के हो प्रोस्टेट हाइपरप्लेजिया ?

पिसाब भएपछि अन्त्यमा थोपा–थोपा गरेर चुहिनु, पिसाबको धारा लुलो, मसिनो र कमजोर हुनु, कनेर वा पर्खेपछि मात्र पिसाब हुनु र पिसाब भएपछि निख्रेको अनुभव नहुनु प्रोस्टेट हाइपरप्लेजियाको लक्षण हो ।

काठमाडौँ — जन्मेको ७ महिनादेखि १३.५ वर्षसम्मका बच्चाहरूमा प्रोस्टेटको अल्ट्रा सोनोग्राफी अध्ययनबाट थाहा भए अनुसार यो ०.४ देखि ४.२ ग्रामसम्मको हुन्छ । २० वर्षमा यो ग्रन्थि लगभग २० ग्रामको हुन्छ ।

२०–२५ ग्रामसम्मको प्रोस्टेट ग्रन्थिलाई सामान्य मानिन्छ । करिब ४० वर्षसम्म यसको आकारमा खासै फरक नआउन सक्छ । तर यो ४० वर्षकै सेरोफेरोदेखि प्रोस्टेट बढ्न थाल्छ । वर्षमा करिब २.३ ग्रामको दरले यसको वृद्धि हुन्छ । विभिन्न अनुसन्धानले देखाए अनुसार प्रोस्टेटको आकार परिवर्तनशील हुँदै जान्छ ।

प्रोस्टेट ग्रन्थि सामान्य अवस्थामा ओखरको गेडाभन्दा अलिकति ठूलो तर सल्लाको फलजस्तो तल फराकिलो र माथि चुच्चो परेको हुन्छ । यो मूत्रथैलीको तलतिर हुन्छ । यसलाई मलद्वारबाट औँलाले सजिलैसँंग छाम्न सकिन्छ । प्रोस्टेटका ४ भाग हुन्छन् । सीमावर्ती भाग : यो सबैभन्दा ठूलो भाग हो । यसले झन्डै ७० प्रतिशत भाग ओटेको हुन्छ । मूत्रथैलीबाट टाढा हुन्छ । प्रोस्टेटमा हुने क्यान्सरको सुरु ७०–८० प्रतिशतसम्म यसै भागबाट हुन्छ । चिकित्सकले मलद्वारबाट छोएर थाहा पाउन सक्छन् । परिवर्तनशील भाग : यो भागले युवा अवस्थामा मूत्रनलीको सुरुको ५ प्रतिशत ठाउँ ओगट्छ । यो प्रोस्टेट ग्रन्थिको एकमात्र भाग हो, जुन पुरुष बाँचुन्जेल वृद्धि भइरहन्छ । प्रोस्टेट क्यान्सरको सुरु १०–२० प्रतिशत यसै भागबाट हुन्छ । तर यो भाग प्रोस्टेट ग्रन्थि हाइपरप्लेजियाको मुख्य केन्द्र हो । केन्द्रीय र मध्यवर्ती भाग : यो भागले वीर्य स्खलन नलीलाई घेरेर राखेको हुन्छ । यो भागले ग्रन्थिको २५ प्रतिशत ठाउँ ओगटेको हुन्छ । यो भागमा प्रोस्टेट क्यान्सरको सुरुवात करिब २.५ प्रतिशत हुन्छ । यो भागको प्रोस्टेट क्यान्सर अन्य भागको भन्दा बढी आक्रामक हुन्छ र वीर्यथैलीमा छिट्टै फैलिन सक्छ । अग्र भाग : यो भाग रेशा तथा मांसपेशीबाट बनेको हुन्छ र ग्रन्थिको करिब ५ प्रतिशत ठाउँ लिन्छ । यो ज्यादै पातलो तर थुप्रै रक्तनलीले भरिएको हुन्छ ।

प्रोस्टेट ग्रन्थिले बनाउने रस वीर्यको ३० प्रतिशत हुन्छ । यो रस तितो हुन्छ । त्यसैले योनिमा हुने अम्लीयपनालाई कम गर्ने, शुक्रकीटमा भएका आनुवंशिक पदार्थको रक्षा गर्ने र शुक्रकीटको गतिशीलता वृद्धि गर्दै लामो समय जीवित राख्न सहयोग पुर्‍याउँछ । प्रोस्टेटले बनाएको वीर्यको भागमा पौष्टिक तत्त्व बढी हुन्छ । प्रोस्टेटको मांसपेशी सम्भोगको चरम आनन्दका बेला आफसेआफ खुम्चिएर वीर्यलाई मूत्रनलीको गोलाकार भागमा पठाउँछ । त्यो ठाउँबाट वीर्यपतनमा अरू नै मसिनो धर्सा भएका स्वेच्छाशील मांसपेशीहरू सक्रिय हुन्छन् । यसरी प्रोस्टेटले मानव प्रजननमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । प्रोस्टेटमा खासगरी ३ प्रकारका रोग लाग्न सक्छन्–

१. संक्रमण तथा सुन्निे रोग– यी रोगहरू प्रोष्ट्राटाइटिसका विभिन्न रूपमा देखा पर्छन् । २. प्रोस्टेट ग्रन्थिको हाइपरप्लेजिया– मुख्यतया यो अवस्था ग्रन्थिको परिवर्तनशील भागसँंग सम्बन्धित हुन्छ । ३. प्रोस्टेट क्यान्सर– यो रोग मुख्यतया प्रोस्टेटको सीमावर्ती भागमा देखापर्छ । तर परिवर्तनशील भागमा १०–२० प्रतिशत र मध्यवर्ती भागमा करिब २.५ प्रतिशत यो घातक अवस्थाको सुरुवात हुन्छ । मध्यवर्ती भागमा सुरु भएको प्रोस्टेट क्यान्सर सबैभन्दा बढी घातक तथा छिटो फैलने हुन्छ । यो आलेख प्रोस्टेट हाइपरप्लेजियामा केन्द्रित छ ।

पुरुषको उमेर वृद्धिसँंगै प्रोस्टेटको कोशहरूको परिवर्तनशील भागमा संख्यात्मक वृद्धि हुँदै जान्छ । युवा अवस्थामा ग्रन्थिको ५ प्रतिशतमात्र ठाउँ लिने परिवर्तनशील भाग समय बित्दै जाँदा ठूलो हुँदै जान्छ र मूत्रनली नजिकै भएको कारण शौचमा बाधा पुर्‍याउन थाल्छ । प्रोस्टेट कोशहरूको वृद्धिमा पुरुष हर्मोनहरूको ज्यादै महत्त्वपूर्ण भूमिका हुन्छ । वैज्ञानिकहरू के पनि परिकल्पना गर्छन् भने पुरुष तथा स्त्री हर्मोनको विषमता, स्ट्रोमल तथा एपिथिलियल कोशहरू बीचको अन्तरक्रिया, कोशहरूको वृद्धि गराउने तत्त्व स्टेरोइड हर्मोनसँंगको परस्पर क्रियाले प्रोस्टेटको वृद्धि हुन्छ ।

प्रोस्टेट हाइपरप्लेजियाको लक्षण
पिसाब भएपछि अन्त्यमा थोपा–थोपा गरेर चुहिने, पिसाबको धारा लुलो, मसिनो र कमजोर हुने, पिसाब फेर्न गएपछि कनेर वा पर्खेपछि मात्र पिसाब हुने, रुकीरुकी पिसाब हुने र पिसाब भएपछि निख्रेको अनुभव नहुने गर्छ ।

सामान्यभन्दा छिटो–छिटो पिसाब हुने, पिसाब चुहिने, राति पिसाब फेर्न उठिराख्नुपर्ने र पिसाब फेर्दा मूत्रनली पोल्ने वा दुख्ने गर्छ । तर के ध्यान दिनुपर्छ भने मूत्रप्रणालीको तल्लो भागमा संलग्न लक्षणहरू प्रोस्टेट हाइपरप्लेजियासंँग मात्र आबद्ध छ भन्न मिल्दैन । यी लक्षण कुनै रोग विशेष वा खास अवस्थासँंग मात्र संलग्न हुन्छ भन्ने छैन । यी लक्षण प्रोस्टेट सुन्निएर वा क्यान्सर वा मूत्रनलीका अन्य अवस्थामा पनि हुन्छन् ।

प्रोस्टेट हाइपरप्लेजियाको कारण मूत्रथैलीबाट पिसाब मृगौलातिर प्रवाह भएर मृगौलाको कार्यक्षमता ह्रास गरिदिन सक्छ । मूत्रप्रणालीसँंग सम्बन्ध नभएका जस्तै– हर्निया, अलकाई, पिसाब थैलीको पत्थरी, दिसामा समस्या देखापर्न सक्छ । कहिलेकाहीँ मूत्रथैली र मृगौला सुन्निने, मूत्र रक्तस्राव हुने सम्भावना पनि रहन्छ ।

अल्ट्रा सोनोग्राफी गरेर प्रोस्टेटको तौल, ग्रन्थिको मूत्रथैलीभित्र घुसेको लम्बाइ र पिसाब फेरिसकेपछि थैलीमा बाँकी रहेको पिसाबको मात्रा अध्ययन गर्नुपर्छ । युरोफ्लोमेट्रीबाट मूत्रप्रवाह मापन गर्नुपर्छ । यसबाट मूत्र अवरोध भए/नभएको छुट्याउन धेरै सहयोग पुग्छ । सिस्टोस्कोपीको सहयोगले मूत्रनली तथा थैली जाँच्ने गरिन्छ । यो जाँच मूत्र रक्तस्राव भएकालाई अनिवार्य भए पनि अरू सबैलाई गर्नु आवश्यक छैन । रगत परीक्षण गर्दा प्रोस्टेट क्यान्सर पहिचान गर्न ‘पीएसए’ जाँच गरिन्छ ।

उपचार विधि
छिटो–छिटो पिसाब फेरिराख्नुपर्ने, राति धेरैपल्ट पिसाब फेर्नुपर्ने जस्ता लक्षणलाई तर्कसङ्गत तरल पदार्थ प्रयोगमा कटौती गरेर धेरै फाइदा पाउन सकिन्छ । दिसा कब्जियत अवस्थामा नराख्ने र पिसाब फेर्दा नहडबडाइकन निखार्ने बानी गर्नुपर्छ । पिसाब फेरिसकेपछि १/२ थोपा पिसाबले भित्री लुगा भिज्ने भएमा लुगा लगाउनु अघि अन्डकोशको तलतिर थिचेर ननिख्रेको पिसाब निखार्ने गर्दा समस्या समाधान हुनसक्छ ।

औषध उपचारको मुख्य उद्देश्य बिरामीलाई कष्ट हुनबाट राहत दिलाउनु हो । प्राय:जसो दुई थरीका औषधिको प्रयोग गरेर बढेको ग्रन्थिको मापन घटाउने र अवरोध भएको पिसाब थैलीको घाँटी र मूत्रनलीको प्रोस्टेट संलग्न भाग खुकुलो पारेर मूत्रप्रवाहमा सुधार गरिन्छ । औषध उपचारबाट राहत महसूस नगर्ने, ग्रन्थि बढेर मूत्रथैलीभित्र एक सेन्टिमिटरभन्दा बढी गएमा, मूत्र रक्तस्राव भएमा, बारम्बार मूत्र संक्रमण देखापरेमा, पिसाब थैलीमा थुप्रै पिसाब बाँकी रहेर मृगौला फुल्ने र मृगौलाको कार्यक्षमतामा ह्रास आउन थालेमा, मूत्रथैलीमा पत्थरी भएमा, पिसाब पुरै रोकिएमा, सम्पूर्ण शरीरलाई असर पार्ने लक्षण देखापरेका बिरामीहरूको शल्य उपचार अनिवार्य हुन्छ ।

डा. भट्ट मेडिकेयर नेसनल हस्पिटल एन्ड रिसर्च सेन्टरका कन्सल्टेन्ट युरोलोजिस्ट हुन् ।

प्रकाशित : चैत्र १७, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?