बहादुर शाहका अनुसन्धाता

भद्ररत्न बज्राचार्य भन्थे, ‘दरबारभित्रको षड्यन्त्रमा मारिने धेरै छन् । तर कसरी र किन मारिए भन्ने तथ्य भने कहिल्यै बाहिर आएन ।’
हिमेश

काठमाडौँ — नेपाली इतिहासमा प्राय: दोहोरिएर आइरहने नाम हो, बहादुर शाह । पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहलाई साँच्चै अभागी राजकुमार भने हुन्छ । आफ्ना बुबाको मृत्युपछि राज्य विस्तारमा सबैभन्दा ठूलो योगदान उनकै मानिन्छ ।

बहादुर शाहका अनुसन्धाता

तर उनले त्यसका लागि जति जश पाउनुपर्ने हो, त्यति पनि पाएनन् । अझ अस्वाभाविक मृत्यु आत्मसात् गर्न बाध्य रहे । त्यो अस्वाभाविक मृत्युमात्र थिएन, निकै वीभत्स र दु:खदायी थियो ।


मृत्युको दिन थियो, सन् १८५४ को असार १५ । त्यो यस्तो मृत्यु थियो, जुन कसैले पनि नपाए हुन्थ्यो । केही वर्ष अगाडिसम्म बहादुर शाहबारे धेरै जानकारी उपलब्ध थिएन, विशेषत: उनको मृत्युलाई लिएर । बहादुर शाहबारे विस्तृतमा पहिलोपल्ट अनुसन्धान गरेर लेख्ने श्रेय जान्छ, भद्ररत्न बज्राचार्यलाई । उनले त्रिभुवन विश्वविद्यालयबाट २०४८ मा बहादुर शाहबारे पीएचडी गरे । बहादुर शाहबारे केही समय अगाडिमात्र उनीसँग लामो कुराकानी भएको थियो ।


उनी भन्थे, ‘बहादुर शाहको मृत्यु अकालमा भएको थियो । जेलमै उनको मृत्यु भयो । जेलमै रहेका बेला त्यतिबेलाका राजा रणबहादुर शाहको निर्देशनमा उनको शरीरमा तातो तेल छर्किइएको थियो । तातो तेलले पुर्‍याएको पीडाले नै अन्तत: बहादुर शाहको मृत्यु भएको थियो । त्यस अगाडि उनको पत्नीलाई बदनाम गर्ने चेतावनी पनि दिइएको थियो ।’ उनले रणबहादुर शाहलाई अन्तिम पत्रमा लखेका थिए, ‘मैले सबै भोगिसकेंँ, अब मलाई धेरै बाँच्ने आस पनि छैन । म जस्तो छु, त्यस्तै ठिक छु । अब मलाई केही चाहिन्न ।’


रणबहादुर शाहले आफ्ना काकालाई भीमसेनस्थानको जेलमा राखे । त्यसैक्रममा उनको मृत्यु भयो । पछि उनलाई मारियो भन्ने आरोप लाग्छ भनेर रूखमा झुन्ड्याइएको थियो, आत्महत्या जस्तो गरेर देखाउन । बिहान हुन नपाउँदै उनको लास पनि जलाइसकिएको थियो । बज्राचार्यको निचोड थियो, ‘यो घटनाले २०५८ सालको पछिल्लो राजदरबार हत्याकाण्डलाई पनि सम्झाउने गर्छ । यसबीच यस्ता धेरै हत्याकाण्ड भए, राजदरबारभित्र । सबैको प्रकृति यस्तै छ ।’


‘बहादुर शाहको त्यो मृत्युसँग वीरेन्द्र र उनको परिवारको मृत्यु पनि तुलना गर्न सकिन्छ । दरबार भित्रको षड्यन्त्रमा मारिने धेरै छन् । मारिनेको शृङखला नै तयार हुन्छ, तर कसरी र किन मारिए भन्ने तथ्य भने कहिल्यै बाहिर आएनन्,’ उनी भन्थे । यिनै बज्राचार्यको चैत ४ मा निधन भयो । स्वभावले उनी शान्त, सौम्य र शालिन थिए । उनको निधन पनि यस्तै रह्यो । बौद्ध धर्मका अनुयायीबीच लुम्बिनीमा मृत्यु आत्मसात् गर्नुलाई ठूलै मानिन्छ । उनले यस्तै शौभाग्य पाए ।


लुम्बिनी बौद्ध विश्वविद्यालयको डिनका रूपमा उनी लुम्बिनीमा थिए । काठमाडौं लुम्बिनी आउने–जाने क्रम चलिरहन्थ्यो । उनी डिनको दोस्रो कार्यकालमा थिए । सुरुको चार वर्ष सफलतापूर्वक डिनको कार्यभार सम्हाले । दोस्रोपल्ट भने त्यस जिम्मेवारी एक वर्षमात्र चलाउन पाए । यसबीच विश्वविद्यालयको भौतिक पूर्वाधार विस्तारमा महत्त्वपूर्ण योगदान दिए । अनि विश्वविद्यालय अन्तर्गत विभिन्न तहको अध्ययनका लागि पाठ्यक्रम तयारमा पनि ब्यस्त रहे ।


बज्राचार्यको जीवनको उत्तरार्ध लुम्बिनी विश्वविद्यालयको विकासमै केन्द्रित रह्यो । यस अघि त्रिभुवन विश्वविद्यालय अन्तर्गत बौद्ध अध्ययन केन्द्रीय विभागको स्थापना, विकास र विस्तारमा पनि उनको योगदान रह्यो । त्रिवि अन्तर्गत यस विभागको स्थापना २०५८ सालमा भएको थियो र उनी सुरुदेखि त्यसमा आबद्ध रहे । त्रिविबाट सेवा निवृत्ति भएयता मात्र उनी त्यस विभागसँग जोडिएका हुन् । यस अघि उनी त्रिविकै इतिहास केन्द्रीय विभागमा थिए ।


उनले यसैक्रममा पीएचडी गरे । पछि उनको शोधले किताबको रूप पनि लियो र यो तत्कालीन समयमा निकै चर्चित कृति बनेको थियो । किताब अंग्रेजीमा थियो र त्यसको नाम थियो, ‘बहादुर शाह, द रेजेन्ट अफ नेपाल’ । पछि उनले धनबज्र बज्राचार्यका ऐतिहासिक लेख संग्रह पनि सम्पादन गरे । भनिन्छ, जीवित इतिहासकारमध्ये पहिलो पुस्ताका हुन्, तुलसीराम वैद्य । त्यसपछि आउँछ, त्रिरत्न मानन्धर । मानन्धर वैद्यका विद्यार्थी थिए । बज्राचार्य भने यिनै मानन्धरका विद्यार्थी हुन् ।


सम्भवत: बज्राचार्यको जीवनका तीन पक्ष रहे । पहिलो, इतिहासका रूपमा । दोस्रो, बौद्ध विद्वानका रूपमा । तेस्रो, फरक व्यक्तित्व उनको परिवारभित्र थियो, जुन उनको बाहिर देखिने स्वरूपभन्दा निकै फरक थियो । उनको जन्म पाटनमा भएको थियो, २००२ भदौ ७ मा । पण्डितहरूको परिवारमा उनको जन्म भएको थियो । उनका बुबा धर्मरत्न बज्राचार्यले पाटनमै आदर्शशरण स्कुलको स्थापना गरेका थिए । पछि छोराले त्यसलाई अगाडि बढाए ।


बज्राचार्यले सेन्ट जेभियर्स र दार्जिलिङको सेन्ट जोसेफ स्कुलबाट प्रारम्भिक शिक्षा पाएका थिए, त्यसैले उनको अंग्रेजीमा राम्रो दख्खलता बस्यो । पारिवारिक वातावरणकै कारण बौद्ध अध्ययनमा उनको रूचि थियो । प्राज्ञिक रूपमा भने बौद्ध धर्मको अध्ययन र अध्यापनमा पछि मात्र जोडिएका हुन्, जतिबेला उनी ललितपुरको लोट्स रिचर्स सेन्टरसँग आबद्ध भए । पछिल्लो समय उनी सेन्टरको प्रिन्सिपल थिए । त्यहाँबाट निस्कने ‘पलेस्वाँ’ जर्नलको सम्पादनमा पनि उनी सक्रिय रहे ।


उनको खास दख्खल अनुसन्धानमा थियो । त्रिविको बौद्ध अध्ययनमा अहिलेसम्म चारले पीएचडी गरेका छन् र ती सबैको शोध निर्देशक उनी नै थिए । संयोगले वैद्य, मानन्धर र बज्राचार्य कुनै न कुनै रूपमा लुम्बिनी विश्वविद्यालयसँग आबद्ध रहे । वैद्य र मानन्धर विश्वविद्यालयका उपकुलपति रहे । मानन्धरले २०२५ सालयता बज्राचार्यलाई चिनेका हुन्, जतिबेला उनी एमएका विद्यार्थी भएर विश्वविद्यालय आएका थिए । मानन्धर सम्झिन्छन्, ‘उनी कम बोल्थे, लजालु स्वभावका थिए ।’


बहादुर शाहबारे अनुसन्धानका क्रममा उनी त्यसमा निकै ब्यस्त रहेका थिए, त्यसको स्रोत अध्ययनका लागि इङल्यान्ड पनि पुगे । उनी यो अध्ययनमा कति डुबे भने साथीभाइले उनको नाम नै बहादुर शाह राखे । टोलछिमेकतिर त्यतिबेला उनलाई बहादुर शाह भनेर पनि जिस्क्याउने गरिन्थ्यो । यस विपरीत उनले परिवारमा पनि जीवन्त र सक्रिय जीवन बिताए । उनका दुई छोरा र दुई छोरी भए । त्यसबाट सात नाति–नातिनी । ती सबैका उनी ‘बेस्ट फ्रेन्ड’ थिए ।


पूरा जीवन अध्ययन र लेखनमा बिताए । पछि त्यसबाट जति समय बचेको थियो, त्यो नाति–नातिनीलाई हुर्काउन ब्यतित गरे । उनीहरूसँग खुबै बोलिरहनुपथ्र्यो र एकपछि अर्को कथा पनि सुनाउँथे । नाति–नातिनीलाई पढाउने क्रममा बीच–बीचमा ‘जोक्स’ पनि सुनाउँथे । धेरैलाई थाहा नहुन सक्छ, उनी क्रिकेटका पनि निकै ठूला शौखिन थिए । जतिबेला टेलिभिजनको जमाना थिएन, त्यतिबेला दिनरात रेडियोमा कमेन्ट्री सुनेर बिताउँथे । अनि उनी इङलिस फुटबल क्लब आर्सनलका पनि समर्थक थिए ।
ट्विटर : @himeshratna

प्रकाशित : चैत्र १०, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?