१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

समाजवादको बाटो

कुनै दिन कांग्रेस सुध्रिन सक्छ, विद्यमान नेतृत्व पंक्ति परिवर्तन हुन सक्छ । यो आशा मनको लड्डु घिउसँग खानु हुँदै होइन ।
प्रा. कृष्ण पोखरेल

काठमाडौँ — यो संविधानको दुई ठाउँमा समाजवादको उल्लेख छ– एउटा प्रस्तावनामा र अर्को धारा ४ मा । प्रस्तावनामा नेपाललाई समृद्ध राष्ट्र बनाउन समाजवादप्रति प्रतिबद्ध रहने भनिएको छ । धारा ४ मा चाहिंँ नेपाल राज्यको परिभाषा गर्दा समाजवाद उन्मुख राज्य भनिएको छ ।

समाजवादको बाटो

संविधानमा अंकित यो कुरा नेकपा एमाले र माओवादी केन्द्रको ठूलै जोडबल नभई सम्भव भएको होइन । तर यो जशको भागिदार यी दुई पार्टीमात्र होइनन् । यथार्थमा यो काम यिनको जोडबलले मात्र त्यसबेलासम्म सम्भव हुन्थेन, जबसम्म नेपाली कांग्रेसले पनि हुन्छ भनी टाउको हल्लाउने थिएन । हुन त यतिबेलासम्म उसको नवउदारवादसँगको लगनगाँठो निकै कसिलो भइसकेको थियो । तथापि समाजवादप्रतिको उसको प्रतिबद्धता पार्टीको विधान/चुनावी घोषणापत्रको गाता वा पार्टीले गर्ने सार्वजनिक कार्यक्रमको तुलको सिरानमा जीवितै थियो । त्यतिमात्र होइन, नेताहरूको जनतालाई फकाउने भाषणमा बीपीको समाजवाद कहिल्यै छुट्दैनथ्यो ।

तर यो संविधान त्यहीँ अड्किएर बसेको छैन । यसले नेपाली नागरिकका लागि पस्केको मौलिक हकभित्र यस्ता यस्ता हकहरू छन्, जसको इमानदारीपूर्ण कार्यान्वयनले समाजवादको बाटो प्रशस्त गर्छ । जस्तो कि त्यहाँ नेपाली नागरिकका लागि रोजगारीको हक, स्वास्थ्यको हक, श्रमको हक, आवासको हक, दलितको हक र सामाजिक न्यायको हकजस्ता सामाजिक–आर्थिक सुरक्षा विषयक हक प्रत्याभूत गरिएका छन् । त्यतिमात्र होइन, तिनै हकहरूको लहरमा यी हकहरू कार्यान्वयनका लागि राज्यले संविधान प्रारम्भ भएको मितिले तीन वर्षभित्र कानुन बनाइसक्नुपर्ने भनिएको छ । शौभाग्यको कुरा के छ भने संविधानको यो प्रतिबद्धता र मौलिक हकको कार्यान्वयनको यो जिम्मेवारी नेपाली मतदाताले वैचारिक हिसाबले नै समाजवादप्रति प्रतिबद्ध वाम गठबन्धनलाई सुम्पेका छन् । अत: समाजवादको सफलताको श्रेय र असफलताको दोष अब वाम गठबन्धनकै पोल्टामा पर्ने निश्चित छ ।

वाम गठबन्धनको सफलताको यो श्रेय एमाले र माओवादी केन्द्रको नेतृत्व र त्यसमा पनि खासगरी केपी ओली र प्रचण्डलाई जान्छ, जसले इतिहासको पदचापलाई सुनेर र नेपाली जनताको नाडी छामेर यो गठबन्धन गर्ने निर्णय गरे । तर श्रेयका अंशियार मुलुकभरि फैलिएका यी दुवै पार्टीका कार्यकर्तालाई पनि समान रूपले जान्छ, जो निर्वाचनको मुखमा हठात बनेको यो गठबन्धनलाई चुनावी सफलतामा रूपान्तरित गर्न दिलोज्यानले लागे । त्यसो त यो सफलताको सबैभन्दा ठूला नायक भनेका नेपाली जनता नै हुन्, जसले नेपाली कांग्रेसको वाम गठबन्धनले जिते मुलुकमा अधिनायकवाद आउँछ भन्ने हाउगुजीलाई बेवास्ता गर्दै वाम गठबन्धनको स्थायित्व, विकास र समृद्धिको वाचालाई पत्याए ।

यो मुलुकमा यस्ता पनि जडसूत्रवादी कम्युनिष्ट नेता र हातेकुर्सी क्रान्तिकारी छन्, जो यी दुई पार्टीको गठबन्धन र पार्टी एकताको प्रयत्नलाई अनेक फत्तुर लाउँछन् । ती मध्ये कोही माओवादी जनयुद्धको एमालेमा विसर्जन भएको देख्छन्, कोही यसमा यी दुई पार्टी नेताहरूको चरम अवसरवाद देख्छन् । कतिपय बालरोगग्रस्त क्रान्तिकारी माक्र्सदेखि माओसम्मका कृतिलाई उद्धृत गर्दै क्रान्तिलाई धोका दिएको आरोप लगाउँछन् । यी सबैको फत्तुरको निचोड के हो भने यी सबै भुइँको टिप्न पोल्टाको गमुाउनुपर्ने भन्छन् । तर यसमा मेरो भने सख्त असहमति छ ।

मलाई लाग्छ, कुनै मुलुकको क्रान्ति यी आ–आºनो समयका समाजवादका प्राधिकारहरूको कृतिको रिठ्ठो नबिराइ गरिने अनुकरणबाट सम्भव हुने होइन । न पेरिस कम्युनको बाटोबाट रूसमा बोल्सेभिक क्रान्ति भएको हो न बोल्सेभिक क्रान्तिको बाटो अनुशरण गरेर चीनमा नौलो जनवाद सम्भव भएको हो । कास्त्रोले आºनो बाटो आफैं खोजे र होची मिन्हले आºनो बाटो आफंै ।

एक समय जल्दोबल्दो र कतिपय मुलुकमा त सत्तामै पुगेकाहरू आºनो क्रान्तिको बाटो आफै नखोजेका कारण वा इतिहासको पदचाप सुन्न नसकेका कारण कसरी दृश्यपटलबाट ओझेल भए र इतिहासको ‘डस्टबिन’मा मिल्किए, त्यसका उदाहरणले कम्युनिष्ट क्रान्तिको इतिहास भरिएको छ । सत्ता हातमा आए पनि समाजवादको प्राप्तिका लागि हतार गर्दा कहाँ पुग्यो कम्बोडियामा पोलपोट– अइङसारीको शासन ? पेरुमा क्रान्तिको त्यत्रो उभार ल्याएको माक्र्सवाद, लेनिनवाद, माओवाद र गोन्जालो विचारधाराको पक्षधर ‘साइनिङ पाथ’को के हविगत भो ? अरु त अरु भारतमा कुनै बेला कंग्रेस आई.पछिको दोस्रो राजनीतिक शक्ति बनेको सीपीआईएमको पश्चिम बंगाल, केरला र त्रिपुरा गरी तीन राज्यमा वर्षौं चलेको सरकार र उसको ‘पिपुल्स डेमोक्र्यासी’ यतिबेला कहाँ पुग्यो ? कंग्रेसइतर एवं गैरदक्षिणपन्थी गठबन्धनले तिनका नेता ज्योति वसुलाई भारतको प्रधानमन्त्री प्रस्ताव गर्दा पनि अस्वीकार गर्ने भनिएको त्यो पार्टी किन आज सिला खोज्नुपर्ने अवस्थामा पुग्यो ?

वास्तवमा आºनो मुलुकको वस्तुस्थितिको ठोस विश्लेषण गरेर तदनुरुप बाटो तय गर्ने पार्टीहरूले निर्णायक छलाङ मारेका छन् र त्यसो नगर्नेहरू इतिहासको गर्तमा हराएका छन् । मलाई त कुनै मुलुकमा कम्युनिष्ट विचारको कार्यान्वयन भनेको मानव शरीरमा अंग प्रत्यारोपणजस्तै जटिल र सम्वेदनशील क्रिया हो भन्ने लाग्छ । शरीरको ‘मेटाबोलिजम’सँग मिल्यो भने शरीरले त्यसलाई ग्रहण गर्छ, मिलेन भने अस्वीकार गर्छ । ठिक त्यसैगरी समाजको विकासको अवस्थासँग विचारको मात्रा मिलाउन सक्यो भने त्यसले क्लिक गर्छ, नत्र मात्रा बढी भए पनि ‘रियाक्सन’ हुन्छ, कम भए पनि छुँदैन । हो, यो संगीन दोसाँधमा नेतृत्वको परख र पहिचान हुन्छ । हतार गर्ने पोलपोट भए, नक्कल गर्नेहरू गोन्जालो भए र धिमाहरू सीपीआईएम भए । र समाज विकासको अवस्था अनुरुप मात्रा मिलाउन सक्नेहरू एमाले र माओवादी केन्द्र भएका छन् र ऐतिहासिक छलाङ लगाउने ठाउँमा पुगेका छन् ।

संसारमा समाजवादले धक्का खाएको बेला जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर मदन भण्डारीले एमालेलाई वैचारिक पुनर्गठनका साथ जहाँ उभ्याए, त्यसैको प्रतिफल हो, एमाले । त्यस्तै जनयुद्धलाई साइनिङ पाथको दु:खान्त अवस्थातर्फ जान नदिएर प्रचण्डले जुन ऐतिहासिक मोडमा त्यसको क्रमभंग गरे, त्यसैको प्रतिफल हो, आज यो मुलुकमा स्थापित भएको गणतन्त्र, समावेशी लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता मान्यता परिवर्तन ।

तर जुन बेला यी दुई पार्टी एकअर्काबाट टाढा रहे, परिवर्तनको प्रतिफल प्राप्त गर्नबाट नेपाली जनता वञ्चित रहने अवस्था आयो । त्यतिमात्र होइन, उनीहरू निराश र हताश हुने अवस्था आयो । हो, यही विन्दुमा यी दुई पार्टीका नेतृत्व वर्गले नेपाली समाज विकासको इतिहासमा अर्को क्रमभंग गरे । त्यसैको उपज हो, वाम गठबन्धन, त्यसको चुनावी विजय र समाजवाद कार्यान्वयन गर्न जुरेको यो ऐतिहासिक अवसर ।

अव रह्यो, समाजवादको कुरा । मैले बुझेसम्म माक्र्सले प्रतिपादन गरेको समाजवादको समकालीन भाष्य भनेको वर्गीय, जातीय र लैङ्गिक भेदभावबाट मुक्त त्यस्तो समाज स्थापना हो, जहाँ मानव सशक्तीकरणको उच्चतर अवस्था हुन्छ । हो, त्यही मानव सशक्तीकरणको उच्चतर अवस्थाको प्राप्ति नै यो सरकार र पार्टीको अभीष्ट हुनुपर्छ । जहाँसम्म मानव सशक्तीकरणको उच्चतम अवस्थाको कुरा छ, त्यो त योभन्दा पनि उच्च स्तरको समाजवादमा मात्र सम्भव होला ।

आगामी दिनहरू निसन्देह चुनौतीपूर्ण छन् । चुनौतीहरू देश र विदेशी दुवै छन् । त्यतिमात्र होइन, यिनकै संगठनहरूभित्र पनि छन् । विकास र समृद्धिको वाचा पुरा गर्नुपर्ने प्रशासनयन्त्र अत्यन्त जुम्सो छ । तिनमा काम गर्ने संस्कृतिको नितान्त अभाव छ । अर्कोतिर राजनीतिक–प्रशासनिक नेतृत्व भ्रष्टाचारले आक्रान्त छ । बाह्य शक्तिहरूमा संशय ब्याप्त छ । यिनै पार्टीहरूभित्र पनि इमानदार र कर्मशीलहरू पाखा परेको र आफ्नो पदलाई कमाइखाने भाँडो बनाएका छट्टु र चाटुकारहरूको बिगबिगी छ । तर यिनको नेतृत्वले बुझ्नुपर्ने कुरा के छ भने तिनै चुनौतीमाझ अवसर पनि छन् । अहिलेसम्म जनताले यो गठबन्धनले गरेको वाचालाई पत्याएर जिताएका हुन् । तर अब आफूले गरेका तिनै वाचा पुरा गरेर जनताको विश्वास जित्नुपर्ने हुन्छ ।

नेपाली जनता र समकालीन इतिहासले संविधान र निर्वाचनमार्फत सुम्पेको कार्यभार पुरा गर्ने काममा यो गठबन्धनलाई असफल हुने छुट छैन । अब यी दुई पार्टी गठबन्धनको अवस्थाबाट एक कदम अगाडि बढेर एकीकृत हुन जरुरी छ । बलियो संगठन र दृढनिश्चयले मात्र सफलताको यात्रा तय गर्न सकिन्छ । रातारात चमत्कार हुन्छ भन्ने कुरा त म पनि मान्दिन र भन्दिन पनि । तर यो सरकार र एकीकृत पार्टीले सही दिशातर्फ पाइला चाल्न जरुरी छ । आहानै छ– बिहानले दिनको संकेत गर्छ । हेरौं, नेपालीको स्वप्न भङ्ग हुन्छ कि पुरा !

[email protected]

प्रकाशित : चैत्र ७, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?