२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

महिलाको पक्षमा आवाज

आफ्नै परिवेश
महिला अधिकारका ठूलठूला नारा लाउँछन्, यिनै ठूलठूला अपराधकर्म पनि मच्चाउँछन् । महिला अधिकारको सम्मान गर्ने हो भने महिलाको सुरक्षाको विशेष नीति ल्याएर त्यसको कार्यान्वयन गर्नुपर्छ ।
झमक घिमिरे

काठमाडौँ — महिला हिंसाका घटनाहरू विविध सञ्चार माध्यमले दिइरहेका हुन्छन् । कहिले बोक्सीको आरोपमा महिला बेहोश हुन्जेल कुटिन्छे । कहिले आफ्नै अभिभावकहरूबाटै यौन हिंसाको सिकार बन्छे । कहिले आफ्नाहरूबाटै पशुसरह किनबेच हुन्छे ।

यस पंक्तिकारको दिमागभरि एउटै प्रश्नमात्र खेलिरह्यो– के महिला कहीं कतै सुरक्षित छैन त ? यो धर्तीमा महिला बनेर जन्मिनु अभिशाप हो त ? होइन भने यो धर्तीमा जन्मिने महिला जातिमाथि किन खालखालका हिंसा हुने गरेको छ ? केही पुरुषहरू हिंसाको जिम्मेवार स्वयं महिलालाई ठानेर आफ्नो दोष लुकाउन खोज्छन् । महिलालाई हाम्रो संस्कारले सानैदेखि के सिकाएको हुन्छ भने घरका ठूला मान्छेहरूले भनेको चाहे त्यो काम नलाग्ने होस्, त्यो कुरामाथि प्रश्न उठाउनु हुँदैन ।

महिलाको विचारको दमन संस्कारबाट हुन्छ । हाम्रो समाजमा अन्धविश्वासको जालो यसरी फैलिएको छ, जहाँ महिला सुत्केरी हुँदा अपवित्र हुन्छन् भनेर घर परको गोठमा राखिन्छ । जुन अवस्थामा बढी सरसफाइको आवश्यकता हुन्छ, पोषिलो खानेकुराको आवश्यकता हुन्छ, घरपरिवारको न्यानो साथ र सहयोगको आवश्यकता हुन्छ । त्यस्तो बेला घरभन्दा परको गोठमा एक्लै राख्दा त्यो महिलाको मानसिकता कस्तो होला ? उमेर बढ्दै जाँदा महिलाको प्राकृतिक रूपमै ऋतुस्राव देखापर्छ, यो महिलाको परिपक्व हुँदै गएको शुभसंकेत हो । तर त्यसलाई नेपाली समाजले अपवित्र मानेर घरदेखि पर गोठमा (छाउघरमा) पठाउने परम्परा पश्चिमतिर व्याप्त छ । त्यस्ता छाउघरमा बस्ने महिला, किशोरीहरू सुरक्षित हुँदैनन्, उनीहरूमाथि कतिपय जंगली जनावरको आक्रमणमा पर्ने कतिपय कुनियत बोक्ने मान्छेहरूबाटै आक्रमण हुने गरेका र कतिपय महिलाहरूको यसैकारण अकालमा ज्यान गएका खबर वर्षेनि आउने गरेका छन् ।

एउटै निर्बल महिला २१ औं शताब्दीमा बोक्सी बनेर मरणासन्न हुनेगरी किन कुटिन्छे, आफूलाई भोलेबाबा ठान्ने पुरुषबाट ? साँच्चै भोलेबाबाले त महिलालाई मेरो आधा–आधा अंग सबैभन्दा ठूलो शक्तिको रूपमा सम्मान गरेका छन् । यो कुरालाई चाहिंँ किन बुझ्न सक्दैनन्, अहिलेका भोलेबाबाहरूले ? उनीहरू ईश्वरका सच्चा अनुयायी ठान्छन् भने कुन ईश्वरले निर्दोष महिलामाथि अत्याचार गर भनेका छन् ? यो पंक्तिकारले त कतै त्यसको प्रभाव भेटेकी छैन । अनि ईश्वरको रूप आफूलाई ठानेर किन निर्दाेष महिलालाई सताउँछन् ? यहाँ खालखालका भोलेबाबाहरूले विभिन्न रूपमा महिलालाई सताउने काम गरिरहेका छन् । आफ्नै चेलीहरूलाई पनि यी भोलेबाबाहरूले कतै बलात्कार गरिरहेका छन्, कतै पशुको रूपमा मोलतोल गरिरहेका छन् ।

यो २१ औं शताब्दीमा पनि महिला हिंसा विश्वमा फरक–फरक रूपमा भइरहेका छन् । हिंसाग्रस्त क्षेत्रहरूमा सबैभन्दा बढी प्रभावित हुने भनेको महिला र बालबालिकाहरू हुन् । किनभने जुनसुकै हिंसामा पनि महिलाहरू जबर्जस्ती बलात्कृत भएका छन् । नामर्दाहरूले आफ्नो पुरुषार्थ महिलाको शरीर जबर्जस्ती गिजोलेर देखाएका होलान् । तर हर समयको इतिहासले जतिसुकै शक्तिशाली योद्धा नै किन नहुन् ? यिनलाई नामर्द नै घोषित गरेका छ । विश्वको इतिहासमा भएका जुनसुकै युद्धमा होस्, महिलाको अस्मिता लुट्ने कुकर्म हँुदै आएको छ । किनभने महिला जातिलाई विक्षिप्त बनाएर उसको अस्मिता लुटेर शत्रु पक्षलाई आफ्नो जित भएको ध्वाँस दिनेभन्दा केही उद्देश्य रहेको देखिँंदैन । आज महिला अधिकारका ठूलठूला नारा लाउँछन्, यिनै ठूलठूला अपराधकर्म पनि मच्चाउँछन् । विश्वका महिला अधिकारको सम्मान गर्ने हो भने महिलाको सुरक्षाको विशेष नीति ल्याएर त्यसको कार्यान्वयन गर्नुपर्छ ।

नेपालको परिवेशमा भन्ने हो भने जनचेतनाको कमी छ, अन्धविश्वासले ग्रस्त समाज मान्छेको चेतनाको स्तर अझै माथि उठ्न धेरै समय लाग्छ ।

प्रकाशित : चैत्र ७, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?