राजनीतिज्ञहरुलाई चेत होस्

आफ्नै परिवेश
झमक घिमिरे

काठमाडौँ — यो समय भनेको चेतना माथि उठेको समय हो । स्वाभाविक रूपमा विभिन्न स्वरहरू सुनिएका छन् । हिजो उठ्न नसकेका अर्थात् नपाएका स्वर अहिले उठेका छन् ।

राजनीतिज्ञहरुलाई चेत होस्

नेपालको आफ्नै खालको विशेषता छ । आफ्नै खालको सभ्यता, संस्कृति, संस्कार छ । तिनको उचित ढंगले व्यवस्थापनको खाँचो छ । अहिले आवाज उठेको भनेको यिनलाई उचित व्यवस्थापन गर्न सक्छ कि सक्दैन राज्यले भन्ने हो । अर्थात् चिन्ता र चासोको आवाज पनि हो ।

स्वाभाविकै हो, आफ्ना सभ्यता, भाषा, संस्कृति, संस्कार मासिने हो कि भनेर चिन्ता उठ्नु चासो जाग्नुपर्छ । तर यो चिन्ता र चासोसँगै आफ्ना–आफ्ना मुद्दाहरू अगाडि ल्याएर आपसमा झगडाको बीज रोप्नु जायज होइन । जन्मले मान्छे जुनसुकै जात, धर्म, संस्कृतिमा जन्मे पनि उसलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । यहाँ अहिले विभिन्न नाममा राज्यले आरक्षण छुट्याएको छ । यो निश्चित अवधि राखेर छुट्याउनु आवश्यक छ । हिजो दबिएका, थिचिएकालाई सरकारले निश्चित अवधिसम्म आरक्षण दिएर संरक्षण गर्नु आफैंमा सकारात्मक कुरा हो । तर सदासर्वदा आरक्षण दिनु भनेको मान्छे भएको क्षमता, प्रतिभाको प्रदर्शन गर्नबाट रोकिनु हो । प्रतिस्पर्धाबाट प्रतिभाशाली मान्छे अगाडि आउनबाट रोकिनु हो ।

अहिले नेपालमा यसको कारण एक खालको बबन्डर मच्चिने सम्भावना छ । अहिले प्रदेशको नाम जातीय आधारमा तोकिनुपर्ने आवाज उठिरहेको छ । जातीय आधारमा प्रदेशहरूको नाम तोकिनु आफैमा नराम्रो होइन, तर त्यो जातीय ऐतिहासिक आधार के हो ? त्यो संस्कृति र सभ्यताको आधार के ? सबैलाई सर्वमान्य हुन्छ कि हँुदैन ? त्यो कुराको अध्ययन हुनुपर्छ । अहिले सम्बन्धित निकायले बेलैमा राम्रोसँग नसोची प्रादेशिक सरकारले हतार–हतारमा निर्णय लिए भने सर्वकालीन समयसम्म राम्रो हँुदैन । सबै नेपाली सभ्यता, संस्कृति, संस्कारको अध्ययन–अनुसन्धान हुनु आवश्यक छ ।

नेपालमा एक जातिको बाहुल्यता भएको ठाउँ कुनै पनि छैन । त्यसैले जातजातिका सबै भाषा, संस्कृति, संस्कारलाई उत्तिकै माया गर्नुपर्छ । हिजो यसो नगरेकाले अहिले यी समस्या आएका छन् । हामी अलिकति नाक थेप्चो हुनेलाई यसको त नाक थेप्चो पो रहेछ भने खिल्ली उडाउँछौं, आखिर यसो गर्न हामीलाई कुन संस्कृति र सभ्यताले सिकायो ? यस पंक्तिकारले पनि पटक–पटक आर्य कुलवंश संस्कृतिभित्र जन्मेकै कारण गैरआर्य जातिका चेतना नखुलेकाहरूबाट अलि असजिलो व्यवहार खेप्नुपरेको छ । उनीहरूलाई कुरा बुझाउँदै गएपछि सहज र सरल व्यवहार गर्छन् । म आफैंमा धन्य छु । किनभने मैले आर्य समुदायभित्र जन्मे पनि सबै समुदाय र सम्प्रदायको माया र स्नेह पाएकी छु । म सबै नेपाली समुदाय र सम्प्रदायलाई आत्मैदेखि प्रेम गर्छु । तिनको नेपालीपनलाई प्रेम गर्छु । प्रत्येक नेपालीलाई प्रेम गर्ने मान्छेले नेपाली संस्कृति र संस्कारलाई जातजातिलाई प्रेम गर्नुपर्छ ।

हामीले आफ्नै सभ्यतालाई माया गरेर तिनको राम्रो पक्षलाई उजागर गर्नुपर्छ । आफ्नो सभ्यताको अध्ययन, अनुसन्धान नगरी कसरी आफ्नो पहिचान खोज्ने ? र आफूले आफैलाई चिन्ने ? विश्वमा आफ्नोपन र आफ्नो मौलिकता मर्दैछ । नेपालमा हाम्रो आफ्नै संस्कृति, सभ्यता छ । कसैको आयातित संस्कृति, सभ्यता स्वीकार्न आवश्यक छैन । यहाँ प्रत्येक जातजातिको आफ्नै संस्कृति, भाषा र पहिचान छ । त्यसको आफ्नै सुन्दर सभ्यता छ । त्यसभित्रको सभ्यतालाई हामीले कतिसम्म पहिचान गर्नसकेका छौं ? कतिको पहिचान गर्नसकेका छैनौं ? त्यसैले नेपाली राजनीतिक दलहरूका आफ्ना–आफ्नै विचार सिद्धान्त होला, यिनले जातीय आधारमा प्रदेशहरूको नामकरण गर्दा नेपाली र नेपालको सभ्यताको राम्ररी अध्ययन गरुन्, यहाँ विभिन्न खालका सभ्यता छन् । आर्य सभ्यताभित्र पनि कैयौं राम्रा कुरा छन्, मंगोल सभ्यताभिर पनि कैयौं राम्रा पक्षहरू छन् ।

अब ६ वटा प्रदेशका नामकरण हुन बाँकी छ । यो सजिलो कुरा छैन । प्रत्येक नागरिकले बुझेका छन् । प्रत्येक नागरिकहरूले आफ्नो अपनत्व पनि खोजिरहेका छन् । खोज्नु पनि स्वाभाविकै हो । यही विषयमा कुरा उठाउँदा यस पंक्तिकारलाई एकजना प्रिय मित्रले हालसालै भने– समानता, न्याय पाइन्छ भने अर्काे युद्धको लागि तयार हुनुपर्छ । भन्नुको अर्थ थियो, अब सबै नेपाली हिजोको जस्तो दबेर, अन्याय, असमानताको पीडा भोगेर बाँच्न चाहँदैनन् । समानता विभेदरहित समाज सबै नेपालीजनको चाहना हो । यो कुरा नेपालका सबै राजनीतिक दल र राजनीतिकर्मीहरूलाई चेत होस् ।

प्रकाशित : चैत्र २३, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?