मन्त्रीहरुले बिभिन्न बहानामा अष्ट्रेलिया भ्रमणमा गरेका छन् । उनीहरुको भ्रमणको उपलब्धिहरुको बारेमा अहिलेसम्म कतैपनि सार्वजनिक नगरिएको भएपनि मन्त्री, बिभिन्न मन्त्रालयका सचिव, सहसचिवलगायतको भ्रमणको क्रम भने दैनिक रुपमा बढ्दै गएको छ । पछिल्लो समयमा बिद्यार्थीहरुका लागि मात्र नभएर नेपालका मन्त्री र नेताहरुको लागि पनि अष्ट्रेलिया प्यारो गन्तब्य बन्दै गएको छ ।



नेपाली मन्त्रीहरु अष्ट्रेलिया भ्रमणप्रति कति लालायित छन भने करिब एक साताअघि अर्थ राज्यमन्त्री र कृषि राज्यमन्त्री आफ्नो मन्त्रिमण्डलका प्रधानमन्त्रीले राजीनामा दिने पक्का भइसकेपछि हतार हतार अष्ट्रेलिया भ्रमणमा आए । उनीहरु अष्ट्रेलियाबाट नेपाल पुग्दा नपुग्दै पद भने खुस्कीसकेको थियो । अर्कोतिर अष्ट्रेलियाका प्रत्येक राज्यमा रहेका आफ्ना कार्यकर्ताहरुले ‘ज्वाईं सरह सम्मान र मेजमान’ गर्ने भएकाले समेत उनीहरु अष्ट्रेलियाको भ्रमणप्रति लालायित बनेको स्वयं कार्यकर्ताहरु नै स्वीकार्छन् ।


काँग्रेसी नेताहरुको भ्रमणलाई राम्रोसँग बुझेका सिड्नीका एक स्थानीय कांग्रेसी त पछिल्लो समयमा भएको दुई राज्यमन्त्रीको भ्रमण त अन्तिम समयमै भएपनि सित्तैमा अष्ट्रेलिया घुमेर आउने उद्देश्यले मात्र भएको बताउँछन् ।


९ महिनाअघि यहाँको टेफ (छोटो सयमको तर प्रभावकारी प्राविधिक शिक्षा दिने सरकारी संस्था) को भ्रमणमा सचिवहरु सहितको टोली लिएर आएका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको भ्रमणप्रति त दुतावासका कर्मचारीले नै असन्तुष्टि जनाएका थिए । सहसचिवस्तरको कर्मचारी आए हुने कार्यक्रममा देशको उपप्रधानमन्त्री जस्तो ब्यक्ति आउनु नसुहाउदो भएको भन्दै दुतावासका उच्च अधिकारीले गुनासो गरेका थिए ।


अर्कोतिर केहीदिनअघि मात्र आएकी कृषि राज्यमन्त्री सरिता प्रसाई राजधानी क्यानबेरा पुगेपनि दुतावास निस्कने आवश्यक्ता नै महसुस गरिनन् बरु सोही आसपास आफ्ना कार्यकर्ताहरुसँग भलाकुसारी गर्न भने भ्याईन् । मन्त्री आएको थाहा हुँदाहुदै दूतावासले पनि उनलाई बोलाउने वा दुतावासको बारेमा जानकारी दिने आवश्यक्ता ठानेन ।

कार्यकालको अन्तिम् समयमै एक साताअघि अष्ट्रेलिया आएका अर्थ राज्यमन्त्री उदयशमशेर राणाको भ्रमणको बारेमा समेत आफुहरुलाई शुरुमा औपचारिक जानकारी नदिएको भन्दै दुतावासले गुनासो गरेको थियो । पछि स्थानीय कार्यकर्ताको आग्रह र दुतावासका अधिकारीहरुको पहलमा क्यानबेरास्थित संसद भवनमा स्थानीय बरिष्ठ नेताहरुसँग भेटघाट गराइएको थियो ।


अष्ट्रेलिया घुम्न आउने प्राय: नेताहरुले द्विदेशीय सम्बन्ध सुधार र कुटनीतिक सम्बन्ध विस्तारको लागि भन्दापनि कार्यकर्ता भेट्ने र ओपेरा हाउस वरपर फोटो खिच्ने अनि समुन्द्री किनार घुम्ने काम मात्र गरेका छन् । मन्त्रीहरु स्वयं मन्त्रालयका उच्च अधिकारीहरुसँग अष्ट्रेलिया आउँदा समग्र नेपालको प्रतिनिधित्व गर्ने हुँदा उनीहरुकै कारणले नेपालीले यहाँ बनाएको राम्रो छविलाई समेत असर पर्नसक्नेप्रति यहाँका नेपालीहरु चिन्तित छन् ।

प्रकाशित : फाल्गुन ६, २०७४ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?