असन्तुष्ट कांग्रेसी

सिउँडी
विमल निभा

काठमाडौँ — उनी सन्तुष्ट प्रकारका कांग्रेसी होइनन् । त्यसैले सदैव असन्तुष्टात्मक रहन्छन् । यसो ता कहिलेकाहीं यस विपरीत सन्तुष्ट पनि देखिन्छन् । तर यसको कारण पनि पुरै असन्तुष्टि नै हो ।

यो कसरी भने– हेर, म कति असन्तुष्ट छु– भनेर उनी सन्तुष्ट हुने गर्छन् । मेरै जिल्लाका हुन् । र मसग बराबर भेटघाट भइरहन्छ । हिजो पनि भयो । उनी आफ्नो स्थायी मुद्रामा थिए । अर्थात् असन्तुष्ट । तर असन्तुष्टिको मात्रा भने सदाभन्दा केही बेसी थियो ।


‘जयनेपाल नेताजी ।’

Yamaha


‘जयनेपाल ।’


‘निकै असन्तुष्ट देखिनुहुन्छ नि ?’ म उनको असन्तुष्टिमा विचरण गरिरहेको थिएँ ।


उनले आश्चर्यजनक रूपमा कुनै प्रतिवाद नगरेर स्वीकारको बोलीमा भने, ‘हो, तपाईले सही भन्नुभयो । यता केही दिनदेखि म धेरै नै
असन्तुष्ट छु ।’


‘किन नेताजी ?’


‘हेर्नाेस्, हुनैपर्‍यो नि ! आफ्नो स्वभाव नै यस्तो छ । के गर्ने ? तपाईको अनुमान बेठिक होइन ।’


‘हो र नेताजी ?’ मैले जोड दिएर भनँें ।


‘वास्तवमा म अभ्यास गरिरहेको छु, हेरु, म कति असन्तुष्ट हुनसक्छु ? असन्तोषको मेरो क्षमता कति छ ? के म असन्तुष्टिको एउटा रकेर्ड कायम गर्न सक्छु ?’ एकछिन चुप लागेर भने, ‘म आफ्नो असन्तुष्टिको एक प्रकारले आत्मपरीक्षण गर्न चाहन्छु । यो जरुरी छ । धेरै दिनसम्म असन्तुष्ट नरहे मन कस्तो–कस्तो हुन्छ † यसले असन्तुष्टिमा खिया पनि लाग्न सक्छ । त्यसैले म असन्तुष्टि बढाउन प्रयास गरिरहेको छु । यसले फाइदा के हुन्छ भने असन्तुष्टि जुन छ, त्यो पुरै मेन्टेन भइरहन्छ । यसमा सचेत छु ।’ उनी लामो जवाफ दिएर चुप लागे ।


‘तपाईको तमाम असन्तुष्टिको कारण यही हो त नेताजी ?’ मैले तुरुन्तै सोधिहालेंँ ।


‘हेर्नाेस्, जहाँसम्म कारणको कुरो छ, यो परिस्थितिमा निर्भर गर्छ ।’ उनले निधार खुम्च्याउँदै भने, ‘कहिले म यो मुलुकको समस्याहरूलाई लिएर असन्तुष्ट रहने गर्छु भने कहिले यसकारण असन्तुष्ट हुन्छु कि... कुनै समस्या नै छैन । कुनै समस्या नै नभएको कस्तो समस्या हो भने... हेर्नाेस्, मेरो भनाइको मतलव के हो भने असन्तुष्टिको कारण जे पनि हुनसक्छ ।’ अन्त्यमा अनुहारलाई गम्भीर पारेर भने, ‘धेरैजसो म राष्ट्रिय कारणले नै असन्तुष्ट रहने गर्छु ।’ र फेरि थकित भावमा चुप लागे ।


‘तपाई एक राष्ट्रिय हैसियतको व्यक्तित्व भएकोले सानोतिनो कुरामा असन्तुष्ट रहन पनि सुहाएन नेताजी ।’ मैले उनको कुरामा सही थापेंँ ।
‘होइन, होइन, मलाई त्यस्तो नठान्नोस् । कहिलेकाहीं म सानोतिनो कुरामा पनि असन्तुष्ट रहने गर्छु ।’ अलिकति सोचमा गएर भने, ‘एक पटक मेरो असन्तुष्टिको कारण के थियो भने कान्छी श्रीमतीसँग मेरो ठूलो मतभेद भयो । हेर्नाेस्, ऊ रेखा थापाको सिनेमा हेर्न चाहन्थी । तर म भने कुनै मारकाट भएको हिन्दी सिनेमा हेर्न चाहन्थेंँ । यो तीव्र सैद्धान्तिक विवादले झन्डै बाटोमै पिटापिट हुने खतरा उत्पन्न भएको थियो ।’


‘तपाईहरूका पार्टीमा पनि यही स्थिति रहेको छ । अर्थात् मारकाट भएको हिन्दी सिनेमाको जस्तो । होइन त नेताजी ?’ मैले उनको संवादको बीचमा छिरेर विस्तारै भनेंँ ।


‘तपाईले उचित मूल्यांकन गर्नुभयो । हाम्रो पार्टीभित्र र बाहिर– लात, जुत्ता, गाली आदिको रचनात्मक उपयोग भइरहेको छ । ठूला नेताहरू यही स्थितिमा छन्, अहिले । सबै एकअर्काका लंगौटी खोल्नमा मजैले लागेका छन् ।’ केही बेर अड्किएर भने, ‘यसले राम्रै हुन्छ । पार्टीभित्रको यथार्थ दृश्य छर्लंग हुन्छ । हेर्नाेस्, कम्युनिष्टहरू द्वन्द्वको कुरा गर्छन् । तर ओरिजन द्वन्द्वात्मक भौतिकवादी हामी कांग्रेसीहरू नै हौं । होइन त ?’
‘हो, नेताजी ।’ मैले भनँें, ‘त्यसो भए, असन्तुष्टिका लागि तपाईसँग विषयको अभाव रहने भएन । कुनै एक विषय लिएर सजिलैसित असन्तुष्ट रहन सकिन्छ । अब कुन विषय लिनुहुन्छ ?’


‘के–के विषय छन् ?’ उनले एकाएक मसँग नै प्रश्न गरे ।


‘यही पार्टीको नराम्रो हार, भीषण गुटबाजी, शंकाको वातावरण, खुट्टा तानातान, परस्पर दोषारोपण, फोहोर गालीगलौज, कुटिल दाउपेच, छिर्की हानाहान, पहलमानी उठापटक इत्यादि ।’


मैले केही तात्तातो कुरा अघि सारेर भनँें, ‘के यिनीहरूमध्ये कुनै एउटा गतिलो असन्तुष्टिका लागि पर्याप्त छैन त नेताजी ?’


उनी मलाई ध्यानपूर्वक सुनिरहेका थिए । र बीच–बीचमा उनको टाउको पनि हल्लिरहेको थियो । कुन्नि, मेरो समर्थनमा अथवा विरोधमा !जे भए पनि आखिरीमा गम्भीर भएर भने उनले, ‘तपाईको कुरो सोचनीय नै छ । तर व्यवहारमा ल्याउन सहज छैन । हेर्नाेस्, एउटाको विषयमा असन्तुष्ट भए दोस्रोलाई मन नपर्ने स्थिति छ । अब मैले सभापतिज्यू र अर्काे वरिष्ठ नेतामा कसको विषयलाई प्राथमिकता दिएर असन्तुष्ट हुने ? यस्तोमा असन्तुष्ट नभएर सन्तुष्ट नै हुनुपर्ने हो कि ? बडो फसाद छ । तर म एक परम असन्तुष्ट कांग्रेसी भएकोले यसरी कसरी सन्तुष्ट हुनसक्छु ? मैले असन्तुष्ट त हुनैपर्छ ।

त्यसैले आजभोलि म त्यसै–त्यसै असन्तुष्ट रहने गर्छु । मलाई असन्तुष्ट हुने कुनै विषय नै चाहिँदैन । हेर्नाेस्, कुनै पनि विषय नभएर पनि असन्तुष्ट रहन सकिन्छ । म यो दुनियाँलाई प्रमाणित गरेर देखाइदिन्छु । वास्तवमा म कुनै मामुली खालको असन्तुष्ट होइन । एक सफल प्रकारको असन्तुष्टलाई कुनै विषय नै किन चाहियो र ? तर सबै असन्तुष्टिका लागि विषयको माग गर्छन् । तपाई पनि यही भनिरहनुभएको छ । त्यसैले म तपाईसँग असन्तुष्ट छु ।’


उनको कांग्रेसी मार्का असन्तुष्टि मतिर नै सोझिएकोले म झस्किएँ । र एक छिनपछि सोचेंँ– यहाँबाट हिँड्नु नै अत्युत्तम हुनेछ । त्यसकारण परम असन्तुष्ट कांग्रेसी नेताजीसँग विदावारी भई म अघि बढेंँ ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घामछाया

सिउँडी
मायाको होस् अथवा छायाको होस्, शेरबहादुर देउवा प्रधानमन्त्रीको लोभलाग्दो कुर्सी छाड्ने मनुवा नै होइनन् ।
विमल निभा

काठमाडौँ — सूर्य छाप वाम याने घाम सरकार बन्नासाथ नेपाली कांग्रेस पार्टीको छाया सरकार पनि एक्कासी अस्तित्वमा आएको छ । यद्यपि छायाको कुनै भौतिक प्रमाण हुँदैन ।

यो खासमा उज्यालोको अभाव हो । अर्काे शब्दमा भन्ने हो भने प्रकाशहीनता नै छाया हो । अर्थात् छाया आफैंमा केही पनि होइन । तथापि एउटा छायावादी किसिमको ‘केही न केही’ त हुन्छ नै । नत्र किन यसरी छाया सरकारको गठन हुने गर्छ त ? यही एकमात्र ठोस आधारमा कांग्रेसी छाया सरकार बनेको हुनुपर्छ ।

‘बल्ल नेपाली कांग्रेस पार्टीले आफ्नो चुनावी वाचा पुरा गर्ने भएको छ ।’ म दंग परेर आफैंलाई भन्छु ।
‘किन कविजी ?’ म आफैसँग सोध्छु पनि ।
‘यो त स्पष्टै छ नि ।’
‘के स्पष्ट छ, कविजी ?’
‘कांग्रेसी चुनाव चिन्ह रुख होइन र ?’ म भन्छु ।
‘त्यो त हो ।’
‘अब भने यो रुखले साँच्चिकै छाया दिने भयो ।’ म मुस्कुराएर भन्छु, होइन त कविजी ?’

नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) को गठबन्धित सरकारले अहिलेसम्म पूर्णता प्राप्त गर्नसकेको छैन । एक प्रकारले यसले शनै:शनै: आकार लिइरहेको छ । पहिले नेकपा एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सी सम्हाले । त्यसपछि झटपट दुई थान मन्त्रीलाई सरकारी सपथ खुवाए । नेकपा एमालेको कोटाबाट कमरेड लालबाबु पण्डित र कमरेड थममाया थापालाई । र केही दिनको कमरेड प्रधानमन्त्री केपी ओलीको नेकपा माओवादी (केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको एकतात्मक मन्त्रणापश्चात कमरेड रामबहादुर थापा ‘बादल’, कमरेड मातृकाप्रसाद यादव र कमरेड ईश्वर पोखरेल मन्त्री भए । अँ, अर्थमन्त्रीमा कमरेड युवराज खतिवडा पनि आए । (याद आयो) । यस प्रकार एउटा आकर्षक किस्ताबन्दीमा कमरेड खड्गप्रसाद शर्मा ओलीको प्रधानमन्त्रीत्वको वाम सरकार बनिरहेको छ । (र यो सतत जारी नै छ) ।

यसको विपरीत नेपाली कांग्रेस पार्टीको छाया सरकार भने थोकको हिसाबले निर्मित भएको छ । (यसै भन्छन्) । वास्तवमा यस विषयमा मेरो जानकारी त्यति सबल छैन । किनभने छाया सरकार भएकोले यसको यावत् शैली पनि उस्तै रहेको छ । तात्पर्य के भने सबै मन्त्रीमण्डलीय अवयवहरू घना छायामा रहेका छन् । यस्तोमा मैले छाया मन्त्रीहरूबारे कसरी थाहा पाउने ? हो, एउटा हलुका अनुमान भने अवश्यमेव लगाउन सकिन्छ । (मोटामोटी रूपमा भन्नोस्) । हेर्नाेस्, छाया सरकारकै भए पनि मलाई सबै मन्त्रीहरूका नाम खरर भन्न गाह्रो छ । मैले भनेँ नि, मेरो कांग्रेसी ज्ञान अतिशय कमजोर छ । त्यसकारण उदाहरण दिनलाई एउटासम्म नाम लिने प्रयत्न गर्छु ।
‘कुन चाहिंँ नाम कविजी ?’ म फेरि आफैंसँग सोध्छु ।
‘अघिल्लो शेरबहादुर देउवा सरकारकै मन्त्री हो ।’
‘के नाम कविजी ?’ म जोड
दिएर भन्छु ।

‘एउटा कार्की थप भएको मन्त्री छ नि ।’ मलाई झ्वाट्टै पुरा नाम नआएकोले भन्छु, ‘उनले यो छाया सरकारमा निरन्तरता पाएका छन् रे ।’

एकाएक म भूतपूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नाम सम्झन्छु । उनले नेपाली कांग्रेस पार्टीको छाया सरकारमा पनि अर्थ मन्त्रालय पाएको भए कुनै आश्चर्यको कुरो होइन । यसको कारण के हो भने स्थायीजस्तै कांग्रेसी अर्थमन्त्री डा. रामशरण महतले नुवाकोटबाट नराम्ररी चुनाव हारेका छन् । र अर्काे वैकल्पिक अर्थमन्त्रीय नाम महेश आचार्यले पनि मोरङबाट चुनाव जित्न सकेनन् । (अन्य छाया सरकारका गृहमन्त्री, सञ्चार मन्त्री, कृषिमन्त्री, ऊर्जामन्त्री, कानुन मन्त्री, वनमन्त्री, संस्कृति मन्त्री, यातायात मन्त्री, महिला एवं बालबालिका मन्त्री, खेलकुद मन्त्री, भौतिक निर्माण मन्त्री, विज्ञान तथा वातावरण मन्त्री आदिका नाम थाहा हुनासाथ भन्नेछु ।)
‘कविजी, छाया प्रधानमन्त्रीचाहिंँ को नि ?’ म एकपटक फेरि आफैंलाई सोध्छु ।
‘मेरो विचारमा...।’

यो स्वयं सम्बोधित नाटकीय टेक्निक पनि त्यति काम नलाग्ने भएको छ । (यहीं अन्त्य) । किनभने छाया प्रधानमन्त्रीको नाम झन् बाक्लो छायामा परेको छ । मेरो विचारमा छाया प्रधानमन्त्री भएकोले वरिष्ठ कांग्रेसी नेता रामचन्द्र पौडेलले यो अवसर पाएको हुनसक्छ । तर यहाँ पनि उही प्राविधिक कठिनाइ आइपरेकोले यो सम्भव छैन । उनले सायद पहिलोपटक तनहँुबाट पराजयको तितो स्वाद चाख्नुपरेको छ । र यसको परिणामस्वरुप छाया प्रधानमन्त्री हुनबाट पनि बहुतै नमज्जासँग चुकेका छन् । त्यसउसले नेपाली कांग्रेस पार्टीका संस्थापन पक्षीय नेता सभापति शेरबहादुर देउवाले नै छाया प्रधानमन्त्रीको कुर्सी पाएकोमा कुनै शंका छैन । वस्तुत: मायाको होस् अथवा छायाको होस्, उनी प्रधानमन्त्रीको लोभलाग्दो कुर्सी छाड्ने मनुवा नै होइनन् । त्यसमाथि ज्योतिषीको घोषणा अनुसार उनी सात पटकसम्म नेपालको प्रधानमन्त्री हुनेछन् । र यो छाया प्रधानमन्त्री मिलाएर जम्माजम्मी ६ पटक हुनेछ । (र बाँकी एकको लागि देखा जायगा प्रभु ।)

यही सिलसिलामा छाया प्रधानमन्त्री शेरबहादुर देउवा र उनको छाया सरकारमा पुरै समर्पित एक छायावादी कवितांश–
‘सनसन–सनसन पवन
हाय कांग्रेस अहो कांग्रेस
अनजान नील गगन
हाइ कांग्रेस हाउ कांग्रेस
अन्तरमनको यो जलन
हा कांग्रेस हौ कांग्रेस
अनायासको तडपन
अहो कांग्रेस एहोइ कांग्रेस
उत्तप्त दग्ध तनमन
इस् कांग्रेस उस् कांग्रेस ।’

प्रकाशित : चैत्र ३, २०७४ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT