कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमरेडको हिन्दुस्तान यात्रा

सिउँडी
विमल निभा

काठमाडौँ — नेपालका प्रधानमन्त्री सरकारी कुर्सीमा सवार हुनासाथ सबभन्दा पहिले हिन्दुस्तानको यात्रा किन गर्ने गर्छन्, यो विचारणीय छ । मेरो विचारमा यसको एकभन्दा बेसी कारण हुनसक्छ ।

कमरेडको हिन्दुस्तान यात्रा

एक, छिमेकी मुलुक हिन्दुस्तान निकटस्थ मुलुक भएकोले कुनै खास बन्दोबस्तीको आवश्यकता हुँदैन । (यसो ख्यास्स गयो, अनि सरसर्ती ‘दिल्ली दर्शन’ गरेर आयो) । र अर्काे कारणाचाहिँं के हो भने कतै हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूहरू फगत हिन्दुस्तान यात्राकै निम्ति त प्रधानमन्त्री हुने गर्दैनन् ?

वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली यही अघोषित चलन बमोजिम छिमेकी मुलुक हिन्दुस्तानको यात्रामा सदलबल जाने भएका छन् । सम्भवत: यस्तो यात्रानीतिको थालनी प्राइमिनिस्टर जंगबहादुर राणाको बेलायत यात्राबाट भएको हो । यहाँनेर एउटा जायज प्रश्न तेर्सिन सक्छ–

जंगबहादुरको बेलायत यात्रा कसरी हिन्दुस्तान यात्रा भयो ? यसको सांगोपांग नालीबेली बुझ्न इतिहासमा जानुपर्ने हुन्छ । त्यसबखत छिमेकी मुलुक हिन्दुस्तानमा हिन्दुस्तानी नभएर बेलायती राज कायम थियो । त्यसैले हिन्दुस्तान एक प्रकारले बेलायत हुनगयो । अब हिन्दुस्तान बेलायत भयो भने बेलायत पनि स्वत: हिन्दुस्तान हुने भएन ? यही गाँठी कारणले म तत्कालीन प्राइमिनिस्टर जंगबहादुर राणाको बेलायत यात्रालाई सहजतापूर्वक हिन्दुस्तानको यात्रा पनि भन्ने गर्छु । दुवै महारानी भिक्टोरियाद्वारा डाइरेक्ट शाषित मुलुकहरूमा के अन्तर छ ? अत: बेलायत या हिन्दुस्तान (अथवा हिन्दुस्तान या बेलायत) जे नामले पुकारे पनि हुन्छ ।

त्यसबेलादेखि याने तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालादेखि यो हिन्दुस्तान यात्रा हालसम्म पनि अटुट नै रहेको छ । मेरो भन्नु के हो भने हाम्रो प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली शीघ्र हिन्दुस्तानको राजकीय यात्रामा जाँदैछन् । यसको अनौपचारिक जनाउ कमरेड ओली स्वयंले एक पुस्तकको लोकार्पण समारोहमा दिएका हुन् । यस प्रकार एकैचोटी दुई लोकार्पण सम्पन्न हुनगयो । एक, लेखकद्वय अन्जान शाक्य र माधवजी श्रेष्ठद्वारा संयुक्त रूपले लिखित ‘नेपाल, चाइना रिलेसन्स न्यु एभिन्युज एन्ड पोसिबिलिटिज’ नामक अंग्रेजी पुस्तकको लोकार्पण र दुई, प्रधानमन्त्री कमरेड ओलीको छिमेकी मुलुक हिन्दुस्तान यात्राको जानकारीमूलक कुराको लोकार्पण ।

यसको अर्थ के हो भने प्रधानमन्त्री ओलीको हिन्दुस्तान यात्राको भव्य तयारी प्रधानमन्त्री निवास, बालुवाटारको कुनै गोप्य कक्षमा भइसकेको छ । अब त्यहाँ उनका अन्तरंग सल्लाहकारहरूले यस सम्बन्धमा के र कस्तो खाले सल्लाह दिए, यो स्पष्ट छैन । सायद त्यही पुरानै कोसी, गण्डकी र महाकाली मार्का परामर्श प्रदान गरे कि ? यसको द्वितीयपटक प्रधानमन्त्री भएका कमरेड ओलीलाई कुनै खास खाँचो नै थिए । के उनी छिमेकी मुलुक हिन्दुस्तानसँगको ‘महाकाली सन्धि’को वाचाल साक्षी होइनन् र ? याद गर्नाेस्, उनको ‘एक अर्ब र एक खर्ब फाइदा’वाला बहुचर्चित डाइलग ! जे होस्, यसपालिको हिन्दुस्तान यात्रामा ‘अर्ब र खर्ब’मा केही अंकको बढोत्तरी भएमा कमरेड ओलीको हिन्दुस्तान यात्रालाई असफल मान्नुपर्ने हुनै कारण छैन ।

कमरेड प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको एक पुरानो शुभेच्छुक भएको नाताले यो कवि विमल निभा पनि उनको हिन्दुस्तान यात्राको शुभ अवसरमा एकाध सल्लाह दिन तम्सिएको छ ।

१. यो वर्षातको मौसम नभए पनि एकथान छाता बोकेर जानु उत्तम हुनेछ । कुनै सामान्य छाता नभएर राष्ट्रिय छाता । (साँच्चिकै राष्ट्रिय नि !) अहिले हिन्दुस्तानको राजधानी नयाँदिल्लीमा थरी–थरीका गर्मी ह्वात्तै बढेकोले पनि आफ्नो नेपाली छाता छुटाउन मिल्दैन है कमरेड !

२. केही महिना अघिसम्म हिन्दुस्तानको गुजरात राज्यमा ‘सुंगुरे रोग’ (स्वाइनफ्लु) निकै बढेको थियो । अहिले त्यसको स्थान हिन्दुस्तानव्यापी पीतवर्णी रोगले लिएको छ । यो ‘कमलपित्त’ रोगमा आँखामात्र नभएर सम्पूर्ण शरीर नै पहेँलिने गर्छ । (मनदेखि आत्मासम्म) । त्यसैले हिन्दुस्तानी प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग कर्‍याप्प हात मिलाउँदा अलिकति होश गर्नास् है !

३. हिन्दुस्तानी प्रधानमन्त्री मोदीसँग प्राइभेट वातचित हुँदा यो सोध्न नबिर्सनोस्– हामीमाथि बलात् लगाइएको त्यो नाकाबन्दीको ‘न’ सकर्म हो कि अकर्म मोदीजी ? यद्यपि यो कुनै मैत्रीपूर्ण प्रश्न हुने छैन । तर दुई मुलुक बीचको सौहार्दताको व्याकरण कसले बिगारेको हो ? यति सोध्नु त हाम्रो हक हो । कुन्नि, प्रधानमन्त्री कमरेड ओलीले मेरो सल्लाहमा ध्यान दिनेछन् अथवा दिने छैनन् !

४. हिन्दुस्तान यात्रामा हवाइजहाजबाट माथि–माथि आकाश मार्गमा उडेर गए पनि त्यहाँबाट फर्कंदाचाहिंँ पानीजहाजको प्रयोग गर्नुहोला नि ! मेरो तात्पर्य विलकुलै आफ्नै ‘पानी’जहाजसँग हो । यसै पनि तपाई बरोबर ‘हाम्रा पानीजहाज’ भन्ने गर्नुहुन्छ । अब हेरौं, कमरेडको यो हिन्दुस्तान यात्राको तमाम ‘वास्तविकता’
कस्तो भएर प्रकट हुनेछ !

अन्त्यमा,
केही समयअघि मानवरूपी रोबोट सोफियाको नेपाल यात्रा भएको थियो । अहिले नेपालका प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको छिमेकी मुलुक हिन्दुस्तानको यात्रा हुने भएको छ । यद्यपि दुवै यात्रा तुलनीय होइनन् । मेरो भन्नु कति (अथवा यति) मात्र हो भने कमरेड प्रधानमन्त्री ओलीको हिन्दुस्तान यात्रा सफल होस्, जय नेपाल ।

प्रकाशित : चैत्र १७, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?