१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

रविना देशराजलाई प्रश्न : पति थप्न प्रतिस्पर्धा गर्ने हो की सुधार्न ?

काठमाडौँ — यही साता बैँकर रविना देशराजको भनाइ निकै चर्चामा रह्यो । बैँकको उच्च तहमा कार्यरत सिमित महिला मध्येकी अन्तर्राष्ट्रिय अवार्ड समेत हात पारिसकेकी कार्यक्षमताका हिसाबले पनि बेलाबेलामा चर्चामा आइरहने रविना यस पटक अनौठो मागका कारण चर्चामा रहिन् । उनले एक अन्तर्वार्तामा खुलेरै भनिन्, दुई तीन वटी श्रीमती राख्ने लोग्नेमान्छेलाई हाम्रो समाजले सम्मान गर्छ भने अब हामी महिलाहरुले दुई तिनवटा श्रीमान् साथमा राख्न किन नपाउने ? लोग्नेमान्छेले सानले जेठी, माइली, कान्छी श्रीमती भन्न पाउँछ भने महिलाहरुले पनि जेठो, माइलो, कान्छो श्रीमान् भन्न किन नपाउने ? 

रविना देशराजलाई प्रश्न : पति थप्न प्रतिस्पर्धा गर्ने हो की सुधार्न ?

हुन त यो भन्दा पहिला पनि एकजना आफुलाई अधिकारकर्मी बताउने महिलाले खुलेआम भनेकी थिइन्, लोग्ने मान्छेले अर्काकी श्रीमती भगाउन हुन्छ भने हामी महिलाले अर्काका लोग्ने हडप्न किन नहुने ? उनले आफ्नो लोग्ने छाडेर अर्कैसँग दोश्रो बिहे गरेकी थिइन्, प्रसंगबस कुरा निस्कँदा उनको मुखबाट यो वाक्य फुस्कियो । संविधानले नै हरेक नागरिकलाई वाक स्वतन्त्रता प्रदान गरेको छ, मनमा लागेको कुरा निर्धक्क राख्न जो कोहीले पनि पाउँछ । तर समाजमा चिनिएका व्यक्तिले आफ्ना माग वा आवाज सार्वजनिक गर्दा क्षणिक चर्चा भन्दा पनि दीर्घकालिन महत्व र गरिमाको हेक्का राख्न नसक्दा उल्टै बदनामी भएका कैयन दृष्टान्तहरु छन् ।


खास गरी लोकतन्त्रको पुर्नस्थापनापछि हामी कहाँ अधिकार र समानताका कुराहरु निकै जोडतोडका साथ उठिरहेका छन् । सरकारले नै विशेष वर्गलाई लक्षित गरी आरक्षणको व्यवस्था गरेको छ । महिलाको कुरा गर्ने हो भने संबैधानिक निकायहरुमा ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । अहिले हरेक क्षेत्रमा पचास प्रतिशतको हिस्सा पाउनुपर्ने माग जोडतोडका साथ उठिरहेको छ । समाजका अगुवा महिलाहरु नै आफ्नो बृत्ति विकास, शिक्षा, रोजगार, प्रजनन अधिकार लगायतका अन्य अधिकारका क्षेत्रमा आवाज उठाउनुको साटो लोग्ने स्वास्नी कति राख्ने ? भन्ने खालका माग अघि सार्नुले कुन कुराको संकेत गर्ला? दुखको कुरा रविना जस्ता प्रबुद्ध महिलालाई समेत नेपालमा बहुविवाहलाई कानूनले बन्देज लगाएको कुरा हेक्का रहेन छ ।


हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम छ । एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलन जिल्लाको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ, सुर्खाङ, घमी, मुक्तिनाथ, कागबेनी, झोङलगायतका ठाउँहरुमा संस्कृतिको रुपमा परापुर्वकालदेखी चल्दै आएको छ । रविनाकै सन्दर्भ कोट्याउने हो भने यो प्रथा महिलाअधिकारको पक्षमा छ कि छैन? संस्कृति भनिएपनि यो कुप्रथा नै हो, अब यस्तै कुरामा प्रतिस्प्रर्धा गर्न तम्सिने त?


सर्वत्र चर्चा र आलोचना भएपछि मुलुकी ऐनमा भएको परिमार्जित व्यवस्था उल्लेख गर्न बाञ्छनीय लाग्यो । मुलुकी ऐन २०२० को बिहेवारीको महलले बहुविवाहलाई पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । पहिलेको व्यवस्था अनुसार‘श्रीमतीलाई यौन सम्बन्धी सरुवा रोग भै निको नहुने भएमा, श्रीमती निको नहुने गरि बहुलाएमा, श्रीमतीका कारणबाट सन्तान नभएको प्रमाणित भएमा, श्रीमती हिँडडुल गर्न नसक्ने भएमा, श्रीमतीका दुबै आँखा नदेख्ने भएको खण्डमा मात्रै अर्की श्रीमती बिहे गर्न पाइने व्यवस्था थियो तर संशोधित व्यवस्था अनुसार लोग्ने र स्वास्नी अंशबण्डा भई भिन्न बसेको अवस्थामा बाहेक अर्को विवाह गर्न कानूनत निषेध गरिएको छ । सरकारले नै स्पष्टसँग भनेको छ समाजमा बहुविवाह विरोधी कानून भएपनि व्यवहारमा त्यसको असर नदेखिएका कारण मुलुकी ऐनको दफा संशोधन गर्नुपरेको हो ।


तपाईहरु जस्तो समाजको अगुवा व्यक्तित्वहरुले यति हल्का अभिब्यक्ति दिएर क्षणिक चर्चाको पात्र बन्नुहुन्थ्यो कि हुँदैनथ्यो? त्यो तपाईको तजविजको कुरा होला । यहाँ उठाउन खोजिएको कुरा लोग्ने मान्छेले तीन चारवटी श्रीमती भित्राउँदा सम्मान गरेको छ र कानुनले ? विगतको इतिहास कोट्याएर अर्नगल कुरामा प्रतिस्पर्धा गर्न खोज्ने कि साँच्चिकै आधा हिस्सा पाउनको लागि कानूनी लडाइ गर्ने ? अहिले आरक्षणको अवस्था भयावह बन्दै गइरहेको छ ।


तपाईहरु जस्ता अगुवा महिलाहरुले महिलालाई आरक्षण सधैभरी दिइरहनु हुँदैन, लक्षित समुदायलाई खुल्ला प्रतिस्प्रर्धामा उतार्न सक्ने वातावरण घर परिवार, समाज र आफन्तले तयार गर्न सक्नु पर्छ भन्नेतर्फ जोडदिनु पर्ने होइन र? वोक्सी जस्तो कुप्रथाका कारण दिनदिनैजसो महिलाहरु प्रताडित भएका छन् । यस्ता अन्धविश्वास हटाउनको लागि पहल गर्नुपर्ने होइन र ? अहिले पनि प्रजनन अधिकारको बारेमा धेरै महिलाहरु बेखवर छन् यि सवालमा आवाज मुखरित गर्नुपर्ने होइन र? बिहे गर्ने उमेरमा दुई तीनवटा सन्तानका आमा भइसकेका किशोरी आमाहरुको स्वास्थ्यको बारेमा चिन्तित बन्नुपर्ने होइन र? बलात्कारका कारण छोरीहरु हरेक निमेशमा असुरक्षित भइरहेका छन्, कसरी छोरी जोगाउने? पीडकलाई बढीभन्दा बढी कानूनी सजाय कसरी दिलाउन सकिन्छ? त्यतातिर ध्यान दिनुपर्ने होइन र? श्रीमान्ले जाँड रक्सी खाएर श्रीमती कुट्न थाल्यो भने मदिराको लत हटाउनेतिर ध्यान दिने कि आफु पनि रक्सी खाएर श्रीमान् कुट्न तम्सिने ?


अर्नगल र अव्यवहारिक कुरामा हामी महिलाहरु किन प्रतिस्प्रधा गर्न खोज्छौँ? प्रतिस्पर्धा सकारात्मक कुरामा गर्न सिकौँ न । समाजका गन्नेमान्ने उच्च पदस्थ तहका महिलाहरुले नै यस्ता कुरा गर्न थालेपछि भोलिको पुस्ताले कस्तो अपेक्षा गर्ला? महिला अधिकार र व्यक्तिगत स्वतन्त्रताको हवाला दिंदै कथित सेलिब्रेटीहरु समाजमा अपाच्य हुने भेषभुषामा सजिएको देखिएकै छ । क्षणिक आवेगमा एकैछिनको पर्रर्र तालीको लोभमा युवाहरुको उन्मादले वाहीवाही गरेपनि अन्तत उनीहरु नै त्यस्ता महिला पात्रहरुको कुरा काट्न तल्लिन देखिन्छन् । आफुलाइ पोर्न स्टार ठान्ने अर्चना पनेरु, निकै चर्चित कलाकार मोडल ठान्ने ज्योति मगर, रक गायिका सरस्वती लामा वा अन्य यस्तै युवा पुस्ताका महिलाहरुले ठुलो जमातका माझमा जुन हर्कत देखाए त्यसले उनीहरुलाई नै घाटा भएको छ । उनीहरुले जुन हर्कत गरे त्यसलाई महिलाको स्वतन्त्रता ठान्नु हुन्छ भने त तपाईहरुको बौद्धिकतालाई केही भन्नु छैन । तर समाजले पचाउने र पच्नेसम्मको व्यवहार जो कोहीले गर्नुपर्छ ।


जस्तो कुरामा पनि अधिकार जोडि हाल्ने, पुरुषले यसो गर्दा हुन्छ महिलाले गर्दा किन हुँदैन भन्ने अड्को थापिरहने हो भने त भन्नु केही पनि छैन । कतिपय कुराहरुमा महिलाले जतिसुकै बलमिच्याइ गरेपनि पुरुषको हाराहारीमा पुग्न सकिंदैन, प्रकृतिले नै महिलालाई यस्तै बनाइदिएको छ । जस्तो रविना देशराजले भन्नु भएको छ पुरुषले नुहाएको भिडियो वा फोटो सामान्य हुन्छ समाजले सामान्य ठान्छ । तर महिलाले नुहाएको भिडियो वा फोटोलाई अश्लिल ठान्छ । यो उहाँको कस्तो तर्क हो ।


अधिकार र समानता भन्ने कुरा लोग्ने स्वास्नी कति राख्ने भन्ने विषयमा मात्रै केन्द्रित हुन्छ कि अन्य विषयहरुमा पनि? देखिएका र नदेखिएका छायाँ फरक होलान् । अहिले पनि अक्सर गरी शहरी भेगमा परपुरुष र परस्त्री सम्बन्धका कारण धेरैजनाको मिलेको घरपरिवार भत्ताभुंग भएको अवस्था छ । तपाईहरु जस्ता शिक्षित, अगुवा व्यक्तिहरु यस्लाई अधिकारमा समानता भन्न रुचाउनु हुन्छ? घरमा अपांग श्रीमान्, बुढ्यौली उमेर, चारजना छोराछोरी त्यागेर गतसाल एक महिलाले छिमेकी पुरुषसँग बिहे गरिन् । श्रीमान् विदेशमा पसिना बगाउन जान्छ, लालाबाला विचल्ली पारेर श्रीमती अर्कैसँग भागेपछि घर फर्किदा न श्रीमती हुन्छ न पैसा? के यो पनि प्रतिस्पर्धा गर्ने सवाल हो? कुसंस्कारसँग प्रतिस्पर्धा गर्ने कि परिमार्जित भएर आफु सच्चिने? कैलालीमा धामीले बोक्सीको आरोपमा एउटी किशोरीमाथि अमानवीय आक्रमण गरे, अब यो प्रथाको विरोधमा आवाज उठाउने कि? महिला बोक्सी हुन्छन् भने धामी पनि बोक्सो हुन्छ भनेर फेरी जनमास भेला गरेर कुटपिट गर्ने? हचुवाको भरमा आवेगमा आएर विकृती र विसंगतिको बारेमा प्रतिस्पर्धा गर्न खोज्ने र पौठेजौरी गर्न खोज्ने चेष्टा कोही कसैले नगरौँ । कानूनविपरितको काम हिजोपनि अमान्य नै थियो, भोलीका दिनमा पनि त्यो अमान्य नै हुन्छ कम्तिमा यस्ता विषयहरुमा प्रतिस्पर्धा नगर्ने कि?

[email protected]

प्रकाशित : चैत्र १, २०७४ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?