२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चिकित्सकीय लापरबाही

लक्ष्मी बखाद्यो

काठमाडौँ — २०७४ वैशाखदेखि हालसम्मका पत्रपत्रिका पल्टाउँदा ‘बच्चा निकाल्दा आन्द्रा नै काटिदिए’, ‘चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोप’, ‘लापरबाहीले सुत्केरीको मृत्यु’, ‘सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा’, ‘देब्रे घुँडामा गर्नुपर्ने शल्यक्रिया दाहिनेमा’ लगायतका चिकित्सकीय लापरबाहीका दर्जनौं समाचार देखिए ।

यस्ता समाचार महिनामा औसत चारवटा देखिएका छन् । त्यसबाहेकका कतिपय घटना अस्पतालमै गुपचुप गरी मिलाइएका पनि हुन सक्छन् ।

बिरामीप्रति चिकित्सकले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा नगरेको अवस्थालाई चिकित्सकीय लापरबाही मानिन्छ । अर्थात् चिकित्सक वा उपचारकर्मीले आफ्नो जिम्मेवारी पूरा नगरे बिरामीलाई कुनै पनि शारीरिक, मानसिक, आर्थिक रूपमा क्षति पुग्नगएको अवस्थालाई चिकित्सकीय लापरबाही हो । लापरबाही ठहरिन चिकित्सकले कर्तव्य उल्लंघन गरेको प्रमाण मेडिकल रेकर्ड वा ट्रिटमेन्ट रेकर्डमा समेतबाट देखिनुपर्छ । उल्लंघनले बिरामीलाई केही न केही क्षति (मृत्यु, अंगभंग वा अन्य शारीरिक नोक्सानी वा आर्थिक हानि) पुगेको हुनुपर्छ ।

२०७५ भदौ १ गते बाट लागू हुने मुलुकी अपराधसंहिता ऐन २०७४ ले कानुन बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेल्चेक्र्याइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न नहुने प्रावधान उल्लेख गरेको छ । कुनै चिकित्सकीय लापरबाहीका कारण बिरामी वा सेवाग्राहीको मृत्यु वा अंगभंग भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र हेल्चेक्र्याइँका कारणबाट मृत्यु वा अंगभंग भएकामा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरी सजाय गर्ने व्यवस्था गरिएको छ ।

उपचारका क्रममा चिकित्सकीय लापरबाही डाक्टर, नर्स, औषधि बिक्रेता, औषधि उत्पादक, ल्याब टेक्निसियन, ब्लड बैंकबाट हुनसक्छ । इलाज सम्बन्धी कसुरको परिधिमा लापरबाही/हेलचेक्र्याइँपूर्ण उपचार, मञ्जुरीबिना मानव शरीर परीक्षण पर्छन् । यस्तै इजाजत प्राप्त व्यक्तिको सिफारिसबिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागूऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री–वितरण गर्नु, औषधिमा मिसावट गर्नु वा मिसावट गरेको औषधि बिक्री–वितरण गर्नु, म्याद नाघेको वा पूर्ण सावधानी नलिई औषधि बिक्री–वितरण गर्नु पनि चिकित्सकीय लापरबाहीमा पर्छन् । एउटा औषधिलाई अर्को भनी बिक्री–वितरण गर्नु तथा मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्दा परीक्षणको गलत वा झुठ्ठा प्रतिवेदन दिनु पनि लापरबाही नै हुन् । उल्लिखित कार्य सबै इलाज सम्बन्धी कसुर अन्तर्गत पर्छन् । त्यसैले डाक्टरमात्रै होइन, औषधि बिक्रेता, परीक्षण गर्ने तथा रिपोर्ट बनाउने ल्याब टेक्निसियन, ब्लड बैंकमा रगत दिन बसेका कर्मचारी, औषधि निर्माण गर्ने तथा बनाउने फर्मासिस्ट पनि इलाजको कसुरभित्र पर्छन् ।

समान्यतया उपचारका क्रममा चिकित्सकीय लापरबाहीका कारण कसैको मृत्यु भयो वा कुनै अन्य शारीरिक, मानसिक वा आर्थिक क्षति भयो भने मोलमोलाइ अर्थात पैसाको कारोबारमा मिल्ने, क्षतिपूर्ति भराइलिने/दिनेमा चिकित्सकीय लापरबाहीको विषय निक्र्योल गर्ने गरिन्छ । आर्थिक क्षतिपूर्ति मात्रैले कसैको ज्यान फिर्ता हुनसक्दैन, न त्यसले चिकित्सकीय लापरबाही नै अन्त्य गर्छ । त्यसैले चिकित्सकीय लापरबाहीको गम्भीरतालाई ध्यानमा राखी दोषीलाई नसिहत दिने, लाइसेन्स खारेज गर्नुका साथै कैद सजाय हुनेसम्मको व्यवस्था गरिनु उपयुक्त हुन्छ ।

कानुनी उपचारमार्फत न्याय खोज्न जान त सकिन्छ, तर मुद्दा दायर गरी फैसला कुरेर क्षतिपूर्ति पाउने बेलासम्म घाउचोटमा खाटो लागिसकेको हुन्छ । चिकित्सकीय लापरबाहीका विषयमा मुद्दा दायर गरेपछि फैसला भएर क्षतिपूर्ति पाउन एक दशकभन्दा बढी समय लागेका उदाहरण थुप्रै छन् । चिकित्सकीय लापरबाहीकै एक मुद्दामा सर्वोच्च अदालतले ‘औषधि दिनहुँ खाएपछि लक्षण र असर देखिन थालेको दिनबाट हदम्यादको गणना गर्नुपर्छ, नोक्सानी भएको कुरा जानकारी भएको मितिलाई मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मिति मान्नुपर्ने’ नजिर स्थापना गरेको छ, जुन सराहनीय छ । अदालतले क्षतिपूर्ति भराएर मात्रै फैसला गरेर चिकित्सकीय लापरबाहीको कसुरलाई अपराध ठहर्‍याएको देखिँदैन । यो कतिको उचित छ ? स्वास्थ्य सम्बन्धी अधिकार नेपाली नागरिकको मौलिक अधिकार हो । यो हक हनन गर्ने कार्य आपराधिक हो, नकि सामान्य देवानी प्रकृतिको कार्य । अत: आशा गरौं, अब कुनै चिकित्सा क्षेत्रमा संलग्न व्यक्तिहरूले लापरबाही नगरुन्, मानव शरीरलाई परीक्षण गर्ने साधन नमानियोस् । तर कसैलाई चिकित्सकीय लापरबाही वा हेल्चेक्र्याइँका कारण क्षति पुगे त्यसमा संलग्न व्यक्तिलाई आपराधिक दायित्व बहन गराइयोस् ।

बखाद्यो काठमाडौं स्कुल अफ लकी उपप्राध्यापक हुन् ।

प्रकाशित : चैत्र १६, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?