कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्रवासीको राष्ट्रप्रेम !

मेघराज सापकोटा

युएई — खाडी, मलेसियासहित कम्तीमा ३० लाख नेपाली देश बाहिर रहेको अनुमानित तथ्यांक छ । बिदेशमा रहँदा देशप्रतिको माया झनै गाढा भएर आउँदो रहेछ । बिदेशिएपछि राष्ट्रबादी अझै बन्दछ ।

प्रवासीको राष्ट्रप्रेम !

बैदेशिक रोजगारीमा आएका अधिकांस नेपाली जो नेपाल देशप्रति गर्व गर्दछन् । त्यत्तिकै मात्रामा उनीहरु छिमेकी मुलुक भारतप्रति घृणा भावले पनि हेर्दछन् । यसको मुख्य कारण दुई वर्षअघि भारतले नेपालमा लगाएको नाकाबन्दी नै हो । त्यसो त त्यो भन्दाअघि पनि अधिकांश नेपालीहरु भारतलाई प्रेम प्रकट गर्दैनन् थिए ।


युएई जस्तै बिभिन्न मुलुकमा रोजीरोटीको लागि नङ्ग्र खियाउने श्रमशिल नेपालीहरु नै हुन् जसले भुतपूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई रातारात राष्ट्रवादी बनाई दिए । समाजिक सञ्जालमा पहुँच राख्ने विश्वभर छरिएर रहेका नेपाली यसका भागीदार हुन्, जसले ओलीलाई राष्ट्रवादी बनाए ।


तीनै श्रमशिल नेपालीहरुप्रति समर्पित नेपाली हाँस्यब्यंग्य टोली सिस्नोपानी युएई आइपुगेका थिए । टोलीका एक सदस्य कमेडियन मनोज गजुरेल ओलीका बारेमा भन्छन्, ‘हिजो ओलीले के गरे, टनकपुरमा के गरे के गरेनन्, त्यो आफ्नो आफ्नो बिष्लेषण र समिक्षाको बिषय पनि बन्ला तर नाकाबन्दीको समयमा ओलीले लिएको अडानले नै उनलाई राष्ट्रवादी बनाएको हो । जुन अडान मुलुकको लागि ठिक थियो ।’


ओलीलाई भारतीय एजेन्ट भन्नेहरु पनि कहाँ नभएका हुन र ? कतिपयले त आज पनि के अड्कल काट्छन भने, ‘ओलीबाहिर राष्ट्रवादी देखिए पनि भित्रि रुपमा भारतीय एजेन्ट हुन् । डोनेसन ल्याएर मदन भण्डारी ट्रस्ट चलाउँछन् । दिउँसो–दिउँसो राष्ट्रवादी र राती–राती गोप्य उठबससहितको भोज पनि गर्छन् ।’ भारतीय बिदेशमन्त्री शुष्मा स्वराजको केही दिन पहिले भएको नेपाल भ्रमण ओलीकै निम्तोमा भएको हो र उनी भारतीय संस्थापन पक्षसंग सम्बन्ध सुमधुर बनाउन चाहन्छन् । उनी अहिले पनि भारतीय कांग्रेसप्रति उत्तिकै बफादार छन् । उनको यो राष्ट्रवादको लडाईं नेपाल र भारतको मात्र पनि हैन भारत भित्रै भारतीय जनता पार्टी र कांग्रेस आइ बीचको लडाईं पनि हो ।


वाम गठबन्धनकै अर्को हिस्सेदार पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नरुचाएको भनिएको स्वराजको भ्रमण र उक्त समयमा ओलीसँगको स्वराजको सामिप्यताको बिषयलाई लिएर बिपक्षीहरुले ओलीको राष्ट्रवादलाई नक्कली भन्ने आरोप पनि लगाए । नेपाली कांग्रेसका केन्द्रीय नेताहरु धनराज गुरुङ, गगन थापालगायतले खुलेर नै ओलीको राष्ट्रवादको धज्जी उडाउन कम्मर कसे । बिदेशमा बस्ने ओली इतरका मान्छेहरुले ती धज्जीहरुलाई समाजिक सञ्जालमा सक्दो शेयर गरे । यसरी ओलीको पक्षमा होस् या बिपक्षमा होस् ओलीको राष्ट्रवाद देश बिदेशमा चर्चा बनेकै छ ।


नेपालीहरु किन यति धेरै राष्ट्रवादी बने होलान् भन्ने जिज्ञासा मेरो मनमा पलाईरहेको हुन्छ । नेपालीहरु मात्रै यति धेरै राष्ट्रवादी बन्छन् कि अन्य मुलुकका नागरिकहरु पनि यत्तिकै राष्ट्रवादी हुन्छन भन्ने कौतुहलता लागिरहयो ।


युएई यस्तो मुलुक हो जहाँ सय भन्दा बढी मुलुकका नागरिक बसोबास गर्दछन् । म आफै बस्न थालेको १२ वर्ष पुग्यो । यो १२ वर्षको दौरानमा ५० औं मुलुकका नागरिकहरुसँग भेटघाट चिनापर्ची भयो । राष्ट्रवादको बिषयमा सबै देशका नागरिकहरु ‘कन्सियस’ नै छन् । उनीहरुको पनि अनुभुति देशभित्र रहँदा भन्दा देश बाहिर रहेपछि देशप्रतिको माया प्रगाढ बनेको भन्ने नै छ ।

त्यसो भए के उनीहरु पनि नेपालीहरु जस्तै सामाजिक सञ्जालमा राष्ट्रवादको नारा लगाउाछन् त ? के उनीहरु पनि कुनै एउटा पार्टीका नेतालाई राष्ट्रवादी र अर्को पार्टीका नेतालाई छिमेकी परस्त वा अमेरिकी वा ईयु परस्त देख्छन् त? उनीहरुलाई भेटेपछि मेरो मनले खोजेको प्रश्न यही हुन्थ्यो ।


युएईमा भेटिने र एउटै अफिसमा सँगै काम गर्ने भारतीयहरु स्वयं पनि राष्ट्रवादमा कत्तिको कन्सियस छन् त ? नजानिदो पाराले म यही प्रश्नको उत्तर खोजी गरिरहन्थें । मैले के पाए भने उनीहरु भावनामा हामी भन्दा पनि बढी राष्ट्रवादी छन् तर सामाजिक सञ्जालमा छैनन् । बिबादास्पद काश्मिरको बिषयले उनीहरुलाई पाकिस्तानप्रति आक्रोश उत्पन्न गराउँदछ । मुम्बई आक्रमणका लस्करे तोइबा र पाकिस्तानी जासुसी संस्था आईएसआईको नाम उनीहरु कत्ति पनि सुन्न चाहन्नन् । सँगै काम गर्ने धेरै भारतीय साथीलाई मैले सोधें,‘सामाजिक सञ्जालमा यस्ता कुरा कत्तिको लेख्छौ ? अहा, कोही पनि लेख्दैनन् । उनीहरु लेख्न पनि चाहँदैनन् । यसलाई अनावश्यक ठान्दछन् ।’


यसपाली अलिक फरक अनुभुति भएको छ । गत बर्ष २०१७ को कम्पनीको फाइनान्सियल अडिट गर्नको लागि फैजा मोहम्मद नाम गरेकी एकजना पाकिस्तानी अविवाहित महिला मेरो कम्पनीमा आएकी थिईन् । २ हप्तासम्म लगातार अडिट गर्दा काम बिशेष बाहेक अन्य बिषयमा प्रबेश गर्ने मौका मिलेन ।

उनी पहिलो पटक युएई आईकी थिइन् । युएईमा अडिट कम्पनीमा काम गर्ने साथीहरुबाहेक नजिकका कोही आफन्त नतागोता छैनन् । एकाघरका ४ दिदी बहिनी मध्ये पेशाले २ जना दिदीबहिनीहरु डाक्टर र उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । घर पाकिस्तानको पञ्जाब भएपनि उनीहरु पेशावार र लाहोरमा बढी बसोबास गर्दा रहेछन् ।


‘मोलला युसाफ्जाई नोबेल पुरस्कारले पुरस्कृत भईन्, कत्तिको गर्व लाग्छ ?’ मैले सोधें । ‘उनी त अमेरिकाले बनाईदिएको पोपेड हुन्, मात्रै पोपेड’ उनको जवाफ अनौठो लाग्यो । पाकिस्तानमा महिला अधिकार र शिक्षाको अधिकारको लागि दुनियाँभरमा आवाज उठाउने नोबेल पुरस्कारले सम्मानित किशोरीलाई उनले पोपेड भनेकोमा मलाई आश्चर्य लागिरह्यो ।


‘म अधिकांश समय पेशावारमा बसोबास गर्दछु । म पेशाले चार्टर्ड एकाउन्टेन्ट हुँ । पाकिस्तानमा मलाई सिए पढ्न र मेरा २ जना दिदीबहिनीहरुलाई डाक्टर पढाउन कसैले रोकेन । म पेशावारको सडकमा रातको ११ बजे एक्लै हिंड्ने गरेको छु । तपाईं पाकिस्तान आएर घुम्न आउनुस्, म तपाईंलाई घुमाएर पठाइदिन सक्छु । महिला र पुरुषमा कुनै बिभेद छैन । कुनै समस्या छैन’ उनले आफ्नो अनुभव सुनाइन् ।


त्यसो भए दुनियाँका मिडियाले देखेको पाकिस्तानमा हुने गरेको ‘अनर किलिङ’ (घरको ईज्जत जोगाउने बाहानामा छोरीको हत्या गरिनु) के हो ?’ मैले उनलाई सोधें । अनर किलिङको नाममा पाकिस्तानमा बर्षेनी झण्डै १५ सय किशोरीको हत्या हुनेगरेको तथ्यांक छ । छोरीले परपुरुषसँग प्रेम गरेको र अनैतिक कार्य गरेको बाहनामा आफ्नै घरका बाबुआमा, दाजुभाइ, काकाकाकी मिलेर छोरीको हत्या गरिनुले घरको ईज्जत बढ्ने भन्ने संस्कारले पाकिस्तान ग्रस्त छ भन्ने कुरा पनि उनी मान्न तयार भईनन् । आफ्नो गजेटमा रहेको बहिनीको फोटो देखाउदै भन्छिन्, ‘मेरी यी बहिनीले प्रेम विवाह गरेकी हुन् । बाबुआमाले केटालाई घरमै बोलाएर संस्कारिक विवाह गरिदिए । खै कहाँ छ समस्या ?


त्यसो भए दुनियाभरका मान्छेहरु, दुनियाभरका मिडियाहरु पाकिस्तानप्रति किन नकारात्मक बने ? के उनीहरु बेवकुफ हुन् त ? उनी भन्छिन्,‘अपराध कुन देशमा छैन ? भारतको बिहारमा महिलालाई आगो लगाएको देखेका छौ ? अनैतिक सम्बन्ध राखेको आरोपमा प्रहरी थानामा नाङ्गेझार बनाएर गाउँ निकाला गरेको सुनेका छौं ? मलाई कहिले पनि भारतीय र पाकिस्तानी नागरिकहरु परम दुस्मन हुन् भन्ने लाग्दैन । मसँग काम गर्ने कयौ भारतीयहरु मेरा नजिकका साथी छन् । तर मिडियाले हामीलाई सधैं दुस्मन बनाइरहन्छ,’ उनले भनिन् ।


मैले अर्को प्रश्न राखे,‘ओसामा बिन लादेन त पाकिस्तानको क्वेटामा मारिए हैन ? ‘दुनियाँलाई थाहा छ तर पाकिस्तानी जनतालाई यो कुरा थाहा छैन,’ उनी भन्छिन, ‘पाकिस्तानी जनता यो कुरा मान्न पनि तयार छैनन् कि ओसामा बिन लादेन पाकिस्तानमै मारिए भनेर ।' कस्तो अचम्म !


सवाल जवाफमा उनी पाकिस्तानको बारेमा लगाईएको कुनै पनि आरोपलाई सुन्न तयार भईनन् । बरु अमेरिकामा दिनहुँ हुने गरेको हत्या आतंकको बारेमा भनिन् र मिडियालाई त्यहाँ आँखा लगाउन भनिन् ।


पाकिस्तानलाई यती धेरै आरोप लगाइरहँदा उनको अनुहारमा कुनै आक्रोश थिएन । उल्टै मलाई सम्झाइरहेकी थिईन् । ओसमा बिन लादेनलाई कसले आतंककारी बनायो र कसले मार्‍यौ भनेर उनको ईतिहास पढ्न सुझाईन् । सिरियालगायत मध्यपूर्वका केही देशहरुमा भएको हत्या आतंकको बारेमा पढ्न र बुझ्न सुझाइन् । अझ गहिराईमा गएर अध्ययन गर्न भनिन् ।


उनले भारतको बिहारमा हुने गरेको बिभेदको बारेमा र महिला हिंसाको बारेमा उदाहरण दिंदै यस्ता बिभेदहरु संसारमा सबै ठाउँमा रहेको र सबै मिलेर यसलाई खत्तम पार्नुपर्ने बताईन् । मलाई भने पश्चिम नेपालमा रहेको छाउपडी प्रथाको याद आईरहयो । दक्षिण नेपालमा ईनारको पानी पनि निकाल्न नदिने गरेको जातीय बिभेदको याद आईरह्यो । ठुलो जात र सानो जात भनाउँदाहरुको बिभेद, सानो जात भनाउँदाहरु बीचमा पनि रहेको अर्को खतरनाक बिभेदको पनि याद आईरह्यो । दाईजो नपाएको झोंकमा नेपालमै महिलालाई आगो लगाएको घटनाको याद आयो । दिनहुँ हुनेगरेका बलात्कारका घटनाहरु र दोषीहरुलाई बचाउन प्रहरी प्रशासन बिकेको घटना सम्झें । सायद म नेपाली हुँ भन्ने थाहा भएको भए फैजाले नेपालकै उदाहरण दिने थिईन् होली ।


कसैको ईसारामा मिडियाले दुनियाँलाई झुक्याइदिन्छ । दुनियाँको भावनामा खेलिदिन्छ । कसैलाई पोपेड र कसैलाई आतंककारी बनाइदिछ । कसैलाई शत्रु र कसैलाई मित्रु बनाइदिन्छ । कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी बनाइदिन्छ । परिस्थितिको गलत व्याख्या गरिदिन्छ । गहिराइमा पुग्दैन । त्यही मिडियाको चपेटाले बनाइदिएको पाकिस्तानी राष्ट्रवादी चार्टर्ड एकाउन्टेन्ट फैजा मोहम्मदको राष्ट्रवाद झनै लोभलाग्दो छ । उनी दोश्रो वा तेस्रो नागरिक भएर कुनै मुलुक जान चाहन्नन् । उनलाई अमेरिका, युके र युरोपको ग्रीनकार्डको पटक्कै लोभ छैन ।


यसो भनिरहँदा नेपालका नेताहरु, सरकारका पूर्व उच्च पदस्थहरुलाई लागेको ग्रीनकार्डको लोभ पनि स्मरणयोग्य छन् । यिनीहरु पनि त कुनैबेला राष्ट्रवादी नै थिए । त्यसो भए गजुरेलले भनेजस्तै ओलीलाई पनि परिस्थितिले नै राष्ट्रवादी बनाएको हो त ? हामी प्रबासीहरु तिनै मिडियाका दास भयौं त ? म जस्तै धेरै प्रबासीहरु अनुत्तरित छन् ।


प्रकाशित : फाल्गुन ११, २०७४ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?