३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाल यौनहिंसा न्यूनीकरणका उपाय

साधना प्रतीक्षा

काठमाडौँ — केही समयअघि अखबारको मुखपृष्ठमा स्वयम्भू बस्ने एक महिला बलात्कारपछि हत्या गरिएकी आफ्नी १० वर्षे छोरीको तस्बिर लिएर टोलाइरहेको दृश्य छापिएको थियो । हरेक दिनका समाचारमा कुनै न कुनै बालिका तथा किशोरी यौनजन्य हिंसाका सिकार भएका देखिन्छन् ।

बाल यौनहिंसा न्यूनीकरणका उपाय

साथै तीमध्ये कतिले त ज्यानै गुमाएका हुन्छन् भने बाँचेकाहरू पनि सामान्य अवस्थामा आउनसकेका हुँदैनन् । यस्ता घटनामा अधिकांश पीडक कुनै न कुनै उपायद्वारा उन्मुक्त हुने गरेको पाइन्छ । दोषी ठहरिएकाहरूले पनि कममात्र कानुनी दण्ड–सजाय भोगेको पाइन्छ । यस प्रकारका अपराधका लागि कानुनी सजायको व्यवस्था भए पनि अधिकांश पीडित पक्षको पहुँच त्यहाँसम्म पुग्न सक्दैन ।


अत: उनीहरू आफ्नो सामाजिक प्रतिष्ठा जोगाउन पनि यस्ता घटना लुकाउने गर्छन् । यसको दुष्प्रभाव पीडित बालबालिकामा त पर्छ नै, पीडक पक्षलाई यस्ता अपराध गर्न थप हौसला मिल्छ । त्यसैले केवल कानुनी प्रावधानबाट यस्ता समस्याको समाधान खोजिनुभन्दा यस्ता घटना हुन नदिने उपायको खोजी आवश्यक छ । किनभने यो कानुनीभन्दा पनि सामाजिक समस्या हो । यसका लागि बालबालिका यौनहिंसाको जोखिममा पर्नसक्ने सम्भावनाको आँकलन गरी तिनको न्यूनीकरण गर्नेतर्फ सम्बन्धित पक्ष केन्द्रित हुनुपर्छ ।


स्वयम्भू घटनामा सँगै डेरा गरी बस्ने तथा परिवारमा हेलमेल भएको व्यक्तिले घरमा एक्लै रहेकी बालिकामाथि यौन दुराचार गरी हत्या गरेको कुरा पीडित बालिकाकी आमाले बताएकी छन् । यस्ता घटनामा संलग्न दोषीहरू पनि प्राय: अपरिचत नभई परिचित, घरमा आवत–जावत गर्ने तथा कतिपय त नाता सम्बन्ध भित्रकै भएको पाइन्छ । कतिपय बालिका यौन दुराचारको मनसायलाई माया या खेल सम्झेर उनीहरूसँग नजिकिने गर्छन् र अन्त्यमा यौनजन्य हिंसाको सिकार हुन्छन् । यस्तो अवस्थामा एक त उनीहरूलाई आफूमाथि के भएको हो र कस्तो पीडा भोग्दैछु भन्नेसम्म पनि थाहा हुँदैन । दोस्रो, यौन दुराचारीको डर–धम्कीका कारण आफ्नो पीडा अरुलाई भन्न सक्दैनन् । यसरी पीडित बालिका दोहोरो मारमा परेका देखिन्छन् । त्यसैले यस्ता घटना केही बाहिर आए पनि धेरैजसो दबिएरै रहेका हुन्छन् । अत: यसको न्यूनीकरणका लागि परिवार, समुदाय, विद्यालय तथा राज्यले आआफ्नो उत्तरदायित्व निर्वाह गर्नुपर्ने देखिन्छ ।

परिवारको दायित्व
बालबालिकाको सुरक्षाका लागि पहिलो दायित्व परिवारको हो । परिवारबाट पाएको संस्कार तथा सचेतता नै उनीहरूका लागि मार्गदर्शक हुने गर्छ । परिवारका अग्रज सदस्य आफ्ना बालिकाहरूप्रति सचेत हुने तथा उमेर अवस्था अनुसार उनीहरूलाई पनि सचेत गराउँदै जानाले यस्ता घटनालाई कम गर्न सकिन्छ । यसमा विशेषगरी आमा तथा अग्रज महिलाको भूमिका महत्त्वपूर्ण हुन्छ । छिमेक तथा आसपास अनि घरमा आउजाउ हुने पुरुषहरूको आचरण, आफ्ना नानीहरूप्रतिको उनीहरूको दृष्टिकोण तथा हिमचिमप्रति सचेत भएर नानीहरूलाई पनि सचेत गराउने दायित्व परिवारकै हो ।


खराब नियत भएका पुरुषहरूले बालिका एक्लो भएको अवस्थामा उनीहरूलाई आफूतिर आकर्षित गर्ने वा बलपूर्वक यौन दुराचार गर्ने हुनाले बालिकाहरूलाई घरमा एक्लै नछाड्ने, छाड्नैपर्ने बाध्यात्मक परिस्थितिमा ढोका लगाएर सुरक्षित बस्ने तथा परिवार बाहेक अन्य पुरुषलाई प्रवेश नदिनेतर्फ सचेत गराउनुपर्छ । १०–१२ वर्ष पुगेका छोरीहरूलाई आमाहरूले उनीहरूले बुझ्नेगरी यौनिक विषयमा जानकारी गराउनुपर्छ । खराब नियत राखी पुरुषले गर्ने स्पर्श वा आग्रह, त्यसलाई स्वीकार गर्दा हुने हानिबारे बुझाएर यस्ता कुराको प्रतिकार क्षमताको विकास गराउन सकिन्छ । विद्यालय बन्द भएको दिन वा कारणवश विद्यालय जान नसकेको अवस्थामा सम्भव भएसम्म बालिकाहरूलाई एक्लै नछोड्ने, उनीहरू जाने, खेल्ने, घुम्ने आदि ठाउँ, उनीहरूको सङ्गत आदिबारे जानकारी राख्नुका साथै यसबारे मित्रवत रूपमा सोध्ने गर्नुपर्छ ।

समुदायको दायित्व
बालिकाहरूप्रतिको सामूहिक दायित्वबोधले उनीहरूलाई यस्ता हिंसाबाट जोगाउन सघाउ पुर्‍याउँछ । समुदायले यस्ता घटनालाई एउटा परिवारको निजी विषय नठानी यसलाई सामुहिक समस्याका रूपमा हेर्नुपर्छ । किनभने निश्चित सामाजिक संरचना र त्यसभित्रका सामजिक समस्या यसको कारक तत्त्वका रूपमा रहेका हुन्छन् । गरिबी, अशिक्षा, महिला–पुरुष बीचको असमान सम्बन्ध आदिजस्ता सामाजिक समस्याले यस प्रकारका घटनालाई मलजल गरिरहेका हुन्छन् ।


यस्ता सम्भावित कारण पत्ता लगाएर सामुहिक बहस चलाउने, सम्बन्धित राज्यका निकाय, गैरसरकारी संस्था, सामाजिक संघ/संस्थाको सहयोग लिएर यस्ता समस्याको न्यूनीकरणका लागि प्रयास गर्नु समुदायको दायित्व हो । साथै समुदायका कुनै पनि बालिकाप्रति परिचित वा अपरिचत पुरुष गलत नियतले नजिकिएको देखिएमा त्यसबारे सामुहिक छलफल गरी निरुत्साही गर्नेजस्ता कार्यले पनि हिंसा न्यूनीकरणमा सघाउ पुर्‍याउन सक्छ ।

विद्यालयको दायित्व
बालिकाहरूमाथि हुने यौनजन्य हिंसा र दुराचार न्युनीकरणका लागि विद्यालयको दायित्व उल्लेख्य देखिन्छ । बालिका तथा किशोरीहरूलाई लक्षित गरी सञ्चालन गर्ने स–साना कार्यक्रमले पनि उनीहरूलाई यस प्रकारको समस्याबाट जोगाउन सहयोग गर्छ । प्रकाशमा आएका बाल यौनहिंसा सम्बन्धी घटना अनुसार अधिकांश पीडित बालिकाहरू निम्नवर्गीय, सुविधाविहीन तथा चेतनाको अभाव भएको परिवारका देखिन्छन् ।




अत: यस्तो वर्गका परिवारका बालबालिकाहरूले अध्ययन गर्ने विद्यालयमा निश्चित उमेर समूहका बालिका तथा किशोरीहरूलाई लक्षित गरेर अतिरिक्त रूपमा विशेष कक्षाको व्यवस्था गरिनुपर्छ । यस्ता कक्षाहरूमा उनीहरूमाथि हुनसक्ने यौनजन्य दुव्र्यवहार तथा त्यसबाट जोगिने उपाय, बालिका तथा किशोरीको जैविकीय संरचना, सम्भावित जोखिम, अपनाउनुपर्ने सजगता आदिबारे उनीहरूले बुझ्नेगरी जानकारी गराउनाले पनि यस्ता घटनामा कमी ल्याउन सकिन्छ ।

राज्यको दायित्व
बाल यौनहिंसा सम्बन्धमा अहिलेसम्म राज्यबाट कानुनी प्रावधानतर्फ मात्र ध्यान दिएको देखिन्छ । कानुनी प्रावधानबाट मात्र समस्या निराकरण गर्न सकिन्छ भन्ने सोचमा परिवर्तन आवश्यक छ । यो कानुनीमात्र नभई सामाजिक समस्या हो । कुन परिवेशमा हुर्केका नानीहरू यसबाट बढी प्रभावित भएका छन्, त्यसका पछाडि कुन–कुन सामाजिक–आर्थिक कारणहरू जिम्मेवार छन् भन्ने गहन अध्ययन, छलफल नगरी कानुनी उपचारमात्र खोज्दैमा यो समस्या समाधान हुन सक्दैन ।


कस्तो सामाजिक–आर्थिक परिवेशका बालिकाहरू यौनजन्य हिंसाका सिकार भएका छन् भन्ने राज्यको खोजीको विषय बन्नुपर्छ । र राजनीतिक रूपमा नै त्यसको समाधानका लागि पनि राज्यकै अग्रसरता देखिनुपर्छ । अहिले राज्यको प्रादेशिक संरचना अन्तर्गत स्थानीय तहमा प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधिमार्फत बालबालिका जोखिममा पर्ने स्थान, समुदाय, वर्गको पहिचान गरी त्यसको न्युनीकरणका लागि आवश्यक नीति निर्माणका साथै त्यसको प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ ।


अब परिवार, समुदाय, विद्यालय तथा राज्यले बाल यौन हिंसाजन्य घटनाका कारणहरू पहिचान गरी यस्ता घटना न्यूनीकरणका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।


[email protected]

प्रकाशित : चैत्र २१, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?