कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाम एकता : के होला बहुदलीय जनवाद र माओवाद ?

गंगा बीसी

काठमाडौँ — एमाले–माओवादीबीचको ‘एकीकरणका प्रारम्भिक आधारहरु’ मा सहमति भएसँगै एकताको ठोस आधार तय भएको छ । खासगरी दुबैले साझा मार्गदर्शक सिद्धान्त ‘मार्क्सवाद लेनिनवाद’ मानेका छन् । एमालेको बहुदलीय जनवाद र माओवादीको माओवादमा ‘विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने’ निश्कर्षमा दुबै दल पुगेका छन् । 

वाम एकता : के होला बहुदलीय जनवाद र माओवाद ?

यसको अर्थ दुबै दल आ–आफ्नो सिद्धान्त परिमार्जन गर्न तयार देखिएका छन् । बहुदलीय जनवाद र माओवादको साझा बिन्दुको रुपमा आखिरमा आएर मार्क्सवाद लेनिनवाद हुने देखिन्छ । बहुदलीय जनवाद र माओवादको विकसित रुपका बारेमा बहुदलीय प्रतिस्पर्धा र समाजवाद उन्मुख मिल्ने गरी सिद्धान्त तय गरिने छ । सहमतिको बुँदा नम्बर ६ मा सामाजिक रुपान्तरणमार्फत समाजवादका आधार निर्माण गर्ने भन्नुको अर्थ पनि यही हो ।


अहिले तत्कालका लागि एमाले र माओवादीले एकताको ठोस आधार तय गरेका हुन्, जुन सरकार निर्माणका लागि सहमति पनि हो । यसमै टेकेर माओवादी सरकारमा सहभागी हुँदैछ । रोचक कुरा के छ भने दुबै दलबीच भएको बुँदा नम्बर तीनचाहिँ अलि अमुर्तखालको छ । राजनीतिक विश्लेषकहरुले यसलाई फरक ढंगले ब्याख्या गरेका छन् । खासगरी माओवादीको दश वर्षे ‘जनयुद्ध’ लाई एमालेले कुनै पनि हालतमा स्वीकार गरेको छैन । त्यसको काउन्टर सिद्धान्तको रुपमा एमालेको बहुदलीय जनवाद हो । युद्ध समाप्त गरी विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा आइसकेपछि माओवादीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरी संविधानसभा दुई र स्थानीय र प्रदेश, संघका दुई निर्वाचनमा आफूलाई परीक्षण गरिसकेको छ । एमालेले २०४६ सालपछि बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्दै आएको छ । दुबै कम्युनिस्ट पार्टीले बहुदलीय प्रतिस्पर्धामार्फत समाजवादको आधार निर्माण गर्ने सहमति नै चुरो कुरा हो ।


दुई दललाई विगतको द्वन्द्वलाई विस्मृतिमा राखेर ‘श्रेष्ठता स्थापित’ गर्ने बुँद नम्बर ३ मा उल्लेख छ । यसको अर्थ विगतको माओवादीले दक्षिणपन्थी भनेको एमालेको बहुदलीय जनवाद र एमालेले उग्रवामपन्थी हिंसात्मक युद्ध भनेको माओवादी जनयुद्धपछि भएको लोकतान्त्रिक अभ्यासमा भएको मिलनुविन्दु हो । सहमतिमा जनयुद्ध श नराखेकोमा कतिपय माओवादी नेताहरुले खल्लो मानेका छन् । त्यसलाई माओवादकै एउटा रुप भएको भन्दै ब्याख्या हुने गरेको छ । खासगरी शान्ति प्रक्रिया र विस्तृत शान्ति सम्झौता यताको माओवादी मान्यतालाई एमालेले स्वीकार गरेको छ । २०६४ मा भएको शान्ति सम्झौता पछि राजनीतिक यात्रालाई दुबै दलले एकताको आधार मानेका छन् । ‘विगतमा अल्झिनुभन्दा अघिको संसार राम्रो बनाउनु उत्तम’ भन्दै दुबै दल अघि बढेको देखिन्छ । दुबै दलको एकता आधार तयार हुँदै गर्दा विगतका आ–आफ्ना गल्तिको भार आफै बोक्ने आन्तरिक सहमति छ । माओवादीले युद्धका बेला जे गल्ति गर्‍यो, त्यो माओवादीकै हो । शाही शासनका बेला एमालेले जे कमजारी गर्‍यो, त्यो एमालेकै हो । एकले अर्कोको विगतका गल्ति स्वीकार गर्नुपर्छ भन्ने छैन ।

विगतमा कम्युनिस्ट टुट्नु कोरा सिद्धान्तमा हुने संघर्ष मुख्य कारण देखिन्थ्यो । कम्तिमा एमाले माओवादी कोरा सिद्धान्तभन्दा आगामी दिनमा हुने व्यवहारिक सिद्धान्तलाई आत्मसात गरेको देखिन्छ ।


‘एक्काइसौ शताव्दीको समाजवादको मोडेल तय गर्दै पार्टी एकता हुन्छ’ माओवादी नेता हरिबोल गजुरेलले भने, ‘सुरुमै सबै कुरा मिलेर पार्टी एकता हुँदैन । केही सैद्धान्तिक बिषयमा एकतापछि पनि छलफल हुन्छ । उनले भने जस्तै बहुदलीय जनवाद र माओवादबारे विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्ने सहमतिको बुँदा नम्बर ४ मा उल्लेख छ ।


एमाले र माओवादीको एकताको प्रारम्भिक सहमति भइरहँदा माओवादको पनि कुरा उठेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङले प्रतिपादन गरेको माओवाद नेपाली माओवादीका लागि पथ प्रदर्शक बन्यो, जसको जगमा टेकेर माओवादीले १० वर्षे युद्ध गर्‍यो । त्यो १० वर्षे ‘जनयुद्ध’ राजनीतिक हिसाबले कति सफल/असफल भयो, त्यसको मूल्याङ्कन हुने नै छ । सैन्य हिसाबले चीनमा जस्तै पूरै विजय गर्न असफल भएको हो ।


युद्धबाट वारपार नहुँदै माओवादीले राजनीतिक कार्यदिशालाई सफल अवतरण गराएको हो । माओवादीका शान्तिपूर्ण अवतरण भएपछि नेपालको प्रमुख राजनीतिक शक्तिको रुपमा रहँदै आएको हो । एउटा कुरा के बिर्सन हुँदैन भने माओवादीले १० वर्षे युद्ध नगरेको भए अहिलेको अवस्थामा आउन संभव थिएन । माओवादको सिद्धान्तमा टेकेर माओवादी यहाँसम्म आइपुगेकाले अब उसले माओवादलाई अहिले चटक्कै छोड्न सक्दैन । एमाले जननेता मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादमा टेकेर सफलता पाएको छ, एमालेले पनि यो तत्काल छोड्न सक्ने अवस्था छैन । त्यसकारण पार्टी एक भए पनि यी दुई वाद लामो समयसम्म छलफलमा रहने छन् ।


आजसम्मका उपलब्धी माओवाद अर्थात सशस्त्र युद्धमा टेकेर भएका हुन् । एउटा कुरा प्रष्ट हो, माओवादका नाममा हालसम्म जेजस्ता उपलब्धी भए, अब त्यही धारमा अघि बढ्दा नहुन सक्छ । त्यही भएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझेरै हुनुपर्छ, अब माओवादका भरमा मात्र राजनीति जित्न सकिन्न । त्यसका लागि एमालेसँग एकता गर्ने निधो गरे । पार्टी एकताका लागि माओवादीमा दुई धार छन्, एउटा माओवाद ‘आइरन लेटर’ हो, यसलाई चलाउन सकिंदैन । अर्को, माओवाद समय सापेक्ष परिवर्तन हुनुपर्छ । यी दुई धारबीच माओवादीमा संघर्ष चलिरहेको छ । यो संघर्षमा अध्यक्ष प्रचण्ड भने सहभागी छैनन् । स्वयं प्रचण्ड पार्टी एकताको पक्षमा भएकाले माओवाद समय सापेक्ष परिवर्तन गर्ने पक्ष बलियो छ ।


माओवादीभित्रको ‘हार्डलाइनर’ धारले एमालेसँग एकता गर्नु भनेको दक्षिणपन्थी बाटो समात्नु भनिरहेको छ । माओवादको आँखाले हेर्दा यो सही जस्तो लाग्न सक्छ । खासमा माओवादले युद्धरत अर्को पक्षसँग सम्झौता गर्नुलाई गलत ठान्छ । शान्ति सम्झौतापछि असन्तुष्ट भएको मोहन वैद्य पक्ष अलग हुनुको एक कारण यही थियो । माओवादी केन्द्रभित्र अझै पनि वैद्यका अवशेष बाँकी नै छन् । त्यही पक्षले माओवादलाई जस्ताको तस्तै बचाइराख्ने प्रयास जारी राखेको छ । माओवाद नेपाल उत्पादित सिद्धान्त होइन, यो चीनबाट भित्र्याइएको हो । त्यसो त जनताको बहुदलीय जनवाद पनि मार्क्सवाद, लेनिनवादमा आधारित छ ।



प्रकाशित : फाल्गुन ९, २०७४ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?