कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

क्षयरोग निदानको प्रयास

सन्दर्भ : राष्ट्रिय क्षयरोग दिवस
डा. केदारनरसिंह केसी

काठमाडौँ — क्षयरोग लागेको मानिसले खोक्दा वा हाच्छिउँ गर्दा श्वास–प्रश्वासबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । सन् १८८२ मा जर्मन वैज्ञानिक डा. रवर्ट ककले ‘माइक्रोब्याक्टेरियम ट्युबरक्युलोसिस’ किटाणुबाट क्षयरोग लाग्छ भनी पत्ता लगाएको दिनलाई विश्वभर क्षयरोग दिवसको रूपमा मनाइन्छ ।

क्षयरोग निदानको प्रयास

त्यसभन्दा अघि क्षयरोगलाई वंशानुगत रोग, भूतप्रेत वा पूर्वजन्मको पापजस्ता अन्धविश्वासको रूपमा लिइन्थ्यो । क्षयरोग लागेको मान्छेलाई घृणा वा तिरस्कारले हेरिन्थ्यो । यद्यपि आज एक्काइसौं शताब्दीमा पनि कतैकतै अझै यो अन्धविश्वास र संस्कार बाँकी नभएको भने होइन । तर पनि क्षयरोग उपचारको क्षेत्रमा उल्लेखनीय प्रगति भइसकेको छ । क्षयरोगलाई हेर्ने दृष्टिकोणमा पनि व्यापक परिवर्तन आइसकेको छ ।


नेपालमा क्षयरोग नियन्त्रणमा धेरै सुधार भएको छ । विगतमा केही स्थान विशेषमा सीमित क्षयरोगको उपचार र व्यवस्थापनको सेवा आज देशैभरि, त्यो पनि ग्रामीण स्तरसम्मका सबै स्वास्थ्य संस्थामा विस्तार भइसकेको छ । क्षयरोग निदानको क्षेत्रमा समेत राष्ट्रिय क्षयरोग कार्यक्रमले समय–सापेक्ष सुधार र नयाँ–नयाँ प्रविधि भित्र्याइसकेको छ । यसलाई देशभरका क्षयरोगीहरूको सहज पहुँचमा पुर्‍याउने योजनासहित विस्तार गर्दै गइरहेको छ । बहुऔषधी प्रतिरोधी क्षयरोगका बिरामीका लागि सन् २००५ मा ‘डट्स प्लस’ नाम दिएर सुरु गरिएको यो उपचार सेवा अहिले १८ वटा उपचार केन्द्र र ८१ वटा उपचार उपकेन्द्रमार्फत उपलब्ध भइरहेको छ ।


नेपालमा हरेक वर्ष करिब ४५००० नयाँ क्षयरोगका बिरामीहरू थपिन्छन् । अहिले करिब ३२ हजार क्षयरोगका बिरामीहरू राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता भएका छन् । यस हिसाबले करिब १३ हजार क्षयरोगका बिरामीहरू अझै राष्ट्रिय क्षयरोग कार्यक्रमको मूलप्रवाहमा आएका छैनन् । यी बिरामीहरू कहाँ छन् ? कस्तो अवस्थामा छन् ? यिनीहरूले अरूलाई रोग सारिरहेका छन् वा कतै निजी क्षेत्रमा औषधी–उपचार गराइरहेका छन् ? यी तथ्य पत्ता लाग्नसकेको छैन ।

त्यसैले राष्ट्रिय क्षयरोग कार्यक्रमको दायरामा नआएका अर्थात राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता नभएका यी बिरामीलाई खोजेर राष्ट्रिय क्षयरोग कार्यक्रमको मूलधारमा ल्याउनु नै राष्ट्रिय क्षयरोग कार्यक्रमको चुनौती र दायित्व हो । त्यसैगरी करिब १५ सय ‘डीआर टिबी’का बिरामी भएका र तीमध्ये करिब ४०० मात्र उपचारमा आएका छन् । सबैलाई उपचारको दायरमा ल्याउनु राष्ट्रिय क्षयरोग कार्यक्रमको अर्को मुख्य चुनौती हो ।


टोखा स्यानेटोरियम, सेन्टर चेष्ट क्लिनिक हुँदै राष्ट्रिय क्षयरोग कार्यक्रमको विस्तारित र विकसित रूप राष्ट्रिय क्षयरोग केन्द्र समग्र क्षयरोग कार्यक्रमको नेतृत्व गर्ने केन्द्रीय भूमिकामा रहेको संस्था हो । सम्पूर्ण नीति, योजना, तालिम गोष्ठी, सेमिनार, निर्देशिकाहरूको तयारी, अध्ययन तथा अनुसन्धान, विभिन्न साझेदार संस्था एवं अन्तर्राष्ट्रिय दातृ निकाय लगायतसँग केन्द्रीय स्तरबाट समन्वयकारी भूमिका केन्द्रले नै निर्वाह गर्छ ।


विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका लक्ष्य हासिल गर्न राष्ट्रिय क्षयरोग कार्यक्रम सधैं अग्रणी रहँदै आएको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रिय क्षयरोग कार्यक्रमले हासिल गरेका सफलता प्रशंसनीय र उल्लेखनीय छन् । तर पनि राष्ट्रिय क्षयरोग कार्यक्रमले हाल (सन् २०१५–२०५०) अंगिकार गरेको क्षयरोगको अन्त्यलाई सफलताको विन्दुमा पुर्‍याउने चुनौती विगतमा प्रत्यक्ष निगरानीको उपचार विधि/‘डट्स’ रणनीति कार्यान्वयन गर्न वा क्षयरोग रोकौं रणनीति पूरा गर्न जत्तिको सहज छैन । प्रस्टै छ, हावाको माध्यमबाट एकबाट अर्कोमा सर्ने यो रोग नियन्त्रण गर्दै क्षयरोग अन्त्यको अवस्थासम्म पुग्नु चानचुने कुरा होइन, तापनि सबै क्षेत्रको प्रतिबद्धता र सक्रिय सहभागितामा यो सफल हुनेछ ।


क्षयरोग लागेर हुने मृत्युदरमा कमी आएको छैन । त्यसैगरी हरेक वर्ष थपिने क्षयरोगका बिरामीको अनुमानित संख्या ४५ हजार छ र तीमध्ये राष्ट्रिय क्षयरोग कार्यक्रमको दायरमा नआएका करिब १३ हजार क्षयरोगका बिरामी छन् । रूप बदली–बदली बढिरहेको क्षयरोगको पहिरो पन्छाउन पुरानै शैली र संरचना पर्याप्त नहुने कुरा स्वीकार्नैपर्ने यथार्थ हो । आजैदेखि नतिजा उन्मुख र प्रभावकारी रणनीतिसाथ अग्रसर हुनु आवश्यक छ । यसका लागि यद्यपि राष्ट्रिय क्षयरोग कार्यक्रमले सुरु गर्नलागेको राष्ट्रिय क्षयरोग प्रिभालेन्स सर्भे भएपश्चात् हाम्रा अगाडि नखुलेका र सतहमा नदेखिएका समस्याका कारण र निराकरणका उपाय पहिचान गर्न सहज हुनेछ ।


राष्ट्रिय क्षयरोग कार्यक्रममा अब हामीले विगतका सफलताको व्याज खाने समय सकिएको छ । तत्काल नयाँ लगानी, नयाँ जोश, नयाँ उत्साह, दृढ अठोट र प्रतिबद्धता, नयाँ–नयाँ प्रविधिको प्रयोग, सर्वसुलभ सेवाको सुनिश्चिततासहित योजनाबद्ध रणनीति लिएर अगाडि बढ्न ढिला गर्नु हुँदैन । नत्र गाउँघर रित्तिँंदै–रित्तिँंदै र चहलपहलविहीन हुँदै गएको वर्तमान परिप्रेक्ष्यमा सहरहरू क्षयरोगका गँुड बन्न सक्छन् । यस्तो योजना र कार्यक्रम चलाउनुपर्ने अवस्था आइसकेको छ । बाटोघाटो, मेलाबजार, यातायात जहाँसुकै परिचित/अपरिचित जोसुकैले दुईचोटी ख्वाक्क खोके पनि क्षयरोगको शंका गरौं र उसलाई परीक्षणको लागि उत्प्रेरित गरौं । मलाई त क्षयरोग लागेको छैन वा मलाई त क्षयरोग लाग्दैन भनेर ढुक्क हुने अवसर क्षयरोगले कसैलाई दिंँदैन ।


कम्तीमा ‘सबै जनता, क्षयरोग विरोधी अभियन्ता’ वा ‘सबै चेतनशील नागरिक, क्षयरोग विरोधी अभियानमा सरिक’ जस्ता नारा लिएर त्यही अनुसार हिंँड्नसके सायद क्षयरोग कार्यक्रममा पक्कै उल्लेखनीय सुधार आउनेछ । सरकार एक्लैले वा राष्ट्रिय क्षयरोग कार्यक्रमको मात्र एक्लो प्रयासले क्षयरोग अन्त्यको रणनीति सफलता सुनिश्चित हुँदैन । यसका लागि सरकारी तथा निजी स्वास्थ्य संस्थाहरू, मेडिकल कलेज, जेल, विभिन्न क्लब तथा सामाजिक अगुवासँग समेत समन्वय र सहकार्य गर्दै अघि बढ्नु आवश्यक छ । यस्तो सहकार्यलाई अझै सघन र व्यापक बनाउँदै लैजानुपर्छ । पछिल्लो छोटो समय अवधिमा राष्ट्रिय क्षयरोग केन्द्रले उल्लेखनीय एवं दूरगामी महत्त्वका केही नीतिगत निर्णय सम्पन्न गरेको छ– राष्ट्रिय सर्वेक्षण : वर्षौं–वर्षदेखि पुरानै चलनचल्तीको मापदण्ड अपनाएर क्षयरोग नियन्त्रणको कार्यक्रम सञ्चालनमा रहेको छ । यो मापदण्डबाट प्राप्त भएका तथ्यांक तथा तिनै तथ्यांकलाई आधार मानेर बनाइने नीति, योजना र कार्यक्रम कति वैज्ञानिक र समय सान्दर्भिक छ भन्ने जिज्ञासाको भरपर्दो र एकमात्र जवाफ सर्भे नभएको सत्यलाई मनन गरेर राष्ट्रिय क्षयरोग कार्यक्रमले गर्नलागेको यो सर्भे सुरुवाती चरणमा प्रवेश गरिसकेको छ ।


क्षयरोगसम्बन्धी कानुन : राष्ट्रिय क्षयरोग कार्यक्रममा कार्यरत स्वास्थ्यकर्मीहरू, क्षयरोगका बिरामी तथा तिनका परिवार लगायत सम्बद्ध सबैको हित र सरोकारलाई ध्यानमा राखेर कार्यक्रमलाई अझ बढी परिणाममुखी, जवाफदेही तथा मर्यादित बनाउने उद्देश्यले राष्ट्रिय क्षयरोग कार्यक्रमले पहिलोचोटी ट्युबरक्युलोसिस एक्ट तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरी सकिएको छ । यसलाई संघीय संसद्बाट पारित गराउन सबैको सहयोग अपरिहार्य छ ।


औषधि खरिद प्रक्रिया : राष्ट्रिय क्षयरोग कार्यक्रममा प्रयोग हुने पहिलो चरणका औषधीहरू वर्षौंदेखि ग्लोबल ड्रग फेसिलिटीमार्फत खरिद भई नेपाललाई हस्तान्तरण हुने र नेपालले माग गरेर पठाउने कार्य हुँदै आएकोमा यो वर्षदेखि नेपाल आफैंले ती औषधीहरूको परिमाण यकिन गरी आफैंले खरिद गर्ने निर्णय भएको छ ।


रणनीतिक योजना : राष्ट्रिय क्षयरोग कार्यक्रमलाई समय–सापेक्ष, वैज्ञानिक र प्रभावकारी बनाउन विगत कार्यकालको समीक्षा गर्दै आगामी कार्यक्रमको लागि स्पष्ट ढाँचा र खाका तयार गर्न प्रत्येक ५ वर्षको लागि तयार गर्ने राष्ट्रिय रणनीतिक योजना तयार गरेको छ ।


विज्ञ सेवा विस्तार : रोग निदानको लागि अत्याधुनिक र प्रभावकारी मानिएको जिन एक्सपर्ट प्रविधि नेपालमा सुरु भइसकेको छ र यो क्रमश: विस्तार हुँदै गएको छ । जिन एक्सपर्टबाट खकार परीक्षण गर्दा रिफाम्पिसिन रेसिस्टेन्स समेतको अवस्था पत्ता लगाउन सकिन्छ । अब क्षयरोग मुक्त वडा, गापा/नपा/उनपा/मनपा बनाउने अभियान र अठोटमा स्थानीय जनप्रतिनिधिबाट प्रतिबद्धता प्राप्त गर्न सकियो र त्यसमा उहाँहरूको अग्रसरता भयो भने देशमा आएको परिवर्तन र संघीय संरचना क्षयरोग विरोधी कार्यक्रमको लागि वरदान सावित हुनेछ ।


डा. केसी राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक हुन् ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?