भाषा पहिचान र विकासमा बंगलादेशी अनुभव

बंगलादेशका जनतामा भाषाजस्तै राष्ट्रिय विकासमा पनि त्यस्तै व्यग्रता पाइन्छ । यो प्रेरणादायी अनुभवबाट विश्वका समग्र राष्ट्रले पाठ सिक्नुपर्छ ।
प्रा. योगेन्द्रप्रसाद यादव

काठमाडौँ — मानिसका लागि भाषा एउटा विशिष्ट उपलब्धि हो । यसको संरचना अत्यन्तै गहन र पेचिलो हुन्छ । यस्तो संरचनाको माध्यमबाट मानिसले आफ्नो मनमा सोचेको विचार मौखिक वा लेख्य माध्यमबाट व्यक्त गर्छ ।

अर्थात् मानिसका लागि भाषा सम्प्रेषणको मौलिक माध्यम हो । यो मौलिक प्रकार्य अतिरिक्त, भाषाले मानिसलाई नियन्त्रण गर्ने, आज्ञा दिने आदि कार्य सम्पादन गर्न सघाउँछ । मानव सभ्यताको सम्पूर्ण इतिहासमा भाषा सबैभन्दा महत्त्वपूर्ण उपलब्धि मानिन्छ । यो उपलब्धि मानिस मात्रको विशेषता हो र अन्य प्राणीमा पाइँदैन ।

विभिन्न भाषामध्ये मातृभाषा यसको वक्ताका लागि झन् महत्त्वपूर्ण हुन्छ । अधिकांश ससाना बच्चा आफ्ना सबैभन्दा नजिक सम्बन्ध रहेका आमाबुबाबाट सिक्छन् । अन्य नजिक भएका परिवारका सदस्यहरू, छिमेकीहरू, खेल्ने साथीहरूबाट पनि भाषा सिकिन्छ । स्वभावत: तिनले आर्जन गरेका मातृभाषा पनि नजिक हुनपुग्छ । यस अतिरिक्त, आफ्नो परिवेशबारे जानकारी हासिल गर्ने र संज्ञानात्मक विकास मातृभाषाको माध्यमबाट हुन्छ । यसरी मातृभाषा तिनको पहिचानको विम्ब भइहाल्छ । तसर्थ मानिसको जीवनमा मातृभाषाको अन्य भाषाभन्दा बढी महत्त्व हुन्छ ।

Yamaha

नेपालको सानो क्षेत्रफल भए तापनि यसको भाषिक स्थिति जटिल पाइएको छ । २०६८ सालको जनगणनामा नेपालमा १२२ भन्दा बढी मातृभाषा बोलिन्छन् । तर तुलनात्मक रूपमा बङ्गलादेशको भाषिक परिवेश सरल देखिन्छ । यता बङ्गला भाषा ९९ प्रतिशतभन्दा बढी बोलिने प्रमुख बहुसंख्यक भाषा हो । यस अतिरिक्त एथनिलोग (२०१८) अनुसार ४० वटा अल्पसंख्यक भाषाहरू १ प्रतिशतभन्दा कम भए तापनि सबै भाषालाई समान रूपमा हेरिन्छ । अहिले तिनको अभिलेखीकरण गरेर संरक्षण र सम्बद्र्धन गर्ने प्रयास भइरहेको छ । साथै ती भाषाहरूमा पाठ्यसामग्री निर्माण गरी बाल शिक्षामा प्रयोग गर्ने केही अभ्यास सुरु गरिएको छ ।

बङ्गलादेशको सन्दर्भमा भाषाले विशिष्ट महत्त्व ओगटेको पाइन्छ । यता भाषा सम्प्रेषण र पहिचानको माध्यममात्रै होइन । यो त यसको स्वतन्त्रता र राष्ट्रियताको भावनासंँग गाँसिएको छ । बङ्गलादेशको स्वतन्त्रता प्राप्तिका लागि कैयौं मानिसले आफ्नो जीवनको बलिदान गरेका छन् ।

हुन त २०७२ मा पारित नेपालको संविधानले मातृभाषाहरूको प्रयोग, संरक्षण र सम्बद्र्धनका लागि थुप्रै प्रावधान गरेको छ । ती प्रावधानहरूको कार्यान्वयन र नियमनका लागि हालसालै भाषा आयोगको स्थापना भएको छ । ढाकास्थित इन्टरनेसनल मदर लैङ्गवेज इन्स्टिच्युट (इमली) ले यो वर्ष फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा ‘भाषा अभिलेखीकरण तथा पुनर्जीवन’ शीर्षकमाथि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । प्रधानमन्त्री शेख हसिनाबाट उद्घाटन गरिएको सम्मेलनमा नेपाल, भारत र चीनका भाषाशास्त्रीहरू सहभागी थिए । भारतका सुप्रसिद्ध तथा वरिष्ठम भाषाशास्त्री डा. पी.बी. पट्टनायकले बालदेखि स्नातकोत्तर कक्षा (केजीदेखि पीजी) सम्म विदेशी भाषा अंग्रेजी भाषाको माध्यमबाट पढाइ हुने दक्षिण एसियामा विद्यार्थीहरूको शैक्षिक स्तर खस्कँदै गइरहेकोले मातृभाषालाई माध्यमका रूपमा अङ्गाल्नुपर्ने खाँचो औंल्याउनुभयो ।

प्रस्तुत निबन्धकारले नेपालमा भाषा अभिलेखीकरणबारे प्रस्तुति गरे । यो प्रस्तुतिमा नेपालमा रहेका थुप्रै अल्पसंख्यक भाषाहरूमध्ये पुमा, छिन्ताङ र बरामको यान्त्रिक अभिलेखीकरणबाट उपलब्ध अनुभवको उल्लेख गरिएको छ । यी अध्ययनमा तयार पारी राखिएका छन् । अल्पसंख्यक भाषाका वक्ताहरू विस्तारै प्रबल भाषा अङ्गाल्दै ती भाषाहरू अन्तत: लोप हुने अवस्थामा पुग्छन् । यस्ता भाषाहरूको लोप भए पनि यान्त्रिक संग्रहालयमा संरक्षित तिनका पाठसङ्ग्रह पुस्तकालयमा सङ्कलित गरिएका पुस्तकभन्दा लामो अवधिसम्म सुरक्षित रहन्छ । कुनै लोप भएको भाषाको वक्ता उपलब्ध नभए पनि त्यसको यान्त्रिक पाठसङ्ग्रहको विश्लेषण गर्न सकिन्छ ।

कुनै पनि प्राकृतिक भाषालाई लोप हुनबाट जोगाउनुपर्छ । यसका थुप्रै कारण छन् । भाषा हाम्रा संस्कृति, सामूहिक ज्ञान र मान्यताको संवाहक हो । यो हाम्रो पहिचान, विविधता र जीवित सम्पदाको महत्त्वपूर्ण अङ्ग हो । यसमा मानवीय ज्ञानको स्वरूप अन्तरनिहित हुन्छ । यस अतिरिक्त भाषाले मानवीय मस्तिष्कको सञ्चालनको प्रतिनिधित्व गर्छ । तसर्थ भाषाको अभिलेखीकरणद्वारा यसलाई सुरक्षित गरी संरक्षण गर्नुपर्छ ।

ढाकास्थित इन्टरनेसनल मदर लैङ्गवेज इन्स्टिच्युट (इमली) बङ्गलादेशका भाषाको संरक्षण र सम्बद्र्धनका लागि मार्च १५, २००१ मा स्थापित भयो । इमलीको स्थापना हरेक वर्ष फेब्रुअरी २१, १९९९ देखि मनाउँदै आएको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको परिणाम हो । १९५२ मा भएको बङ्गाली भाषा आन्दोलन र अन्तर्राष्ट्रिय मातृभाषा दिवसबाट यो संस्था स्थापना गर्न प्रेरित भएको हो । १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुनुभन्दा अघि फेब्रुअरी २१, १९५२ मा आफ्नो मातृभाषा बङ्गालीलाई समान अधिकारका लागि सङ्घर्ष गर्दै आएका बङ्गाली आन्दोलनकारी पाकिस्तानी फौजबाट मारिए । फलस्वरूप यो आन्दोलन सम्पूर्ण पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) मा फैलियो र पुरै क्षेत्र ठप्प भयो । त्यसपछि पाकिस्तानी सरकारले आफ्नो गल्ती महसुस गर्‍यो र बङ्गालीलाई राष्ट्रभाषा स्वीकार गरेर समान हैसियत प्रदान गर्‍यो । बङ्गलादेशमा बोलिने प्रमुख भाषा बङ्गाली र अन्य भाषाहरूबारे अनुसन्धान गर्न आधुनिक सुविधा सम्पन्न यो संस्थानको मुख्य लक्ष्य राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना र लोप हुने स्थितिमा रहेका अल्पसंख्यक भाषाहरूको संरक्षण गर्नु हो ।

यसै अवसरमा ढाका विश्वविद्यालय अन्तर्गत भाषाविज्ञान विभागले पनि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरी विभिन्न विद्वानले भाषाको विश्लेषण र महत्त्वबारे सारगर्भित प्रवचन प्रस्तुत गरेका थिए । यो निबन्धकारले पनि नेपालको भाषिक स्थितिबारे विस्तृत विश्लेषण प्रस्तुत गर्ने अवसर पाएको
थियो । इमिलीले मातृभाषामाथि आयोजना गरेको विषय–वस्तुको महत्त्वलाई थप छर्लङ्ग पारेको थियो ।

यसरी एक हप्ताको बसाइमा ढाका भाषामय भएको पाएँ । यस्तो भाषामय वातावरणको चरमोत्कर्षका रूपमा बङ्गला एकेडेमी र त्यसको वरिपरि विशाल मैदानमा धेरै व्यवस्थित रूपमा आयोजित पुस्तक मेला हेरेर सबै दङ्ग परे । लगभग महिनाभरि लाग्ने यो मेलामा बङ्गलादेशका सैकडौं प्रकाशकले मुख्यत: बङ्गाली भाषामा प्रकाशित विभिन्न विषयका पुस्तक प्रदर्शनीको आयोजना गरेका थिए । यो मेलामा सबैभन्दा बढी आकर्षक कुरा के थियो भने यो मेला हेर्न हरेक दिन अपार जनसमूह आउने गर्थे र आफ्नो मनपरेका पुस्तक किनेर लग्थे । आम मानिसको पुस्तक किन्ने र पढ्ने अभिरुचि देखेर म साह्र नै अभिभुत भएँ । पुस्तकमा अभिरुचि हुनु निश्चय नै ज्ञानात्मक विकासमा योगदान हो ।

यो कुरा बङ्गलादेशी नागरिकको आफ्नो राष्ट्रनिर्माणका लागि प्रकट गर्ने अभिरुचिसँग मेल खान्छ । बङ्गलादेशका जनतामा भाषाजस्तै राष्ट्रिय विकासमा पनि त्यस्तै व्यग्रता अनुभव पाइन्छ । यो प्रेरणादायी अनुभवबाट विश्वका समग्र राष्ट्रले पाठ सिक्नुपर्छ ।

वास्तवमा भाषा एक किसिमको महत्त्वपूर्ण सामाजिक र सांस्कृतिक संशाधन हो । भौतिक संसाधनजस्तै यसको पनि सामाजिक संसाधनको विश्लेषण र त्यससँंग सम्बन्धित मुद्दाहरूको पहिचान गरी योजना तर्जुमा गरेर त्यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । र सामाजिक विकासमा उपयोग गर्नुपर्छ । युनेस्कोद्वारा प्रतिपादित दिगो विकास लक्ष्य ४ ले समावेशी र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्न मातृभाषामा आधारित बहुभाषिक शिक्षा प्रयोजनको सिफारिस गरेको छ।

प्रकाशित : चैत्र ६, २०७४ ०८:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मुखको क्यान्सरबाट कसरी बच्ने ?

डा. प्रतिभा पौडेल

काठमाडौँ — शरीरको कोषको असामान्य वा असीमित गतिमा वृद्धि वा विकास भएमा त्यसलाई क्यान्सर भनिन्छ । अहिलेको समयमा क्यान्सरलाई एक खतरनाक रोगका रूपमा लिने गरिएको छ ।

शरीरको बिभिन्न भागको क्यान्सरबारे जनमानसमा चेतना भए पनि मुखको क्यान्सरबारे धेरैलाई जानकारी नभएकाले धेरै मानिस ढिलो स्टेजमा मात्र उपचारका लागि आउने गरेको पाइएको छ । एक अध्ययन अनुसार नेपालमा पुरुषहरूमा हुने क्यान्सरमध्ये मुखको क्यान्सर दुई नम्बरमा पर्छ, जसमा पहिलोचाहिँ फोक्सोको क्यान्सर रहेको छ ।

यसको मुख्य कारण सुर्तीजन्य पदार्थलाई मानिन्छ । धूमपान, मद्यपान, पान, सुपारी र गुट्खाको अत्यधिक प्रयोगले मुखको क्यान्सर निम्त्याउन सक्छ । भाइरसको जटिल संक्रमणका कारण पनि यो रोग हुने गरेको छ । जस्तै– ह्युमन प्यापिलोमा भाइरस । विभिन्न प्रकारका पोषण तत्त्वको कमीले पनि यो रोगलाई मौलाउने वातावरण प्रदान गर्छ ।

बाङ्गोटिङ्गो वा तिखो दाँतले गर्दा मुखभित्र नियमित रूपमा घर्षण भई निको नहुने घाउ बनाएमा पनि क्यान्सर हुनसक्ने सम्भावना निम्त्याउन सक्छ । त्यसैगरी सूर्यबाट आउने विभिन्न विकिरणका कारणले पनि ओँठको क्यान्सर हुने गरेको पाइएको छ ।

मुखको कुनै भागमा विभिन्न प्रकारका रातो, सेतो वा मिश्रित दाग देखिएमा (जसलाई पोटेनसिअल्ली मलिगनान्ट लिसन्स पनि भनिन्छ), कुनै प्रकारको अल्सर वा घाउ तीन हप्ताभन्दा बढी समयसम्म निको नभएमा, मुखको कुनै भागमा मासु पलाएमा जसको आकार विस्तारै बढ्दै गएमा, दाँतहरू विना कारण हल्लिँदै गएमा, दाँत निकालेको ठाउँमा एक्कासी मासु पलाएमा र घाँटीमा गिर्खा देखिएमा मुखको क्यान्सरका लक्षणहरू हुन सक्छन् । मुखमा देखिएको घाउ क्यान्सर नै हो कि होइन भनेर किटानीसाथ भन्नका लागिचाहिँ बायोप्सी आर्थत मासु जाँच गर्नुपर्छ ।

नियमित रूपमा आफैले आफ्नो मुखको परीक्षण गर्ने हो भने यस रोगलाई सुरुकै स्टेजमा पत्ता लगाउन सकिन्छ । यसका लागि मुखलाई ८ भागमा विभाजित गरिएको छ । अगाडिको भागको गिँजा, पछाडिको भागको गिँजा, माथिको ओँठको भित्री भाग, तलको ओँठको भित्री भाग, गालाको भित्री भाग, जिब्रोको माथि, तल र छेउछाउको भाग र तालु । जाँच पूरा गर्नका लागि चम्किलो बत्ती लिएर ऐनाको अगाडि उभिएर माथि उल्लेखित सबै भागमा राम्रोसँंग जाँच गर्नुपर्छ ।

यदि कुनै भागमा शंकास्पद घाउ देखिएमा तत्काल दन्त चिकित्सकको सल्लाह लिनुपर्छ । शरीरको अरू भागको क्यान्सरजस्तै मुखको क्यान्सरका लागि पनि शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी जस्ता उपचार गर्न सकिन्छ । मुखको क्यान्सरको रोकथामका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सुर्तीजन्य पदार्थबाट टाढै रहनु हो ।

मुखमा कुनै प्रकारका दाग, घाउ वा माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा तुरुन्तै चिकित्सककोमा देखाउन जानुपर्छ । समयमै उपचार गरे क्यान्सर निको हुन्छ र यसबाट हुने विकृति र अरू समस्यालाई पनि कम गर्न सकिन्छ भने स्तरीय आयु लम्ब्याउन सकिन्छ ।

डा. पौडेल धुलिखेल अस्पताल, ओरल प्याथोलोजी विभागकी उपप्राध्यापक हुन् ।

प्रकाशित : चैत्र ६, २०७४ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT