कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बोक्सीको मापदण्ड के ?

भारती पोखरेल

काठमाडौँ — १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा कैलालीको एक थारु बस्तीमा बोक्सीको आरोपमा १८ वर्षीया राधा चौधरीलाई बर्बरतासाथ कुट्नु र त्यहाँ उपस्थित जनसमूहले कुनै चलचित्रको दृश्य हेरेझैं गरी मनोरञ्जनसाथ हेरिरहेको देख्दा कोही पनि मर्द नभए जस्तो लाग्यो ।

बोक्सीको मापदण्ड के ?

आफ्नै टोलकी चेलीले त्यसरी कुटाइ खाँदा पनि मूकदर्शक हुनुले यो प्रस्ट पारेको छ । हाम्रो समाज मैत्री समाज नभई व्यक्तिवादी समाजमा परिवर्तन हुँदैछ ।

२०७० साउन ३१ गते पर्साको सुपोलीमा पनि ४५ वर्षीया पार्वती चौधरीलाई बोक्सीको आरोपमा गाउँलेले कुटेर हत्या गरेका थिए । के बोक्सीहरू जहिले पनि गरिब निसहाय महिला नै हुने गर्छन् ? प्राय: सहरी क्षेत्रमा बोक्सी कमै भेटिने गर्छन् । किन ?

न घरभित्र न घर बाहिर, महिला कतै सुरक्षित छैनन् । महिला भएर जन्मनु अभिशाप अवश्य होइन । कतिले भन्छन्, यस्ता स–साना घटना भइनै रहन्छन् । पत्रपत्रिकाहरूले सानो घटनालाई पनि ठूलो पार्ने काम गर्छ भन्ने जमात पनि नभएको होइन । तर ती जमातलाई सोध्न सकिन्छ– यस्ता घटना तपाईंहरूको श्रीमती, छोरी, दिदी, बहिनीमाथि भएको भए के गर्नुहुन्थ्यो ? गरिबी, अशिक्षा, निमुखा, एकल महिलामाथि प्राय: बोक्सीको आरोप लगाउने गरिन्छ । यस्तो कुसंस्कार र कुव्यवहारबाट अगाडि बढी निमुखा, गरिब एकल वर्गको उत्थान र विकास गर्नु आजको आवश्यकता हो ।

हाम्रो समाजमा बोक्सी प्रथाले जरा गाडेको प्राचीन कालदेखि नै हो । जुन युगमा पनि शक्तिशालीले गरिब र कमजोरमाथि आफ्नो प्रभुत्व जमाउँदै आएको इतिहास साक्षी छ । यसमा पनि पुरुषलाई नै सर्वेसर्वा मान्ने हाम्रो समाजकै कारण यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । महिलालाई दोस्रो श्रेणीको नागरिक ठान्नु समाजमा भएका नराम्रा कुरालाई महिलामाथि थोपर्नु, दोषी ठहर्‍याउनु हाम्रो परम्परा नै रहँदै आएको छ, जसको सिकार राधा हुन पुगिन् ।

बोक्सीको परिभाषा गर्दा महिलालाई नै किन इंगित गरिन्छ ? धेरैजसो महिला नै बोक्सीको नामबाट प्रताडित हुने गर्छन् । गाउँमा कोही बिरामी भयो, मृत्यु भयो भन्नासाथ बोक्सीका कुरा उठ्ने गर्छ । आज विज्ञानले यत्रो फड्को मारिसक्दा पनि हामी भने उही पुरानो संस्कारबाट नै प्रेरित छौं । बिरामीको मृत्युका कारण थाहा पाउने धेरै माध्यम हुँदाहुँदै पनि बोक्सी लागेर मर्‍यो, बिरामी भयो भन्नुले के देखाउँछ ? बोक्सी नै लागेर मृत्यु भयो भन्ने वैज्ञानिक आधार के ? धामी–झाँक्रीसँग त्यो आधार छ ?

सन् १९९८ मा अफ्रिकी मुलुक घानाका ४ सय महिलालाई बोक्सीको आरोपमा गाउँ निकाला गरियो । त्यस्तै तान्जानियामा ५ सय महिलालाई बोक्सीकै आरोपमा मारिएको केही संघ/संस्थाले प्रस्तुत गरेका प्रतिवेदनमा उल्लेख छन् ।

नेपाली समाजमा पुरुषको तुलनामा बढी महिला बोक्सी हुन्छन् भन्ने जनविश्वास रहेको छ । बोक्सी भनेर महिलालाई नै बढी प्रताडित गरी आरोप लगाइन्छ । पुरुष भने अपवादमा मात्र बोक्सी हुने गरेको सुनिन्छ ।

भूत, प्रेत, मसान, वाण चलाएर, रगत लिएर बोक्सीको आरोप लगाउँछन् भन्ने धारणा रहेको छ । धामी र झाँक्रीको शंका/उपशंकाका कारण बोक्सी ठहर गरी कुटपिट गर्ने, हत्या गर्ने, दिसापिसाब खुवाउने, डाम्ने जस्ता अमानवीय कार्य हुने गर्छन् ।

२०२० सालको मुलुकी ऐनमा बोक्सीको दोष लगाई दुव्र्यवहार गर्ने गरेमा कुटपिट महल बमोजिम सजाय हुने व्यवस्था थियो । अपराध र समाज ऐन २०२६ र गाली, बेइज्जती ऐन २०१६ जस्ता कानुनहरू निर्माण गरी कार्यान्वयनमा आएको थियो । कुनै पनि महिलामाथि बोक्सीको आरोप लगाइदिने अपराध, अत्याचार, उत्पीडन, यातना दिने कार्यको रोकथाम सजायको व्यवस्था गर्न कानुनको अभाव रह्यो भनी २०६१ साउन २६ गते सरकारको नाममा सर्वाेच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको थियो ।

महिलामाथि बोक्सीको दोष लगाई अमानवीय व्यवहार गरी उनको अस्मिता, मानमर्यादामा आघात पुर्‍याउने कार्यलाई अपराधको श्रेणीमा राखियो । २०६३ सालमा मुलुकी ऐन २०२० को महल १० (ख) मा थप गरी बोक्सीको दोष लगाउने कार्यलाई अपराध मानियो । नेपाल सरकारले सामाजिक कुरीति तथा अन्धविश्वासको रूपमा रहेको बोक्सीको आरोप लगाइएको पीडितलाई न्याय दिनका लागि बोक्सीको आरोप लगाई अपराध गर्नेलाई ८ वर्ष कैद तथा १ लाख रुपैयाँसम्म जरिवाना हुुने घोषणा नै गर्‍यो । नयाँ संविधानमा सबै नागरिक कानुनको दृष्टिमा समान बनाए तापनि महिलाको पक्षमा भने खासै सुधार देखिएको छैन ।

मानव अधिकारको संरक्षणका लागि बनेका विभिन्न महासन्धिले पनि महिला वर्गले आत्मसम्मानसाथ बाँच्न पाउने अधिकार दिएको छ । तर बोक्सीको दोषमा हुने गरेको क्रूरता, यातना, हिंसाले महिलाको हक–अधिकार ठाडो उल्लंघन गरेको छ । अज्ञानता, गरिबी, रूढीवादी, चेतनाको कमीकै कारण समाजमा यस्ता घटना हुने गरेको रिपोर्ट लेखाउन जाँदासम्म प्रहरी प्रशासनले महिला त्यसमा पनि गरिब भएकै कारण उनीहरूको कुरा सुन्दैन, हेप्ने संस्कार साथै मौन संस्कृतिको पनि प्रत्यक्ष प्रभाव परेको देखिन्छ । जसको मारमा राधा चौधरी परिन् ।

प्रकाशित : चैत्र ८, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?