कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

असन्तुष्ट कांग्रेसी

सिउँडी
विमल निभा

काठमाडौँ — उनी सन्तुष्ट प्रकारका कांग्रेसी होइनन् । त्यसैले सदैव असन्तुष्टात्मक रहन्छन् । यसो ता कहिलेकाहीं यस विपरीत सन्तुष्ट पनि देखिन्छन् । तर यसको कारण पनि पुरै असन्तुष्टि नै हो ।

यो कसरी भने– हेर, म कति असन्तुष्ट छु– भनेर उनी सन्तुष्ट हुने गर्छन् । मेरै जिल्लाका हुन् । र मसग बराबर भेटघाट भइरहन्छ । हिजो पनि भयो । उनी आफ्नो स्थायी मुद्रामा थिए । अर्थात् असन्तुष्ट । तर असन्तुष्टिको मात्रा भने सदाभन्दा केही बेसी थियो ।


‘जयनेपाल नेताजी ।’


‘जयनेपाल ।’


‘निकै असन्तुष्ट देखिनुहुन्छ नि ?’ म उनको असन्तुष्टिमा विचरण गरिरहेको थिएँ ।


उनले आश्चर्यजनक रूपमा कुनै प्रतिवाद नगरेर स्वीकारको बोलीमा भने, ‘हो, तपाईले सही भन्नुभयो । यता केही दिनदेखि म धेरै नै
असन्तुष्ट छु ।’


‘किन नेताजी ?’


‘हेर्नाेस्, हुनैपर्‍यो नि ! आफ्नो स्वभाव नै यस्तो छ । के गर्ने ? तपाईको अनुमान बेठिक होइन ।’


‘हो र नेताजी ?’ मैले जोड दिएर भनँें ।


‘वास्तवमा म अभ्यास गरिरहेको छु, हेरु, म कति असन्तुष्ट हुनसक्छु ? असन्तोषको मेरो क्षमता कति छ ? के म असन्तुष्टिको एउटा रकेर्ड कायम गर्न सक्छु ?’ एकछिन चुप लागेर भने, ‘म आफ्नो असन्तुष्टिको एक प्रकारले आत्मपरीक्षण गर्न चाहन्छु । यो जरुरी छ । धेरै दिनसम्म असन्तुष्ट नरहे मन कस्तो–कस्तो हुन्छ † यसले असन्तुष्टिमा खिया पनि लाग्न सक्छ । त्यसैले म असन्तुष्टि बढाउन प्रयास गरिरहेको छु । यसले फाइदा के हुन्छ भने असन्तुष्टि जुन छ, त्यो पुरै मेन्टेन भइरहन्छ । यसमा सचेत छु ।’ उनी लामो जवाफ दिएर चुप लागे ।


‘तपाईको तमाम असन्तुष्टिको कारण यही हो त नेताजी ?’ मैले तुरुन्तै सोधिहालेंँ ।


‘हेर्नाेस्, जहाँसम्म कारणको कुरो छ, यो परिस्थितिमा निर्भर गर्छ ।’ उनले निधार खुम्च्याउँदै भने, ‘कहिले म यो मुलुकको समस्याहरूलाई लिएर असन्तुष्ट रहने गर्छु भने कहिले यसकारण असन्तुष्ट हुन्छु कि... कुनै समस्या नै छैन । कुनै समस्या नै नभएको कस्तो समस्या हो भने... हेर्नाेस्, मेरो भनाइको मतलव के हो भने असन्तुष्टिको कारण जे पनि हुनसक्छ ।’ अन्त्यमा अनुहारलाई गम्भीर पारेर भने, ‘धेरैजसो म राष्ट्रिय कारणले नै असन्तुष्ट रहने गर्छु ।’ र फेरि थकित भावमा चुप लागे ।


‘तपाई एक राष्ट्रिय हैसियतको व्यक्तित्व भएकोले सानोतिनो कुरामा असन्तुष्ट रहन पनि सुहाएन नेताजी ।’ मैले उनको कुरामा सही थापेंँ ।
‘होइन, होइन, मलाई त्यस्तो नठान्नोस् । कहिलेकाहीं म सानोतिनो कुरामा पनि असन्तुष्ट रहने गर्छु ।’ अलिकति सोचमा गएर भने, ‘एक पटक मेरो असन्तुष्टिको कारण के थियो भने कान्छी श्रीमतीसँग मेरो ठूलो मतभेद भयो । हेर्नाेस्, ऊ रेखा थापाको सिनेमा हेर्न चाहन्थी । तर म भने कुनै मारकाट भएको हिन्दी सिनेमा हेर्न चाहन्थेंँ । यो तीव्र सैद्धान्तिक विवादले झन्डै बाटोमै पिटापिट हुने खतरा उत्पन्न भएको थियो ।’


‘तपाईहरूका पार्टीमा पनि यही स्थिति रहेको छ । अर्थात् मारकाट भएको हिन्दी सिनेमाको जस्तो । होइन त नेताजी ?’ मैले उनको संवादको बीचमा छिरेर विस्तारै भनेंँ ।


‘तपाईले उचित मूल्यांकन गर्नुभयो । हाम्रो पार्टीभित्र र बाहिर– लात, जुत्ता, गाली आदिको रचनात्मक उपयोग भइरहेको छ । ठूला नेताहरू यही स्थितिमा छन्, अहिले । सबै एकअर्काका लंगौटी खोल्नमा मजैले लागेका छन् ।’ केही बेर अड्किएर भने, ‘यसले राम्रै हुन्छ । पार्टीभित्रको यथार्थ दृश्य छर्लंग हुन्छ । हेर्नाेस्, कम्युनिष्टहरू द्वन्द्वको कुरा गर्छन् । तर ओरिजन द्वन्द्वात्मक भौतिकवादी हामी कांग्रेसीहरू नै हौं । होइन त ?’
‘हो, नेताजी ।’ मैले भनँें, ‘त्यसो भए, असन्तुष्टिका लागि तपाईसँग विषयको अभाव रहने भएन । कुनै एक विषय लिएर सजिलैसित असन्तुष्ट रहन सकिन्छ । अब कुन विषय लिनुहुन्छ ?’


‘के–के विषय छन् ?’ उनले एकाएक मसँग नै प्रश्न गरे ।


‘यही पार्टीको नराम्रो हार, भीषण गुटबाजी, शंकाको वातावरण, खुट्टा तानातान, परस्पर दोषारोपण, फोहोर गालीगलौज, कुटिल दाउपेच, छिर्की हानाहान, पहलमानी उठापटक इत्यादि ।’


मैले केही तात्तातो कुरा अघि सारेर भनँें, ‘के यिनीहरूमध्ये कुनै एउटा गतिलो असन्तुष्टिका लागि पर्याप्त छैन त नेताजी ?’


उनी मलाई ध्यानपूर्वक सुनिरहेका थिए । र बीच–बीचमा उनको टाउको पनि हल्लिरहेको थियो । कुन्नि, मेरो समर्थनमा अथवा विरोधमा ! जे भए पनि आखिरीमा गम्भीर भएर भने उनले, ‘तपाईको कुरो सोचनीय नै छ । तर व्यवहारमा ल्याउन सहज छैन । हेर्नाेस्, एउटाको विषयमा असन्तुष्ट भए दोस्रोलाई मन नपर्ने स्थिति छ । अब मैले सभापतिज्यू र अर्काे वरिष्ठ नेतामा कसको विषयलाई प्राथमिकता दिएर असन्तुष्ट हुने ? यस्तोमा असन्तुष्ट नभएर सन्तुष्ट नै हुनुपर्ने हो कि ? बडो फसाद छ । तर म एक परम असन्तुष्ट कांग्रेसी भएकोले यसरी कसरी सन्तुष्ट हुनसक्छु ? मैले असन्तुष्ट त हुनैपर्छ ।

त्यसैले आजभोलि म त्यसै–त्यसै असन्तुष्ट रहने गर्छु । मलाई असन्तुष्ट हुने कुनै विषय नै चाहिँदैन । हेर्नाेस्, कुनै पनि विषय नभएर पनि असन्तुष्ट रहन सकिन्छ । म यो दुनियाँलाई प्रमाणित गरेर देखाइदिन्छु । वास्तवमा म कुनै मामुली खालको असन्तुष्ट होइन । एक सफल प्रकारको असन्तुष्टलाई कुनै विषय नै किन चाहियो र ? तर सबै असन्तुष्टिका लागि विषयको माग गर्छन् । तपाई पनि यही भनिरहनुभएको छ । त्यसैले म तपाईसँग असन्तुष्ट छु ।’


उनको कांग्रेसी मार्का असन्तुष्टि मतिर नै सोझिएकोले म झस्किएँ । र एक छिनपछि सोचेंँ– यहाँबाट हिँड्नु नै अत्युत्तम हुनेछ । त्यसकारण परम असन्तुष्ट कांग्रेसी नेताजीसँग विदावारी भई म अघि बढेंँ ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?