कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

महिलाको मानवीय गरिमा

उषा थपलिया

काठमाडौँ — माघ ७ गते राति काठमाडौं दरबारमार्गमा भएको सामुहिक बलात्कारको घटना सार्वजनिक भएलगत्तै देशका विभिन्न भागमा भएका बलात्कारका घटना प्रचारमा आउने क्रम एकाएक चुलियो ।

सञ्चार माध्यमबाट एकपछि अर्को गर्दै बाहिरिएका ती घटनाले मुलुकमा बालिका/किशोरी/महिला कुन हदको असुरक्षासँंग सामनारत छन् भन्ने बोध गरायो । त्यस बाहेक पीडितमैत्री हुन नसकेको सुरक्षा निकायको व्यवहार पनि कम आलोचित बनेन ।

कुनै घटनामा न्याय स्थापित गर्न र पीडकलाई दण्डित गर्न सडकदेखि सदनसम्म नारा लाग्नुपर्ने अवस्था किन भइरहेको छ ?

बलात्कार जस्तो जघन्य अपराधमा पीडितको जाहेरी लिनुको सट्टा पैसाको चलखेलमा मिलापत्रका लागि दबाब दिने प्रहरी अधिकारीहरूको मानसिकताले पनि ठूलै तरंग ल्याइदियो । सार्वजनिक भएका बलात्कार सम्वन्धी अन्य अधिकांश घटनाको प्रकृति र प्रहरी प्रशासनको भूमिका पनि योभन्दा भिन्न देखिएन । बलात्कारपछि हत्या गरिएकी १० वर्षीया छोरीको न्यायका लागि राजधानीमै संघर्षरत एउटी आमा सन्तोषी नेपालीले हन्डर खेपिरहेकी छन् । कानुनी शासन कायम देशमा त्यो अवस्था कतिको जायज हो ?

महिला हिंसा र ज्यादती
नारी दिवसकै दिन कैलालीको घोडाघोडीमा बोक्सी आरोपमा १८ वर्षीया राधा चौधरीमाथि गरिएको कुटपिट र व्यवहार निर्मम र पाशविक थियो । हिंसामा उत्रने पीडक कि अत्यधिक अहं र दम्भले अन्धो हुन्छन्, कि विवेक र चेतनाशून्य स्थितिबाट ग्रस्त हुन्छन् । तर एक निरीह किशोरीमाथि लामो समयसम्म कुटपिट हुँदा सयौं रमितेमध्ये एउटैले पनि आफ्नो विवेक दर्शाउन नसक्नु सबैभन्दा क्षोभजन्य कुरा हो । हातमा आधुनिक मोबाइल बोकेर एउटी महिलाको यातना, क्रन्दन र पीडालाई भिडियोमा कैद गर्न चेत जाग्ने तर एक सचेत नागरिकका हैसियतले पीडितको रक्षामा आफ्नो दायित्व छ भन्ने मनन नगर्ने युवा जमातको व्यवहार कम पीडादायी अवश्यै छैन ।

महिला हिंसाका शृङ्खलाबद्ध घटना
आजभोलि हरेक दिन महिला हिंसाका फरक–फरक घटना सार्वजनिक हुने क्रम बढ्दो छ । नारी दिवस यताका १५ दिनमा दर्जनभन्दा बढी गम्भीर महिला हिंसाका घटना सञ्चारमा आए । यी मध्ये धेरैजसो बलात्कारकै घटना देखिन्छन् । घटनाहरूमा ६२ वर्षीया वृद्धादेखि ६ वर्षीया बालिकासम्म पीडित छन् । गन्यापधुरा–२ डडेलधुराकी ६२ वर्षीया दलित तथा एकल महिला ३२ वर्षीय स्थानीय युवकबाट बलात्कृत भइन् भने गुल्मीमा एक ६ वर्षीया बालिकालाई चाउचाउ र विस्कुटको लोभ देखाई १६ वर्षीय हिमाल दमाईले बलात्कार गरे । मानसिक सन्तुलन ठिक नभएकी, घरेलु कामदारको रूपमा अरूको घरमा काम गर्ने, यात्राको क्रममा सार्वजनिक यातायातमा सवारीरत किशोरीसमेत बलात्कृत भए । त्यस्तै एक १५ वर्षीया किशोरीलाई काठमाडौंमै एक सातासम्म बन्धक बनाई सामूहिक बलात्कार गर्ने ५ जना पक्राउ परेका छन् भने सुनसरी चक्रघट्टीमा पोल खुल्ने डरले बलात्कारपछि एक गर्भवती महिलाको हत्या प्रयास भएको र त्यसैबाट गर्भपतन भएको देखिन्छ । राजधानीको एक निजी स्कुलका शिक्षकले आफ्नै विद्यालयकी बालिकालाई यौन दुव्र्यवहार गरेको घटना पनि हालै प्रचारमा आएको छ । त्यस्तै चैत ३० गते भीमदत्त नगरपालिका–५, वनगाउँकी युवतीमाथि स्थानीय राकेश चन्दले आफूसँंग बिहे गर्न नमानेको भन्दै उनकै घरमा गएर कुटपिटमात्रै गरेनन्, उम्लेको तातो घिउ टाउकोबाट खन्याएर चरम यातना दिए ।

इज्जतको बढी चिन्ता
सप्तरीको खड्ग नगरपालिका– ९ का १८ वर्षीय राजदेव मण्डललाई आफ्नै काकाकी ११ वर्षीया छोरीको बलात्कारपछि हत्याको आरोपमा पक्रेर प्रहरीले अनुसन्धान थाल्यो, तर पीडितकै आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दी प्रत्यक्षीकरणको रिट हालिन् । पीडक परिवारकै सदस्य भएको र कारबाही अघि बढाउँदा परिवारको प्रतिष्ठामा आँच आउने डरले उनी पीडक बचाउन लागेको बुझिन्छ । प्रहरी समक्ष पीडकले आफ्नो अपराध स्वीकार गरिसक्दा तथा पीडितको न्यायका लागि प्रहरी आफै अग्रसर हुँदासमेत मुलुकी ऐनको जबर्जस्ती करणी, हाडनाता करणी र ज्यान सम्बन्धी गरी तीनवटा महल आकर्षित हुने गम्भीर जघन्य अपराधलाई निस्तेज पार्न पीडितकै अभिभावक लागिपर्नु दु:खदमात्रै हैन, आश्चर्यजनक पनि हो ।

परिवारभित्रै हत्या, हिंसा
१९ वर्षीया छोरीको चरम यातनापछि हत्या गरी गुपचुप लास जलाएको अभियोगमा जनकपुरका दिलीपकुमार यादवलाई प्रहरीले ८ मार्चकै दिन पक्राउ गर्‍यो । काठमाडौंको नासा कलेजमा १२ कक्षामा अध्ययनरत १९ वर्षीया स्नेहाकुमारी यादव र बाबुबीच विवादित कुनै कुरामा हरेक दिन ठूलो स्वरले झगडा हुने गरेको स्थानीयले नै प्रहरीलाई जानकारी गराएका थिए । कोठामा रगतका छिटा देखिएको र घटनापछि आमाबाबु दुवै फरार रहेकाले हत्याकै आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो । यादवले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । त्यस्तै अर्को घटनामा कुटपिटपछि पत्नीको हत्या गरी लास जलाउन लाग्दा प्रहरीले चिताबाटै लास बरामद गरेको घटनाले महिलाहरू परिवार र पारिवारिक सदस्यबाट समेत असुरक्षित रहेको प्रस्ट देखिन्छ ।

पीडकको उच्च मनोबल
उल्लिखित विभिन्न घटनामा पीडकको मनोबल उच्च रहेको स्पष्ट बुझिन्छ । धेरैजसो अपराधका घटनास्थल पीडितकै घरलाई बनाउन पीडक सफल हुनु त्यही मनोबलको प्रभाव हो । जसका कारण बाहिरिया पीडकबाट आफ्नै घरभित्र हिंसा खेप्न बालिका, किशोरी र महिला विवश छन् । आपराधिक घटनाका अधिकांश पीडकलाई न आफू नैतिक मूल्य–मान्यताले च्युत भएको हेक्का रहन्छ, न गल्तीपछि ग्लानि महसुुस गर्छन्, न कानुनकै कठघरामा परिएला भनेर डर जाग्छ । कानुन कार्यान्वयनमा रहेको फिलतोपना र महिला हिंसाका सवालमा कानुनी उपचार खोज्न उल्टै पीडित पक्षलाई नै पाइला–पाइलामा प्रतिकूलता रहेकाले पीडकहरू हाकाहाकी तहमा उक्लेका हुन् भन्न अप्ठेरो मान्नुपर्ने अवस्था देखिन्न । एउटा पुरुष मानसिकताले जुनबेला जस्तो हर्कत प्रहार गर्छ, त्यो चुपचाप ग्रहण गर्नुुपर्ने महिलाको अवस्था के राज्यले अहिले पनि टुलुटुलु हेरेर मात्रै बस्ने हो ? खै कहाँ छ, मान्छे भएको हैसियत र मानव गरिमा महिलासंँग ?

‘पीडक–मैत्री’ प्रहरी प्रशासन
पीडितकै न्यायका खातिर देशमा कानुन र सुरक्षा संयन्त्र खडा गरिएका हुन् । न्यायका लागि जो पीडित अघि बढ्छ, ती निकायबाट आफूले सहयोग र न्याय पाउँछु भन्ने विश्वास सुनिश्चित हुनुपर्छ । तर व्यवहारमा ठिक विपरीत अवस्था छ । प्रहरी कार्यालयले पीडित पक्षको जाहेरी नलिने, उनीहरूको चाहना विपरीत जघन्य अपराधमा समेत जबर्जस्ती मेलमिलापको चलखेल बढाउने लगायतका गतिविधि धेरै घटनाबाट बाहिरिएका छन् । यसले पीडितलाई झन् निराश बनाउँछ भने अपराध कर्मदेखि नै हावी रहने पीडकहरू प्रहरी प्रशासनको व्यवहारबाट अझ बढी उत्साहित बन्छन् । धेरैजसो पीडक पक्राउ नै नपर्ने र परिहाले पनि विभिन्न पक्षको दबाबस्वरुप छुट्ने प्रवृत्ति धेरै घटनामा देखिन्छ । यसो भन्दैमा सबैतिर प्रहरी प्रशासन चुकेको भने देखिन्न । पीडित परिवार नै अग्रसर नभएको अवस्थामा समेत सत्य उजागर गर्न प्रहरी लागिपरेको बारेमा माथि पनि उल्लेख गरिएको छ ।

कानुन कार्यान्वयनको सवाल
महिला हिंसा विरुद्धका अपराधमा सहज ढंगले कानुनी प्रक्रिया अघि नबढ्ने गरेको गुनासो धेरै पुरानो हो । यसमा सबैभन्दा बढी ती निकायमा रहेका व्यक्तिको मानसिकता दोषी देखिन्छ । अहिले समाजमा जेजस्ता घटना भएका छन्, तिनलाई सम्बोधन गर्ने कानुन नभएको पक्कै होइन । सजाय बढोत्तरीका कुरा बहसमा आइरहने विषय हुन् । तर विद्यमान प्रावधान अनुसार अघि बढ्न अल्मलिनुपर्ने र अवरोध महसुस गर्नुपर्ने कतै देखिन्न । तर सञ्चारमा आएका अधिकांश घटनाका पीडितलाई सरोकारवाला निकायको असहयोगका कारण कानुनी प्रक्रिया अघि बढाउनै महाभारत परेको देखिन्छ ।

कुनै घटना सम्बन्धमा न्याय स्थापित गर्न र पीडकलाई दण्डित गर्न सडकदेखि सदनसम्म नारा लाग्नुपर्ने अवस्था किन भइरहेछ ? तिनै स्वरलाई मत्थर पार्ने मनसायले ‘अपराधीमाथि कडा कारबाही हुन्छ’ भनेर अमूर्त मौखिक आश्वासन कार्यकारी तहले किन बारम्बार दोहोर्‍याउँछ ? न्यायकै सुनिश्चितता नभएसम्म बलात्कारपछि हत्या गरिएकी आफ्नी छोरीको लास नउठाउने कठोर निर्णय लिन एउटी आमा किन विवश छिन् ? मुलुकमा आधा हिस्सा ओगटेका महिलाको यस्तो दुर्दान्त स्थिति कायम राखेर के मुलुकले अर्थपूर्ण समृद्धि हासिल गर्न सक्ला ? यी सबैको उत्तर कार्यान्वयनकै कसीमा सरकारले दिन सक्नुपर्छ ।

प्रकाशित : चैत्र ९, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?