असुरक्षित बालबालिका

शिल्पा कर्ण

काठमाडौँ — मलंगवाको एक घटना सम्झिन्छु । दसैंका बेला पूजाको फूल अभाव हुन्छ । अँध्यारो छँदै फूल टिप्न निस्किने गर्छन्, जसमा महिला र बालिका हुन्छन् ।

असुरक्षित बालबालिका

हाम्रै घर छेउछाउबाट ३ जनाको समूहमा फूल टिप्न निस्केका १३–१५ वर्षसम्मका बालिकामध्ये एकजना अँध्यारो अनुहार लिई घर पुगिन्, भित्र पुग्ने बित्तिकै भक्कानिइन् ।

कारण सोध्दा फूलको डाली हराएको जवाफ दिइन्, भोलिपल्टदेखि फूल टिप्न रुचि लाग्न छोड्यो, उनलाई । कसैले उनलाई थप केही सोधेन, घरकाले खासै वास्ता गरेनन् । एकदिन कुरैकुरामा उनीसँग गएकी साथीले उनी रुनुको कारण खोलिन् । उनलाई फूल टिप्न जाँदा साथीहरू पर भएको मौका छोपी एक किशोरले दुर्व्यवहार गरेको रहेछ ।

एउटा सामान्यझैं लाग्ने घटनाले कति तोड्छ, मान्छेलाई । उनलाई बाहिर जाने इच्छा लाग्न छोड्यो । साथीहरूसँग घुलमिल हुन छाडिन् । उनका घरका मान्छे अझ यस घटनाबारे बेखबर छन् । यी सबै त्यही समाजका घटना हुन्, जुन समाजलाई ‘महिलालाई घुम्टोभित्र राख्ने’ भनिन्छ । सुरक्षाका नाममा पर्दा र घुम्टोभित्र राख्दाराख्दैका पछिल्लो १ वर्षयताका मेरो घर छेउछाउका घटना हुन्, यी । अहिले मधेसी समाजका महिला केही खुल्न थालेका छन् ।

मलाई गर्व छ, मेरो परिवार पनि यस्तैमध्ये एक हो । अंग्रेजी नयाँ वर्षमा १६ वर्ष नपुगेका दुवै बहिनीले ३ दिने शैक्षिक भ्रमणको अनुमति माग्न बुबा अगाडि गए पनि सफल भएनन् ।

साथीहरू पिकनिकबाट फर्केपछि कान्छी बहिनीले एकदिन ‘आफूहरू धन्न पिकनिक गइएनछ’ भन्ने भावमा कारण खोलिन् । उनका एक शिक्षकले राति बसमा सुतेका उनका साथीहरूलाई दुर्व्यवहार गरे । अझ स्कुलका ती शिक्षकले जसको भरमा आमाबुबाले आफ्नो छोराछोरी पठाएका थिए । ८ र ९ कक्षाका बालिकामाथिको यो सिलसिला एक दिनमै थामिएन । भ्रमणका क्रममा अन्य साथीहरूलाई समेत ती शिक्षकले राति–राति सुमसुम्याउने, चुम्बन गर्ने गर्दारहेछन् ।

आर्थिक वर्ष २०७३/७४ मा जबर्जस्ती करणीका ११ सयभन्दा बढी उजुरी परेको छ भने साढे पाँच सय हाराहारीमा बलात्कार प्रयास भएको नेपाल प्रहरीको तथ्यांकले भन्छ । पीडित हुनेमा किशोरी र बालिकाको संख्या उल्लेख्य छ । सञ्चार माध्यममा आएका समाचार हेर्दा पीडकमा पनि किशोर र कम उमेरका युवाको संलग्नता बढी रहेको देखिएको छ ।

एउटी दिदी भएकी नाताले ९/१० कक्षा पढ्ने आफ्ना बहिनीहरूलाई कहाँ लुकाउँ कि यस्ता घटनाबाट जोगाउन सकियोस् जस्तो लाग्छ । विद्यालय, मन्दिर, सडक, सार्वजनिक स्थल र घरमा समेत बालिका असुरक्षित भएका घटनाले समय–समयमा झस्काउँछ । लाग्छ, आमाको गर्भमा मात्र महिला वा बालिका सुरक्षित हुँदाहुन्, लिंग पहिचान गरी गर्भपतनको अवस्थामा भन्दा बाहेक ।

बालिका वा छोरीमान्छे हुने घरका अभिभावकको यस्तो हाल छ । अझ तिनको के हाल हुँदो हो, जुन बालिका यस्तो तितो अनुभवबाट गुज्रिसकेका छन् । ती आमाबुबाको जसको छोरी, बहिनी, बुहारीमाथि यस किसिमका यौनजन्य हिंसा भएको छ । पछिल्ला वर्षहरूमा बालयौन दुराचारी अर्थात् ‘पेडोफाइल’हरू (अधिकतर घटनामा विदेशी) पक्राउ पर्नुले पनि बालबालिका सुरक्षित नरहेको स्पष्ट हुन्छ । हुन त यस्तो अवस्था नेपालमा मात्र होइन, विकसित भनाउँदा देशमा पनि उत्तिकै भयावह छ ।

बालबालिकालाई ‘पोर्न’को क्षेत्रमा प्रयोग गर्ने र उपभोग गर्नेको सूचीमा पहिलो स्थानमा संयुक्त राज्य अमेरिका नै पर्छ भन्दा अचम्म लाग्न सक्छ । अमेरिकाको ‘पोर्न’ उद्योगमा वार्षिक लगभग १३ बिलियन डलरको कारोबार हुन्छ, जसमा अनधिकृत ‘चाइल्ड पोर्नोग्राफी’को कारोबार ३ बिलियन डलरजति हुने गरेको अध्ययनले देखाउँछ ।

‘युएस कस्टम्स सर्भिस’ले त्यहाँ १० हजारभन्दा बढी वेबसाइटले ‘चाइल्ड पोर्न’को सुविधा उपलब्ध भएको भनी उल्लेख गरेका छन् । जुन विश्वमै कानुन विपरीत मानिन्छ ।

‘क्यानेडियन सेन्टर फर चाइल्ड प्रोटेक्सन’ले त्यहाँ गरेको एक अध्ययन अनुसार १२ वर्ष मुनिका बालबालिका ७० प्रतिशतभन्दा बढीलाई यौनसँग सम्बन्धित तस्बीर तथा भिडियोमा प्रयोग गरिएको छ । यसमा ८० प्रतिशत बालिका छन् । बालबालिकालाई हिंसा गर्नेमा अभिभावक वा संरक्षक १८ प्रतिशत छन् भने २५ प्रतिशत छिमेकी वा परिवारका नजिकका मित्र हुन्छन् । बालबालिका प्रयोग भएका यस्ता भिडियो तथा तस्बीर हेरेर आनन्द लिने प्राय: ‘पेडोफाइल’ नै हुने गरेका छन् । तसर्थ नेपालको कुनै क्षेत्र विशेष, दक्षिण एसियाली तथा गरिब मुलुकमा मात्र नभई विश्वभरिका बालबालिका यौन हिंसाको खतरामा छन् ।

नेपालको सन्दर्भमा हेर्दा बालिकाले अभिभावकसामु यस्ता विषयमा बोल्ने हिम्मत कमैले गरेको देखिन्छ । मातापिताले पनि खासै सोधखोज नगर्ने प्रवृत्ति छ । यसलाई अभिभावकमा सचेतनाको कमीको रूपमा अथ्र्याउँदा गलत नहोला । अब बालबालिकालाई सानै उमेरदेखि यस्ता अपराधबाट बच्न र विशेषगरी बालकलाई यो अपराध भएकोले यस्ता कार्य नगर्न सिकाउनु जरुरी भइसक्यो । महिला तथा बालिकासँगै बालकहरूलाई पनि उचित समय, शिक्षा र नैतिक ज्ञान दिनुपर्छ ।

विशेषगरी बालक र किशोरलाई चेतनशील बनाउनुपर्ने अवस्था आएको छ । जसले आउने पुस्तामा यौनजन्य अपराधीको संख्या निश्चित रूपमा घट्नेछ ।

प्रकाशित : चैत्र १, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?