कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रतिपक्षको ट्रेनिङ

सिउँडी
तपाईंहरू एमालेसँग मज्जाले ट्रेनिङ लिन सक्नुहुन्छ । उनीहरूको प्रतिपक्षीय ज्ञान राम्रो छ ।
विमल निभा

काठमाडौँ — अन्तत: कांग्रेसीहरू प्रतिपक्षमा बस्न बाध्य भएका छन् । यसको बानी एवं अभ्यास भने उनीहरूलाई पटक्कै छैन । त्यसकारण एक प्रकारको असजिलो महसुस हुनु स्वाभाविक नै छ । फेरि यो कुनै रुचिकर कुरो पनि त होइन ।

प्रतिपक्षको ट्रेनिङ

अर्थात सत्तापक्षबाट एकाएक प्रतिपक्ष हुनु यही सन्दर्भमा मलाई एक परिचित कांग्रेसी सांसदले पहिले जोडले अनि विस्तारै भने, ‘हेर्नाेस्, हामी कांग्रेसीहरूलाई केवल सत्ताको विलकुलै एकतर्फी अनुभव छ, अब कसरी प्रतिपक्षी भएर काम गर्ने ?’

‘माननीयज्यू, तपाईहरू यसको समुचित ट्रेनिङ किन लिनुहुन्न ?’ मैले एक नमागिएको सुझाव उनीछेउ राखेंँ, ‘यही समयानुकूल काम हुनेछ ।’

‘कस्तो ट्रेनिङ ?’ उनले उत्सुक भएर टाउको उचाले ।

‘यही, एउटा असल प्रतिपक्ष कसरी बन्ने, प्रतिपक्षको सरल तथा सुगम मार्ग के हो, के गरी सहजै प्रतिपक्षी हुन सकिन्छ, प्रतिपक्षको सौन्दर्यशास्त्र कस्तो हुन्छ, सबल प्रतिपक्षको प्रबल उपायहरू के–के हुन्, आखिरमा प्रतिपक्ष भनेको हो के, आदि–इत्यादि ।’ मैले आफ्नो कुरा स्पष्ट गरें, ‘यिनीहरूका विषयमा ट्रेनिङ लिनुपर्ने हुन्छ, माननीयज्यू ।’

‘यस्तो ट्रेनिङ कोसित लिने ?’ उसको अनुहार उज्यालो भयो ।

‘हेर्नोस माननीयज्यू, यस प्रकारको ट्रेनिङ अरू कोसित लिन सकिन्छ ?’ मैले भनेंँ, ‘उही नेकपा एमालेसित । तपाईहरू एमालेसँग मज्जाले ट्रेनिङ लिन सक्नुहुन्छ । उनीहरूका प्रतिपक्षीय ज्ञान राम्रो छ । त्यसैले नेकपा एमालेसित मिलेर यस सम्बन्धी सभा, सेमिनार, गोष्ठी आदि पनि आयोजित गर्न सकिन्छ । मेरो मतलव के हो भने प्रतिपक्षको प्रत्येक पक्षबारे एमालेहरू व्याख्या–विश्लेषण गर्न सक्षम छन् । यसको पुरै लाभ किन नउठाउने माननीयज्यू ?’

‘के तपाई मसँग ठट्टा गरिरहनुभएको छ, बन्धु ?’ उनी सहसा रुष्ट भए ।

‘होइन, म त एउटा कुरा गरिरहेको छु, माननीयज्यू ।’

‘यस्तो नचाहिँंदो कुरा नगर्नाेस् ।’ उनको स्वर भारी भयो, ‘नेकपा एमालेका मानिसहरूले त हामीलाई प्रतिपक्षी बनाएका हुन् ।’ उनी दु:खी भएका थिए, ‘क्या मोजले हामी सत्तामा पल्टेर आराम गरिरहेका थियौं †’ एकछिन रोकिएर भने, ‘हेर्नाेस्, हेर्दाहेर्दै हामी सत्तापक्षबाट प्रतिपक्ष भयौं ।’ उनको आवाजमा निराशा थियो, ‘वास्तवमा हाम्रो यस्तो कुनै प्रयास र इच्छा थिएन । तर के गर्ने, त्यसै प्रतिपक्षी बनाइदिए ।’ र निराशाको छेउमा पुगेर भने, ‘अब बनाएपछि बन्नैपर्‍यो ।’ उनको स्वर चर्काे भयो, ‘तपाई नै भन्नोस्, त्यस्तासँग के ट्रेनिङ लिने ?’ उनी पुरै क्रोधमा थिए ।

‘तर प्रतिपक्षको समग्र अनुभव त नेकपा एमालेसँग नै छ, माननीयज्यू’, मैले भनेँ, ‘के गर्न सकिन्छ ?’

‘जे भए पनि हामी एमालेसँग ट्रेनिङ लिन्नौं ।’
‘एक पटक फेरि सोचेर हेर्नाेस् ।’
‘राम्ररी नै सोचिसकेंँ बन्धु ।’
‘के सोच्नुभयो, माननीयज्यू ?’

‘हेर्नाेस्, अहिले नेकपा एमाले सत्तापक्ष भइसकेको छ ।’ उनले सुस्तरी भने, ‘हाय ! जुन ठाउँमा पहिले हामी थियौं । हाम्रो प्यारो पार्टी नेपाली कांग्रेस ।’ उनको स्वर चर्कियो, ‘अब सत्तापक्षले प्रतिपक्षको ट्रेनिङ कसरी दिन्छ ? यो त मिल्दै मिल्दैन नि !’ र एक्कासी गम्भीर भए, ‘नेकपा एमालेले हामीलाई ट्रेनिङ दिन सक्दैन बन्धु ।’ उनको भनाइमा दृढता थियो ।
‘दिन सक्छ, माननीयज्यू ।’
‘दिनै सक्दैन ।’

‘मलाई त सक्छ जस्तो लाग्छ, माननीयज्यू ।’ म आफ्नो कुरामा अडेको थिएँ ।
‘कसरी दिन सक्छ बन्धु ?’ उनले मेरो आँखामा हेरेर भने ।

‘तपाईहरू नेकपा एमालेका नेताहरूसँग यो सोध्न सक्नुहुन्छ– यसरी अकस्मात प्रतिपक्षबाट कसरी सत्तापक्ष हुन पुग्नुभयो ? यो असम्भव के गरी सम्भव भयो ? नेकपा माओवादीहरूलाई फकाउने पद्धति के हो ? के कमरेड प्रचण्डहरूलाई आफूतिर तान्ने कुनै खास तरिका छ ? मधेसी पार्टीहरूका उपेन्द्र यादवहरूलाई अलमल्याएर राख्ने अचुक उपाय के हो ? इत्यादि । यस्ता थुप्रै अनुत्तरित प्रश्नहरू छन्, जसको उत्तर केवल एमालेसँग छ । हो, ट्रेनिङको अवधिमा यसैको खोजी गर्नाेस् ।’

‘के उत्तर प्राप्त हुन्छ त बन्धु ?’ उनको शंका समाप्त भइसकेको थिएन ।

‘यो तपाईहरूका शिष्यजनित नम्रता र एमालेको तमाम गुरुतामा निर्भर गर्छ ।’ मैले भनें, ‘म के भन्न सक्छु ?’ एक छिनपछि फेरि भनें, ‘प्रयास गरेर हेर्नमा कुनै नोक्सानी भने छैन । म त भन्छु, तपाईहरू आजैदेखि यो मार्गमा हिँंड्न थाल्नोस् ।’ मैले उनको अनुहारमा हेरें, ‘हिँंडे पुगिन्छ पनि ।’ र अन्त्यमा आफ्नो आवाजको भोलुमलाई बढाएर भने, ‘अन्य कुनै मार्ग छैन, माननीयज्यू ।’

‘हुन त तपाईले भनेको ठिकै हो । तर एमालेसँग ट्रेनिङ लिने अनुमति हाम्रो पार्टीले दिने छैन । के गर्ने ? अब सत्तापक्षमा जाने सवाल भएकोले ट्रेनिङ लिनुपर्ने त हो । तर एक कांग्रेसी भएको नाताले यो मलाई मञ्जुर छैन । कसरी एमालेका मानिसहरूसँग ट्रेनिङ लिने बन्धु ? हामी एमालेसँग ट्रेनिङ लिन्नौं । यो कदापि हुन सक्दैन । म कुनै पनि एमालेसँग ट्रेनिङ लिँंदै लिन्न ।’

‘के त्यसो भए, आफ्नो प्रिय सभापति शेरबहादुर देउवालाई प्रतिपक्षीको सिटमै राखिराख्ने त ?’ मैले उनको जोशमा ब्रेक लगाउन खोजेंँ ।

‘हो, यसले त बढो अप्ठ्यारो हुने भयो । हाम्रो रामचन्द्र पौडेल, रामशरण महत, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, मिनेन्द्र रिजाल, गोपालमान श्रेष्ठ आदिलाई प्रतिपक्षी भएको कसरी हेरिरहने ? यसले प्रत्येक कांग्रेसीको आत्मा रुनेछ । यो भन्दा ठूलो पीडा अरू कुनै हुन सक्दैन । र फेरि हाम्रा विदेशी मित्रहरूले हामीलाई के भन्नेछन् ? यसरी विश्वसामु मुख देखाउन नै गाह्रो हुनेछ । किनभने कांग्रेसीहरूलाई प्रतिपक्षी हुन सुहाउँदैन । हामीले कसरी प्रतिपक्ष भइरहने ? यो त नेपाली कांग्रेस पार्टीको लागि लाजमर्दाे कुरा हो । हामीले सत्तापक्ष हुनैपर्छ । यो नभई हुन्न । तर यसको लागि एमालेसँग कसरी ट्रेनिङ लिने बन्धु ? खोइ, के गर्ने र के नगर्ने !’ उनी दुवै आँखा चिम्लेर चिन्तन गर्न थाले । म चुप लागेर कांग्रेसी सांसदलाई हेरिरहेको थिएँ । यो चिन्तन–मननको प्रक्रिया निकै लम्बिएकोले म उनलाई त्यहीं छाडेर विस्तारै अघि बढेंँ ।

प्रकाशित : चैत्र २४, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?