कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हस्तक्षेपविरूद्ध प्रतिकार

आफ्नै परिवेश
झमक घिमिरे

काठमाडौँ — नेपाल बहुल धर्म, जाति र संस्कृति भएको देश हो । नेपालमा एक जातको बाहुल्यता भएको कुनै स्थान छैन । सबै खालका संस्कृति र विभिन्न जातिको समिश्रण छ । विचारको समिश्रण छ । त्यसैले यहाँ आपसमा प्रेम छ, माया छ, सद्भाव छ, भाइचारा छ । सबैभन्दा ठूलो कुरा सहिष्णुताको संस्कृति छ ।

यही भत्काउन चाहन्छन्, नेपालको अहित चाहने देशी–विदेशी शक्तिहरू । यिनीहरूले नेपालीलाई सहयोग गर्ने बहानामा आफ्ना दुष्ट नंग्रा नेपाल र नेपालीजनको मनमा गाड्न खोज्दैछन् । शताब्दीऔंदेखिको नेपालीजनको पवित्र आत्मियता भत्काएर आपसमा लडाउन खोज्दैछन् । नेपालका आफ्नै आदिम कालदेखिका धर्म, संस्कृति छन् । तिनलाई छिन्नभिन्न बनाएर विभिन्न प्रलोभन देखाएर सोझासिधा मान्छेलाई फँसाएका छन् ।

मुलुकमा विभिन्न बहानामा धर्म परिवर्तन गराउने लहर चलिरहेको छ । कुनै खास धर्म ग्रहण गर्नासाथ मान्छे निरोगी हुन्छ र सुखी हुन्छ भन्ने भ्रम छरिएको छ । यसैक्रममा यो पंक्तिकारको विभिन्न विषयमा बहस चल्ने गरेको छ । यसरी धर्मको नाममा नेपालीको भावनामाथि खेलवाड गर्ने विदेशी नंग्रा गाड्न खोज्नेहरूप्रति हामी नेपाली किन मौन ? किन हाम्रा स्वरहरू बन्द ?

यहाँ जातीय, क्षेत्रीय रूपमै असहिष्णुता फैलाउने काम संगठित रूपमै भइरहेको छ । नेपाल धर्मनिरपेक्ष हुनु भनेको यिनले सबै धर्मलाई समानता दिएको अर्थमा बुझेनन् । धर्मविहीन हुनु हो भन्ने अफवाह फैलाएर आफ्नो धर्म, संस्कृतिको प्रचार–प्रसार गरेर अनेक प्रलोभनमा पारेर सिधासोझा मान्छेको अन्तरभावनामाथि खेलेर आफ्नो मुठ्ठीमा कसरी पार्न सकिन्छ भन्ने यिनको मुख्य ध्येय हो । जुन कुरा रुवान्डामा हुतु र तुत्सीबीच जातीय अन्तरद्वन्द्व पारेर मानव नरसंहार मच्चाए । जहा लाखौं मानिस मारिए । जसको कारण थियो, वैदेशिक हस्तक्षेप । त्यहाँ मिलेर बसेका जातिमा आफ्ना गिद्धे नजर र फुटको संस्कृति रोपे । त्यहाँ मौलिक धर्म, संस्कृति शताब्दीयौंदेखि मानिरहेका थिए । त्यसलाई मासेर यिनले आफ्ना धर्म, संस्कृति लादे । यिनीहरूकै कारण त्यहाँ जातीय हिंसा भयो, छोटो समय चले पनि डरलाग्दो थियो ।

आखिर त्यहाँका सोझासिधा मानिसहरूले आपसमा लडेर के पाए ? आफ्ना बन्धुहरूको चिहान, रक्तपात, अनि उजाड आफ्नो मातृभूमि । पछुताउनु सिवाय केही रहेन । अब हाम्रो मुलुक पनि त्यस्तै बनाएर आफ्नो राज चलाउने सपना देख्दैछन् । यहाँका मौलिक संस्कृतिलाई मासेर मान्छेलाई एकको विरुद्ध अर्काे भड्काएर आफूमै लडाउने यिनको कुविचार बेलैमा सबै नेपालीले बुझ्न आवश्यक छ ।

हाम्रो संस्कृतिमा कतिपय कुरा नराम्रा, काम नलाग्ने पनि छन् । त्यसलाई आधार बनाएर नराम्रा मानव विरोधी कुराहरू फैलिएका छन् । अथवा सुनियोजित तरिकाले फैलाइएको छ । यी कुरालाई निकालेर फाल्नु आवश्यक छ । नेपालीमा रहेको सहिष्णुताको पर्खाल ढल्नु भनेको आफ्नो मौलिक पहिचान गुमाउँदै जानु हो । अहिले नेपालमा भाषिक, धार्मिक, जातीय रूपमा विस्तारै द्वन्द्व निम्त्याउने खेल भइरहेको छ । यो बाहिरी देशको हस्तक्षेप हाम्रा संस्कृति, मौलिक पहिचानमा हुनुहँुदैन । नेपाली कसैले पनि यो हस्तक्षेप सहनु भनेको आफैले आफैलाई बिर्सनु हो । किनभने आफ्नो पहिचानलाई बिर्सेर कोही मान्छे बाँचेको मज्जा हुँदैन । उसको अन्तरात्माले उसलाई धिकारिरहेको हुन्छ । त्यसैले सबै स्वाभिमानी नेपाली सबै खालका विदेशी हस्तक्षेपको प्रतिकार गरेर बाँचौं ।

प्रकाशित : चैत्र १५, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?