कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लोभी मान्छे हुन्जेल ठग बेरोजगार हुन्न

नवीन रायमाझी

अमेरिका — हरेक किसिमको सुचनासँग पहुँच भएको समयमा पनि यस्ता अर्थात् समाचारहरुमा सुन्दा नै झुट्ठा हो जस्तो लाग्ने कुरामा बिश्वास गरेर मान्छेहरु ठगिएको सुनेर कि त हामी निकै लोभी छौ वा हामी बौद्धिक रुपमा त्यति सक्षम छैनौं जति आफुले आफैलाई सम्झिन्छौं जस्तो लाग्छ ।

लोभी मान्छे हुन्जेल ठग बेरोजगार हुन्न

यो संसारमा लोभी मान्छे हुन्जेल ठगले बेरोजगार बस्नु पर्दै भनेको जस्तै आजकाल प्राय हरेक दिन जस्तो आउने चार किसिमको समाचार पढ्दा पंक्तिकारलाई आश्चर्य र दुख लाग्छ । यी चार किसिमका समाचारहरु मध्ये पहिलो, अमेरिका वा कुनै बिकसित देशमा पठाइदिन्छु भनेर एकले अर्कोलाई लाखौँ रुपियाँ ठगेको; दोश्रो, अमेरिकी डलर सस्तोमा बेच्छु भनेर सादा कागजको बन्डल दिएर भागेको; तेश्रो, चिट्ठामा लाखौँ रुपियाँ परेको भनेर ठगेको र अन्तिममा, लाखौँ रुपियाँ सहित सुन र हिराका गहना उपहार दिन्छु भनेर ठगेको ।


अमेरिका वा कुनै बिकसित देश कसैले कसैलाई लौ जा भनेर घचेटेर पठाउने होइन । सबै देशका अध्यागमन समबन्धि आ–आफ्नै नियम कानुनहरु छन् । त्यस्ता नियमको परिधि भित्र बसेर कुनै व्यक्ति जानु वा त्यो परिधि भित्र पर्न नसकेर जान नसक्नु दुवै कुरा अति नै सामान्य हुन् । अरु देशको बारेमा पंक्तिकारलाई जानकारी भएन तर अमेरिका कसरी जाने भनेर जानकारी लिने हो भने अमेरिकी सरकारको युएससीआइएस डट जीओभी नामक वेब साइट छ, जसमा सबैकुरा बिस्तृत रुपमा लेखिएको छ । यदी तपाईंलाई बुझ्न मन लागेको कुनै कुरा लेखिएको छैन भने तपाईंले इमेल गर्नु भयो भने एक दुई दिन भित्रै जवाफ दिन्छ । अब त्यो वेब साइटमा लेखिएको अँग्रेजी​ बुझिंदैन र अँग्रेजीमा प्रश्न सोध्न सकिंदैन भने अमेरिका आएर पनि कुनै खास उपलब्धि छैन, किनकी अंग्रेजी भाषाको ज्ञान यहाँको पहिलो प्राथमिकता हो । वर्षौसम्म विदेश जाने प्रयास गरेर आफु सफल हुन् नसकेपछि खुलेका कन्सल्टेन्सीहरुको कुरामा विश्वास गरेर समय र धन नष्ट गर्नुको कुनै फाइदा छैन । सबै हामीले मिलाएका छौं, तपाईं केवल जाने मात्र हो भन्ने जस्ता कुराको विश्वास गर्दा समय र धन मात्र नष्ट हुने नभई कानुनी अड्चनमा पनि पर्न सकिने सम्भावना रहन्छ । त्यसैले अरुको मिठो कुरा सुनेर लाखौं रुपियाँ बुझाएर पछि टाउकोमा हात लगाएर बस्नु बुद्धिमानी होइन ।


त्यस्तै, सस्तोमा अमेरिकी डलर दिन्छु भनेर कागजको बन्डल हातमा राखेर भागेको खबर पनि आजकल पत्रपत्रिकामा​ ​निकै आउँछ । एक अमेरिकी डलर कै एक सय रुपियाँ भन्दा बढि पर्ने समयमा किन कसैले कसैलाई त्यो भन्दा सस्तोमा डलर बुझाउँछ? यति साधारण कुरा पनि बुझ्न नसक्ने वा फटाहाहरुको यस्तो हावादारी कुरामा विश्वास गरेर आफै ठगिनु भनेको मुर्खता बाहेक केहि होइन । यस्तो किसिमले ठगिने हो भने जस्तो सुकै कडा नियम कानुन भएपनि केहि लाग्दैन । यदि यस्तो ठगीमा नपढेका र सोझा सिधा व्यक्तिहरु परेको भए लौ ठगले झुक्काएछ भन्नु, त्यो नभएर ठगिनेहरु सबै आफुले आफैलाई कागको फुल चोर्न सक्छु भनेको जस्तो ठान्नेहरु परेका छन्, यसलाई अब के भन्नु, पंक्तिकारको दृष्टिमा त यो मुर्ख्याइको नमुना नै हो ।


​​त्यसैगरी अर्को त्यस्तै समाचारमा लाखौँ रुपियाँको चिठ्ठा परेको र त्यो प्राप्त रकम निकाल्नको लागि पहिले केहि रकम करको रुपमा बुझाउन पर्ने भनेर ठगेर बेपत्ता भएको समाचार र त्यस्ता घटनासँग सम्बन्धितहरुलाई पक्राउ गरेको समाचार पनि लगभग हरेक दिन जस्तो आउँछ । पहिलो त किन्दै नकिनेको चिठ्ठा पर्यो भन्दा विश्वास गर्ने कस्तो मान्छे हो? दोश्रो, कुनै पनि चिठ्ठा परेको पुरस्कारबाट कर काटेर बाँकी रकम जित्नेलाई दिन्छ । अमेरिकामा पावर बल, मेगा मिलियन जस्ता दुई डलरको चिठ्ठामा अर्बौ डलर पुरस्कार पनि पर्छ तर त्यसको लागि पहिले चिट्ठा किनेको हुनै पर्छ, किन्दै नकिनी पुरस्कार मात्र लिन पाइने भए त्यो जस्तो आनन्द अरु के हुन्थ्यो?


अन्तमा, फेसबुकलगायतका सामाजिक सञ्जालमा भेटिएका बिदेशी ब्यक्तिहरु (धेरै नेपालीहरुकै बिदेशी नामको नक्कली प्रोफाइल) सँग नजिकिएर प्रेम सम्बन्ध हुने र त्यसैको आडमा ठगिएको सुन्न पाइन्छ । कहिले नदेखेको र नचिनेको ब्यक्ति सँग फेसबुकमा सम्पर्क भएको भरमा प्रेममा पर्नु नै आठौँ अच्चम हो, र प्रेम मै परे पनि त्यसको आडमा ठग्ने भनेको बेइमानी हो । मेरो बिचारमा प्रेम सम्बन्ध भए पछि सम्पर्कमा रहन सामाजिक सञ्जालले​ ​सहयोग त गर्ला,​ ​तर कुनै अन्तर्क्रिया नै नभएको मान्छेसँग फेसबुकमा भेटेको भरमै​ ​प्रेममा परेर बाँच्नै नसक्ने हुनु भनेको बुझ्न नसक्ने कुरा हो । ​अब त्यस्तै प्रेममा परेर प्रेमीले पठाएको रकम, सुन र हिराको गहना पाउने आशामा स्नातक तह पढेका महिलाहरु पनि​ फसेको समाचार केहि दिन अगाडि आएको थियो । ​कुनै पनि सामान​ ​विदेशबाट आउँदा करसहितका लाग्ने खर्च सबै पठाउनेले नै तिर्नु पर्छ, अपवाद बाहेक त्यस्तो खर्च प्रापकले तिर्नु नै पर्दैन । बिदेशी नाम देख्ने बित्तिकै सम्पर्क गरेर कुनै तरिकाले सम्बन्ध बढाउन सकियो भने त्यसैको फेर समातेर विदेश पुगौला भन्ने भित्रि इच्छा हामी मध्ये धेरैलाई छ, भलै उसले यस्तो कुरा बाहिर स्वीकार गर्न नसकोस् । एसिया र गरीव देशका मान्छेको मनोबिज्ञान बुझेका अपराधिक मानसिकताका बिदेशीहरु र बिदेशी नामधारी नेपालीहरुले नै यस्तो प्रकारको ठगि गर्ने हो र हामी मध्ये नै ठगिने पनि हो ।


यी माथि उल्लेखित विचार समय समयमा सञ्चार माध्यममा आएका समाचारहरुलाई आधार मानेर आफ्नो विचार पोखेको मात्र हो । कसैले भन्लान आफु सोझो परियो अरु पनि त्यस्तै हुन्छन् भनेर विश्वास गरिन्छ, तर ठग बदमाससँग फसिन्छ । आफु असल हुनु र अरुलाई पनि असल नै देख्नु निकै राम्रो कुरा हो, तर जसले जे भन्यो कुनै सोचविचार नै नगरी त्यसकै पछाडी दौडनु पनि बुद्धिमानी भने होइन । यस्तै अरुले भनेको कुरा कति सहि र कति गलत हो भनेर सोच्ने प्रक्रियालाई अँग्रेजीमा "कमन सेन्स" भन्छन्, त्यसैको प्रयोग गर्नुपर्छ भन्ने मात्र मेरो भनाइ हो । यसरी पढे लेखेका र जान्ने सुन्ने पनि यस्तो हास्यास्पद रुपमा ठगिनु भनेको कि त हामी लोभी हौँ कि त मुर्ख ।


​#twiiter@naviinr​

प्रकाशित : चैत्र १, २०७४ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?